नेभिगेशन
मुख्य समाचार

तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको प्रेम दंगालको दाबी

काठमाडौं। नेकपा (एमाले) का राष्ट्रिय सभा दलका नेता प्रेम दंगालले पछिल्ला तीन दशकमा नेपालले आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।

राष्ट्रिय सभामा प्रस्तुत विवरणमा दंगालले आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, सडक, ऊर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार तथा मानव विकासका विभिन्न सूचक प्रस्तुत गर्दै नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार पछिल्ला दशकमा नेपालको औसत आर्थिक वृद्धि ३ देखि ५ प्रतिशतको हाराहारीमा रहेको छ। कुल गार्हस्थ उत्पादन करिब १ खर्ब २० अर्ब रुपैयाँबाट बढेर ६६ खर्ब रुपैयाँ पुगेको तथा प्रतिव्यक्ति राष्ट्रिय आय १८५ अमेरिकी डलरबाट बढेर १ हजार ५३५ डलर पुगेको उनले बताएका छन्।

Ncell
Extreme Energy

दंगालले आर्थिक वर्ष २०४७/४८ मा २३ अर्ब ५५ करोड रुपैयाँ रहेको वार्षिक बजेट अहिले २१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको पनि उल्लेख गरेका छन्।

उनका अनुसार चरम गरिबीको दर २०४७ सालमा ५५ प्रतिशत रहेकोमा अहिले ३.७ प्रतिशतमा झरेको छ। निरपेक्ष गरिबी २०५२ सालको ४२ प्रतिशतबाट २०८२ सालमा २०.२७ प्रतिशतमा झरेको उनको दाबी छ।

आय तथा उपभोगमा रहेको असमानता पनि घटेको उनले बताएका छन्। २०५२ सालमा सबैभन्दा धनी १० प्रतिशत परिवारको उपभोग सबैभन्दा गरिब १० प्रतिशत परिवारको भन्दा १० गुणाभन्दा बढी रहेकोमा २०८० मा यो अन्तर ६ गुणामा झरेको उनको भनाइ छ।

भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट बढेर एक लाख किलोमिटरभन्दा बढी पुगेको दंगालले बताएका छन्। सडकको लम्बाइ करिब १२ गुणाले बढेको र सबै जिल्ला सदरमुकाम तथा अधिकांश पालिकामा सडक पहुँच पुगेको उनको दाबी छ।

ऊर्जा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको उनले बताएका छन्। २०४७ सालमा २२७ मेगावाट रहेको विद्युत् उत्पादन क्षमता अहिले ४ हजार १०५ मेगावाट पुगेको तथा ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले उल्लेख गरेका छन्।

खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगेको र शौचालय भएका घरको संख्या २२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुगेको पनि दंगालले बताएका छन्।

शिक्षातर्फ साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको, आधारभूत तहको कुल भर्नादर ९७.८ प्रतिशत पुगेको तथा विद्यालय शिक्षामा विद्यार्थी संख्या ४६ लाखबाट बढेर ८५ लाख पुगेको उनले बताएका छन्।

स्वास्थ्यतर्फ औसत आयु २०४७ सालको ५५ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको तथा मातृ र बाल मृत्युदरमा उल्लेख्य कमी आएको उनको भनाइ छ।

कृषिमा यान्त्रिकीकरण बढेको र धान उत्पादन ३३ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको पनि दंगालले उल्लेख गरेका छन्।

सञ्चार क्षेत्रमा इन्टरनेटको पहुँच शून्यबाट बढेर ७५ प्रतिशत नागरिकमा पुगेको तथा प्रतिनागरिक एकभन्दा बढी टेलिफोन पुगेको उनले बताएका छन्।

दंगालका अनुसार नेपालको मानव विकास सूचकांक २०४८ सालको ०.४० बाट बढेर २०२५ मा ०.६२२ पुगेको छ। दिगो विकास लक्ष्य सूचकांकमा नेपालले ६८.५८ अंक प्राप्त गरी १६७ देशमध्ये ८५औँ स्थान हासिल गरेको पनि उनले बताएका छन्।

यद्यपि राजनीतिक अस्थिरता, राजनीतिक संक्रमण, भूकम्प, आर्थिक नाकाबन्दी, कोभिड–१९ महामारी, सीमित स्रोतसाधन र प्राकृतिक विपत्तिजस्ता चुनौतीका बीच यी उपलब्धि हासिल भएको दंगालले बताएका छन्। रोजगारी सिर्जना, युवाको वैदेशिक पलायन, व्यापार घाटा र सेवा प्रवाहलगायतका चुनौती अझै रहेको उनको भनाइ छ।

उनले आर्थिक वृद्धि, पूर्वाधार, ऊर्जा, सिँचाइ, आवास, सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा भएको प्रगतिलाई नेपालको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

रास्वपाले सांसदलाई संसद बैठकमा अनुपस्थितिका लागि आवेदन अनिवार्य गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुख देवकोटाले सोमबार  विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका...
कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, ककसलाई केके जिम्मेवारी ?

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, ककसलाई केके जिम्मेवारी ?

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकिएको छ।