नेभिगेशन
समाज

फेरि कारबाही भोग्न तयार छु, एमाले जोगाउन ओलीले छाड्नै पर्छः उषाकिरण तिम्सेना

काठमाडौँ । नेकपाका नेता उषाकिरण तिम्सेनाले पार्टी नेतृत्वमाथि प्रश्नैप्रश्न गरेकी छन् । मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले पुर्नगठन सुझाव कार्यदलले राखेको छलफलमा धारणा राख्दै सल्लाहकार परिषद् सदस्य रहेकी तिम्सेनाले पार्टी यथास्थितिमा चल्न नसक्ने बताइन् ।

‘ढिलै भए पनि एमालेभित्र समीक्षा पुनर्गठन जस्ता विषयहरूमा छलफल हुन लागेको देखेर मलाई खुसी लागेको छ। सबैभन्दा पहिले मैले नेतृत्व हस्तान्तरण र रुपान्तरण भनेर एउटा फोटो फेसबुकमा पोस्ट गरेको थिएँ । त्यो फेसबुकमा पोस्ट गर्दाखेरी तपाईं नेता कमरेडहरूकै नजिक, वरपर बस्ने हाम्रै पार्टीका जिम्मेवार कमरेडहरूले अश्लीलजन्य विभिन्न कमेन्टहरू गरेका छन्,’ उनको भनाइ उद्धृत गर्दै छलफमा सहभागी एक नेताले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई राजनीतिक रुपमा प्रश्न सोध्दा कुनै दुख नलाग्ने तर यस्ता अरू राजनीतिभन्दा बाहिरका प्रश्नहरूले दुःख लाग्ने उनको भनाइ थियो । ‘पार्टीले पार्टी कमिटीको मान्छेको मात्रै रक्षा गर्छ भन्ने होइन नि । पार्टीले त आम जनताको पनि, आशा, भविष्यको, नैतिकताको र सार्वभौमिकता सबैको रक्षा गर्नु पर्छ नि,’ उनले भनेकी थिइन् ।

Ncell
Extreme Energy

‘ओलीलाई समाजका सबैले प्रश्न गरेका छन्’

गत फागुन २१ गतेको निर्वाचन कसरी भयो भन्ने कुरामा पार्टीका नेता–कार्यकता सबै अवगत रहेको उनको भनाइ थियो । तर यसलाई हेर्ने दृष्टिकोण चाहिँ पार्टीको राजनीतिक रुपमा कमजोर भएर हो वा माक्र्सवादी भएर सबैलाई षड्यन्त्र मात्रै लागेको भन्दै उनले टिप्पणी गरिन् ।

‘कतिपय कमरेडहरूलाई हामी प्रतिको एकदम निराशा कुण्ठा आवेग मात्र हो भन्ने जस्तो लाग्छ। मलाई के लाग्छ भने यो सबै घटनाहरूलाई सबैले आआफ्नो कोणबाट हेर्न सक्नुहुन्छ तर सबैभन्दा पहिले हामीले यसलाई राजनीतिक कोणबाट हेर्नुपर्छ। त्यो भदौ २३–२४ को घटनालाई हामीले षड्यन्त्र मात्रै मान्नु हुँदैन । यो आवेग, निराशा मात्रै पनि थिएन । हाम्रो समाजमा व्याप्त बेरोजगारी, भ्रष्टाचार सबै कुराले मान्छेहरू भयंकर निरास थिए,’ उनले भनेकी थिइन् ।

उनले त्यतिबेला समाजका मान्छेहरू निराशामा परेको आफूलाई अनुभूत भएको बताइन् । निराशाकै कारण मानिसहरू थातथलो छोडेर, देशै छोडेर हिँडेको उनले भनेकी थिइन् ।

‘यो नेपाली समाजमा स्थापित, घरगाडी, बंगला भएका मान्छेहरू पनि माइग्रेसन हुन प्रोसेसहरू गरिरहेका छन् । र भइरहेका पनि छन् । किन त्यसो भइरहेका छन् भनेर मैले मेरै पार्टीका नजिकका मान्छेहरूलाई सोध्दा उनीहरूले पार्टीको भविष्य छैन, तपाईं पो राजनीति राजनीति भनेर हिँड्नु भएको छ । भन्नेजस्ता कुराहरू गरिराख्थे,’ उनले बैठकमा भनेकी थिइन् ।

भदौ २३ र २४ को घटनालाई राजनीतिक रुपमा हेर्दा मात्रै पार्टी रुपान्तरण हुने, नेतृत्व पुस्तान्तरण गर्ने कुरामा पुग्न सकिने उनको भनाइ थियो ।

‘जो सत्तामा हुनुहुन्छ, जो शक्तिमा हुनुहुन्छ, जो कमरेड अध्यक्षको आँखा परेका कारण तलबाट माथि क्रेन लाएर पुग्नुभएको छ, उहाँहरूले पक्षमा बोल्नुहुन्छ । यद्यपि मेरो पार्टीका यो मञ्चमा आसिन भइरहनुभएको कमरेडहरू, अध्यक्ष कमरेडप्रति व्यक्तिगत रुपमा मेरो केही भन्नु छैन । तर आज हाम्रो पार्टीका अध्यक्ष, पदाधिकारीहरूमाथि पनि प्रशस्त प्रश्नहरू छन् । तर हाम्रो पार्टीका अध्यक्षप्रति यो समाजमा राजनीतिक रुपले उभिएका, अध्यक्ष सत्तामा हुँदा शक्ति र पहुँच भएका बाहेक सबैले प्रश्न गरेका छन्,’ उनले छलफलमा भनेकी थिइन् ।

'ओली भएको पार्टीमा काम नगर्ने भन्ने एमाले बढे'

उनले पार्टी अध्यक्षमा ओली रहुँञ्जेल पार्टीका काम नगर्ने, पार्टी सदस्यता पनि नवीकरण नगर्नेहरू बढेको पनि बताइन् ।

‘आज कमरेड ओली नै भएको पार्टीमा चाहिँ म काम गर्दिनँ है कमरेड भन्ने थुप्रै छन् । ओली नै अध्यक्ष हुने एमालेको पार्टीको सदस्यता चाहिँ रिन्यु गर्दिनँ भन्ने थुप्रै मान्छेहरू मैले भेटेको छु । ती मान्छेहरूले मलाई तपाईं पार्टी सदस्यता रिन्यु गर्नु हुन्छ कि हुन्न भनेर समेत सोध्ने गरेका छन्,’ उनले भनिन् ।

आजको एमाले जहाँ आइपुगेको छ, यसप्रति आफू केन्द्रीय सदस्य भइसकेको, २५ वर्षदेखि पार्टी संगठित सदस्य भएको हिसाबले कति जिम्मेवारी लिनुपर्छ लिन तयार रहेको बताइन् ।

‘तर तपाईंहरू पनि यो पार्टीमा भए वापत, तपाईंहरूले जति सत्ता, शक्ति इन्जोय गर्नुभएको छ त्यति जिम्मेवारी लिनुपर्छ र कमरेड ओलीले पनि लिनुपर्छ । म के भन्न चाहन्छु भने कमरेड ओली अध्यक्ष भएपछि यो पार्टीको ओलीकरण भयो । एमाले एमाले रहेन,’ उनले भनेकी थिइन् ।

आफूलाई पार्टीका नेता कार्यकर्ताले ‘बा’ लाई भेट्नुभयो भन्ने जस्ता प्रश्न गर्ने गरेको भन्दै उनले राजनीतिक रुपमा आफूले कुनै बा र दाइलाई किन भेट्नुपर्छ ? भनेर सोधेकी थिइन् ।

‘मैले पाएको जिम्मेवारी पूरा गर्नुपर्ने होला नि ! हार्दिकताका हिसाबले, एजेन्डा मिलेका हिसाबले, एउटै पार्टीमा भएका हिसाबले भेट्मा के छ ? लाल सलाम भन्ने त एउटा विषय होला तर हाम्रो पार्टी कामनै भेट्ने, नमस्कार गर्ने, तपाईं जस्तो को छ भन्ने, फोटो खिच्ने, फेसबुकमा हाल्ने, किचेनमा जाने, खानेकुरा राम्रोराम्रो अर्गानिक ल्याएर जिम्मा लाउने त होइन नि । यो सबै गरेकामा कुनै गुनासो होइन तर हाम्रो पार्टी काम नै यो भयो,’ उनले भनिन् ।

उनले नुवाकोटको उदाहरण दिइन् । नुवाकोटको १२ पालिकामध्ये एउटा मात्रै त्यो पनि माओवादीलाई उपाध्यक्ष दिएर जितेको भन्दै तल संगठन कमजोर भएको बताएकी थिइन् । त्यो अध्यक्ष पनि विभिन्न कारणले पार्टी काममा नरहेको बताइन् । उनले भनेको नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष हुन् । पालिका अध्यक्ष बिरबल तामाङ आर्थिक कारोबारको प्रकरणमा फरार छन् ।

‘तर हामीले त्यो अध्यक्षलाई कारबाही गर्ने शक्ति पनि राख्दा रहेनछौं । यो नेकपा एमालेको संगठनले काममा लाउने शक्ति पनि राख्दो रहेनछ भनेपछि जनताले हामीलाई कसरी मूल्यांकन गर्छन् होला,’ उनले बताइन् ।

आफू २०६४ देखि सबै चुनावमा भोट माग्न कार्यकर्ताका हिसाबले हिँडेको तर यो पालि जस्तो निराशाजनक भोट माग्न जाने कार्यक्रम कहिले पनि नभएको उनले भनेकी थिइन् ।

‘हामी उम्मेदवार लिएर गएका छौँ । तर हाम्रो उम्मेदवारलाई आम जनताहरूले भेट्न पनि चाहँदैनन् । नमस्ते गर्दा पनि फर्काउँदैनन् । प्रत्येक ठाउँठाउँमा प्रश्न गरेको छ–भदौ २३ गते मारिएका केटाकेटीबारे तपाईंहरूको भनाइ के हो ? मान्छेले धेरै ठाउँमा सोधे । त्यसपछि ती जनताले सोधेको त, ती सबै त यो अमेरिकन युथ काउन्सिलमा छैनन् होला नि । यो अमेरिकन युथ काउन्सिलहरू जस्ता संगठनमा मैले पनि काम गरेको छु । मेरो प्रतिबद्धतामा प्रश्न छ भने छानबिन गर्न सक्नुहुन्छ । होइन भने आफ्ना तमाम गल्तीहरू एकातिर ढाकछोप गर्ने अनि अर्कातिर लगेर खन्याइदिने कुरा नगरौं,’ उनले भनिन् ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग मिलेर चुनाव लडेको, कमल थापालाई सूर्य चिह्न दिएको भन्दै यस्ता विषय पब्लिक अडिटको विषय भएको बताइन् ।

‘हामीले यति धेरै नकामहरू गरेका छौं, यति धेरै जनतालाई हेर्ने कुरा गरेका छौं, यो पछिल्लो गठबन्धनको सरकार पनि त कुनै नैतिकतामा आधारित रहेर, कुनै राजनीतिक सिद्धान्तमा आधारित रहेर गठबन्धन सरकार बनाएको त होइन । यो त तपाईंहामीलाई सत्ता अभ्यास गर्न, सत्ता इन्जोय गर्न चाहिएर बनेको त हो,’ उनले भनिन् ।

'२०४६ मा ९० प्रतिशत पञ्चेलाई पञ्चायत ढल्दैछ भन्ने थाहा थिएन'

उनले २०४६ मा ९० प्रतिशत पञ्चेलाई पञ्चायत ढल्दैछ भन्ने थाहा नभएको भन्दै भदौ २३ र २४ बारे एमालेको अवस्था पनि त्यही भएको भनिन् । ‘भेषबहादुर थापाले लेखेको किताब राष्ट्र परराष्ट्र भन्ने छ, त्यसमा उहाँले के लेख्नु भएको छ भने ४६ सालको आन्दोलन हुनुपूर्व ९० प्रतिशतभन्दा धेरै पञ्चहरूलाई पञ्चायत ढल्दैछ भन्ने थाहा थिएन,’ उनले भनिन् ।

गत भदौ २२ को विधान सम्मेलनमा पार्टीलाई समाजमा संकट छ भन्ने कुराको कुनै आभासै नभएको उनको भनाइ थियो ।

‘संकटग्रस्त समाजमा बसेपछि त त्यसको भाषा बोल्नु पर्‍यो नि । यो राष्ट्र, राज्यको अनेकौं सीमाहरू थिए । हाम्रो प्रधानमन्त्रीले चाहेको कुराहरू हुन सक्दैन थियो । अध्यक्ष ओलीले प्रधानमन्त्रीको कुर्सीबाट त्यसकाप्रति माफी माग्नु पर्दैन ? त्यसकाप्रति आत्मालोचना गर्नु पर्दैन ? कुनै आत्मालोचना नगर्ने कम्युनिस्ट पार्टीको नेता हुन सक्छ ?,' उनले भनिन् । 

'फेरि पनि कारवाही भोग्न तयार छु'

मीनबहादुर गुरूङले दान दिएको जग्गा प्रकरणमा गल्ती भयो भन्दा कारबाही भोग्नु परेको प्रसंग ल्याएकी थिइन् ।

‘हामीले मीनबहाद्र गुरुङ दम्पतीलाई धन्यवाद भन्दै जग्गा फिर्ता त गर्‍यौं । तर यो बीचमा भएको निर्णयप्रति हामीले आत्मालोचना गर्नु पर्दैन ? त्यो निर्णयप्रति मलाई कारबाही गर्नुभयो भन्ने विषयमा मलाई कुनै गुनासो छैन । अब पनि म कारबाही भोग्न तयार छु र म एमालेमै भोट हालिराख्छु,’ उनले भनिन् ।

एउटा कम्युनिस्ट पार्टीको अफिस चाहिँ कुनै व्यापारीले बनाइदिएको, कर छलेको छ भन्ने प्रमाणित भएको व्यापारीले बनाइदिएको कुरालाई लिएर आगामी ५० सम्म नेकपा एमाले चलाउन सक्छाै‌ भन्न सक्थ्यौं भन्दै उनले प्रश्न गरेकी थिइन् ।

'एमालेका गल्तीप्रति म माफी माग्छु, ओली तयार छन् ?'

उनले पार्टी जीवनमा अहिलेको अवस्था आउनुमा आफ्नो कति जिम्मेवारी छ लिने र गल्तीप्रति माफी माग्न तयार रहेको बताइन् । यसका निम्ति अध्यक्ष ओली तयार छन् भनेर प्रश्न गरिन ।

‘यसकाप्रति मेरो कति जिम्मा छ, म चाहिँ माफी माग्न तयार छु । तर तपाईंहरू के हुनुहुन्छ ? अर्को, अब कसरी पार्टी अगाडि बढाउने भन्ने विषयमा हामी कति सँच्चिन्छौं, हाम्रो भाषा जनताले कति पत्याउँछन्, तपाईंहरू नेतृत्व हस्तान्तरण गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? यसमा भर पर्छ,’ उनले भनिन् ।
उनले यो पार्टीलाई जनमोर्चाको आकारमा पुर्‍याएकोे आरोप लगाइन् ।

‘जनमोर्चालाई पनि म रेस्पेक्ट गर्छु तर यो पार्टीलाई जनमोर्चा बनाएको नैतिक र राजनीतिक जिम्मा तपाईंहरू को कोले लिने हो, लिनुपर्छ कि पर्दैन,’ उनले भनिन् । उनले पार्टीमा प्रश्न सोध्नेहरूलाई कारबाही कत्लेआम गर्दैँ जाँदा  पार्टीको साख पनि गिर्दै गिर्दै गएको बताइन् ।

‘हामीले गल्ती गर्न सक्छौं तर त्यसलाई मनन गरेर सच्याउनु सबभन्दा ठूलो कुरा हो । हामी आजैबाट सच्याउन तयार भयौं भने एमालेको पुनर्जागरण हुन्छ, पुनर्गठित पनि हुन्छ, भएनौं भने हुँदैन,’ उनले भनेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो।असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि अचौथोपटक म्याद थप भएको हो।
सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त

सरकारको मुख्यसचिवमा गोविन्द बहादुर कार्की नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।