नेभिगेशन
समाज

कति बढ्ला तलब ?

काठमाडौँ । हरेक वर्ष अर्थमन्त्रीले बजेट भाषण गरिरहँदा लाखौं कर्मचारीको ध्यान एउटै कुरामा हुन्छ– तलब बढ्छ कि बढ्दैन ? सरकारले तलब बढायो– उत्साहित हुन्छन्, बढाएनन् निराश । अहिले सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने दिन नजिकिँदै गर्दा कर्मचारीहरुको चासो तलब बढ्ला कि नबढ्ला ? बढ्यो भने कति बढ्ला ? भन्ने छ । बजेटले कर्मचारीमा उत्साह ल्याउला वा निराशा ? कर्मचारीको माग, मुलुकको आर्थिक अवस्था अनि सरकारको तयारीबारे जानकारी पाउन यो भिडियो अन्तिमसम्म हेर्नुहोला ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहँदा बजेटप्रति सर्वत्र चासो देखिएको छ । राजनीतिक दलका नेताहरुले आफ्नो क्षेत्रमा बढी बजेट परोस् भन्ने चाहेका छन् । कर्मचारीले आफ्नो तलब बढोस् भन्ने चाहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्छ । सरकारले जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान हो । नेपालमा नयाँ आर्थिक वर्ष साउनदेखि सुरु हुन्छ । पहिले असारमा सरकारले बजेट ल्याउने अभ्यास थियो । २०७२ सालमा संविधानसभाले बनाएको संविधानले जेठ १५ मै बजेट ल्याउने व्यवस्था गरेको हो । 

Ncell
Extreme Energy

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेस गर्ने दिन नजिकिँदै गर्दा बजेट कस्तो आउला भन्ने सबैको चासो छ । यो स्वाभाविकै पनि हो । अहिले यस्तै चासो देखिएको विषय हो– कर्मचारीको तलब वृद्धि । सरकारले कर्मचारीको तलब नबढाएको तीन वर्ष नाघ्यो । 

एकातिर नेपालमा कर्मचारीको तलब थोरै छ भन्ने चर्चा गरिन्छ, अर्कातिर तलब नबढेकै तीन वर्ष नाघ्यो । योसँगै कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले नै तलब बढाउन सरकारलाई सुझाब दिएको छ । यी तीन कारणले कर्मचारीको तलब वृद्धिको विषय अहिले निकै चर्चामा आएको छ । कर्मचारी तलब थोरै भयो भन्छन्, आम गुनासो कर्मचारीले काम नै गर्दैनन् भन्ने पनि छ । 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसपछि तलब बढेको छैन । अहिले रास्वपाको एकल बहुमतको सरकार छ र अर्थमन्त्री छन्, स्वर्णिम वाग्ले । वर्तमान सरकार र अर्थमन्त्रीमाथि धेरैको आशा र अपेक्षा छ । कर्मचारीले पनि अपेक्षा राखेका छन् र उनीहरुको सबैभन्दा ठूलो अपेक्षा तलब वृद्धि छ । निजामती सेवा ऐनमा तलब पुनराबलोकन समितिको व्यवस्था छ र सोही समितिले गरेको सिफारिसका आधारमा तलब बढाउने परम्परा छ । सोही व्यवस्थाअनुसार, यसपालि मुख्यसचिव सुमनराज अर्याल अध्यक्ष, अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय  र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको तलब भत्ता पुनरावलोकन समितिले तलब बढाउन सिफारिस गरेको कर्मचारीहरुले बताउने गरेका छन् । 

समितिले के सिफारिस गर्यो ? यसबारेमा न समितिले सार्वजनिक रुपमा आफ्नो सिफारिसबारे बताएको छ, न अर्थमन्त्रालयले नै यसबारेमा केही बोलेको छ । तर, कर्मचारीवृत्तमा भने समितिकै सिफारिसमा अर्थमन्त्रालयले तलब वृद्धिको गृहकार्य गरिरहेको दाबी गरेका छन् । 

कर्मचारीहरुका अनुसार, पुनराबलोकन समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको एक लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस गरेको छ । जबकि अहिले कार्यालय सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ छ । यदि यही सिफारिस अनुसार सरकारले कर्मचारीको तलब वृद्धि गर्यो भने तल्लो तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले बढ्नेछ, भने मुख्यसचिवको तलब ५७ प्रतिशतले ।

निजामती सेवा ऐनमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने भनिएको छ । ऐनको दफा २७ मा भएको व्यवस्थाअनुरुप गत साल नै कर्मचारीको तलब वृद्धि हुनुपर्ने हो । तर, गत वर्ष सरकारले राजस्वले नधान्ने भन्दै कर्मचारीको तलब बढाएन ।

यसअघि, २०७९ सालमा तत्कालीन सरकारले सरकारी कर्मचारी र श्रमिकहरूको न्युनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल संयोजक रहेको सो उच्च स्तरीय समितिले पनि तलब बढाउन सुझाव दिएको थियो । अहिले त्यही उच्चस्तरीय समितिको सुझावकै आधारमा पुनराबलोकन समितिले तलब बढाउन सिफारिस गरेको कर्मचारीको दाबी छ । 

कर्मचारीको तलब सबैभन्दा बढी बढेको २०५७ सालमा हो । तत्कालीन अर्थमन्त्री महेश आचार्यले कर्मचारीको तलब अनुपात वान इजटु फाइभ बनाइदिए, त्यही अनुसार बढाइदिए । त्यतिबेला तल्लो तहका कर्मचारीको तलब ३ हजार थियो, सबैभन्दा माथिल्लो तहका कर्मचारीको तलब १५ हजार । यसको अर्थ सबैभन्दा माथिल्लो तहका कर्मचारीको तलब सबैभन्दातल्लो तहका कर्मचारीको भन्दा पाँच गुणा बढी कायम गरिदिए । त्यसयता यो अनुपातमा तलब बढेको छैन ।   

सरकारले अहिले नै तलब, भत्ता र सामाजिक सुरक्षामा वार्षिक ३ खर्ब खर्च गर्दै आएको छ । निजामती कर्मचारी, शिक्षक तथा सेना, प्रहरीले मासिक तलब पाउँछन् । योसँगै प्रदेश र स्थानीय तहका कर्मचारीले मासिक तलब पाउँछन् । कार्यरत कर्मचारीले मासिक तलब मात्रै नभई विभिन्न शीर्षकमा भत्ता पाउँछन् । अवकास प्राप्त कर्मचारीलाई पेन्सनको व्यवस्था छ । 

पुनराबलोकन समितिले अहिले गरेको सिफारिस अनुसार तलब बढाउने हो भने सरकारलाई कम्तीमा १ खर्ब भार थपिन्छ । आर्थिक क्षेत्रकै जानकारहरुले भन्ने गरेका छन्– ‘कर्मचारीको तलब बढाउन आवश्यक छ । तर, मुलुकको राजस्व वृद्धि र आर्थिक वृद्धि जुन अनुपातमा छ, त्यसका आधारमा भने राज्यले धान्न गाह्रो हुन्छ ।’

पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुकै भाउ महँगिएको छ । त्यसैमाथि सरकारले बजेटमार्फत करको दायरा वृद्धि गर्ने पनि बताइसकेको छ । इन्धनको मूल्य बढ्दा र कर वृद्धि हुँदा त्यसको असर बजारमा पर्छ । त्योसँगै कर्मचारीको तलब बढ्दा समेत त्यसको प्रभाव बजारमा पर्छ ।

सरकारले, सरकारी कर्मचारीको तलब बढाउँदा त्यसको प्रभाव संस्थान र निजी क्षेत्रमा पनि पर्छ । सरकारको पूर्ण स्वामित्वमा रहेका र सरकारको लगानी रहेका संस्थानहरुले पनि सोही अनुसार तलब बढाउँछन् भने तलब बढाउनुपर्ने दबाब निजी क्षेत्रलाई पनि पर्छ । 

नेपालमा कर्मचारीहरुले वर्षौंदेखि गर्दै आएको गुनासो हो– तलब नै कम भयो । अहिलेको तलबले खान बस्नै नपुग्ने उनीहरुको दाबी छ । ग्रामिण क्षेत्रमा कार्यरत कर्मचारीको तुलनामा सहरी क्षेत्रमा कार्यरत कर्मचारी त झनै यस्तो दबाबमा छन् । कतिपयको विश्लेषण यो पनि छ कि, खर्च नै नपुगेपछि कर्मचारीले अनौपचारिक बाटो रोज्छन्, त्यही कारण घूस खान्छन्, भ्रष्टाचार गर्छन् । 

तलब थोरै हुनु, घूस खानु र भ्रष्टाचार गर्नुबीच सिधा सम्बन्ध त देखिँदैन । तर, सरकारी कर्मचारीको रवाफ र सामाजिक प्रतिष्ठा देखाउन पनि उनीहरुलाई बढी पैसा चाहिन्छ । हो, त्यही रवाफ र प्रतिष्ठा देखाउन कतिपय कर्मचारीले भ्रष्टाचार गर्छन्, घूस खान्छन् । 

नेपालमा भ्रष्टाचार किन बढ्यो ? यसमा थुप्रै कारण छन् । भ्रष्टाचार– या त राजनीतिक नेतृत्वबाट हुन्छ, या त कर्मचारीबाट । अझ भन्ने हो भने राजनीतिक नेतृत्व र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार हुन्छ । कसैले भन्छन्– नेपालको कर्मचारीतन्त्र भ्रष्ट छ, कर्मचारीतन्त्रले नै राजनीतिक नेतृत्वलाई भ्रष्ट बनायो । कसैले भन्छन्– राजनीतिक नेतृत्व भ्रष्ट छ, राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्न कर्मचारीतन्त्रलाई दबाब र प्रभाव पार्छ । त्यसैमा कर्मचारीले पनि फाइदा उठाउँछन् । एउटा स्पष्ट कुरा के हो भने कर्मचारीतन्त्रले साथ दिएन भने राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्न सक्दैन । भ्रष्टाचारमा नेता र कर्मचारीबीचको मिलाप कस्तो हुन्छ भन्ने तथ्य त नक्कली भुटानी शरणार्थी प्रकरणले नै छर्लंग पारिदिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने भ्रष्टाचार मुद्दाको संख्यालाई हेर्ने हो भने पनि यो देखिन्छ कि, मुद्दा भोग्नेमा नेता भन्दा कर्मचारी बढी छन् । एक जना नेता भ्रष्टाचारमा मुछिँदा कम्तीमा पाँच कर्मचारी मुछिन्छन् । 

के तलब थोरै भएकै बाहनामा कर्मचारीले भ्रष्टाचार गर्ने गरेका हुन् ? यो पनि होइन । भ्रष्टाचार गर्ने कर्मचारीको संख्या कम छ । भ्रष्टाचार नियत हो । नियत नै खराब भएकाले भ्रष्टाचार गर्ने हुन् । मैले माथि नै भने झैं जो जसलाई जागिर र पदको रवाफ र प्रतिष्ठा देखाउने नियत हुन्छ, उनीहरु भ्रष्टाचारमा संलग्न छन् । कसैले नागरिकसँग घूस खान्छन्, कसैले सरकारी सम्पत्ति दुरुपयोग गर्छन् ।

अन्य देशहरुसँग तुलना गर्दा नेपालमा कर्मचारीको तलबमान कम छ । यसमा दुई मत रहेन । तर, अर्को तर्क पनि उत्तिकै के आइरहेको छ भने नेपालमा कर्मचारीको संख्या नै बढी भयो । कर्मचारीको संख्या बढी छ, धेरै कर्मचारीले त काम नै गर्दैनन् भन्ने गुनासो पनि उत्तिकै छ । हाम्रा कर्मचारी प्रविधिको उपयोगमा कमजोर छन्, पुरानै ढर्राबाट काम गर्न खोज्छन् । प्रशासन क्षेत्रकै जानकारहरुले भन्ने गरेका छन्– सरकारी सेवालाई प्रविधिसँग जोड्न सकेमा कर्मचारीको संख्या कटौती गर्न सकिन्छ । कर्मचारीको संख्या घटाएर कर्मचारीको तलब बढाउने उपाय सबैभन्दा राम्रो हुने जानकारहरुको सुझाब छ । 

तीन वर्ष भयो– तलब नबढेको । सरकारले यसपालि तलब बढाइदेला । कति बढाउला– बजेटबाटै जानकारी पाइएला । तर, के हाम्रा कर्मचारी आफ्नो कार्यशैली बदल्न तयार छन् ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ बस्ने भारत पञ्जाव मोहालीका २६ वर्षीय अमितकुमार र काठमाडौँ महानगरपालिका–३ बस्ने भारत हरियाणा फरिदावादका ३९...
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन

सभाको मंगलबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न...
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबारकाठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको...
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध(तस्बिरहरु)

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध(तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

भर्खरै