काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ । एक्स्पो यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपो दावी गरिएकाे यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहने बताइएकाे छ । एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन् ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले NAIMA एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन् । उनले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गरिन् ।
उनले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिइन् । साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उनले बताइन् ।
अध्यक्ष वैद्यले नाइमाले NAIMA Mobility Expo र NAIMA Monthly Mobility Sambaad जस्ता प्रमुख कार्यक्रमहरू संस्थागत गरिसकेको तथा NAIMA Mobility Journal र NAIMA Capacity Building Training Sessions सुरु गरिसकेको जानकारी दिइन् । त्यस्तै एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू NAIMA Mobility Journal मा प्रकाशित गरिने पनि उनले बताइन् । साथै, नाइमाले आगामी दिनमा NAIMA Mobility Conclave आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्ने योजना रहेको पनि उनले उल्लेख गरिन् ।
सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्सपो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको बताइएकाे छ । स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दु:ख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य श्री सन्दीप शारडाले पनि आफ्नो धारणा राख्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताए । उनले यस्ता प्रदर्शनीहरूले व्यवसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
त्यस्तै एक्सपोका प्रमुख विशेषताबारे जानकारी दिँदै NAIMA Auto Show Planning Committee का संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताउनुभयो। उहाँले यस वर्षको एक्सपोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउ ।
समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्सपोमा विशेष व्यवस्था गरिएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिए । आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ । पठाओले राइड पार्टनरका रूपमा एक्सपो अवधिभर भृकुटीमण्डप आउने–जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्यूआर पार्टनरका रूपमा युनियन पे क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याकसुविधा उपलब्ध गराउनेछ।
यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको Auditorium Hall मा लर्निङ सेसनहरु आयोजना हुनेछन् । यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन । यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन् ।
एक्सपोका Co-Sponsor Global IME Bank Ltd. का तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नाइमासँग नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोमा सहकार्य गर्न पाउँदा बैंक खुसी लागेको बताए । उनले मोबिलिटी, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी र वित्तीय पहुँचबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीन सहकार्यको बलियो सम्भावना रहेको उल्लेख गरे । साथै, एक्सपोमा आगन्तुकहरूका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय सुविधाहरू उपलब्ध गराइने पनि उनले जानकारी दिए ।
रेड बुल नेपालका तर्फबाट मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले रेड बुल Powered By category अन्तर्गत Beverage Partner का रूपमा NAIMA Nepal Mobility Expo 2026 सँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । उनले नाइमाले तालिम, सचेतना अभियान, आकस्मिक सहयोग र क्षेत्र केन्द्रित कार्यक्रमहरू गर्दै आएकोमा प्रशंसा गर्दै एक्सपो अवधिमा रेड बुलले आकर्षक कार्यक्रमहरु प्रस्तुत गर्ने जानकारी दिए । NAIMA Nepal Mobility Expo 2026 लाई ग्लोबल आईएमई बैंकले को-स्पोन्सरका रूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरका रुपमा बेभरेज पार्टनरका रूपमा सहयोग गरेका छन्।
यसैगरी, एक्सपोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल (BOSCH Nepal) प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रा.लि. (Hikvision) सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।
नाइमाले आफ्ना बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू, Auto Show Planning Committee, सचिवालय, प्रायोजक, साझेदार, प्रदर्शक, सञ्चारकर्मी तथा सबै सरोकारवालाहरूलाई सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेको छ।