नेभिगेशन
समाज

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको ओइरो, होटलमा कोठा पाउनै मुस्किल

दमौली। चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेको छ। पर्यटकको आगमन बढेपछि यहाँका होटल र होमस्टे भरिभराउ भएका छन्। बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दीपुर बजारमा पर्यटकको चहलपहल बढेको छ भने होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ। बन्दीपुरमा बास नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्न बाध्य भएका छन्।

Marvel
Extreme Energy

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले पर्यटकको चाप व्यवस्थापन गर्नै कठिन हुने अवस्था छ। होटल तथा होमस्टे भरिभराउ हुँदा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उनले बताए।

उनका अनुसार चाडपर्वको लामो बिदा र पर्यटकीय याम एकैपटक सुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो।

बन्दीपुरका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता छ। यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन्। तर, पानीको अभावका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसकेको अध्यक्ष बानियाँले बताए।

पर्यटकको चाप बढे पनि पर्याप्त पानी र बासको व्यवस्थापन गर्न नसक्नु पर्यटन व्यवसायका लागि चुनौती बनेको उनको भनाइ छ। होटल तथा होमस्टेको क्षमता र पूर्वाधार थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

होटल व्यवसायी वैशबहादुर गुरुङले पनि चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको बताए। परिवार र साथीभाइसँग घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दा व्यवसायमा उत्साह थपिए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए।

बन्दीपुर प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात छ। पुरानो बजारको मौलिक वास्तुकला, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्।

खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालय यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्।

त्यस्तै रानीवन, रामकोट, सुनखरी, विन्ध्यवासिनी मन्दिर तथा सूचना केन्द्र पनि पर्यटकका आकर्षणका केन्द्र हुन्। भक्तपुरे शैलीमा निर्माण गरिएका घर र पुरानो बजारको मौलिक स्वरूपले बन्दीपुरको पर्यटन आकर्षण थप बढाएको छ।

पर्यटकको बढ्दो आगमनले यहाँका होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

पदमार्ग र प्रवेशद्वार बनेपछि पर्यटकको रोजाइमा कपासे भञ्ज्याङ

भोजपुर र खोटाङको सीमामा रहेको कपासे भञ्ज्याङ पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।
डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

डलरको भाउ यथावत्, युरो र पाउन्डसहित अधिकांश मुद्रा सस्तिए

अमेरिकी डलरको मूल्य यथावत् रहँदा युरो, पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।
किसानको धान जोगाउन खेतखेतमा प्रहरी

किसानको धान जोगाउन खेतखेतमा प्रहरी

जङ्गली हात्तीको जोखिमले पाकेको धान भित्र्याउन नपाएका झापाको बाहुनडाँगीका किसानलाई सघाउन प्रहरी र जनप्रतिनिधि खेतमै पुगेका छन्।