नेभिगेशन
समाज

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँ । काठमाडौँको खुला मञ्च अहिले नेपाली राजनीतिको चर्चाको केन्द्रमा छ । खासगरी प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिक्रियाले खुला मञ्चको लामो आरोह अवरोध उजागर भइरहेको छ । नेपाली लोकतन्त्र, नागरिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको ऐतिहासिक धरोहर मानिने खुला मञ्च अहिले नेपाली राजनीतिमा बहसको विषय बनेको छ । ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्ने प्रधानमन्त्री शाहको प्रतिक्रियाले विगतमा खुलामञ्चलाई कसरी अतिक्रमित गरेर कुरुप बनाइयो र खुला गर्न क-कसले भूमिका खेले भन्ने कोणबाट बहस सुरु भएको छ । खुलामञ्चलाई खुला गर्न त्यो समयमा ‘अकुपाइ टुँडिखेल’ अभियान नै चलाइयो । अभियन्ता थिए, आलोक सिद्धी तुलाधर, विजय श्रेष्ठ, सञ्जय अधिकारीलगायत । त्यतिबेला बागमती प्रदेश सभामा विवेकशील साझा पार्टीबाट सांसद थिए विराज भक्त श्रेष्ठ । काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खुला मञ्च २०७२ सालको भूकम्पपछि आक्रमणको चपेटामा पर्न थालेको थियो । त्यतिखेर भूकम्पपछिको संरचना पुनर्निर्माण गर्दा निर्माण सामग्री राख्ने ठाउँका रुपमा टुँडिखेललाई प्रयोग गरियो । पुरानो बसपार्कमा काठमाडौँ भ्यू टावर निर्माण सुरु भएपछि बसपार्कलाई अस्थायीरुपमा खुलामञ्चमा सारेर अतिक्रमण बढ्यो । खुला ठाउँ खुम्चिँदै गयो । अव्यवस्थित पार्किङ, फुटपाथ व्यापार, धुलोधुवा, फोहोरले खुला मञ्च कुरुप बन्न पुग्यो । लोकतन्त्रको प्राणवायु मानिने खुलामञ्च आफै नजरबन्दमा पर्‍यो । २०७८ देखि सर्वसाधारणलाई प्रवेश गर्नै रोक लगाइयो । एमालेबाट निर्वाचित तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २०७६ मा स्थायी बसपार्क बनाउने योजनासहित ढलानको काम अगाडि बढाए । तत्कालीन सांसद भीमसेन प्रधान, प्रदेश सांसद श्रेष्ठ, काठमाडौँकी उपमेयर हरिप्रभा खड्गीलगायतले विरोध जनाए । अभियन्ताहरुले असोज २३ गते खुला मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै ‘अकुपाइ टुँडिखेल अभियान’ सुरु गरे । सर्वसाधारणको सहभागितामा विशाल मानव साङ्लो नै निर्माण गरे । यही अभियानमा मिसिए, विराजभक्त । प्रदेशसभामा आवाज उठाइरहेका विराज १३ सातासम्म चलेको यो अभियानमा सहभागी हुँदै सडकमै उत्रिए । अग्रपंक्तिमा उभिएर सशक्त प्रतिवाद गरे । 

Ncell
Extreme Energy

खुला मञ्चलाई अनधिकृत रूपमा पार्किङस्थल बनाउने, बसपार्क सार्ने तथा विभिन्न संरचनाहरू थुपार्ने कामविरुद्ध अभियन्ताहरुले थालेको 'खुला मञ्च बचाउ अभियान'मा विराजले कुनै पद वा राजनीतिक लाभको पर्वाह नगरी सुरुका दिनदेखि नै सडकमा उत्रिएर साथ दिए । उनले अभियन्ताहरूसँग काँधमा काँध मिलाएर खुला मञ्चलाई जनताको पहुँचमा राख्नुपर्छ भन्दै चर्को विरोध प्रदर्शन र दबाब सिर्जना गरेका थिए । खुला मञ्च खोल्नुपर्छ भनेर आफ्नो भाषण कलामार्फत युवा अभियन्ताहरुमा ऊर्जा थप्ने काम विराजले गरेका थिए । बागमती प्रदेश सभाका रुपमा विराजले खुला मञ्चको अतिक्रमणको मुद्दालाई नीतिगत तह र संसद्मा जोडदार रूपमा उठाएका थिए । विराजसहित नागरिक अभियन्ताहरुको आन्दोलनको बलमा अन्तत काठमाडौँ महानगरका मेयर शाक्य आफ्नो योजनाबाट पछि हटेका थिए । निर्माण गरिएका संरचनाहरु २०७७ फागुन ५ मा भत्काउन बाध्य भएका थिए । यद्यपि शाक्यले सार्वजनिक रुपमै आक्रोश पोखेका थिए । त्यसपछि पनि विराजसहित अभियन्ताहरुले खुलामञ्चलाई पुरानै अवस्थामा खुला राख्न पैरवी गरिरहे । आवाज उठाइरहे । २०७९ को निर्वाचनमा संघीय सांसद भएका विराजले पनि ऐक्यबद्धता जनाइरहे । प्रतिनिधिसभाबाट आवाज उठाइरहे । खुला मञ्च भनेको केवल खाली जग्गा मात्र नभएर विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको उद्गम बिन्दु हो भन्ने मान्यतालाई विराजले सधैं आत्मसात गरे । यसलाई नेताहरूको भाषण सुन्ने वा आमसभा गर्ने ठाउँ मात्रै नभई आम नागरिकको श्वास फेर्ने ठाउँको रूपमा जगेर्ना गर्नुपर्छ भन्ने अडानमा उनी कहिल्यै डगमगाएनन् ।

अन्तत नागरिक आन्दोलनलाई साथ दिँदै युवा र सक्रिय मेयर वालेन्द्र शाहले खुला मञ्चलाई हराभरा बनाएर पुनर्जीवन दिन सुरु गरे । नागरिकको चाहनाबमोजिम खुला मञ्चको महत्त्व बुझेर बालेनले प्राकृतिक दुबोसहितको घाँसे चउर रापेर हरियाली बनाए भने वरिपरि खुला पैदल मार्ग बनाए । विराजसहित अभियन्ताले रोकेको अतिक्रमणमा बालेनले साथ दिएर खुलामञ्चलाई एकपटक फेरि प्राण भरेका छन् । ‘खुला मञ्च खुला राख्ने लडाइँ सबैको सतप्रयासले सफल भएको थियो । यो अभियानको हिस्सा बनेर योगदान गर्न पाउँदा गर्व लाग्छ,’ विराज नोस्टाल्जिक सुनिन्छन् । संस्कृति सम्पदा संरक्षण अभियानमा संलग्न हुँदै राजनीतिमा छिरेका विराज प्रदेश सांसद, संघीय सांसद हुँदै अहिले संघ सरकारको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री छन् भने विराजजस्ता अभियन्ताहरुले उठाएको एजेण्डालाई साथ दिँदै खुला मञ्चलाई पुन प्राण भर्ने बालेन देशको प्रधानमन्त्री छन् । विराज मन्त्री र बालेन प्रधानमन्त्री भएका बेला खुलामञ्च खुला भएर देशकै पुरानो पार्टी कांग्रेस जसको खुला मञ्चसँग स्थापनाको साइनो छ, उसले नीति र नेतृत्व चुन्न १५औ महाधिवेशन गरिरहेको छ । 

विराजसँगै विवेकशीलबाट प्रदेश सभा सदस्य रहेका रमेश पौडेल भन्छन्, ‘लोकतन्त्रिक आन्दोलनको प्राणवायुको रुपमा रहेको टुँडिखेल अतिक्रमण गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने षडयन्त्रविरुद्ध विराजजीसहित हामी सदन र सडकमा सशक्तरुपमा होमिएका थियौं । अहिले खुलामञ्च खुला भएर राजनीतिक गतिविधि व्यवस्थित देख्दा खुसी लाग्छ ।’

खुलामञ्चको इतिहास 

सदिऔदेखि खुला मञ्च नागरिकको साझा चौतारीको रूपमा रहँदै आएको छ । २०१७ सालदेखि विभिन्न राजनीतिक परिवर्तन, नागरिक अधिकारका आन्दोलन, र तल्लो वर्गका आवाजहरू गुञ्जिने यो ठाउँलाई शहरको ‘फोक्सो’ समेत भनिन्छ । तर, दरबार हाइस्कुलको पुननिर्माण, बसपार्क व्यवस्थापन र विभिन्न सरकारी तथा गैरसरकारी बहानामा यस क्षेत्रलाई खुम्याउने र कब्जा गर्ने षड्यन्त्रहरू सुनियोजित रूपमा भएका थिए । तर त्यसलाई नागरिक आन्दोलनको बलमा निस्तेज पारिएको थियो । इतिहासविद्काअनुसार पञ्चायत, २०३६ मा विपी कोइरालाको भाषण, २०३७ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, मदन भण्डारीको भाषण, २०६२/०६३ को दोस्रो जनआन्दोलनको साक्षीको रुपमा खुला मञ्च रहँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।

भर्खरै