नेभिगेशन
समाज

उत्तरगया गाउँपालिका अध्यक्ष भन्छन्– संघीय सरकार आकाशमा देखिन्छ, भुइँमा देखिँदैन

काठमाडौँ ।  रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित क्षेत्रमा ठूलो मानवीय क्षति भए पनि उद्धार तथा राहतका लागि राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले सर्वनाश गरेको क्षेत्रमै आफू रहेको बताउँदै अर्यालले सामाजिक सञ्जालमार्फत स्थानीयको अवस्था अत्यन्त भयावह रहेको उल्लेख गर्दै संघीय सरकारको उद्धार तथा राहत संयन्त्रप्रति प्रश्न उठाएका हुन्।

Marvel
Extreme Energy

उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका कर्मचारीमध्ये चार जना अझै बेपत्ता छन्। सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने पहिचान भएपछि दाहसंस्कार गरिएको उनले बताएका छन्। कार्यपालिका सदस्य ज्ञानु विक तथा केही शिक्षकसमेत सम्पर्कविहीन रहेको अर्यालको भनाइ छ।

वेत्रावती बजार, कैदलेटार, पैरेबेँसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको उनले बताएका छन्। २०७२ सालको भूकम्पपछि विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० परिवारसमेत प्रभावित भएको उनको भनाइ छ।

त्यस्तै त्रिशूली–३ बी जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदारसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको अर्यालले बताएका छन्। केही मानिस सुरुङभित्र फसेको खबरसमेत आइरहेको उनले उल्लेख गरेका छन्।

गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका यात्रुहरू पनि हराइरहेको भन्दै आफन्तहरूले खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको उनले बताएका छन्।

‘सडक सम्पर्क पूर्णरूपमा विच्छेद’

अर्यालका अनुसार बाढीपछि प्रभावित क्षेत्र सडक सम्पर्कबाट पूर्णरूपमा विच्छेद भएको छ। विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कमा समेत समस्या आएको र मोबाइल फोन अफ भएकाले प्रभावितसँग सम्पर्क स्थापित गर्न कठिन भएको उनले बताएका छन्।

उनले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो मानवीय क्षति भएको तथा त्यसको तुलनामा मैलुङ, सल्लेटार, पैरेबेँसी, कैदलेटार र वेत्रावती क्षेत्रमा पनि अकल्पनीय क्षति भएको बताएका छन्।

उनका अनुसार खोलाको किनारमा दर्जनौँ शव देखिएका छन्। परिवारका सदस्यले पहिचान गरेका शवसमेत व्यवस्थापन गर्न प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबिना केही गर्न नमिल्ने’ जवाफ पाउने गरेको उनले बताएका छन्।

बाढीमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उनको दाबी छ। बाँकी सुरक्षाकर्मीसमेत पर्याप्त खाना र पानीबिना उद्धार तथा सुरक्षामा खटिनुपरेको उनले बताएका छन्।

‘मरणासन्न घाइतेलाई १० घण्टापछि अस्पताल पुर्‍याउनुपर्‍यो’

अर्यालले मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतीक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको बताएका छन्।

उनका अनुसार घाइतेलाई कालिकास्थान हुँदै जीवजिवे अस्पताल र त्यसपछि करिब १० घण्टापछि धुन्चे अस्पताल पुर्‍याउनुपर्ने अवस्था आएको थियो।

उनले भनेका छन्, ‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ।’

अर्यालले गृहमन्त्रीको सचिवालयबाट आफूलाई फोन गरी नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न आग्रह गरिएको पनि बताएका छन्। तर आफूले उठाएको विषय राजनीतिक नभई प्रभावित नागरिकको वास्तविक अवस्थाको प्रतिनिधित्व भएको उनको भनाइ छ।

‘सामाजिक सञ्जाल रङ्ग्याउने होइन, मैदानमा काम गरौँ’

आफू आबद्ध नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बसेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहेको उल्लेख गर्दै अर्यालले परिणामविहीन रूपमा सामाजिक सञ्जाल रङ्ग्याउने काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

उनले पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक आफूलाई पार्टीका अन्य नेताले खोजी नगरेको गुनासोसमेत गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायतका नेता तथा सहयोद्धाले भने चासो र चिन्ता व्यक्त गरेको उनले बताएका छन्।

‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पीडा दिनेछ,’ उनले भनेका छन्।

३५० प्रभावितलाई विद्यालयमा राखिएको

अर्यालका अनुसार हाल आफ्नो क्षेत्रका करिब ३५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ।

कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भएको र त्यसले थप तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन्। तर प्रभावितले विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउनुपरेको छ।

स्थानीय मनकारी नागरिकले केही परिवारलाई आफ्नै घरमा आश्रय दिएर राखेको उनले बताएका छन्।

नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक तथा बालबालिकाको संवेदनशील अवस्थाअनुसार विशेष सहयोग गर्न नसकिएको पनि अर्यालले बताएका छन्।

शव व्यवस्थापन तत्काल गर्नुपर्ने

नदी किनारमा ठूलो संख्यामा शव रहेको र ती सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिएको अर्यालले बताएका छन्। यसबाट संक्रमण फैलिन सक्ने जोखिम रहेकाले शवको खोजी तथा व्यवस्थापन तत्काल गर्नुपर्ने उनको माग छ।

त्यस्तै बिरामीको संख्या बढ्दै गएकाले तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्।

पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरै मानिस रहेको खबर आएको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको उनले बताएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनको माग छ।

नदीवारि र पारि फसेकालाई परिवारसँग मिलाउनुपर्ने

त्रिशूली नदीवारि र पारि फसेका तथा परिवारका सदस्यसँग सम्पर्कविहीन भएकाहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्ने अर्यालले बताएका छन्।

सहयोग गर्न इच्छुक विभिन्न संघसंस्थाले सम्पर्क गरिरहेको भन्दै उनले प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

घरबारविहीन, हराइरहेका व्यक्ति, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी घरको तथ्याङ्क संकलन भइरहेको उनले जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीसँग बुधबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम बिहीबारदेखि सुरु गर्ने जानकारी प्राप्त भएको अर्यालले बताएका छन्।

स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरमा ओझेल परेका क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम सुरु हुने आफूले विश्वास लिएको उनले बताएका छन्।

‘आफन्त गुमाएका परिवार र घरबारविहीन जनताले राज्यको उपस्थितिको अनुभूति गर्न पाउनेछन् भन्ने विश्वास लिएको छु,’ अर्यालले उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा...
प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता...

भर्खरै