नेभिगेशन
पूर्वाधार

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा । लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो । जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ ।

“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”,  अमात्यले भने, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाडौँबाट हेटौँडा आएका हुन् । आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आएका उनी सरकारी उद्योग पुनः सञ्चालनमा योगदान गर्न प्राविधिक टोलीसहित यहाँ खटिएका छन् । अहिले उद्योगका १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ । तीमध्ये तीन वटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ ।

Ncell
Extreme Energy

पुराना लुममा नयाँ प्रविधि जडान भएपछि उत्पादन उल्लेख्य बढेको छ । पहिले एउटा लुमबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाएपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन हुन थालेको प्राविधिक रमेशबहादुर भट्टराईले जानकारी दिए । दाङको तुलसीपुरमा साडी उत्पादनसम्बन्धी काम गर्दै आएका भट्टराईलाई मेसिन मर्मतका लागि बोलाइएको थियो । उनीसहितको टोलीले सुरुमा तीन–चार दिन मेसिनको अवस्था अध्ययन गरी आवश्यक सुधारबारे परामर्श गरेको थियो । त्यसपछि पुराना लुमका पार्टपुर्जा परिवर्तन गर्दै स्वचालित प्रणालीमा रूपान्तरण गर्ने काम सुरु भयो ।

लुमलाई स्वचालित बनाउने क्रममा डबी, स्लेवार्ड, ब्रेक र क्लचलगायत उपकरण परिवर्तन गरिएको छ । लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना राम्रो अवस्थामा रहेको भट्टराईले बताए । उनले भने, “मेसिनका पार्टपुर्जा बिग्रिन्छन्, तिनलाई फेर्न मिल्छ । यहाँ आएर देशको सेवा गर्न पाउँदा खुसी लागेको छ ।”

पुराना ‘सटल लुम’का केही पार्टपुर्जा पाउन भने कठिन छ । लामो समयअघि बनेका ती मेसिनको उत्पादन चीनलेसमेत बन्द गरिसकेको प्राविधिकको भनाइ छ । तर तिनलाई र्यापियर प्रविधि अर्थात् बिना साटल चल्ने आधुनिक बुनाइ मेसिनमा रूपान्तरण गरी स्वचालित रूपमा सञ्चालन गर्न सकिने अमात्यले बताउनुभयो । त्यसका लागि आवश्यक सामग्री काठमाडौँ र ललितपुरका आपूर्तिकर्तामार्फत चीन तथा ताइवानबाट ल्याउन सकिने उनी बताउँछन् ।  

BB_HeadtudaIMG_8010-1787457473.jpg
 

स्वचालित लुम सञ्चालन गर्दा कम जनशक्तिबाट बढी उत्पादन गर्न सकिन्छ । उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडासहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ ।

सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको जिम्मेवारी दिएको हो । परीक्षण उत्पादनका लागि ३३ लाख उपलब्ध गराइएको छ । हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिइन् । अनुगमनमा उनले २० वटा लुम सञ्चालनका लागि तयार पारिएको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी दिइन्  । त्यसका लागि सरकारले रु ३३ लाख उपलब्ध गराएको र बाँकी मेसिन पनि क्रमशः सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

BB_HeadtudaIMG_8005-1787457510.jpg
परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी रिलायन्स उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिइन् । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न कृषकलाई कपासखेती गर्न आग्रह गरिएको उल्लेख गर्दै उनले कृषकले उत्पादन गरेको कपास खरिद गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उद्योगको सोही वर्ष पुसमा शिलान्यास भएको थियो । विसं २०३५ कात्तिकदेखि परीक्षण उत्पादन थालेको उद्योगको विसं २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगमा करिब एक हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

राजनीतिक हस्तक्षेप, बारम्बारका बन्द–हडताल, व्यवस्थापकीय कमजोरी, पुरानो प्रविधि र बढ्दो आर्थिक घाटाका कारण उद्योग सङ्कटमा पर्दै गएको थियो । अन्ततः विसं २०५७ देखि उद्योग पूर्ण रूपमा बन्द रह्यो । अहिले पुराना लुमबाट कपडा निस्कन थालेसँगै उद्योग पुनर्जीवनको आशा पलाएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्न अझै लगानी, कच्चापदार्थ, बजार र दिगो व्यवस्थापनको आवश्यकता छ । प्राविधिक भट्टराईले भनेजस्तै पार्टपुर्जा फेरेर मेसिन फेरि चल्न सक्छन् । अब उद्योगको भविष्य सरकारले देखाउने निरन्तरता र व्यवस्थापकीय क्षमतामा निर्भर हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...