नेभिगेशन
सबै कुरा

साग केलाउँदै छोराले विश्व रेकर्ड राखेको हेरेकी कुशलकी आमाको अनुभूति– निकै उत्कृष्ट पो खेल्यो त !

१४ असोज, लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन् । 

घरमा बसेर साग केलाउँदै खेल हेदाहेर्दै नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेपछि  उनीमा खुसीको कुनै सीमा रहेन ।

Dish Home
Global Ime Bank

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेरिन् । उनले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाईन् । 

बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उनले भनिन्, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।”

कुशलका पिता रोमन्त  वैदेशिक रोजगारीमा छन् । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहनुभएका बाबु रोमन्त झनै खुसी छन् । उनी खुसी हुनुको कारण आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त  पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी हुन् । 

कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुन् । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछिन्। “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उनले भनिन्, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।”

कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताए। 

क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेलमा थप क्षमता प्रदर्शन गर्न सकेको बताउँछन् । “क्रिकेट खेल हो, उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, गौचनले भने, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।”

प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ ।

कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भनिन्, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।”

कुशलको कीर्तिमानी शतक

एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका कुशलले अहिले फेरि नयाँ कीर्तिमान बनाएका छन् । उनले सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । मल्लले १५ वर्ष तीन सय ४० दिनमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएको रेकर्ड दर्ज भएको छ ।

यसअघि नेपालका रोहितकुमार पौडेलले १६ वर्ष एक सय ४६ दिनमा युएइविरुद्ध अर्धशतकको कीर्तिमानलाई कुशलले पुनः रोहितको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । अहिले जारी एसियाली खेलकुदमा मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित एक सय ३७ रन अविजित बनाएर कीर्तिमान कायम गरे । उनले मात्र ३४ बलमा शतक प्रहार गरेका थिए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ । क्रिकेट खेलको २७ वर्षे इतिहासमा नेपालले बनाएका विश्व कीर्तिमानको अहिले खुबै चर्चा भएको छ । १९औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा समूह ‘ए’मा रहेको नेपालले मङ्गोलियाविरुद्ध कीर्तिमानी प्रदर्शन गरेको थियो भने आइतबार अर्को मुलुक माल्दिभ्सविरुद्ध पनि जित निकालेको छ । समूह ‘बी’मा कम्बोडिया, जापान र हङ्कङ रहेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चारदेशीय टी–२० आई सिरिज: नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज: नेपालले कतारलाई आठ विकेटले हरायो

नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना...
नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

स्टुवार्ट यसअघि अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए भने अफगानिस्तान, श्रीलंका,बंगलादेशको पनि मुख्य प्रशिक्षक भएका थिए । उनी अष्ष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त...
घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिरिएका थिए तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए ।