नेभिगेशन
मुख्य समाचार

यस्तो छ शंकर पोखरेलको एमाले सुधारको रोडम्याप (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ को आन्दोलनपछि पार्टी रक्षात्मक अवस्थामा पुगेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाँदा थप क्षति भएको औंल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई बुझाएको कार्यदलको प्रतिवेदनमा पार्टी पराजयको कारणका रूपमा भदौ २३ को जेनजी आन्दोलन र २४ गते भएको विध्वंसात्मक घटनालाई पूर्वयोजनाबद्ध षड्यन्त्रको रूपमा आम जनतामा स्थापित गर्न नसकेको उल्लेख  छ ।

Ncell
Extreme Energy

‘यस्तो रक्षात्मक अवस्थामा पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाँदा पार्टीपङ्क्ति थप प्रतिरक्षात्मक बन्नुपर्‍यो,’ समीक्षा प्रतिवेदनमा उल्लेख  छ।

माओवादी र कांग्रेससँग बारम्बार गरिएको सत्ता समीकरणको फेरबदल र त्यसको औचित्य पुष्टि हुन नसक्दा पनि पार्टीले क्षति व्यहोर्नुपरेको उल्लेख  छ ।

सरकारमा रहँदा सुशासन कायम गर्न नसकेको, केही मन्त्री एवं जनप्रतिनिधिहरूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लागेको पनि उल्लेख  छ ।

भौतिक पूर्वाधारको विकास भए पनि नयाँ पुस्ताको चाहना अनुकूल रोजगार वा स्वरोजगारका अवसरहरू सिर्जना हुन नसक्दा युवाहरूको तीव्र विदेश पलायन हुनु र राज्य एवं पुराना दलहरूप्रति चरम अविश्वास बढ्दा फागुन २१ को परिणाम व्यहोर्नुपरेको महासचिव पोखरेलको ठहर छ ।

‘विपक्षी र पपुलिस्ट शक्तिहरूले सामाजिक सञ्जाल (जस्तैः डिस्कोर्ड, एआई र डिजिटल एल्गोरिदम) को प्रभावकारी प्रयोग गरी एमालेविरुद्ध नकारात्मक भाष्य निर्माण गरियो र एमालेका देशभक्तिपूर्ण अडान एवं भौतिक विकासका एजेन्डाहरूलाई ओझेलमा पारियो,’ उनले उल्लेख गरेका छन् ।

पार्टी कमजोर हुनुमा उनले सांगठनिक बेथिति र गुटबन्दलाई पनि औंल्याएका छन् ।

११औं महाधिवेशनमा प्यानल नै बनाएर गरिएको प्रतिस्पर्धाले तल्लो तहसम्म सांगठनिक गुटबन्दी बढाएको उनको जिकिर छ ।
यस्तै महासचिव पोखरेलले उम्मेदवार चयन पारदर्शी नभएको, विगतमा अन्तर्घात गर्नेहरूलाई कारबाही नहुँदा जे गर्दा पनि हुन्छ भन्ने अराजक मानसिकता मौलाएको पनि बताएका छन् ।

महासचिव पोखरेलले पार्टी पुनर्गठन र सुधारका लागि सुझाव प्रस्तुत गरेका छन् ।

जसमा नीतिगत सुधार र परिमार्जन औंल्याइएको छ ।

जबजको समयसापेक्ष विकास

जनताको बहुदलीय जनवाद (जबज) को मूल सारतत्वलाई कायम राख्दै प्रविधिको विकास, एआई को लहर र नयाँ पुस्ताको मनोविज्ञान अनुकूल यसलाई परिमार्जन गर्ने बताइएको छ ।

गठबन्धन सम्बन्धी स्पष्ट नीति

सत्ताकेन्द्रित अवसरवादी गठबन्धन नगर्ने, नीति र एजेन्डा मिल्नेहरूसँग मात्र चुनावी गठबन्धन गर्ने र मुख्य प्रतिस्पर्धी दलसँग उक्त कार्यकालभर गठबन्धन नगर्ने स्पष्ट नीति लिने पार्टीको योजना हुनुपर्ने बताइएको छ ।

समाजवादको नेपाली मोडल 

जबजको आलोकमा समाजवाद निर्माणको नेपाली मोडल प्रस्तुत गर्न समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय गन्तव्य प्राप्तिका लागि ठोस कार्ययोजना बनाउनुपर्ने महासचिव पोखरेलले बताएका छन् ।

अर्को नेतृत्व र विधिगत सुधारको विषय महासचिव पोखरेलले उठाएका छन् ।

उनले उमेर हद र कार्यकाल सीमाको पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

‘विधानबाट हटाइएको ७० वर्षे उमेर हद र कार्यकारी पदहरूमा बढीमा दुई कार्यकाल को व्यवस्थालाई विधान संशोधन गरेर पुनः लागू गर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

‘एक व्यक्ति, एक पद’ को व्यवस्था लागू हुनुपर्ने महासचिवको मत छ । अवसरहरूको न्यायोचित वितरणका लागि यो व्यवस्था लागू गर्ने, लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री वा स्थानीय प्रमुख बन्न नपाउने र प्रत्यक्ष वा राष्ट्रिय सभा सदस्य भइसकेकालाई पुनः समानुपातिकमा नराख्ने व्यवस्था गर्न उनले भनेका छन् ।

सम्पत्ति स्वघोषणा र पारदर्शिताको विधि अपनाउनुपर्ने उनको मान्यता छ । 

‘कमिटीका कार्यकारी भूमिकामा रहने पदाधिकारी र जनप्रतिनिधिहरू निर्वाचित हुँदा र पदबाट बिदा हुँदा आफ्नो आर्थिक अवस्थाको अनिवार्य स्वघोषणा गर्ने कानुनी व्यवस्था गर्ने,’ उनले भनेका छन् ।

यस्तै सांगठनिक सुदृढीकरणमा जोड दिएका छन् ।

चुस्त कमिटी प्रणाली कायम राख्नुपर्ने बताएका छन् । महासचिवका अनुसार हालका अत्यधिक भद्दा र ठूला कमिटीहरू विघटन गरी कमिटीको आकार कम्तीमा ४० प्रतिशतले घटाएर चुस्त र कार्यमूलक बनाउनुपर्ने उनको धारणा  छ ।

त्यस्तै उम्मेदवार चयनमा प्राथमिक निर्वाचन गर्नुपर्ने बताएका छन् । 

‘संघीय, प्रादेशिक र स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा केन्द्रबाट नलाद्ने; बरु स्थानीय कमिटीको सिफारिस वा संगठित

सदस्यहरूको आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) बाट लोकप्रिय पात्र छान्ने,’ उनले विधिबारे बताएका छन् ।

महासचिव पोखरेलले अन्तर्घातमा कडा कारबाहीको प्रस्ताव गरेका छन् । निर्वाचनमा अन्तर्घात गर्ने वा असहयोग गर्नेहरूलाई बिना मोलाहिजा अनुशासनको दायरामा ल्याई निष्कासन वा सांगठनिक कारबाही गर्ने सुझाव उनले दिएका छन् ।

महासचिवले युवा र महिला सहभागितामा जोड दिएका छन् । कमिटीहरूमा ४० वर्ष मुनिका युवा र महिलाहरूको सहभागिता वृद्धि गर्दै जनसंख्याको अनुपात अनुसार समावेशी प्रतिनिधित्व (क्रमशः ५० प्रतिशतसम्म) सुनिश्चित गर्ने योजना अघि सारेका छन् ।

यस्तै जनसम्बन्ध र कार्यशैलीमा सुधारको प्रस्ताव अघि सारेका छन् ।

विगतमा भएका गल्तीप्रति सार्वजनिक क्षमायाचना गर्नुपर्ने महासचिव पोखरेलको प्रस्ताव छ । 

‘विगतमा सरकार र पार्टीबाट भएका गल्ती र कमीकमजोरीका लागि जनता र कार्यकर्तासमक्ष खुला रूपमा माफी माग्दै भविष्यमा त्यस्ता गल्ती नदोहोर्‍ याउने प्रतिबद्धता व्यक्त गर्ने,’ उनले भनेका छन् ।

मतदाताकेन्द्रित कार्यशैलीमा पनि सुधारको प्रस्ताव गरेका छन् । भाषणमुखी र कोठे प्रवृत्ति त्यागेर नेता–कार्यकर्ताहरू अनिवार्य रूपमा आ–आफ्नो भूगोल (टोल र वडा) मा खटिएर जनताको दैनिक मुद्दा र समस्याको नेतृत्व गर्नुपर्ने सुुझाव उनको छ ।

डिजिटल स्वयंसेवक नेटवर्कको पनि उनको प्रस्ताव छ । जसमार्फत विपक्षीहरूको भ्रम र दुष्प्रचारलाई तथ्यगत रूपमा चिर्न प्रत्येक जिल्लामा प्रशिक्षित डिजिटल स्वयंसेवक र एआई  को प्रयोग गर्ने प्रणाली विकास गर्ने उनको प्रस्ताव छ ।

जनप्रतिनिधि स्कूल र फिर्ता बोलाउने (रिकल–प्रत्याह्वान) को व्यवस्थाबारे उनले बताएक छन् ।

‘निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षित गर्न जनप्रतिनिधि स्कूल’ सञ्चालन गर्ने र पार्टी निर्देशन उल्लंघन गर्नेलाई फिर्ता बोलाउन सक्ने (रिकल) तथा राजीनामा बैंकको कानुनी व्यवस्था गर्ने,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।