काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल-जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसियसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले शिक्षा र शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबीचको मित्रता औपचारिक कूटनीतिक सम्बन्धभन्दा धेरै पुरानो रहेको बताए । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको खोजीमा नेपाल आउनुभएको र सन् १९०० को सुरुवातमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको स्मरण गरे । उनले भने, ‘यी प्रारम्भिक सम्पर्कहरूले दुई देशका जनताबीच सम्बन्धको जग बसालेका थिए, जसले अन्ततः सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लियो।’ नेपालको विकास यात्रामा जापानको आर्थिक रूपान्तरण र प्राविधिक प्रगतिले प्रेरणा प्रदान गरेको उल्लेख गर्दै उनले पछिल्लो सात दशकमा जापान नेपालको विश्वासिलो विकास साझेदारका रूपमा रहँदै आएको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासका क्षेत्रमा जापानले पुर्याउँदै आएको योगदानको उनले प्रशंसा गरे ।


परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप जीवन्त बनाएको बताए । नेपालमा हालै आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताका लागि उनले धन्यवाद दिए । विपद्का बेला जापानले उपलब्ध गराएको तत्कालीन राहत सामग्री, फरेन्सिक विशेषज्ञता तथा डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको गहिरो मित्रता र ऐक्यबद्धता प्रतिबिम्बित गरेको परराष्ट्रमन्त्री खनालको भनाइ थियो।
यसैगरी, परराष्ट्रमन्त्री खनालले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा जापानका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको उल्लेख गरे । नेपाल-जापान सम्बन्धमा योगदान पुर्याउनुभएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकोमा पनि परराष्ट्रमन्त्रीले खुसी व्यक्त गरे ।
शिक्षालाई नेपाल-जापान सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै परराष्ट्रमन्त्री खनालले जापानमा अध्ययन गरेका हजारौँ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा पेसाकर्मीले स्वदेश फर्किएर नेपालको संस्थागत विकास, उद्योग तथा समुदायमा योगदान पुर्याइरहेको बताए । जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीहरूलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उनले यसबाट सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता अभिवृद्धि भइरहेको बताए ।
दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि उत्पादनमूलक अवसर सिर्जना गर्नुपर्ने जस्ता साझा चुनौती सामना गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले यी क्षेत्रमा जापानसँग सहकार्यका प्रशस्त सम्भावना रहेको बताए । परराष्ट्रमन्त्री खनालले नेपाल–जापान तथा दक्षिण एसियाली मुलुकहरूबीच सहकार्यका लागि शिक्षा तथा मानव संसाधन विकास, विज्ञान तथा प्रविधि र नवप्रवर्तन तथा जलवायु परिवर्तन र विपद् उत्थानशीलतालाई प्राथमिकतामा राख्नुपर्ने बताए । शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबीच संयुक्त अनुसन्धान, प्राध्यापक आदानप्रदान, व्यावसायिक मार्गदर्शन र उद्योगसँगको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले कृत्रिम बौद्धिकता, नवीकरणीय ऊर्जा र आधुनिक इन्जिनियरिङजस्ता उदीयमान प्रविधिमा सहकार्य गर्न सकिने बताए ।
नेपाल र जापान दुवै प्राकृतिक विपद्को सामना गर्दै आएका मुलुक भएकाले जापानको पूर्वसूचना प्रणाली, उत्थानशील पूर्वाधार र समुदायको तयारीसम्बन्धी अनुभव नेपालका लागि महत्त्वपूर्ण हुन सक्ने उनकाे भनाइ थियो । साफजुआलाई विश्वविद्यालय, नीतिनिर्माता र निजी क्षेत्रलाई जोड्ने ठोस सहकार्यका संयन्त्र स्थापना गर्न आग्रह गर्दै मन्त्री खनालले संयुक्त अनुसन्धान, मेन्टरसिप कार्यक्रम र संस्थागत साझेदारीलाई अघि बढाउन सुझाव दिए । ‘यस सिम्पोजियमको वास्तविक उपलब्धि यसका छलफलबाट विकसित हुने साझेदारी र कार्यान्वयनमा आउने पहलहरूबाट मापन हुनेछ,’ उनले भने । नेपाल र जापानबीचको मित्रताको ७० वर्ष पूरा भएको अवसरमा आगामी ७० वर्षलाई अझ महत्त्वाकाङ्क्षी र उपलब्धिमूलक बनाउन शिक्षा, नवप्रवर्तन र सहकार्यमा लगानी बढाउनुपर्ने उनले बताए । ‘शिक्षामार्फत स्थापित मित्रता राष्ट्रहरूबीचका सबैभन्दा बलिया र दीर्घकालीन सम्बन्धमध्ये एक बन्न सक्छन्,’ उनले भने ।