नेभिगेशन
सबै कुरा

पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय

वीरगंज । शिक्षक राजनीतिमा संलग्न हुनुहुँदैन । शिक्षा ऐनले व्यवस्था गरेको नियम हो यो । तर, पर्सामा दर्जनौँ शिक्षकहरु सरकारको सेवा सुविधामा शिक्षण पेशामा रहेर विभिन्न राजनीतिक दलमा आवद्ध भएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्सा जिल्लाको १४ वटा पालिकामध्ये प्रायः विद्यालयका शिक्षकहरू राजनीतिक दलमा आवद्ध रहेको र पालिका प्रमुखहरू तिनका संरक्षक भएको पाइएको छ । पर्सामा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका पार्टीमा शिक्षकहरू प्रत्यक्ष रुपमा राजनीतिमा लागेका छन् । विद्यालय नजाने, अनुपस्थित भएपनि हाजिरी लगाउने, पार्टीको गतिविधिमा संलग्न हुने, माइनुट लगायत पार्टीको अधिवेशनहरूमा समेत सहभागी भइरहँदा समेत कारबाही कसैलाई कारबाही भएको छैन । शिक्षा ऐनले व्यवस्था गरेको नियमलाई लत्याएर शिक्षक पद हत्याएर बसेका यस्ता थुप्रै नेताहरू जिल्लामा छ्याप्छ्याप्ती छन् । 

Extreme Energy
citizen life


नेपाली कांग्रेसको राजनीतिमा रहेका शिक्षकहरु

ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेद्वि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । जिल्ला सदस्य समेत रहेका उनी क्याम्पस प्रमुख भएर हाल ठाकुरराम मै प्राध्यापक रहेर अध्यापन गराइरहेका छन् । उनी कांग्रेस पार्टीमा संलग्न छन् । यस्तै सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछाने नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । यसैगरी पूर्वक्याम्पस प्रमुख तथा हाल ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापक रहेका डा. कृपा सिन्धु प्रसाद चौधरी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

उनी पार्टीको जिम्मेवारीसँगै नेपाल सरकारको सेवा सुविधा लिएर कांग्रेसको राजनीतिमा लागेका छन् । यसैगरी सोही क्याम्पसका प्राध्यापक तथा स्टोर प्रमुख गिता श्रेष्ठ समेत महाधिवेशन प्रतिनिधि हुन् । यसैगरी कांग्रेस कै नगर सहसचिव कन्हैया झा समेत ठाकुराममा प्राध्यापक छन् ।

यसैगरी नेपाली कांग्रेसका पर्सा जिल्ला कमिटी सदस्य हुन् विनोद मेहता । विवादित शिक्षकका रुपमा परिचित मेहता विद्यापिठ मावि, नृसिंह मावि हुदैँ हाल बहुअरी माविमा आएका छन् । नेताहरुको सभा सम्मेलन जुलुसमा सक्रिय रहेका उनि पटक पटक विभिन्न विषयमा विवादित हुँदै आएका शिक्षक हुन् । नेपाली कांग्रेसमा रहेर उनले स्वार्थको राजनीति गर्ने गरेको आरोप लाग्ने गरेको छ । शिक्षक पद पनि चाहिने विद्यालयको बजेट पनि चलाउनुपर्ने र राजनीति पनि चाहिने स्वभाव बोकेका उनको यस्तै विवादित छविले उनी एक विद्यालयमा टिक्न नसकेको निकटस्थहरु बताउँछन् ।  

यसैगरी नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य हुन् पर्मा साह वर्णवाल । पकहामैनपुर गाऊँपालिका वडा नम्बर २ स्थित नेरा प्राविका प्रधानाध्यापक रहेका वर्णवाल कांग्रेसका सक्रिय जिल्ला सदस्य हुन् । राहतका शिक्षक रहेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन्् । 

यसैगरी नेपाली कांग्रेसका अर्का जिल्ला कमिटी सदस्य हुन् संजय चौहान । संसारीमाई अधारभुत विद्यालयका प्रधानाध्यापक रहेका उनि समेत जिल्लाको राजनीतिमा सक्रिय छन् । यसैगरी नेपाल राष्ट्रिय मावि सन्ठीका शिक्षक हुन् रामादेश चौहान । उनी पनि जिल्ला सदस्य रहेका व्यक्ति हुन् । यसैगरी बालमन्धी माविका शिक्षक रामादेशका भाई हुन् चन्देश चौहान । उनी समेत नेपाली कांग्रेसमा आवद्ध भएर हाल एनजिओका उपध्यक्ष समेत छन् । नेपाल सरकारको तलब भत्ता लिएर दोहोरो सुविधामा राजनीति र समाजिक संस्थामा चौहान सक्रिय छन् । 

वीरगंज महानगरपालिका अन्तर्गत पर्ने नृसिंह माविमा अध्यापन गराउने नेपाली कांग्रेसका महासमिति सदस्य हुन् संतोष सिंह । पार्टीपङ्क्तिमा सक्रिय रहेका उनी कांग्रेसको झण्डा बोक्दै हिँड्ने व्यक्ति हुन् । यसैगरी नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रहेका तीर्थराज यादव समेत शिक्षक हुन् । तर उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि हुन् । उनले पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता रमेश रिजाललाई जिताउन आफैँ सक्रिय रहेर सभा सम्मेलन र भेला गराएका थिए । यसैगरी नेपाली कांग्रेसका नेता समेत रहेका अशोक साह तेली भिखमपुर माविका शिक्षक समेत हुन् । 

नेपाली कांग्रेसको भातृ संगठन ट्रेड युनियनका अध्यक्ष छोटेलाल यादव गण्डक बहुअरीस्थित स्कुलका शिक्षक हुन तर राजनीतिक दलमा आवद्ध छन् । उनी विद्यार्थीलाई अध्यापन गराउनु भन्दा बढी राजनीतिक काममा सक्रिय छन् । यस्तै सोही विद्यालयमा नेपाली कांग्रेस निकट मुस्लिम संघका जिल्ला सचिव साबिर अहमद एराज उर्फ साविर हुसैन समेत शिक्षकका रुपमा सरकारी जागिरे हुन् । तर शिक्षक गतिविधि भन्दा बढी उनी नेपाली कांग्रेसका बैठक, सभा सम्मेलनमा सक्रिय हुने नेता हुन् । 

यस्तै महानगर अन्तर्गत पर्ने साविकको जनजाति स्कुल हाल आधारभुत विद्यालयमा अध्यापन गराउने रवि भुषण चौरसिया समेत नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् तर आधारभुत विद्यालयका उनी शिक्षक हुन् । उनकै श्रीमति हुन कोपिला कंडेल चौरसिया नेपाली कांग्रेसको महिला संघमा सक्रिय रहेकी उनी महानगर अन्तर्गत कै विद्यालयमा शिक्षक हुन् तर अध्यापन भन्दा बढी कांग्रेसको गतिविधिमा संलग्न छिन् । शिक्षक भन्दा बढी उनी नेपाली कांग्रेसका नेतृ भनेर परिचित छिन् । 

यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर २ स्थित रहेको नेरा मावि सेढवा विर्ताका प्रधानाध्यापक हुन् खेमराज महतो । प्राथमिक तृतीय श्रेणीका स्थायी शिक्षक रहेका महतो नेपाली कांग्रेस वडा नं. २ कमिटीका सचिव हुन् । जिराभवानी गाऊँपालिकाको अध्यक्षमा निर्वाचित भएका अनोज चौधरी नेपाली कांग्रेस कै हुन् पार्टीका भएकाले स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने प्रकृया अविलम्बन गरेको देखिन्न । यसैगरी नेपाली कांग्रेस कै कार्यकर्ता हुन् आरिफ अन्सारी नेपाल सरकारको शिक्षक रहेका धोबिनी गाउँपालिका निवासी उनी चुनाव, पार्टी भेला लगायतमा सहभागिता जनाउँदै आएका छन् ।

यस्तै सोलखपुर माविका शिक्षक राजेश चौधरी, बडेरवा माविका प्रधानाध्यापक चेतमान गैरे, सोही विद्यालयका शिक्षक बालेश्वर गैरे, सोलखपुर माविका रवि दास लगायतका दर्जनौँ शिक्षक नेपाली कांग्रेसको प्रत्यक्ष राजनीतिमा सकृय नेताहरू हुन् । यसैगरी विजयजस्ता माविका संतोष श्रेष्ठ समेत सक्रिय नेता हुन् रेडियो, सहकारीका साथ साथै कांग्रेसको भेला सभा सम्मेलन उनी छुटाउँदैनन् । विद्यालय मात्र हैन क्याम्पसका प्रध्यापकहरु समेत राजनितिमा सक्रिय रहेका छन् । 

नेकपा एमालेको राजनीति गर्ने शिक्षकहरु

पर्सा जिल्लाको पोखरीया नगरपालिकाकी उपमेयर रुबि ठाकुरकी श्रीमान् दिपक ठाकुर नेपाल सरकारको शिक्षक हुन् । वीरगंजस्थित वीरगंज कारागारका शिक्षक रहेका उनी नेकपा एमालेका पर्सा जिल्ला कमिटी सदस्य हुन् । विभिन्न मुद्दामा कारागार चलान भएकाहरुलाई पढाउने उनको डिउटी भएपनि पार्टीको कार्यक्रम, विभिन्न नेताहरुसंग भेटघाटसँगै उपमेयर श्रीमतीको सम्पुर्ण काम शिक्षक दिपक ठाकुरले नै गर्ने गरेका छन् । 

ठाकुर जस्तै पर्सा जिल्लाको जिल्ला कमिटी सदस्य हुन्, शिक्षक इन्द्रदेव प्रसाद कुर्मी । पर्साको कालिकामाई गाऊँपालिकास्थित कट्टिबलुवा माविका प्रधानाध्यापक कुर्मी एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताको बलमा विद्यालयको अध्यापन छोडी पार्टीगत काम र कार्यक्रममै समय बिताउँछन् । शिक्षक ठाकुर श्रीमतिको सम्पुर्ण कामको साथै कहिले मधेस प्रदेश त कहिले सिंहदरबार धाउने गरेका छन् । त्यस्तैै शिक्षक इन्द्रदेव प्रसाद कुर्मीले जिल्ला सदस्यको हैसियतले पार्टीको प्रतिनिधित्व गर्दै केही दिनअघि भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई भेटेका थिए । 

यसैगरी यी दुबै शिक्षक बाहेक रामजी चौहान नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन् । नेरा प्रावि फुलकौलका प्रधानाध्यापक रहेका चौहान विद्यालयको काम भन्दा बढी पार्टीको काममा सक्रिय नेता हुन् । सांसद राजकुमार गुप्ताको नजिक रहेका उनी उनकै गाऊँको विद्यालका प्रधानाध्यापक हुन् । उनी पढाउनुभन्दा बढी पार्टीको गतिविधिमै व्यस्त हुने गरेका छन् । 

नेकपा एमालेका जिल्ला सदस्य विनोद गिरी वीरगंज महानगरपालिका अन्तर्गत रहेको तत्कालिन जनजाति स्कुल हाल आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । उनी एमालेबाटै राजनितिमा सक्रिय छन् । त्यसैगरी एमालेकै अर्का जिल्ला कमिटी सदस्य हुन् विकास पाण्डे । पाकहामैनपुर स्थित नेरा प्रावि लहावर थकरीका प्रधानाध्यापक रहेका उनी पार्टीका सक्रिय व्यक्ति हुन् । 

नेकपा एमालेको तर्फबाट पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठकका भाई मुक्ति पाठक जनता मावि पकडीया बर्नियारका शिक्षक हुन तर एमाले पार्टीको उनी अहिले सकृय नेता भएका छन् । दाजु नै मेयर भएपछि कारवाही कसले गर्ने ? न उनले सरकारी शिक्षक पद छोडेका छन् न त पार्टीको झण्डा बोक्न नै । यसैगरी जिराभवानी गापा वडा नं. १ स्थित नेराप्रावि गम्हरियाका प्रधानाध्यापक हुन बटेश्वर ख्वास थारु । उनी स्कुलका प्रअ भएपनि नेकपा एमाले जिराभवानी गाउँपालिका कमिटीका सभापति हुन् । तृतीय श्रेणीका स्थायी शिक्षक पेशामा रहेका बटेश्वर ख्वास थारु जिराभवानी गाउँपालिकादेखि जिल्लास्तरमा हुने पार्टीगत कार्यक्रम उनको प्राथमिकतामा पर्दै आएको छ । अध्यापनभन्दा बढी राजनीतिमा लाग्दा विद्यार्थीहरू मारमा पर्दै आएका छन् । तर जिराभवनी गाऊँपालिकाले भने न त स्पष्टीकरण सोध्ने काम गरेको छ न त कुनै कारवाही प्रकृया नै अगाडि बढाएको छ । यस्तै पालिकाको पकडिया मावि कै शिक्षक मोहन चौधरी थारु समेत एमालेका सकृय सदस्य हुन् । यस्तै जनता मावि बर्नियारका संजय पटेल शिक्षक सँगै एमालेबाट राजनीतिमा प्रत्यक्ष संलग्न शिक्षक हुन् । यसैगरी सखुवा प्रसौनी गाउँपालिकास्थित दिपनारायण माविका शिक्षक हुन शिवनाथ चौधरी उनी समेत शिक्षक भन्दा बढी पार्टीगत रुपमा सक्रिय व्यक्ति हुन् । यसैगरी नेरा प्रावि रानिगंज रहरियाका प्रधानाध्यापक हुन् पारस ठाकुर । उनी पर्साको पोखरिया नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । प्रअ रहेर पढाउने भन्दा बढी पार्टीको विवाद मिलाउनमा व्यस्त पारस ठाकुर शिक्षक भन्दा नेताका रुपमा परिचित छन् । 

जनता समाजवादीको राजनीति गर्ने शिक्षकहरु 

नेपाली कांग्रेस र एमाले मात्रै हैन, जसपामा समेत राजनीति गर्दै आफूलाई शिक्षक बताउनेको कमी छैन । वीरगंज महानगरपालिकाको मेयर राजेशमान सिंहले समेत शिक्षक श्रीमती अन्नपुर्ण मानन्धरलाई राजनीतिक कार्यमा प्रयोग गर्ने गरेका छन् । जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहकी पत्नी कन्या माविकी शिक्षक हुन् । श्रीमान मेयर भएपछि विशेष आमन्त्रित सदस्यको रुपमा महानगरको शिक्षा महाशाखामा उनको रजगज छ । 

यसैगरी जनता समाजवादी पार्टीका प्रदेश सदस्य रहेका हरेन्द्र चौरसिया महानगर अन्तर्गत कै विद्यालयमा रहेर शिक्षकको भन्दा पार्टीको राजनीति गर्दै आएका छन् । 

नेकपा एस

यसैगरी नेकपा एसका पार्टीमा संलग्न रहेका सखुवा प्रसौनी गाउँपालिकाका नेपालेण्डु साह शिक्षक हुन तर उनी पार्टीको राजनीतिमा बढी समय व्यतीत गर्ने कार्यकर्ता हुन् । पर्साको विश्रामपुरका इब्राहिम देवान, सन्देश चौहान एनजिओसिसि लगायतमा आवद्ध रहेका छन् । पेशा शिक्षक रहेपनि समाजिक संस्थामा काम गर्दै आएका छन् । 

के भन्छ कानुनले ?

संघीय शिक्षा ऐन २०२८ संशोधनसहितका को दफा १६ (ङ) मा ‘शिक्षक तथा कर्मचारीको पदीय आचरण र अन्य व्यवस्था’ गेको छ । बुँदा नम्बर ५ को (छ) ले शिक्षकलाई राजनीति गर्न निषेध गरेको छ । ‘कुनै पनि शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ,’ ऐनमा स्पष्ट भनिएको छ । ऐनअनुसार कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह स्तरका कार्यकारिणी सम्झनुपर्ने भनिएको छ । 

यसको अर्थ कुनै पनि पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको कुनै पनि जिम्मेवारीमा रहे त्यस्तो शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनुपर्छ । शिक्षकलाई राजनीति गर्नबाट रोक्न बनेको ऐनको कार्यन्वयन नभएको लामो खडेरी तोड्दै नव नियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले कारबाही गर्ने प्रक्रिया सुरु गरेकी छिन् । मन्त्री श्रेष्ठले राजनीतिमा संलग्न शिक्षकहरुको विवरण देशभरबाट प्रमाणसहित माग गरेपछि यसको कार्यन्वयनको आशा पलाएको छ । 

के भन्छन् राजनीतिक दलका नेता शिक्षक  ?

नेपाली कांग्रेसका नेता हुन् ललन द्विवेद्वि । ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा हालका प्रध्यापक हुन उनी । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र सक्रिय सदस्य रहेका ललन द्विवेद्वि अब राजनीतिक पदबाट राजीनामा दिने सोचमा रहेको बताउँछन् । ‘क्याम्पस अध्ययनको सुरूवात देखि नै नेविसंघसँग आवद्ध भएर लागियो । उतिबेला रहर थियोे एउटा स्प्रिट थियो तर अहिले त्यो स्प्रिट चाहिँ छैन् ।’ शिक्षणसँगै राजनीति गरेर आफूले गलत गरेको आशय व्यक्त गर्दै द्विवेद्वि भन्छन्, ‘नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र सक्रिय सदस्य छु नै त्यो जग जाहेर नै हो तर अब राजनीति वृत्त बुझ्दैँ जादा हाम्रो बसको विषय राजनीति हैन रहेछ । त्यसैले पार्टीप्रति आस्था रहेपनि नेपाली कांग्रेसको सक्रिय सदस्यदेखि महाधिवेशन प्रतिनिधि सम्मको पद छोड्ने पक्षमा छु ।’

उनले अहिलेको शिक्षा मन्त्री आएको डरले नभएर नेपालको कानुन मानेर अदालत, तारेख धाउनु भन्दा सम्मानका साथ छोड्ने पक्षमा रहेको दावी गरे । ‘अहिले आजै त हैन तर चाडैं पार्टीबाट राजिनामा दिने तयारीमा छु,’ द्विवेदीले भने ।  

ईतिहास विषयकी प्रध्यापक गित श्रेष्ठ पनि आफू राजनीतिमा रहेको स्वीकार गर्छिन् । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी श्रेष्ठ भन्छिन्, ‘पहिला सक्रिय रूपमा थिएँ, अहिले अब राजनीति मलाई मन परेको विषय हैन । अहिले बोलए पनि म जादिनँ । पार्टीमा नभए बराबर नै हो म ।’

नेकपा एमालेमा आवद्ध भई राजनीति गर्दै आएका करारका विकास पाण्डे आफुहरुलाई राजनीति गर्न छुट रहेको दावी गर्छन् । उनले आफू करारको शिक्षक भएको र करारलाई कानुनले सम्बोधन नगरेका कारण एमाले जिल्ला सदस्य बनेको बताउँछन् । 

तर, शिक्षा ऐनले प्रष्ट रूपमा शिक्षक राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तह  स्तरको कुनै पनि पदमा रहन नपाउने व्यवस्था गरेको छ । उनी कानुनको गलत व्याख्या गर्दै आफू अध्यक्ष वा उपाध्यक्ष नरहेकाले ऐेनले आफूलाई नछुने तर्क गर्छन् । ‘नेपाल सरकारको शिक्षक हँु, तर करारको हुँ । स्थायी भएको भए एउटा कुरा हुन्थ्यो । म जस्ता सयौँ शिक्षक छन् । उनीहरूलाई केही गर्नुहुन्न मेरोपछि लागेर के हुन्छ ?’, पाण्डेले फोन काटे । 

पर्साको पोखरीया नगरपालिकाकी उपमेयर रूबी ठाकुरका श्रीमान तथा नेकपा ऐमाले जिल्ला सदस्य दिपक ठाकुर पनि पनि आफू राजनीतिक दलको पदमा आसिन रहेको स्वीकार गर्छन् । कारागार आधारभुत विद्यालयका शिक्षक रहेका उनको तर्क पनि विकास पाण्डेको जस्तै छ । उनले श्रीमती उपमेयर रहेकाले उनलाई सघाउने काम मात्रै गरेको दावी गरे । करार नियुक्ति रहेकाले शिक्षा ऐन आकर्षित नहुने उनको दावी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन

सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१...
शिक्षामन्त्रीले पत्रकारलाई भनेः ‘कहिलेकाँही बाटो बिराउन सक्छौँ, खबरदारी गर्नुहोला’

शिक्षामन्त्रीले पत्रकारलाई भनेः ‘कहिलेकाँही बाटो बिराउन सक्छौँ, खबरदारी गर्नुहोला’

“शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा, नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ । हामीले कहिलेकाँही बाटो बिराउन पनि सक्छौँ । त्यस्तो बेलामा खबरदारी गर्नुपर्छ । बाटो बिराइएको ठाउँमा...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।