काठमाडौं । भनिन्छ– आगाको बीउ र झगडाको निहुँ ठूलो हुनुपर्दैन ।
आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं ।
झगडाको चरित्र र स्वभाव पनि त्यस्तै हो ।
विद्वेष र कलहको सानै आगाले पनि ठूलो डढेलो निम्त्याउन सक्छ । सदियौंदेखि मिलेर बसेको समाज, सभ्यता र संस्कृतिमा त्यसले नराम्ररी दख्खल पुर्याउन सक्छ ।
मोहर्रम पर्वमा राखिएको झण्डाले भित्रभित्रै इन्धन भरेको सकप्तानगञ्जमा डिजेको ध्वनि मिसिँदा देवानगञ्ज अहिले असान्त छ । सिंगै सुनसरीको लय बिथोलिएको छ । आसपासको समाज भय र त्रासमा बाँचेको छ । गावैं बिस्थापित हुने जोखिम बढेको छ ।
आगाको लप्का कहाँकहाँसम्म फैलने हो ? केके खरानी बनाउने हो ? केके विध्वंश व्यहोर्नुपर्ने हो ? मृत्युकै कोलाहलमा बाँच्नुपर्ने हो कि, सुनसरी र आसपासका जिल्लालेसमेत केही सोच्न सकेका छैनन् ।
अहिले उनीहरूसँग प्रशासन गुहार्नु र आ–आफ्ना भगवान पुकार्नुबाहेक कुनै विकल्प छैन ।
आखिर जसजसले सल्काए पनि आगो कहाँ आफ्नो हुन्छ र ! मानिसले नै विवेक गुमाएपछि आगो आफै कहाँ सम्मालिन्छ र ! खरानी बनाउनु आगाको धर्म हो, खरानी हुनु सल्काउनेहरूको नियति !
त्यसैले आगो सम्हालौं । आफैलाई सम्हालौं ।
कप्तानगञ्जको कलहको निउ सुरु हुन्छ – मोहर्रम पर्वको रौनक जगाउन पोलपोलमा टाँगिएको झण्डाबाट ।
मोहर्रम बिदा भएको एक महिना भइसकेको छ । पर्वको रौनक निख्रिएको महिना दिन बितिसक्दा पनि भण्डा नहटाएपछि अर्को समुहले सहेन ।
आदरणीय दर्शक ! यो भिडिओमा हामी कुनै समूहको नाम लिँदैनौं । हाम्रो ध्येय त्यहाँको घटनाको जानकारी गराउनु हो । सामाजिक कलहलाई झन् लहलह तुल्याउनु होइन ।
त्यसैले यस भिडिओमा हामी यो समूदाय, ऊ समूदाय नभनी केवल दुई पक्ष भन्ने छौं ।
मोहर्रम पर्वका टाँगिको झण्डा नहटाएपछि अर्को पक्ष रूष्ट थियो । कप्तानगञ्ज समूहका हिसाबले संवेदनशीन ठाउँ हो । दुई समूहका आ–आफ्ना धार्मिक अनुष्ठान, पूजाअर्चनका ठाउँ सँगै छन् । घर सँगै छन् । आँगन पनि सँगै छन् ।
भनिन्छ नि, एउटै सिरानी गरेर सुतेपछि कहिलेकाहीँ खुट्टा लाग्छ । दुई समूह सँगै बसेकाले कहिलेकाहीँ बेमेल देखा नपर्ने होइन, कप्तानगञ्जमा पनि यसो हुने गरेको थियो ।
अलगअलग समूह, रहनसहन, संस्कृति रहेकाले त्यहाँका मानिसहरू अलगअलग मूल्य, मान्यता र परम्परामा बाँच्नु स्वाभाविकै भइहाल्यो ।
झण्डाले फहराउन थालेको कलहमा डिजेको ध्वनि थपिएपछि विवादले डढेलोको रूप लिएको प्रहरी प्रशासनले बताएको छ ।
घटनाबारे अध्ययन गर्न पुगेको मानवअधिकारको टोलीको प्रारम्भिक विश्लेषण पनि त्यही छ ।
कलहको उत्कर्ष गत आइतबार रातिबाट सुरू हुन्छ । कप्तानगञ्ज क्षेत्रमा मन्दिरहरू छ । त्यहाँका केही युवाले डिजेसहित सन्ध्याकालीन आरती जगाउँछन् । सोमबारे अनुष्ठानसहित बोलबम यात्रा गर्ने भन्दै कोशी बराजतिर जान्छन् । फर्कंदा डिजेसहित नै कप्तानगञ्ज आइपुग्छन् ।
यो राति साढे नौ बजेतिरको कुरा हो ।
राति, बालबच्चा–वृद्धहरू निद्रामा परेका बेला चर्को आवाज निकालेर डिजे बजाएको भन्दै अर्को पक्ष विवादमा उत्रन्छ ।
भुसको आगो बनिसकेको कलह अब विस्फोटको सङ्घारमा आइपुग्छ । त्यस्तो बेला दुवै पक्षका अगुवाले परिस्थिति साम्य बनाउन लाग्नुपर्ने हो ।
तर एक पक्ष तयारी अवस्थामा आइपुगेको भन्दै अर्को पक्ष पनि प्रतिवादमा उत्रन्छ ।
दुई पक्षबीच विवाद बढेको र उग्ररूप लिइसकेको सूचना पाएपछि स्थिति साम्य पार्न खटिएका नेपाल प्रहरीको इनिस्पेक्टर राकेश राईसहितको टोलीमाथि आक्रमण भएको दाबी सुरक्षा निकायको छ ।
त्यसपछि पुगेको सशस्त्रले फायर खोल्दा स्थानीय ओमप्रकाश मेहताको मृत्यु हुन्छ । अरू ९ जना गम्भीर घाइते हुन्छन् ।
त्यसपछि परिस्थिति काबु बाहिर पुगिहाल्छ ।
दुई पक्षबीच विवाद बढिरहेको बेला समूहका अगुवालाई बोलाएर सम्झाइबुझाइ गर्नुको सट्टा अन्धाधुन्ध फायर खोलेको स्थानीयको आरोप छ । अहिले उनीहरू यसैको जबाफ खोजिरहेका छन् । गोली चलेपछि केही शान्त बनेको कप्तानगञ्जको माहौल सोमबार र मंगलबार दिनभर अशान्त बन्यो । आगो सल्किएर अन्यत्र पनि पुग्यो ।
बुधबार कफ्र्युको दायरा बढाइएको छ । हाल इनरूवा र दुहवी नगरपालिका, भोक्राहा, कोशी, गढी, देवानगञ्ज, हरिनगर, बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको पूर्वपश्चिम राजमार्ग पर्ने भागको २०० मिटर दायाँबायाँ पनि कफ्र्यु छ ।
दुवै पक्षले कफ्र्युको पालना गरेका छैनन् । सेनालाई सडकमा उतारेर तैनाथी बढाउँदा पनि प्रदर्शनकारीहरूले निषेधआदेशको उल्लंघन गर्दै तोडफोड, आगजनी र विध्वंश जारी राखेका छन् ।
एक समूहमाथि ज्यादती भएको भन्दै त्यसको प्रभाव अन्यत्रतिर पनि फैलन थालेको छ ।
मंगलबार बिहान, दिउँसो केही शान्त देखिए पनि राति कोशी कटान क्षेत्रमा उग्र प्रदर्शन भयो । प्रदर्शनकारीहरूले निजी घर, पसल, व्यवसाय र धार्मिक स्थलमासमेत आगजनी गरेको स्थानीयको दाबी छ ।
तर सुरक्षाकमीले त्यसको पुष्टि गरेका छैनन् ।
एक समूहले आइतबार राति, विवादकै क्रममा अचानक विद्युत् लाइन काटिएको, त्यही क्रममा गोली चलेको र करिब २ घण्टापछि मात्र लाइन आएकोले घटना नियोजित हुन सक्ने बताएका छन् । घटनाबारे गृहमन्त्रालयले पाँच सदस्यीय छानबिन समिति बनाएर अध्ययन गरिरहेकाले त्यसबारे भनिहाल्न मिल्दैन ।
यो घटनाका सुरक्षा निकायको समन्वय र तदारूकताको कमी देखिन्छ । ठाउँको संवेदनशीलता बुझेर झण्डा नहटाएको विवाद केही पहिले नै साम्य बनाउनुपथ्र्यो । यो विवादबारे देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहतलाई पनि थाहा थियो । उनले पनि साम्य बनाउन पहल लिनसक्थे । किनभने स्थानको संवेदनशीलता उनलाई अझ गहिरोसँग थाहा थियो ।
स्थानीय तह, प्रशासन कसैले पनि सक्रियता नदेखाएपछि विवाद भुसको आगो बनिरह्यो ।
अर्को घटनाको समयमा नेपाल प्रहरीका एसपी केशवकुमार थेबे बिदामा थिए र सशस्त्र प्रहरीका गणपति श्यामकुमार कार्की मुख्यालय तानिएकाले त्यहाँ अर्को पठाइएको थिएन । पद रिक्त थियो ।
यसले पनि सुरक्षा समन्वयमा ग्याप थियो भन्ने पुष्टि गर्छ ।
राष्ट्रिय मानव अधिकार आयोगले घटनाको सूक्ष्म छानबिन सुरु गर्दै दोषीमाथि कारबाही, घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई क्षतिपूर्ति दिन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझाव दिन उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
मंगलर राति प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अपिल गर्दै मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको बताएका छन् । सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने भएको भन्दै सरकारले यो सबै काम यथाशक्य चाँडो गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि नै चासो राखिरहेका थिए । सरकार, राजनीतिक दल तथा स्थानयी प्रसाशनसँग समन्वयमा रहेका लामिछानेले मंगलबार दिउँसो सामाजिक सद्भाव कायम गर्न सार्वजनिक विज्ञप्ती नै जारी गरे र सर्वदलीय बैठक बोलाउँदै सद्भावको अग्रसरता लिए ।
कप्तानगञ्जलगायत क्षेत्रमा देखापरेको असहिष्णुताको आगोलाई मत्थर बनाउन भूमिका खेलेका छन् । त्यसमा अरू दलहरूले पनि साथ दिने वचन दिएका छन् ।
समाजलाई एकतामा बाँध्नसक्ने कडी राजनीति पनि भएकाले सभापति लामिछानेको यो भूमिका सामयिक र प्रशंसनीय छ । यसको साझा र विवेकसम्मत प्रयोग अब कप्तानगञ्जमा हुनुपर्छ । देखिनुपर्छ ।
यसबीचमा सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाएका छन् । अन्यत्र भएका घटनाका तस्बिर, दृश्य सामाजिक सञ्जालमा हाल्ने, सामाजिक सद्भाव, सदासयता बिथोलिने खालका सामग्रीहरू पोस्ट गर्ने क्रम बढेको छ । जसले आतंक र आक्रोशलाई अझ बढाएको छ,
सरकारले पनि हिंसा, उत्तेजना, प्रतिशोध र सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनाबाट प्रभावित नहुन आग्रह गरिरहेको छ ।
समाज भन्नु नै सद्भावको सूत्र पनि हो । सबै जाति, समूदाय, धर्म, आस्था, विश्वास, परम्परा, मूल्यको सगोल रूप नै समाज भएकाले हाम्रा गतिविधि, अभिव्यक्तिहरूले सद्भाव बिथोल्न सघाउ पुर्याउनुहुन्न । हाम्रा क्रियाकलापले कसैको आस्थामा चोट पुर्याउनु पनि हुन्न ।
अहिलेको पहिलो आवश्यकता भनेको देवानगञ्जलगायत सुरसरी र आसपासका फैलिएको आगो निभाउनु हो । यो आगो निभाउन तपाईं हाम्रो एकएक थोपा पानीको पनि मूल्य हुन्छ ।
हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न सके सामाजिक सद्भाव कायम राख्न सकिन्छ । यसमा सबैले इमान्दार प्रयत्न गरौं ।