नेभिगेशन
सबै कुरा

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दाबी

काठमाडाैँ : अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताए।

Dish Home
Global Ime Bank

“मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए”, अर्थमन्त्री महतले भने, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ । तर उत्पादन वृद्धि रोजगार वृद्धिका लागि केही समय लाग्छ । अर्थतन्त्रले निर्णायक रुप लिन्छ । यसका आधार बन्दै गएका छन् ।” 

मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसँग निरन्तर  छलफलपछि अहिले केही निर्णय आएको र यसले बैङ्क वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पु¥याएको अर्थमन्त्री डा महतको भनाइ छ । “राष्ट्र बैङ्कले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ । पुँजीबजार र घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिएका छन्”, उनले भने ।

त्यस्तै, वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि बिस्तारै नतिजा देखाउँदै गएको उनको भनाइ छ । “वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन् । केही बन्ने क्रममा छन् । ठेक्का प्रक्रिया छिटोछरितो रुपमा अघि बढिरहेका छन् । यसबाट पनि बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ । विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ ।”  

“यथेष्ट प्रतिफल भएका आयोजना मात्रै सहयोग लिन्छौँ भनेका छौँ । दातृ निकाय पनि यसमा सकारात्मक छन्”, महतले भने । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको पनि अर्थमन्त्री महतले बताए ।

“संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस् । हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो । त्यसलाई एकैपटक हल गर्छु भन्नू सम्भव थिएन ।  तर समस्या बिस्तारै हट्दैछन् । अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ”, उनले भने ।

चालु खर्चलाई एउटा सीमामा राखेको र  पुँजीगत खर्च बढाउनतर्फ लागेको उनको भनाइ छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन पनि बढेको अर्थमन्त्री महतले बताए। यो अवधिसम्ममा सरकारको राजस्व सङ्कलन सात दशमल ५७ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै, भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर (भ्याट) सात दशमलव १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशतले बढेको उनले बताए ।

सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, जाजरकोटमा आएको भूकम्पप्रभावितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।  लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने उनले बताए । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको महतले बताए।

“दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युतको विकास, पर्यटन, कृषिको व्यावसायिकीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ”, उनले भने । एनसेल खरिद–बिक्री प्रकरणमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने अर्थमन्त्री डा महतले बताए । “कानुन मान्छु भनेर आएको कम्पनीले अहिले कानुन मान्दिनँ भन्न पाउँदैन । नियामकले यस विषयलाई गम्भीर रुपमा हेर्छ । कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ”, उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो,  थुनछेक बहस हुँदै

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै

पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ।
५ महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो

५ महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले...
त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

त्रियुगाको बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार

नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ ।...
कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

बजेट अनुसार राजस्व बाँडफाँड संघ तर्फ १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैयाँ र प्रदेश तर्फ १ करोड ४९ लाख २४ हजार ,वित्तीय समानीकरण अनुदान...