बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि घरमा बस्न सक्दिनन्। गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्याउनुका साथै घरसमेत जोखिममा पारेपछि उनी पानी पर्नासाथ छिमेकीको घरमा आश्रय लिन बाध्य छिन्।
'गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्यायो। पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ। पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ,' मीनाले भनिन्, 'निरन्तरको पहिरोले त्रसित बनाएको छ।'
रातापानीकै भुवन बोहराको समस्या पनि उस्तै छ। पहिरोले शौचालय र भान्साघरमा क्षति पुर्याएको छ। घरमा पहिरो कतिखेर पस्ने हो भन्ने डरले उनीहरू त्रासमा बसिरहेका छन्।
'डराइ–डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ,' उनले भने।
गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन्। स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराका परिवार जोखिममा छन्।
लगातार पहिरो खस्न थालेपछि गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए। उनका अनुसार पानी परेको समयमा जोखिममा रहेका परिवार घर छाडेर छिमेकीको घरमा जाने गरेका छन्।
'२०७८ सालदेखि पहिरो जान थालेको हो। त्यसपछि लगातार पहिरो खसिरहेको छ,' उनले भने, 'पटकपटक पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग माग गर्दै आए पनि सुनुवाइ भएन। अहिले पहिरोको जोखिम झन् बढ्दै गएको छ।'
बस्ती नै सार्नुपर्ने स्थानीयको माग
स्थानीयले पहिरोको जोखिम कायमै रहेकाले बस्ती नै स्थानान्तरण गर्न माग गरेका छन्।
'घरमाथिको सबै जमिन चर्किएको छ। खानेपानीको पनि समस्या छ। बालबालिकालाई विद्यालय जान बाटो छैन,' पहिरोको जोखिममा रहेका कृष्ण बोहराले भने, 'दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो।'
४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा क्षति
लगातारको पहिरोले रातापानीमा ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा क्षति पुर्याएको छ। स्थानीय गम्भीर बोहराका अनुसार उनको मात्रै करिब १५ रोपनीभन्दा बढी खेतियोग्य जमिन पहिरोले बगाएको छ।
'पहिरोले मकै लगाएको सबै खेतियोग्य जमिन बगायो। घर पनि जोखिममा छ। अब जाने कहाँ?' उनले भावुक हुँदै भने।
स्थानीयका अनुसार बाँकी खेतियोग्य जमिनसमेत चर्किएकाले थप क्षति हुन सक्ने जोखिम छ। सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष भानबहादुर बोहराले उक्त क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पुर्याएको बताए।
प्रजिअ नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण
शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताइन्। बस्ती स्थानान्तरणका लागि टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्था गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन्।
'पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेको छ। खानेपानीको समस्या समाधानका लागि पनि निर्देशन दिइसकेका छौँ,' अर्यालले भनिन्।
पहिरोले सडकसमेत बगाएपछि विद्यार्थीलाई विद्यालय पुग्नसमेत समस्या भएको छ। स्थानीयका अनुसार सामान्य अवस्थामा आधा घण्टामा पुगिने विद्यालयसम्म अहिले पहिरोका कारण करिब डेढ घण्टा हिँड्नुपर्ने अवस्था छ।