नेभिगेशन
मुख्य समाचार

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा मोबाइलमा आँखा डुलाउँछिन्। एक साता बितिसक्दा पनि उनको घरमा चुल्हो बलेको छैन। परिवारका कसैका आँखा ओभाएका छैनन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्।

Ncell
Extreme Energy

'बाबुले ‘मामु, म ठिकै छु’ भनेर फोन गरिहाल्छ कि भन्ने लाग्छ। एकछिन यो मोबाइल छाडेकी छैन,' सरिताले भनिन्, 'अहिले सौभाग्यबाहेक अरू कुनै कुरा सम्झन सक्दिनँ।'

भदौ १० गते बिहान छोरासँग कुरा भएको सम्झिँदै उनले त्यसपछि सम्पर्क हुन नसकेको बताइन्।

'बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न खोज्यौँ। त्यो दिन बिहान ९ बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन,' उनले भनिन्।

सौभाग्यको खोजीमा उनका बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त रसुवा पुगेका छन्।

'एकचोटि त भन्दियोस्, ‘मामु, म फसेको थिएँ, अब निस्केँ’,' सरिताले भनिन्, 'सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एकछिन पनि मोबाइल छाडेकी छैन।'

सामान्य आर्थिक अवस्था भएको बिष्ट परिवार मेकानिकल इञ्जिनियर छोरा सौभाग्यकै कमाइमा निर्भर थियो।

यस्तै, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि एक साताभन्दा बढी समयदेखि चुल्हो बलेको छैन।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामै कार्यरत छोरी जोया रानासँग भदौ १० गते बिहान ९ बजेदेखि सम्पर्क हुन सकेको छैन। त्यसयता परिवारमा सन्नाटा छाएको छ।

'सन्तानका नाउँमा तीनवटी छोरी छन्। अलि लेखपढ गरेकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,' खिलबहादुरले भने, 'जसमाथि जिन्दगी सुम्पेर बाँच्ने सोच्थेँ, उही सम्पर्कविहीन भएकी छ।'

छोरीको खोजीमा खिलबहादुरले आफैँ हेलिकप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारमा कैयौँपटक चक्कर लगाए। तर अहिलेसम्म जोयाको अत्तोपत्तो छैन।

'कैयौँपटक खोज्न गएँ, तर छोरीको कुनै खबर पाउन सकेको छैन,' उनले आँसु झार्दै भने।

मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको परिवार पनि यस्तै पीडामा छ। उनकी आमा, पत्नी र चार छोराछोरी उनको एक वचनको पर्खाइमा छन्।

'भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,' पत्नी गुञ्जा मण्डलले भक्कानिँदै भनिन्, 'त्यसपछि उहाँसँग सम्पर्क भएको छैन।'

काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्ने गङ्गाराम भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए। परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि घरमा चिन्ता र छटपटी बढेको छ।

आमा र चार छोराछोरी निरन्तर गङ्गारामलाई सम्झिरहेका छन्। 'आँसु झार्न पनि सक्दिनँ,' गुञ्जाले भनिन्।

यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेदेखि सम्पर्कविहीन छन्। केही दिनअघि मात्रै रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम थालेका हशनले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए।

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएका हशनलाई उनका पिता माजिद अन्सारी अझै पर्खिरहेका छन्।

'दिनदिनै घरमा फोन गर्थ्यो। भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,' माजिदले भने, 'त्यसयता घरमा चुल्हो बलेको छैन। आफन्त जो आउँछन्, सबैका आँखा टिलपिलाएका हुन्छन्।'

कसैले हशनबारे राम्रो खबर सुनाउला कि भन्ने आशामा परिवार बसेको छ।

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा भेटिएका १८ जना महोत्तरीवासीलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको छ। सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना परिवारको सम्पर्कमा आइसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

'अब महोत्तरीका १३ जना सम्पर्कविहीन छन्। उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,' प्रजिअ यादवले भने, 'विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस्।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।