नेभिगेशन
समाज

चारदिने झरीले देशभर कहाँकहाँ केके गर्‍यो ?

काठमाडौँ । चार दिनदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ। वर्षाका कारण सडक तथा राजमार्ग अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा पुल बगेका, घर भत्किएका र बस्ती डुबानमा परेका छन्। वर्षाले पर्यटन तथा पर्वतारोहण व्यवसायसमेत प्रभावित भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लमजुङमा पहिरो खसेपछि बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको छ। वर्षा भइरहेकाले पहिरो हटाउन र भासिएको सडक मर्मत गर्न कठिन भएको छ।

Ncell
Extreme Energy

स्याङ्जामा कालीगण्डकी नदीको बाढीले मिर्मीस्थित पक्की पुल बगाएको छ। कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। भारी वर्षापछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएका छन् भने विद्युत् उत्पादन बन्द गरिएको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ।

वर्षाका कारण म्याग्दीको पर्यटन व्यवसायमा पनि असर परेको छ। सडक र पदमार्ग अवरुद्ध हुँदा घोडेपानी पुनहिल, धवलागिरि चक्रीय पदमार्ग, ढोरपाटन, गुर्जा, गुरिल्ला, अन्नपूर्ण–धवलागिरि, खोपारा, तातोपानी कुण्डलगायत पर्यटकीय क्षेत्र सुनसान बनेका छन्।

घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार पुनहिलमा विगतका वर्षमा असोजमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेकामा अहिले करिब १०० जना मात्रै पुग्ने गरेका छन्। भोटेकोशी बाढीपछि धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका र त्यसपछि परेको झरीले पर्यटक आगमन थप प्रभावित भएको उनले बताए।

प्रतिकूल मौसम र हिमपातका कारण म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणसमेत रोकिएको छ। आधार शिविरमा पुगेका ३० जना विदेशी पर्वतारोही सुरक्षित स्थानतर्फ फर्किएका छन्। मौसम खुलेपछि आरोहणलाई निरन्तरता दिने तयारी छ। अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रासमेत बिहीबारदेखि बन्द गरिएको छ।

बर्दियामा लगातारको वर्षाका कारण तीन कच्ची घरमा क्षति पुगेको छ। बाँसगढी नगरपालिका–८ रेशम टोलमा घरको भित्ता भत्किँदा बङ्गुरको खोर पुरिएर एउटा बङ्गुर मरेको छ। मधुवन नगरपालिका–५ र बारबर्दिया नगरपालिका–९ मा पनि कच्ची घरका भित्ता भत्किएका छन्। घटनामा मानवीय क्षति भएको छैन।

गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँच कच्ची घरमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बढैयाताल गाउँपालिका–१ मा पनि एउटा घरमा पानी पसेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशमा वर्षाका कारण प्रमुख राजमार्ग तथा सडकका विभिन्न खण्ड अवरुद्ध भएका छन्। कर्णाली करिडोर, कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग र राप्ती राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। हुम्लाको सर्केगाड, कालीकोटको शुभकालिका र तिलागुफा, सुर्खेतको बराहताल, रुकुमपश्चिमको सानीभेरी, सल्यानको कपुरकोट तथा बनगाड कुपिण्डे, जाजरकोटको छेडागाड, जुम्ला र मुगुका विभिन्न सडकखण्ड बन्द भएका छन्। सडक खुलाउन जेसिबी तथा स्काभेटर परिचालन गरिएको छ।

सप्तरीमा बाढीका कारण करिब ५०० घर डुबानमा परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पसेपछि दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। प्रभावितका लागि तत्काल बिहान र बेलुका खानाको व्यवस्था गरिएको छ।

बागलुङमा पनि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित दर्जनौँ सडक अवरुद्ध भएका छन्। गलकोट–ताराखोला, बागलुङ–भकुण्डे, सिगाना–सायकोट, दब्ल्याङ–बलेवा–कुश्मिसेरा, मुलपानी–तितौरेलगायत सडक पहिरो र बाढीका कारण बन्द भएका छन्। सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ।

यसैगरी, मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत चुनपहरा, बिरौटा र घाँसीकुँवामा पहिरो खसेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन दिनभर लाग्ने अनुमान गरिएको छ।

लगातारको वर्षाका कारण सडक, पुल र घरमा क्षति पुग्नुका साथै बाढी तथा डुबानको जोखिमसमेत बढेको छ। सम्बन्धित निकायले पहिरो हटाउने, सडक खुलाउने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।