नेभिगेशन
मुख्य समाचार

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै धितालले रोल्पाको थबाङ, सुनछहरी र लुंग्रीबाट आएका दुःखद खबरले आफूलाई गम्भीर बनाएको बताइन्। उनका अनुसार हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने केही अझै बेपत्ता छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘निजामती प्रशासन र सुरक्षा फौजले हरेक दिन बाढीपहिरोमा ज्यान गुमाउने जनताको संख्या टिपेर केन्द्रमा पठाइरहेका छन्। मलाई मान्छेको अमूल्य ज्यान केवल अंकमा सीमित भएको देख्दा असाध्यै डर र पीर लाग्छ,’ उनले भनिन्।

Ncell
Extreme Energy

केही महिनाअघि रोल्पामै भएको जिप दुर्घटनामा एउटै गाउँका १९ जनाले ज्यान गुमाएको स्मरण गर्दै उनले मृतकलाई केवल तथ्यांकका रूपमा हेर्न नहुने बताइन्।

‘१९ जना मानिस मात्र होइनन्, १९ वटा परिवार थिए, १९ वटा संसार थिए, १९ वटा सपना थिए,’ उनले भनिन्, ‘ती छिनेर गए।’

एउटा आमाको काख रित्तिँदाको पीडा कुनै तथ्यांकले बताउन नसक्ने भन्दै धितालले बच्चाले बाबु गुमाउँदाको पीडा राहतको प्याकेट वा क्षतिपूर्तिले मेट्न नसक्ने बताइन्।

उनले विपद्मा राहत वितरणका क्रममा कसले श्रेय लिने भन्ने विषय गौण रहेको बताउँदै राज्यको उपस्थिति र पीडितप्रतिको संवेदनशीलता महत्वपूर्ण हुने धारणा राखिन्।

‘कुरा श्रेयको होइन, राज्यको उपस्थितिको हो। सान्त्वना र सहानुभूति, समानुभूति पनि हो,’ उनले भनिन्।

सरकारले आफूलाई नागरिकको सरकार भनेको उल्लेख गर्दै धितालले नागरिक दुःखमा पर्दा राज्य देखिन र महसुस हुनुपर्ने बताइन्।

रोल्पा परिवर्तनको इतिहास बोकेको जिल्ला भए पनि विकास र पूर्वाधारका हिसाबले अझै पछाडि परेको भन्दै उनले सदरमुकाममै सामान्य हावाहुरीमा विद्युत् अवरुद्ध हुने, कतिपय ठाउँमा विद्युत्, सञ्चार, सडक र स्वास्थ्य सेवाको पर्याप्त पहुँच नरहेको बताइन्।

थबाङलाई इतिहास, विद्रोह र परिवर्तनको महत्वपूर्ण स्थलका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

‘थबाङ आज वार म्युजियम बन्नुपर्ने ठाउँ हो। त्यहाँको इतिहास विश्वले हेर्नुपर्ने हो, युवाहरूले बुझ्नुपर्ने हो, पर्यटकहरू पुग्नुपर्ने हो,’ उनले भनिन्, ‘तर आज थबाङ घुम्न जाँदा इतिहासको गौरवभन्दा कतै मृत्युको खाल्डोमा खसिने हो कि भन्ने डर लाग्छ।’

परिवर्तनको सपना बोकेको रोल्पा अझै विकासको प्रतीक्षामा रहनु विडम्बना भएको बताउँदै उनले सुरक्षित सडक, नियमित विद्युत् र भरपर्दो राज्य संयन्त्रका लागि नागरिकले अझै प्रतीक्षा गर्नुपरेको बताइन्।

‘हामीले रोल्पालाई द्वन्द्वको रगतपच्छे इतिहासमा सीमित गरिदिने हो कि अब विकासको नयाँ इतिहास लेख्ने हो?’ उनले प्रश्न गरिन्।

विपद् आएपछि मात्र राहत बाँड्ने नभई विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्य आवश्यक रहेको उनले बताइन्।

‘राहत आवश्यक छ। उद्धार आवश्यक छ। तर त्योभन्दा ठूलो कुरा राज्यको संवेदनशीलता र दीर्घकालीन जिम्मेवारी हो,’ उनले भनिन्, ‘किनकि घर भत्किएपछि घर बनाउन सकिन्छ। सम्पत्ति गुमेपछि फेरि कमाउन सकिन्छ। तर गुमेको मान्छे कहिल्यै फर्किँदैन।’

रोल्पाका नागरिक अहिले वर्षाजन्य विपद्को त्रासमा बाँचिरहेको भन्दै धितालले तत्काल मानवीय उद्धार, राहत तथा सम्मानजनक व्यवस्थापन गर्न सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते

जुरीखेत स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु, यी हुन् पाँच घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित पाँच जना घाइते भएका छन् ।