नेभिगेशन
समाज

डीपी अर्याललाई ‘मिस’ गरिरहेको महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदा सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज (विहीबार)का लागि तोकिएको प्रतिनिधिसभाको बैठक भोलि (शुक्रबार)का लागि सारे । सत्तारुढ र संसद्को सबैभन्दा ठूलो दल महाधिवेशनमा व्यस्त भएका बेला संसद् बैठक बस्न सक्ने कुरै भएन ।

डीपी अर्याल तिनै व्यक्ति हुन्, जो रास्वपाका संस्थापक उपसभापति हुन् । सभामुख निर्वाचित भएपछि गत २२ चैतदेखि उनी रास्वपामा छैनन् । नेपालको संविधानअनुसार, सभामुख र उपसभामुखलाई साझा पदाधिकारी मानिन्छ र उनीहरु कुनै पनि दल विशेषमा आबद्ध हुन, आबद्धता झल्काउन र सक्रिय हुन पाउँदैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

७ असार २०७९, रवि लामिछानेको नेतृत्वमा रास्वपा घोषणा हुँदै गर्दा डीपी अर्याल अग्रमोर्चामा थिए । रविलाई राष्ट्रिय सभागृहको मञ्चमा पुर्याउन, राष्ट्रिय झण्डाले स्वागत गर्न र घण्टी बजाएर रास्वपाको घोषणा गर्न लगाउने मुख्य व्यक्ति डीपी नै थिए । निर्वाचन आयोगमा बुझाइएको विवरणमा पनि रविपछि दोस्रो नम्बरमा डीपीकै नाम थियो ।

Ncell
Extreme Energy

पार्टी स्थापनादेखि विस्तारसम्म, दुई दुई वटा आम निर्वाचन, उपनिर्वाचन, सभापति माथिका मुद्दा, सडकदेखि संसदसम्मका आन्दोलन, पटक पटक कार्यबाहक सभापतिका रुपमा पार्टीको नेतृत्व, चार वर्ष रास्वपाले जे जे भोग्यो, त्यसका एक जना साक्षी हुन्– डीपी अर्याल । त्यतिमात्रै होइन, पार्टीको नेतृत्व र आन्दोलनको व्यवस्थापन दुवै मोर्चा उनै डीपीले सम्हालेका थिए ।

तर, ७ असार २०८३, त्यही पार्टीको पहिलो महाधिवेशन हुँदै गर्दा डीपी अर्याल न मञ्चमा देखिए न कुनै भूमिकामा ।

चार वर्षको बीचमा पार्टी सडकबाट झण्डै दुई तिहाइ बहुमतसहित सत्तामा पुग्यो । पार्टीले डीपीलाई दलीय आबद्धताभन्दा माथि पुर्यायो । पार्टी ठूलो भयो, डीपी ‘सम्माननीय’ ।

पार्टीले डीपीलाई जुन पदमा पुर्यायो, त्यही पदले डीपीलाई पार्टीमा जान दिएन । त्यही पदले महाधिवेशनमा सहभागी हुन दिएन । चार हजार भन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनमा डीपी अर्यालको सहभागिता हुन सकेन ।

संसदमा विपक्षी दलका केही सांसदले ‘सभामुखले रास्वपालाई पक्षपोणण गरेको’ भनेर आलोचना गर्छन् । तर, उनीहरुलाई के थाहा– आफैंले जन्माएको पार्टीको पहिलो महाधिवेशनमा आफैं सहभागी हुन नपाउँदा कस्तो हुन्छ भनेर ? सायद अहिले त्यस्तै महसुस गरिरहेका छन्– सभामुख डीपी अर्यालले ।

पक्कै पनि डीपी अर्यालले रास्वपाको पहिलो महाधिवेशन ‘मिस’ गरिरहेको हुनुपर्छ । सँगै महाधिवेशनले पनि संस्थापक उपसभापतिलाई मिस गरेको हुनुपर्छ।

चितवनमा रास्वपाको महाधिवेशन चलिरहेको छ, तपाईं काठमाडौँमा हुनुहुन्छ, कस्तो लागिरहेको छ भनेर सिधाकुराले सोध्दा उनी ‘नोस्टाल्जिक’ भए । उनले पार्टी स्थापनादेखि पहिलो महाधिवेशनसम्मका गतिविधि सम्झिए । बोल्दाबोल्दै भावुक भए ।

यदि सभामुख नभएको भए, डीपी अर्याल यतिबेला चितवनमा हुने थिए, कुनै पदमा उम्मेदवार बन्ने थिए, महाधिवेशन प्रतिनिधिहरुसँग मत मागिरहेका हुने थिए । यति मात्रै होइन, महाधिवेशनमा जुन अव्यवस्था र भद्रगोल देखिएको छ, उनी नै त्यहाँ भएको भए सायद यस्तो अवस्था आउन दिने थिएनन् ।

भौतिक रुपमा महाधिवेशनमा सहभागी हुन नपाए पनि महाधिवेशनमा के भइरहेको छ भनेर उनले बारम्बार जानकारी लिएका छन् । सर्वसम्मत सभापति निर्वाचित भएकोमा रवि लामिछानेलाई फोन गरेर बधाई दिइसकेका छन् ।

उनको भनाइ छ– ‘महाधिवेशनले सर्वसम्मत सभापति चयन गरेर रविजीलाई सम्मान गरेको छ, उहाँको योगदानको कदर गरेको छ।’
 
महाधिवेशन प्रतिनिधिले पनि ‘मिस’ गरे डीपीलाई

रास्वपाले महाधिवेशन गरेकोमा डीपी खुसी छन् । ‘महाधिवेशनले पार्टीलाई वैधानिकता दिन्छ, रास्वपाले त्यो वैधानिकता पाएको छ’ उनले भने । महाविधेशन आयोजना हुनु नै राम्रो कुरा भएको उनको बुझाइ छ ।

रास्वपा स्थापनाताका सबैजसो नेताहरु महाधिवेशनमा सहभागी छन् । विभिन्न दल र समूहबाट समायोजन भएर आएकाहरु पनि महाधिवेशनमा छन् । तर, त्यहाँ संस्थापक उपसभापति नै नहुँदा केही महाधिवेशन प्रतिनिधिले भने खल्लो अनुभव गरे ।

‘अरु नेताहरु त हुनुहुन्छ, तर, संस्थापक उपसभापति डीपी अर्याल हुनुहुन्न, हामीले उहाँलाई सम्झिरहेका छौं’  महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरुले सिधाकुरासँग भने । यसको अर्थ- महाधिवेशनले डीपी अर्याललाई मिस गर्यो ।

महाधिवेशनमा सहभागी नहुनुको कारण उनी स्वयंलाई पनि जानकारी छ, महाधिवेशन प्रतिनिधिहरुलाई पनि थाहा छ । थाहा हुँदा हुँदै पनि भित्री मनमा खट्किएको छ । डीपी अर्याललाई लागेको छ– मैले ‘मिस’ गरेँ, महाधिवेशन प्रतिनिधिहरुलाई लागेको छ– हामीले ‘डीपी सरलाई मिस’ गर्यौं । 

भद्रगोल अवस्थाले पिरोल्यो डीपीलाई

तीन दिनका लागि आयोजना गरिएको महाधिवेशन २ दिन लम्बियो । आज पाँचौं दिन हो । प्रक्रियागत रुपमा महाधिवेशन लम्बिन सक्छ । तर, रास्वपाको महाधिवेशन लम्बिनुको मुख्य कारण हो– व्यवस्थापनमा कमजोरी ।

रास्वपा चार वर्षमै ‘भीमकाय’ पार्टी बन्यो । ठूलो पार्टीलाई नेतृत्व गर्न र व्यवस्थापन गर्न सहज हुँदैन । फेरि व्यवस्थापन गर्न नसकिने पनि होइन । सही व्यवस्थापनका लागि जिम्मेवारीमा रहनेहरुले ख्याल पुर्याउनुपर्ने हुन्छ ।

महाधिवेशनमा देखिएको ‘भद्रगोल अवस्था’ले डीपी अर्याललाई पिरोलेको छ । ‘व्यवस्थापकीय जिम्मेवारीमा रहेका साथीहरुले यस्तो अवस्था आउन दिनु हुँदैनथ्यो’ उनी भन्छन् । महाधिवेशन प्रतिनिधिहरुले दुःख पाएकोमा उनलाई पनि दुःख लागेको छ । उनको सुझाव छ– यसबाट साथीहरुले पाठ सिक्नुपर्छ ।

महाधिवेशनको व्यवस्थापनका बारेमा कुरा भइरहँदा उनले पार्टी आन्दोलनमा हुँदादेखि चुनावमा हुँदासम्मको अवस्था सम्झिए । 
तत्कालीन सरकारले सभापतिलाई मुद्दा लगाएर पक्राउ गरेपछि रास्वपा आन्दोलनमा होमिएको थियो । काठमाडौँ, पोखरा, चितवन, वीरगञ्ज र हेटौँडा आन्दोलनका ‘हब’ बने । देशैभरका कार्यकर्ता आन्दोलित थिए ।

महिनौंसम्म आन्दोलनलाई निरन्तरता दिन सहज थिएन । डीपी अर्यालकै नेतृत्वमा आन्दोलनले निरन्तरता पायो । सभापति जेलमा हुँदा पनि आन्दोलन भइरह्यो । रास्वपाले सदनमा पनि आवाज उठाइरह्यो ।

जेनजी आन्दोलनको सफलतापछि जब देश चुनावमा होमियो, चुनावी अभियानको नेतृत्व डीपी अर्यालले नै लिए ।

चुनावका बेला उनले भनेका थिए– हामीले संसदमा १८६ सिट जित्छौं, त्यसको एक एक हिसाब डायरीमा छ।’ जब चुनावको नतिजा आयो, रास्वपाले १८२ सिट जित्यो । यसले पनि उनको नेतृत्व क्षमता दर्शाउँछ । 

महाधिवेशनमा नामै लिइएन 

पार्टीको पहिलो महाधिवेशनमै सहभगाी हुन नपाउनु डीपी अर्यालको संवैधानिक बाध्यता हो । संवैधानिक सीमा रेखा उनले नाघेनन् ।

६ असार २०८३ दिउँसो ३ बजे । भरतपुरको दियालो फुडल्याण्डमा केन्द्रीय समितिको अन्तिम बैठक बस्यो । करिव चार घण्टा चल्यो ।

बैठकले विधान संशोधन, राजनीतिक, सांगठनिक, आर्थिक, वैचारिक सबै प्रतिवेदन पारित गर्यो । सभापतिसहित सहभागी सबैले एक अर्कालाई धन्यवाद दिए, महाधिवेशन सफलताको कामना गरे, महाधिवेशनपछिको जिम्मेवारी र भूमिकाका लागि पनि शुभकामना दिए ।

तर, त्यहाँ उनको नाम कसैले उच्चारण गरेन ।

७ असार २०८३ । महाधिवेशनको उद्घाटन भयो । उदघाटन समारोह ३ घण्टाजति चल्यो । कार्यक्रम सञ्चालन गर्ने दुई महामन्त्रीदेखि भाषण गर्ने वक्ताहरु कसैले पनि डीपी अर्याललाई सम्झेनन् ।

उनी सभामुख नभएको भए पार्टीको पहिलो उपसभापतिका रुपमा समारोहलाई सम्बोधन गर्थे । मन्चमा सभापतिसँगै उनको आसन हुन्थ्यो । उनको बुझाइ छ– साथीहरुले नाम नलिए पनि मनमनै सम्झिनु भयो होला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।