नेभिगेशन
समाज

रवीन्द्र ढाँटको जितले दिएको आशा

काठमाडौं । ‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको साङ्घाइमा शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनल जितेपछि नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले यति भनिरहँदा उनको खुसीभन्दा ठूलो चिन्ता देशमा आएको विपत्तिको थियो।

Ncell
Extreme Energy

रिङमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ऐतिहासिक जित निकालेपछि उनले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र लिएनन्। देश भोटेकोशी बाढीको पीडामा रहेका बेला उनले आफ्नो जित नेपाली जनतालाई समर्पित गरे।

‘हामी उठ्नेछौँ। शिर उठाऔँ नेपालीहरू,’ उनले भने।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि देश शोकमा छ। यस्तो कठिन परिस्थितिमा रवीन्द्रको जितले नेपाली खेलकुदमा खुसीसँगै आशाको एउटा किरण पनि दिएको छ।

विपत्तिका बेला देशका लागि आउने सकारात्मक खबर र एकअर्कालाई सहयोग गर्न गरिने अपिलले आशा र हौसला कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। रवीन्द्रको आजको जित पनि त्यही आशाको प्रतीक बनेको छ।

रवीन्द्रले बनाए अर्को इतिहास

रवीन्द्रले साङ्घाइस्थित अक्टागनमा कासिब मर्डोकलाई पराजित गर्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा स्थान बनाएका छन्। योसँगै एमएमएको इतिहासमा रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेर उनले अर्को इतिहास रचेका छन्।

प्रतिष्ठित एमएमए संस्था युएफसीमा प्रवेश गर्ने उनको सपना अब एक जित टाढा छ। फाइनलमा जापानका रियो ताजिमालाई पराजित गर्न सके रवीन्द्र युएफसीमा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

फाइनलको मिति भने सार्वजनिक हुन बाँकी छ।

कासिबविरुद्धको सेमिफाइनलमा रवीन्द्रले सुरुआती दुई राउन्डमा अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेनन्। तर तेस्रो राउन्डमा उनले खेलको लय पूरै परिवर्तन गरे।

तेस्रो राउन्डमा रवीन्द्रले आक्रामक खेल प्रदर्शन गर्दै कासिबमाथि दबाब बनाए। उनका प्रभावशाली प्रहारका कारण कासिबले आफ्नो लय गुमाए र रवीन्द्रले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारे।

रवीन्द्रसँगको हारसँगै कासिबले आफ्नो अपराजित यात्रामा पहिलो पराजय व्यहोरेका छन्। यसअघि आठ खेल खेलेका कासिब कुनै पनि खेलमा पराजित भएका थिएनन्।

पाँच खेलयता अपराजित

२७ वर्षीय रवीन्द्रले व्यावसायिक एमएमए करिअरमा हालसम्म १२ खेल खेलेका छन्। तीमध्ये ११ खेलमा उनले जित निकालेका छन्।

सन् २०२४ यता रवीन्द्र अपराजित छन्। उनले सन् २०२३ को डिसेम्बरमा पाकिस्तानका इस्माइल खानसँग मात्रै पराजय व्यहोरेका थिए। त्यसयता भने उनले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतमा आयोजना भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले उक्त प्रतियोगितामा भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो राउन्डमै नकआउट गरेका थिए।

रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। गत मेमा मकाउमा भएको उक्त खेलमा रवीन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गरेका थिए।

क्वार्टरफाइनलको जितलाई सेमिफाइनलमा निरन्तरता दिँदै उनले आज कासिबलाई पराजित गरेका हुन्।

अब रवीन्द्रका सामु नेपाली खेलकुदकै अर्को इतिहास रच्ने अवसर छ। फाइनलमा ताजिमालाई हराउन सके उनी युएफसीमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

रिङमा रवीन्द्रको जितले नेपाली एमएमएलाई नयाँ उचाइतर्फ लैजाने सम्भावना देखाएको छ। देश विपत्तिको पीडामा रहेका बेला आएको उनको यो सफलताले नेपालीलाई केही समयका लागि भए पनि खुसी र आशाको कारण दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।