काठमाडौँ । लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ । उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन ?’ भन्ने चिन्ताले बढी सताउँछ । घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ ।
'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको डर । मनसुनभर अफिस जाँदा–आउँदा एउटा मात्रै कामना हुन्छ—पानी परे पनि जमल नडुबोस् ।'
यस्तै अनुभव छ मनमैजुकी मलिन न्यौपानेको पनि । वर्षायाममा घर फर्किने बेला उनको पहिलो चासो मौसमभन्दा पनि जमलको सडकको अवस्था हुन्छ । 'वर्षामा जमल डुबेको त छैन भन्ने चिन्ता लाग्छ', उनी भन्छन्, 'अरू ठाउँमा पनि पानी जम्छ तर जमलमा त सडक नै नदीजस्तो हुन्छ । सवारीसाधन चलाउनै गाह्रो हुन्छ, सवारी चापले घण्टौँ अल्झिनुपर्छ ।'
उनहरू त उदाहरणको पात्रमात्रै हुनुहुन्छ । जमल हुँदै दैनिक आवतजावत गर्ने हजारौँ सर्वसाधारणका लागि वर्षा दैनिक जीवनलाई प्रभावित गर्ने अर्को चुनौती बनेको छ । केहीबेरको वर्षाले सडक जलमग्न हुँदा उनीहरूको यात्रा अनिश्चित, जोखिमपूर्ण र कष्टकर बन्दै गएको छ । माइतीघरपछि जमल पनि काठमाडौँको सहरी डुबानको अर्को संवेदनशील केन्द्रका रूपमा चिनिन थालेको छ ।
हरेक मनसुन अवधिमा जलमग्न हुने काठमाडौँ उपत्यका विभिन्न स्थानमध्ये एक हो उपत्यकाको मुख्य व्यावसायिक केन्द्रका रुपमा रहेको जमल आसपासको क्षेत्र पनि । वर्षायाममा डुबानको समस्या यस क्षेत्रका लागि पनि नयाँ होइन । भारी वर्षाबिना नै जलमग्न हुने यस क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि ठोस कदम नचाल्दा समस्या बल्झिएको हो । बर्सेनि मनसुन याममा केही घण्टाको वर्षाले नै सडक नदीजस्तै बन्छ । सवारीसाधन अस्तव्यवस्त भई सवारी चापले सर्वसाधारणहरू हैरान हुन्छन् ।
वरपरका व्यापार–व्यवसाय प्रवावित हुन्छ । पैदलयात्रीलाई हिँड्नै कठिन हुन्छ । बर्सेनि जमल क्षेत्र डुबानमा परेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को संयोजकत्वमा काठमाडौँ महानगरपालिका, सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्राविधिकहरूको संयुक्त टोलीले स्थलगत अध्ययन गरी समस्याको मूल कारण र समाधानका उपायसहित प्रतिवेदन तयार गरेको छ । असन्तुलित जल प्रवाह र निकास क्षमताको कमीका कारण जमल जलमग्न हुने गरेको प्रतिवेदनको निष्कर्ष रहेको छ । जमल क्षेत्रमा देखिएको डुबान र ढल निकाससम्बन्धी समस्या पहिचान गर्न गठित प्राविधिक समितिको उक्त प्रतिवेदन जमल डुबानको समस्या काठमाडौँको सहरी पूर्वाधार व्यवस्थापनको गम्भीर चुनौतीका रूपमा औँल्याएको छ ।
मुख्य कारणः असन्तुलित जल प्रवाह
प्राविधिक टोलीले गरेको अध्ययनले जमल क्षेत्रको मुख्य समस्या असन्तुलित जलप्रवाह रहेको देखाएको छ । प्रतिवेदनअनुसार जमल क्षेत्रमा चार फरक दिशाबाट ठूलो परिमाणमा वर्षाको पानी जम्मा हुन्छ । प्रतिवेदनअनुसार ज्याठातर्फबाट ६० सेन्टिमिटर डाइमिटर पाइप, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर डाइमिटर पाइपमार्फत पानी आउने गरेको छ । यसैगरी यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर डाइमिटर पाइप, जनप्रशासन परिसरबाट २० सेन्टिमिटर डाइमिटर पाइपबाट पानी आउने गरेको अध्यायन प्रतिवेदनको निष्कर्ष रहेको छ । अन्य मुख्य सडक क्षेत्रबाट सतही पानी जमलतर्फ केन्द्रित हुने गरेको छ ।
यी सबै क्षेत्रबाट आउने पानीको कुल इनफ्लो क्षेत्रफल करिब ०.८२६ वर्गमिटर बराबर रहेको छ । तर बाहिर निकास गर्ने पाइपको क्षमता भने ०.२८३ वर्गमिटरमात्रै छ अर्थात् करिब १२० सेन्टिमिटर डाइमिटर बराबरको पानी जम्मा हुने प्रणालीलाई ६० सेन्टिमिटर डायमिटरबराबरको निकास प्रणालीले मात्र धान्नुपर्ने अवस्था छ । यही क्षमताको असन्तुलन नै डुबानको मुख्य कारण भएको प्रतिवेदनले औँल्याएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकासेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् । 'यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि गुरूयोजना बनाएर काम गर्नेछौँ', उनले भनिन् ।
टुकुचा खोलासँग जोडिएको अर्को समस्या
प्रतिवेदक तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले टुकुचा खोलाको पानीको सहत र ढल निकासको अन्तिम बिन्दु बीचको तहको भिन्नता न्यून रहेका कारण अविरल वर्षाको समयमा खोलाको पानीको बहावले ढल निकासलाई बाधा पुर्याएको बताए । 'जमलको ढल प्रणाली टुकुचा खोलामा मिसिन्छ । तर टुकुचा खोलाको सतह र ढल निकासको अन्तिम बिन्दुबीच उचाइको अन्तर निकै कम भएकाले खोलामा पानी बढ्नेबित्तिकै ढलको पानी बाहिर निस्कन सक्दैन', उनले भने, 'खोलाको बहाव बढ्दा पानी उल्टै ढलभित्र फर्कने अवस्था सृजना हुने भएकाले सडकमा पानी थुप्रिने गरेको देखियो ।'
केसीका अनुसार ढल तथा डक वा सार्वजनिक स्थानमा वर्षाको पानी ढल प्रणालीमा पठाउन बनाइएको सानो संरचना (क्याचपिट)हरूमा जमेको फोहर, बालुवा र गेग्रानलाई पनि अर्को मुख्य समस्या रहेको छ । 'धेरै स्थानका पाइप तथा म्यानहोल नियमित सफा नभएकाले पानीको बहाव अवरुद्ध भएको देखिएको छ । केही स्थानमा ढलभित्र जमेको माटोले पाइपको वास्तविक क्षमता निकै घटाएको छ', उनले भने, 'यसका कारण सामान्य वर्षामै पनि पानी सडकमा निस्कने अवस्था बनेको पाइयो ।'
यस्ता छन् तत्काल गर्नुपर्ने काम
प्राविधिक समितिले तत्काल कार्यान्वयन गर्नुपर्ने चार प्रमुख उपाय सुझाएको छ । पहिलो, सडक डिभिजन, काठमाडौँ महानगरपालिका र केयुकेएलले सबै पाइप लाइन, ढलको पाइप निरीक्षण, मर्मत र सफाइका लागि बनाइएको प्रवेश कक्ष (म्यानहोल) र क्याचपिट नियमित रूपमा सफा गर्नुपर्ने अध्ययनको सुझाव रहेको छ । जल तथा मौसम विभान विभागबाट प्राप्त वर्षा पूर्वानुमान र डुबान चेतावनीका आधारमा सम्बन्धित निकायले सवारी आवागमनको व्यवस्थापन समयमै गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ । यसैगरी जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गरी सतहमा जम्मा हुने पानीलाई छिटो निकास दिनुपर्ने अध्ययनको सुझाव छ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोलाको सतह (बेडलेभल) सफा गरी पानीको बहाव सहज बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
मध्यमकालीन समाधान उपाय
समितिले तत्काल सरसफाइले मात्रै समस्या समाधान नहुने निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार अहिलेको ६० सेन्टिमिटरको मुख्य निकास पाइप हटाएर ठूलो क्षमताको ट्रङ्क लाइन निर्माण गर्नुपर्ने आवश्यकता छ । यसैगरी जमल क्षेत्रमा केन्द्रित हुने पानीलाई एउटै निकासमा नपठाई केही भागलाई वैकल्पिक मार्गबाट डाइभर्ट गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । यसका लागि काठमाडौं महानगरपालिका, केयुकेएल र त्रिभुवन विश्वविद्यालयलगायत प्राविधिक निकायको सहकार्य आवश्यक हुने उल्लेख गरिएको छ । त्यस्तै, क्षेत्रका होटल, विद्यालय, सपिङ मल र निजी भवनहरूमा वर्षाको पानी सङ्कलन तथा भूपुनर्भरण प्रणाली लागू गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिइएको छ । यसबाट ढल प्रणालीमा पर्ने पानीको चाप घटाउन सकिने प्रतिवेदनको निष्कर्ष छ ।
यस्ता छन् दीर्घकालीन योजनाका सुझाव
दीर्घकालीन रूपमा भने जमलको समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तयार पारेको कोर सिटी क्षेत्रको ढल पुनःस्थापनासम्बन्धी विस्तृत डिजाइन कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ । प्रतिवेदक केसीले वर्षाको पानीलाई सिधै ढलमा मिसाउने अभ्यास अन्त्य गरी छुट्टै स्टर्म वाटर ड्रेनेज नेटवर्क निर्माण गर्नुपर्ने देखिएको बताए। 'वर्षाको पानीलाई पूर्व–उपचारपछि पुनर्भरण वा जलाशयमा भण्डारण गर्ने सम्भावनाबारे पनि अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ', उनले भने ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले उपत्यकामा दीर्घकालीन ढल व्यवस्थापन र भूजल पुनर्भरणका लागि त्रिचन्द्र बहुमुखी क्याम्पस लगायतका सार्वजनिक क्याम्पस तथा विद्यालयमा पुनर्भरण प्रणाली स्थापना गरिएको बताएका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पसको छतबाट सङ्कलन गरिएको वर्षाको पानीलाई पुनर्भरण प्रणालीमार्फत रानीपोखरी क्षेत्रमा पठाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
अन्य डुबानग्रस्त क्षेत्रको पनि अध्ययन हुने
काठमाडौँ उपत्यकामा वर्षायाम सुरु भएसँगै दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माइतीघरपछि जमल क्षेत्रको पनि प्राविधिक अध्ययन सम्पन्न गरेको छ । प्राधिकरणले आगामी दिनमा उपत्यकाका अन्य डुबान प्रभावित क्षेत्रको पनि क्रमशः अध्ययन गरी समाधानका उपाय कार्यान्वयन गर्ने जनाएको छ । केही दिनअघि माइतीघर क्षेत्रको ढल निकास, नालाको क्षमता, अतिक्रमण तथा वर्षाको पानी व्यवस्थापनसम्बन्धी अध्ययन सम्पन्न गरेको प्राधिकरणले अहिले जमल क्षेत्रमा पनि त्यही प्रकृतिको अध्ययन सकेको हो । अध्ययन प्रतिवेदनका आधारमा डुबानका कारण पहिचान गरी तत्काल र दीर्घकालीन दुवै उपाय कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले माइतीघरमा देखिएको समस्या समाधानको काम अघि बढिरहेको र त्यसको अनुभवलाई आधार बनाएर जमललगायत अन्य संवेदनशील क्षेत्रमा पनि सुधारका कार्यक्रम सञ्चालन गरिने बताए । 'हरेक वर्ष मनसुन सुरु हुनासाथ माइतीघर, जमललगायतका मुख्य प्रशासनिक र व्यावसायिक क्षेत्र नै डुबानमा पर्छ । त्यसबाट व्यवसायी, सवारी चालक र सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको छ । अब दीर्घकालीन समाधानका लागि अगाडि बढ्नुपर्छ', उनले भने । उप्रेतीका अनुसार जमल क्षेत्रको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा त्यहाँ देखिएका ढल निकासका समस्या, अवरोध तथा पूर्वाधार सुधारका काम अघि बढाइनेछ । त्यसपछि पानी जम्ने समस्या दोहोरिने उपत्यकाका अन्य स्थानको पनि क्रमिक रूपमा अध्ययन गरिने उनको भनाइ छ ।
बढ्दैछ सहरी डुबानको समस्या
काठमाडौँ उपत्यकामा खाली जमिन मासिदा जमल, माइतीघर, पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा सामान्य वर्षामै सडक जलमग्न हुने समस्या बढेको बताउँछन्, भूगर्भविद् डा सुवोध ढकाल । 'अव्यवस्थित सहरीकरण, खुला जमिनको तीव्र कमी, भूजल पुनर्भरणमा आएको गिरावट र पुरानो ढल प्रणालीका कारण उपत्यकामा सहरी डुबान बर्सेनि जटिल बन्दै गएको छ', उनले भने, 'माइतीघर, जमलजस्ता राजधानीको मुख्य केन्द्रमा डुबानको समस्या बढ्नुको कारण नै पानी जमिनभित्र छिर्ने प्राकृतिक बाटो बन्द हुनु हो ।'
ढकालका अनुसार विगतमा वर्षाको ठूलो हिस्सा खुला जमिन हुँदै भूगर्भमा सोसिन्थ्यो, जसले भूजल पुनर्भरण पनि हुन्थ्यो तर अहिले सडक, पार्किङ, घर तथा अन्य संरचनामा कङ्क्रिट र कालोपत्र सतह विस्तार भएसँगै पानी सोसिने प्राकृतिक प्रक्रिया लगभग बन्द भएको उनको भनाइ छ । ढकालले अधिकांश वर्षाको पानी एकैपटक ढल प्रणालीमा पुग्ने र निकासको क्षमता नाघेपछि जमलजस्ता क्षेत्रमा सडक डुबान हुने गरेको बताए । 'वर्षालाई रोक्न सकिँदैन तर वर्षाको पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ', उनले भने, 'मनसुन सुरु हुनुअघि नै ढल, नाला र खोलाको नियमित सरसफाइ भएको भए जमल र माइतीघरजस्ता स्थानमा देखिने धेरै डुबान न्यूनीकरण गर्न सकिन्थ्यो ।' खाली जग्गा, सार्वजनिक खुला क्षेत्र र घरको आँगनमा वर्षाको पानी जमिनभित्र पठाउने संरचना निर्माण गर्न सके भूजल संरक्षणसँगै सहरी डुबान नियन्त्रणमा पनि महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।
उनका अनुसार नयाँ भवन निर्माण गर्दा सबै जमिन कङ्क्रिटले ढाक्नुको सट्टा केही भाग खुला राख्ने, रेनवाटर हार्भेस्टिङ (वर्षाको पानी सङ्कलन) प्रणाली अनिवार्य गर्ने तथा छतबाट बग्ने पानीलाई सिधै ढलमा पठाउने सट्टा जमिनभित्र पुनर्भरण गराउने व्यवस्था गर्न आवश्यक छ । 'यदि प्रत्येक घरले थोरैमात्र पानी पनि आफ्नै परिसरमा व्यवस्थापन गर्न थाल्यो भने त्यसको सामूहिक प्रभाव निकै ठूलो हुन्छ', उनले भने, 'सहरीकरणको गतिअनुसार ढल विस्तारमात्र समाधान होइन । पानीलाई सकेसम्म घरघरमै रोक्ने, सङ्कलन गर्ने र जमिनभित्र पठाउने व्यवस्था नगरेसम्म जमल र माइतीघरजस्ता डुबानका समस्या दोहोरिइरहन्छन् ।' उनले भविष्यमा नयाँ बस्ती तथा पूर्वाधार विकास गर्दा खुला क्षेत्र संरक्षण, वर्षाको पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई अनिवार्य मापदण्डका रूपमा समावेश गर्नुपर्नेमा जोड दिए ।