नेभिगेशन
समाज

अब उनलाई अन्तिमपटक देख्न पाए...

काठमाडौं । भित्र शवगृह तयार हुँदैछ । बाहिर आफन्त र परिवारका सदस्यको भीड छ । भीडमा बाक्लो सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही भीडमा छन् – सिन्धुलीका रामबहादुर मोक्तान ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको टिमुरेमा बाढीमा बेपत्ता छोरा सञ्जयको शव भेटिने आशमा उनी चितवनको भरतपुर आइपुगेका छन् । रामबहादुरका दाइ रितबहादुर पनि भतिजको शव खोज्दै यतिबेला भरतपुरमा छन् । बिहीबार दिउँसो ३ बजेतिर उनीहरु औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको शव पहिचान केन्द्र आइपुगेका थिए । नारायणीमा भेटिएकाको शव केन्द्रमा राख्ने खबर पाएपछि दाजु–भाइ यहाँ आइपुगेका थिए ।

Ncell
Extreme Energy

रामबहादुरका ३१ वर्षीय छोरा सञ्जय टिमुरेमा ट्रक चलाउँथे । बुधबार बिहान साथीहरुसँग क्यारम खेलिरहेका थिए । त्यतिकैमा माथिबाट बाढी आएको थाहा भयो । सञ्जय र उनीसँगै रहेका अर्का एक युवक बाढीमा विलीन भए । ‘पाँच जना क्यारम बोर्ड खेल्दै रहेछन् । ५ सय मिटरमाथि बाढी आएको देखेपछि सबै भागेछन्,’ बुवा राम सुस्तो बोले, ‘३ जना बाँच्न सफल भएछन् । मेरो छोरा र अर्को मधेशतिरको एकजना बाढीमा परेछन् ।’

यो खबर सुनेपछि रामबहादुरलाई भोकनिद्रा परेको छैन । उनी सिन्धुलीबाट बिहीबार दिउँसो भरतपुर आइपुगे ।  बचाउन खोज्दा र तीन घण्टासम्म खोज्दा पनि भेटाउन नसकेको खबर प्रत्यक्षदर्शी गाउँकै युवकले रामबहादुरलाई सुनाएका छन् । त्यसैले उनलाई अब छोरा जीवितै भेटिने आश छैन । अब उनलाई शवको प्रतीक्षा छ । शव भेटेर अन्तिम संस्कार गर्ने धोको छ । ’आत्तिएको छैन पनि कसरी भनूँ ? अब छोरा सकुशल भेटिने आश सयमा एक प्रतिशतमात्र छ !’ उनले अक्मकिँदै सुनाए ।

काठमाडौँमा बहिनी र माहिलो छोरा, रसुवामा पनि गाउँकै छिमेकीले छोरा सञ्जयको खोजी गरिरहेको उनले सुनाए । ‘काठमाडौँतिर अरुले खोज्दै छन् । यताबाट खोज्दै काठमाडौँ नै जाने हो । आज बिहानैदेखि हिँडेको हो,’ उनले थपे, ‘जहाँ–जहाँ लास छन्, त्यहाँ हेर्दै जाने अनि काठमाडौँ निस्कन्छु ।’ रसुवाबाट बेपत्ता सञ्जय चितवनमा भेटिने झिनो आश रामबहादुरलाई छ । त्यसैले उनी त्यहीँ पर्खिरहेका छन् । बेपत्ता सञ्जयको परिवारमा बुवासहित हजुरआमा, श्रीमती र ९ महिनाकी छोरी छन् ।

1-Rambahadur-Moktan-Photo-NPL-1787892125.JPG

5-Afanta-Bharatpur-Sab-Kendra-1787892127.JPG

6-Body-Bharatpur-Sab-Kendra-1787892125.JPG

3-Chintamani-Kafle-Chitwan-Photos-1787892129.JPG

4-Aafanta-Bharatpur-Sab-Kendra_NPL-(1)-1787892129.JPG

भरतपुर शुक्रनगरका चिन्तामणि काफ्लेको आँखा रसाउन रोकिएको छैन । रसुवामा कार्यरत भाञ्जा विष्णु भुसाल बुधबारदेखि सम्पर्कमा छैनन् । प्रहरीमा कार्यरत भाञ्जाको शव नारायणीमा भेटिएको छ कि भनेर उनी प्रतिष्ठानको शव पहिचान केन्द्र पुगेका थिए । शव राख्ने ठाउँ बनिरहेको खबर पाएपछि उनी पर्खिरहेका थिए । ‘छन् कि छैनन् निधो छैन । पहिचान हुन्छ कि, देख्न पाइन्छ कि भनेर आएको,’ उनको आँखामा आशा जीवित थियो ।

बोलिरहँदा उनको गला अवरुद्ध भइरह्यो । उनले मलिन स्वरमा फेरि दोहो¥याए, ’म शवलाई हेर्न मात्र आएको ।’ भाञ्जाको शव भेटिने आशमा उनी नारायणी किनारतिर पनि पुगेका थिए । त्यहाँ केही भेटिएन । नारायणीमा भेटिएका शव केन्द्रमा राखिने र त्यहाँबाट सनाखत गर्न सकिने थाहा पाएपछि उनी हस्याङफस्याङ गर्दै आइपुगे ।

चितवनको इच्छाकामनाका सुमन पुरी पनि रसुवा बाढीमा बेपत्ता छन् । बेपत्ता भाञ्जाको खोजीमा मामा रामकुमार पुरी शव पर्खिएकाको भीडमै थिए । त्रिशुली हाइड्रोपावरमा कार्यरत भाञ्जा दुई दिनसम्म सम्पर्क नभएपछि जीवित भेटिने आश उनलाई छैन । ‘शवको पहिचान हुने हो कि होइन । शव घरमा लगेर रीतिपूर्वक अन्तिम संस्कार गर्न पाए हुन्थ्यो,’ उनले सुनाए ।

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्तको भीड देखिन्थ्यो । थाहा छैन, हराएकाहरु भेटिन्छन्, भेटिँदैनन् । सबैलाई अन्तिमपटक ‘आफ्ना मान्छे’को अनुहार हेर्ने प्रतीक्षा छ । झिनो आशा छ ।

चितवनमा बिहीबार साँझसम्म १ सय ३५ वटा शव भेटिएका छन् । रसुवा, नुवाकोट, गोरखा, धादिङ हुँदै धेरै शव चितवनको नारायणीमा भेटिएका छन् । भरतपुर अस्पतालसँग १२ वटामात्र शव राख्न सक्ने क्षमता छ । अस्पतालले बाढीले चितवनमा पनि क्षति गर्नसक्ने आकलन गरेर उपचारका लागि बेड तयार पारेको थियो । चितवनमा बाढीले मानवीय क्षति भएन । तर, किनारतिर एकपछि अर्को शव भेटिन थालेका छन् । अस्पतालको शवगृहको क्षमताभन्दा कयौँ गुणा बढी शव चितवनमा भेटिएका छन् ।

शवको संख्या धेरै भएपछि बिहीबार बिहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । यसपछि भरतपुर–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा पीडित परिवार सम्पर्क परामर्श केन्द्र र शव पहिचान केन्द्र स्थापना गरिएको छ । एसी, कुलर जडान गरेर यहाँ शव राख्न मिल्ने अस्थायी कुलिङ हल बनाइएको छ ।

तत्काललाई २ सय ५० वटासम्म शव राख्न मिल्ने गरी हल तयार पारिएको चितवनका एसपी रामेश्वर पौडेलले बताए । थप शव भेटिएमा अन्य कोठा प्रयोग गरेर ५ सय वटासम्म शव राख्न मिल्ने केन्द्र बनाउने तयारी छ । चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ३२ वटा शवहरू फेला परेका छन् । कतिपय शव सग्ला छन् भने कति अंगमात्र छन् ।

बाढीमा बेपत्ता आफन्त खोज्न भरतपुर अस्पताल पुगेका ठाकुरप्रसाद कँडेल बिहीबार बिहान भरतपुर अस्पतालको ‘पोष्टमार्टम घर’ पसेका थिए । त्यहाँ उनले आफूले खोजी गरेकालाई भेटेनन् । तर, भित्र जे देखे त्यो निकै कहालीलाग्दो थियो । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ उनले त्यहाँभित्रको अवस्था सुनाए ।

सबैजसो शव हिलाम्मे छन् । त्यसैले भेटिएका शव पहिचान गर्न सहज छैन । शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम भइरहेको छ । त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा राखिन्छ । आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत पहिचान गर्न सक्ने एसपी पौडेलले बताए । शवको फोटो केन्द्रको भित्तामा पनि राखिने छ ।  

उनकाअनुसार बेपत्ताको खोजीका लागि सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ । शव पहिचान भएपछि ट्याग नम्बरअनुसार शव गृहबाट पोष्टमार्टमका लागि लगिने छ । त्यसपछि परिवारलाई जिम्मा लगाइने छ । शव सनाखतपछि घरसम्म लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।
रसुवा बाढी : हालसम्म ८२९ जनाको हवाई, २०० जनाको जमिनबाट उद्धार

रसुवा बाढी : हालसम्म ८२९ जनाको हवाई, २०० जनाको जमिनबाट उद्धार

रसुवामा आएको भीषण बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना र निजी हेलिकप्टरबाट हालसम्म ८२९ जनाको हवाई उद्धार गरिएको छ।