नेभिगेशन
सबै कुरा

चप्पल लगाएकै कारण ह्यात प्यालेसमा डेलीभरी राइडरमाथि दुर्व्यवहार भएको हो ?

काठमाडौँ ।  असार १२ गते बुधबार साँझ ५ः३० बजे, केक सेवा डकममा एक ग्राहकको अर्डर आयो । उक्त केकको अर्डरकर्ता ग्राहक थिए सोल्टी मोडमा रहेको पाँचतारे होटल ह्यात प्यालेसमा बस्ने भारतीय नागरिक ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्डर आएपछि केक सेवाले आफ्नो भेन्डरसमेत रहेको ह्यात प्यालेसमा सम्पर्क गर्यो । तर, होटलका ग्राहकले भनेअनुसारको केक पाइएन । त्यसपछि केक सेवाले आफ्नो अर्को भेन्डरमार्फत केक लियो र ह्यात प्यालेस पठाउन राइडर राजु अधिकारी (नाम परिवर्तन) लाई डेलिभरीको जिम्मा दियो ।

Ncell
Extreme Energy

दैनिक ३० वटासम्म डेलिभरीको काम गर्ने राजु साँझ केक बोकेर ह्यात प्यालेसको गेटमा पुगे तर  उनलाई होटलका सुरक्षाकर्मीले भित्र छिर्न दिएनन् । गर्मी र बर्खाका कारण चप्पल लगाएर राइड गरिरहेका राजुले भित्रै डेलिभरी दिन प्रयास गरे तर होटलले दिएन । 

आफूलाई प्रवेश नदिएकोबारे उनले उक्त होटलका सुरक्षाकर्मीसँग जिज्ञासा राखे । त्यसको जवाफमा उनले आफूले चप्पल लगाएका कारण प्रवेश नपाएको थाहा पाए । सुरक्षाकर्मीसँग केही समय उनले आफूलाई भित्र गएर केक जिम्मा लगाइदिन अनुमति दिन आग्रह गरे तर प्रवेश पाएनन् । 

अन्त्यमा सुरक्षाकर्मी आफैँले सो केक ग्राहकको जिम्मा लगाइदिने भन्दै मागे र राइडरलाई बाहिरबाटै फिर्ता पठाइदिए । सोहीअनुरूप राइडर त्यहाँबाट आफ्नो काममा फर्किए । 

राइडर केक लिएर गएको करिब डेढ घण्टापछि केक सेवामा पुनः सोही नम्बरबाट फोन आयो । रिसले चुर भएका ग्राहकले एकोहोरो गाली गर्दै ‘केक सेवाको सेवा झुर’ समेत भएको भन्न भ्याए । त्यतिबेलासम्म केक सेवाका कर्मचारीले वास्तविकता बुझेकै थिएनन् । केक नराम्रो परेछ कि भन्ने आशङ्का गरिरहेका उनीहरूले पछि मात्र ग्राहकले केक नपाएको थाहा पाए ।

त्यसपछि उनीहरूले पुन राइडरलाई सम्पर्क गरे । जवाफमा राइडरले ‘गार्डले चप्पल लगाएको भनेर आफूलाई भित्र पस्न नदिएपछि आफूले उनीहरूलाई भित्र पुर्याइदिने सर्तमा केक जिम्मा लगाएर त्यहाँबाट निस्किएको बताए ।’ 

त्यसपछि केक सेवाका कर्मचारीले पुनः ह्यात प्यालेसमा सम्पर्क गरे । त्यहाँको फोन उठाउने कर्मचारीले सो विषयमा आफूलाई जानकारी नभएको बताए ।  

विषय जटिलतातर्फ धकेलिँदै गयो, ग्राहकले बर्थडे सेलिब्रेसन भएकाले छिटो केक चाहिने भन्दै अत्याइरहेका थिए, त्यसपछि केक सेवाका कर्मचारीले आफ्ना साहु गुहारे । 

आफ्नो भेन्डरसमेत रहेका कारण केक सेवाका सञ्चालकले ह्यात प्यालेसमा सम्पर्क गरे । तर, त्यहाँबाट पनि जानकारी नभएको जवाफ आयो । त्यसपछि उनीहरूले आफूहरूको राइडरले गार्डलाई केक जिम्मा लगाएको बताएपछि ह्यात प्यालेसका कर्मचारीले सिसिटिभी चेक गरे । सिसिटिभी जाँच गर्दा गेटमा रहेका गार्डले केक लिएर होल्डिङ सेन्टरमा राखेको पाए । होटलका सुरक्षाकर्मीले आफूमाथि अपमान गरेको सिधाकुरासँग डेलिभरीकर्ता अधिकारीले बताए । ‘मलाई चप्पल लगाएकै कारण भित्र प्रवेश दिइएन,’ सिधाकुराको सम्पर्कमा आएका उनले दुई साता अघिको घटना स्मरण गर्दै थपे, ‘सिसाको गेट भित्रका कफी शपमा ग्राहक कुरिरहेका थिए । म बाहिरै केक छोडेर निस्कनुपर्यो ।’ उनले आफ्नो सानो कमजोरीका कारण ग्राहकलाई भरपर्दो सेवा दिन चुकेको महसुस भएको बताए ।

यता केक डेलिभरी दिने कम्पनीले भने होटलमा यसबारे जानकारी गराउँदा बार्गेनिङ गर्न खोजेको आरोप लगाएको जनाएको छ । केक सेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले आफूहरुले घटनाको बारेमा जानकारी लिन खोज्दा उल्टै बार्गेनिङ गर्ने माध्यम बनाएको भन्ने आरोप खेपेको दाबी गरे । 

‘होटलका ग्राहकलाई सेवा दिँदा त्यो हदको अपमान किन गरेको भन्ने प्रश्न गर्दा तिमीहरुले हामीसँग बार्गेनिङ गर्ने माध्यम बनायौ भन्ने लारोप लगाए,’ सञ्चालक सापकोटाले सिधाकुरासँग भने, ‘हामी ह्यात प्यालेससँग थुपै विषयमा सहकार्य गरिरहेका हुन्छौँ तर सेवा दिन गएका हाम्रा राइडरहरुलाई गरिएको अपमान आपत्तिजनक छ ।’

सो विषयमा गुनासो गर्न आफूले ह्यात प्यालेसका महाप्रबन्धक बरुण तलवारलाई सम्पर्क गर्दा उनले समेत गैरजिम्मेवार जवाफ दिएको भन्दै सापकोटाले विज्ञप्ती सार्वजनिक गरेका छन् । 

यता ह्यात प्यालेसले भने होटल प्रवेशका लागि त्यस्तो कुनै ड्रेस कोड नतोकिएको जनाएको छ । सिधाकुरासँग कुरा गर्दै होटलका बजार हेर्ने प्रतिनिधि निशान राईले होटलमा त्यस्तो केही नियम नभएको बताए । ‘काठमाडौँमा थोरै होटलहरु छन् जसले क्याजुअल ड्रेसलाई सम्मान गर्छन्, त्यसमध्ये हामी पनि एक हौँ । हामीमा के लगाएर आउने भन्ने कुनै नियम छैन्’, उनले सिधाकुरासँग भने, ‘केक लिएर आएका राइडरलाई अपमान भएको भन्ने समाचार आएको पायौँ तर हामीलाई समेत यसबारेमा कुनै जानकारी छैन् ।’ 

होटलले कसैप्रति पनि दूरभाव नराख्ने उनले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...