नेभिगेशन
सबै कुरा

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका भाई तस्करीको सुन प्रशोधन गर्ने कम्पनीको साझेदार भएको खुलेको छ ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा यस्तो रहस्य बाहिरिएको हो ।

Global Ime Bank

६० किलो सुन तस्करी प्रकरणमा १४ साउनमा पक्राउ परेका तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ यतिबेला सीआईबी हिरासतमा छन् । उनीमाथि नेपालमा हुने सुन तस्करीको मुख्य व्यवस्थापकको आरोपमा अनुसन्धान भइरहेको छ । तेस्रो मुलुकबाट विभिन्न वस्तुमा लुकाएर आयात हुने तस्करीको सुन पगाल्न दावाको श्रीमतीको नाममा रहेको सामाखुसीको ‘भियाना मल्टीप्रपोज ग्रुप’ संलग्न रहेको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तस्करीको सुन प्रशोधन गर्न खानी विभागबाटै लाइसेन्स 

दावा छिरिङ समूहले तस्करी गरेको सुन प्रशोधन गर्ने उद्योग दावाकी पत्नी अमला रोका सहितको हो ।  अमला सहित ४ जनाको नाममा रहेको कम्पनी ‘भियाना मल्टीप्रपोज ग्रुप प्राली’मा वर्षमान पुनका भाइ प्रनिश पुन मगरको ३० हजार कित्ता शेयरको साझेदार रहेको छ । यो कम्पनीले २०७७ सालमा खानी तथा भूगर्भ विभागबाट सुन उत्खनन् तथा प्रशोधनको लाईसेन्स लिएको छ । 


स्थापना भएको ३ वर्षपछि ‘भियाना मल्टीप्रपोज ग्रुप’ले खानी तथा भूगर्व विभागमा सुन उत्खनन् तथा प्रशोधन गर्न भन्दै लाईसेन्सको लागि निवेदन दिएको थियो । नेपालमा हालसम्म सुन खानी पहिचान नभएका कारण कम्पनीको लाइसेन्स माग आफैंमा अचम्म पार्ने खालको थियो । तर, राजनीतिक दवावमा अमलाको कम्पनीले २०७७ माघ २९ मा सुन उत्खनन् र प्रशोधनका लागि विभागबाट लाइसेन्स पायो ।

भूगर्भ विभागका अधिकारीहरुका अनुसार रोल्पाको सुनछहारीमा २९ किलोमिटर क्षेत्रफलमा सुन उत्खनन् गर्न भन्दै कम्पनीले लाइसेन्स लिएको थियो । ‘भियाना मल्टीप्रपोज ग्रुप’को सुन उत्खनन् र प्रशोधन लाईसेन्स नम्बर ६५-०७७-०७८ हो । कम्पनीको ५ वर्षे लाईसेन्स को समयवधी २०८१ माघ २८ मा सम्म छ ।

खानी तथा भुगर्भ विभागका सूचना अधिकारी  नारायण बाँस्कोटाका अनुसार नेपालका केही ठाँउमा सुन रहेको आशंका गरिएपनि ल्याब परिक्षण सहित प्रमाणित भने भएको छैन । सरकारी निकायबाट समेत बजेट खर्चिएर सुनको अनुसन्धान भएको छैन ।

सुन रहेको पुष्टि नै नभएको ठाँउमा सुन तस्करीका नाइके दावा छिरिङकी पत्नी अमला रोकाले ‘भियाना मल्टीप्रपोज ग्रुप’का नामबाट सुन उत्खनन् र प्रशोधनको लाइसेन्स लिएकी छिन् ।


तर, यो कम्पनीले नेपालमा तस्करीको सुन पगाल्ने र त्यसलाई किलोको आकार दिने काम गरिहेको सीआईबी स्रोतको दावी छ । ‘राजश्व अनुसन्धान विभागले फेला पारेको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाको सुन गोदाम र सुन पगाल्ने कारखानासँग ‘भियाना मल्टीप्रपोज ग्रुप’ प्रत्यक्ष रुपमा संलग्न छ,’ सीआईबी उच्च स्रोतले भन्यो ।

वर्षमानका भाईको नाममा ३० हजार कित्ता शेयर  

२०७४ साल मंसिर ५ गते स्थापना भएको ३ करोड मूल्य बराबरको  ‘भियाना मल्टीप्रपोज ग्रुप’मा वर्षमान पुनका भाई प्रनिश पुन मगरको ३० लाख रुपैयाँको ३० हजार कित्ता शेयर छ । जसमध्ये १३ लाख रुपैयाँको शेयर बापतको लिखत रकम प्रनिशले तिरेका छन् भने १७ लाख रुपैयाँ तिर्न बाँकी छ । 


स्रोतका अनुसार प्रनिशले पाएको शेयर गोल्डेन शेयर अर्थात कसैलाई खुसी बनाउन दिइएको पुरस्कार शेयरको हिस्सा हो ।  अचम्म त के छ भने कम्पनीका नाममा सबैभन्दा धेरै शेयर रकम भुक्तानी गर्नेमा वर्षमानकै भाई प्रनिश रहेका छन् ।

काठमाडौं महानगरपालिका २९ सामाखुसीमा रहेको कम्पनीमा अमला रोक्का, दीपक बुढा, सिशम मगर र प्रनिश पुन मगर शेयर होल्डर छन् । जसमा सुन तस्करीका नाइके दावा छिरिङकी पत्नी अमला रोकाको सबै भन्दा धेरै २ करोड २५ लाख मूल्य बराबरको  २ लाख २५ हजार कित्ता शेयर छ । यसमध्ये उनले कम्पनीमा अहिलेसम्म १२ लाख मात्रै भुक्तानी गरेकी छिन् । 

अमलाका भाई दीपक बुढाको नाममा ४२ लाख ५० हजार मूल्य बराबरको  ४२ हजार ५ सय कित्ता शेयर छ । उनले कम्पनीमा अहिलेसम्म २ लाख ५० हजार मात्रै भुक्तानी गरेका छन् ।   

सिधाकुरालाई प्राप्त शेयर धनी पुस्तिकाको विवरणअनुसार अमला र दीपकका बाबुको नाम मुलमान बुढा हो । 

यस्तै रोल्पाकै सिशम रोका मगरको नाममा २ लाख ५० हजार मूल्य बराबरको  २५ सय कित्ता शेयर छ । उनले पूर्ण भुक्तानी गरेका छन् । 

यो कम्पनीको शेयर लगत २०८० बैशाख १९ गते अध्यावधिक गरिएको छ । उक्त कम्पनीको दर्र्ता नम्बर १७८६७८ छ । 


वर्षमानसँगै बस्छन् प्रनेश

वर्षमान पुनका सहोदर भाई हुन् प्रनेश पुन मगर । माओवादी शान्ति प्रक्रियापछि दाजुसँगै काठमाडौं छिरेका उनी अहिले पनि दाइसँगै बस्छन् ।

 शेयर लगतमा प्रनिशको बाबुको नाममा इर्खराम पुन मगर उल्लेख छ ।  संघीय संसदको सांसदहरुको व्यक्तिगत विवरणमा वर्षमान पुनका बाबुको नाम पनि इर्खराम पुन नै रहेको छ । 


वर्षमान पुनको गाउँ थवाङ–८ रोल्पाका वडा अध्यक्ष हर्कबहादुर डाँगीले वर्षमान र प्रनिश सहोदर दाजु–भाई भएको पुष्टि गरे ।

चुनाव, पर्व लगायतका बेला मात्रै रोल्पा आउने गरेका प्रनिशबारे थप जानकारी नभएको डाँगी बताउँछन् । ‘प्रनेश र वर्षमान सहोदर दाजु– भाई हुन,’ डाँगीले भने, ‘उनी काठमाडौंमा दाइहरुसँगै बस्छन् । के काम गर्छन थाहा छैन ।’


वर्षमान पुन र अमला कनेक्सन

दावा छिरिङ पक्राउ परेसँगै उनकी श्रीमती अमला रोका र माओवादीका प्रभावशाली नेता वर्षमान पुनको सम्बन्धबारे चर्चा भएको थियो । दावा, दावाकी पत्नी अमला रोका, वर्षमान पुन र पुनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्तीसँग को पारिवारिक भेटघाटका तस्वीर पनि सामाजिक सञ्जालबाट बाहिरीएको थियो ।


वर्षमान पुन, ओनसरी घर्ती लगायत माओवादीका प्रभावशाली नेताको किचनमै सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङ पुगेको तथ्य बाहिरिएपछि वर्षमान पुनले त्यसको बचाउ गरेका थिए । 


सामाजिक सञ्जाल फेसबुकमार्फत कमला आफ्नो गाउँठाउँको चेली भएको  र उनी शहिद परिवार भएको भन्दै उनको श्रीमान् दावासंग एक पटक ज्वाइँको रुपमा मात्रै भेट गरेको दाबी गरेका थिए ।

तर, उनै अमलाको सुन गाल्ने कम्पनीमा वर्षमान पुनका सहोदर भाईको साझेदारीबारे बुझन् हामीले वर्षमान पुनलाई पटक–पटक फोन म्यासेज गर्दा उनले फोन उठाएनन् र म्यासेजको पनि जवाफ दिएनन् । 


सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरुः

EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...