नेभिगेशन
समाज

भेडीगोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन।

Marvel
Extreme Energy

'जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,' अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका लालबिरले भने, 'छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन।'

हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन्।

बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालबिरले संयुक्त गोठ बनाएका छन्। खयरखोला र नौलोबन क्षेत्रमा पाउद्वारका तीन वटा भेडागोठ छन्। त्यहाँ करिब दुई हजार भेडाबाख्रा छन्। जेठमा लेक उक्लिएका गोठालाहरूलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरूले खाद्यान्न पुर्‍याइदिन्छन्।

'घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोत नै भेडापालन हो,' लालबिरले भने, 'भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए।'

सहरबजारको विलासी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ। दौतरीहरू भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले बताए।

विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालबिरले सुनाए।

'छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरि बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,' उनले भने, 'शरीर र स्वास्थ्यले साथ दिँदासम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ।'

उनीसँगै कुनै समय पाँच सयभन्दा बढी भेडाबाख्रा थिए। वार्षिक ५० वटासम्म भेडाका साँढ, खसी र बोका बिक्री हुन्छ। जनैपूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बलि चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन्। एउटा साँढको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ। दसैँतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ।

सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनौँसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन। मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल चलाउने गर्छन्। उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन्। चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन्। एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन्।

लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालबिरले बताए। तापक्रम वृद्धिका कारण विषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ।

वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...

भर्खरै