नेभिगेशन
सबै कुरा

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

चितवन : पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका-१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन्। विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन्।

Extreme Energy

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गरेकी छन्। उनको पोशाक पनि थोत्रिइसकेको छ। बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उनले सुनाइन्।

‘चप्पल, जुत्ता लगाउने मन त छ नि’, उनले भनिन्, ‘बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनुरु’

उनले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताइन्।

कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहेकी थिइन्। उनको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ। घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहेकी थिइन् उनी।

बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उनले बताइन्। उनका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ। घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाइन्।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नांगै, कतिको खुट्टा खाली छ। विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन्। कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन। यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ। शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन्।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो। दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका( १० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन्।

विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन्। तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताए। विद्यालयमा उनीमात्रै एक जना शिक्षक छन्। उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन्।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ। जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन्।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गरे। दुईतिरै निगरानी गरिरहेको जनाउँदै उनले अहिलेसम्म दिवा खाजा नरोकिएको बताए। ‘अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ। पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु’, उनले भने।

तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताए। दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उनको भनाइ छ।

स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए। उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गरे।

कालिका- १० वडाध्यक्ष नरजंग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको जनाउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिने बताए। उनले भने, ‘चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन, विद्यालयमा कमी–कमजोरी भएको भए कारबाही हुन्छ।’

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए। दिवा खाजाको विषयमा के कारणले रोकिएको हो भन्ने पत्ता लगाएर तत्काल सञ्चालन गर्ने उनले बताए।

उनले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भइरहेको जनाउँदै बेला–बेलामा शैक्षिक सामग्री वितरण गरिरहेको जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...