नेभिगेशन
सबै कुरा

राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास

१५ असाेज, काभ्रेपलाञ्चाेक : राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले जालझेल गरि एक परिवारको उठिबास लगाएका छन् । काभ्रे प्रहरीको अनुसन्धानले राष्ट्रिय अनुसन्धानका ति कर्मचारीले ठगी गरेको पुष्टि गरेपनि काभ्रे जिल्ला अदालतले भने राष्ट्रिय अनुसन्धानका कर्मचारीको जालसाजीपूर्ण ठगीलाई लालमोहर लगाइदिएको छ । जसका कारण एक दलित गरिब परिवारको उठिबास लागेको छ । 


Dish Home
Global Ime Bank

काभ्रेको भुम्लु गाउँपालिका –९ का प्रवीन लामा राष्ट्रिय अनुसन्धान विभागका इन्फर्मर हुन, अर्थात सूचना संकलन गर्ने कर्मचारी हुन् । धुलिखेल क्षेत्रमा रजगज चलाइरहेका प्रवीनले धुलिखेल ८ का देवबहादुर मिजारको घर सहित ६० लाख बढी मूल्य पर्ने २ रोपनी जग्गा, जम्मा ५ हजारको रक्सीका भरमा आफ्नी श्रीमतीको नाममा ल्याएका छन् । जसका लागि उनले फर्जी कागजपत्र बनाउने देखि अदालतलाई झुक्याउन समेत सफल भएका छन् । 

धुलिखेल ८ का ६० वर्षीया देवबहादुर मिजार छोरा बुहारी कामको खोजीमा बाहिरिएपछि घरमा एक्लै बस्छन् । उनी बसिरहेको घर र त्यसको सेरोफेरो उनले २०७१ सालतिर १ लाख रुपैयाँ ऋण लिएबापत ललितपुरको टिकाथलीका जित गोविन्द महर्जनलाई धितो कायम हुने गरि राजीनामा गरेका थिए । जित गोविन्द महर्जनले ऋण चुक्ता गर्दाको दिन, घरजग्गा फिर्ता गरिदिने सम्झौता पत्र गरिदिएका थिए । 


श्रीमतीको मृत्यु पछि अधिकांश समय मदिराको सुरमा हुने उनलाई ३ वर्षअघि राष्ट्रिय अनुसन्धानमा कार्यरत प्रवीन लामा घरमै भेट्न पुगे । सरकारी जिम्मेवारी अनुसार शान्ति सुरक्षाको अवस्था बुझ्नुपर्ने प्रविनले देवबहादुरको घर जग्गा र ऋणीको बारेमा अनुसन्धान गरेर बसेका रहेछन् । घरमा एक्लै भएका देवबहादुरको घरजग्गा उनले ६० लाखमा किन्ने आशा देखाए । 

३ भाइ छोराहरूको समेत आर्थिक अवस्था राम्रो नभएको र आफू पनि बुढेसकालमा एक्लै भएपछि ६० लाखमा बेचेर आएको पैसा सबै छोराहरूलाई घरबास व्यवस्थापन गर भनेर दिने सोचेर देवबहादुर प्रवीन लामाको प्रस्तावमा सहमत भए । २०७१ सालमा देवबहादुरले जित गोविन्दलाई पास गरिदिएको जग्गा हडप्न प्रवीन लामाले जित गोविन्दलाई तिर्नु पर्ने पैसा पनि आफैले तिरिदिने भन्दै देवबहादुर मिजारलाई फकाए । 

प्रवीनले देवबहादुरलाई ५ हजार रुपैयाँ तत्कालै दिए र बाँकी ६० लाख रुपैयाँ जग्गा पास भएको ३५ दिन भित्र दिने भन्दै फकाए ।

ललितपुरको टिकाथलीका जित गोविन्द महर्जनलाई पनि प्रवीन लामाले नै फोन गरेर भेट्न पुगे । देवबहादुरको घरजग्गा आफैले किन्न लागेको भन्दै उनलाई ऋणको हरहिसाब गर्न लगाए । देवबहादुर मिजार सहित मालपोतका कर्मचारीलाई जित गोविन्दको घरमै लगेका प्रवीनले, जित गोविन्द महर्जनको नाममा रहेको देवबहादुरको जग्गा आफ्नी श्रीमती मुना बम्जन लामाका नाममा राजीनामा पास गराए ।

सिधाकुरासँग सम्पर्कमा आएका जित गोविन्द महर्जनले प्रवीनले ६० लाखमा देवबहादुर मिजारको जग्गा किनेको बताए । साथै जित गोविन्दको १ लाख रुपैयाँ ऋणको ६ लाख रुपैयाँ भुक्तानी समेत गरिदिएको जित गोविन्द बताउँछन् । जित गोविन्दले देवबहादुरका छोराहरू पनि ल्याउन भन्दा प्रवीनले ल्याउनु पर्दैन, सहमति भएको छ भनेका थिए ।

जग्गा हडप्न राष्ट्रिय अनुसन्धान विभागकाे परिचयपत्रकाे दुरुपयाेग

प्रवीन लामाले जित गोविन्दबाट जग्गा नामसारी गराउनुपूर्व घर बाटो सिफारिस लिन धुलिखेल वडा नं ८ मा पुगेका थिए । वडाले सम्बन्धित जग्गाधनीको उपस्थित बिनानै जित गोविन्दको नाममा प्रवीन लामालाई सिफारिस दिएको छ । प्रवीनले आफू राष्ट्रिय अनुसन्धान विभागको कर्मचारी भएको परिचयपत्र देखाएर वडाबाट सिफारिस लिएका छन् ।


वडाले नै उक्त जग्गाको कर योग्य मूल्य २ रोपनीको १२ लाख ८० हजार रुपैयाँ कायम गरिदिएको छ । 

वडाको सिफारिस पछि जित गोविन्दका नामबाट उक्त जग्गा प्रवीन लामाकी श्रीमती मुना बम्जन लामाका नाममा नामसारी भएको छ ।  तर जग्गाको मूल्य भने वडाको सिफारिस भन्दा बढी प्रति रोपनी ८ लाख ३२ हजार कायम गरि २ रोपनीको १६ लाख ६४ हजार रुपैयाँमा पास गरिएको छ । उनीहरूको जग्गाको कित्ता नं १२७२ र १२९३ हो । 

जग्गा कारोबार भएको ३५ दिनसम्म देवबहादुर मिजारले प्रवीन लामाको बाटो कुरे । तर जग्गा पास गर्नु पूर्व रक्सी खानुस् भन्दै ५ हजार दिएका प्रवीनले ६० लाख नदिइ बेपत्ता भए । त्यसपछिमात्र देवबहादुरले छोरा बुहारीलाई उक्त विषय बताए । 

उक्त घटना विवरण थाहा पाएपछि देवबहादुरकी बुहारी कविता मिजार अत्तालिदै मालपोत कार्यालय पुगेर कागजपत्र खोजिन् । गरिब दलित परिवारका उनीहरुकाे सम्पत्ति भनेकै घरबारी थियो । तर उक्त जग्गा प्रवीन लामाको श्रीमतीको नाममा राजिनामा पास भैसकेको देखियो । 

त्यसपछ‍ि उनले धुलीखेल वडा नं ८, नगरपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै काभ्रे प्रहरीसम्म पुगिन् । सबैको ठहर प्रवीन लामाले जालसाजी गरेर ठगी गरेको भन्नेमा थियाे। त्यस्तै जिल्ला प्रहरी कार्यालयले प्रवीन लामालाई एक दिन थुनामा समेत राखेर अनुसन्धान गर्यो । जित गोविन्द महर्जनलाई समेत प्रहरीले पक्राउ गरी कागज गरायो । काभ्रे जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक दिलिप कुमार थापाका अनुसार प्रवीनले विभिन्न प्रलोभन देखाएर देवबहादुर मिजारकाे जग्गा जमिन ठगी गरेको देखिएकाे छ । 

साेही ठहरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहितको रोहबरमा प्रवीनले आफ्नो गल्ती स्वीकार मात्र गरेरनन् जग्गा फिर्ता गरिदिने सहमति समेत गरे । तर उनले आफूले जितबहादुरलाई ६ लाख रुपैयाँ दिएको र ३ लाख ६४ हजार कागजपत्र मिलाउँदा खर्च भएको भन्दै ९ लाख ६४ हजार रुपैयाँ दिनु पर्ने सर्त राखे । 

सर्तअनुरुप नै कविता मिजारले प्रवीनलाई करिब १० लाख रुपैयाँ फिर्ता गर्न दुई कित्ता मध्ये एक कित्ता जग्गा स्थानीय रविन्द्र जङ्गमलाई पास गरिदिने सर्तमा ऋण लिइन् ।  ८ लाख ६४ हजार पास नगर्दै दिइन् भने १ लाखको चेक दिइन् । 

प्रवीन लामाले जालसाजी गरेर श्रीमती मुना बम्जन लामाको नाममा भएको जग्गा देवबहादुर मिजार र उनको परिवारको नाममा राजिनामा नै गरेर फिर्ता गरे  ।


एक रोपनी देवबहादुर मिजार र उनका परिवारको नाममा आयो भने एक रोपनी, जग्गा फिर्ता गर्न ऋण दिएका रविन्द्र जङ्गमको नाममा फिर्ता भयो ।

जिल्ला प्रहरी कार्यालयमा गल्ति स्वीकार गरेर जग्गा फिर्ता गरेका प्रवीन लामाले फेरी अर्को कानुनी चातुर्य देखाउन खोजे ।  प्रहरीले अनुसन्धान गरेर ठगी भएको भनिसकेको विषयमा प्रवीन लामा कानुनको छिद्र प्रयोग गर्दै अदालत पुगे।

उनले देवबहादुर मिजारको जग्गा कित्ता न १२७२ र १२९३ का सम्बन्धमा काभ्रे जिल्ला अदालतमा २ वटा लिखत बदर र एउटा अंश दाबीको मुद्दा हाले । त्यो पनि एकै दिन २०७९ साउन १६ गते । 

उनले श्रीमतीको नाममा भएको जग्गा परिवारमा जानकारी नै नदिई बेचबिखन गरेको भन्दै राजिनामाको  लिखत बदरका लागि श्रीमती र देवबहादुर मिजारलाई प्रतिवादी बनाएर मुद्दा हाले । यस्तै छोराछोरी सहित आफ्नो अंश दाबी गर्दै श्रीमती विरुद्ध अंश चलान मुद्दा दर्ता गराए । 

त्यति मात्रै होइन, श्रीमती एक वर्षदेखि माइती बस्दै आएको, छोराछोरीको हेरचाह नगर्ने भन्दै अदालतमा अंश दाबी गरेका थिए । सोही मुद्दाको प्रमाण पेश गर्न भुम्लु गाउँपालिका झुटो विवरण सहितको पत्र काभ्रे जिल्ला अदालतमा पठाउन लगाए । जबकी अहिले पनि प्रवीन र उनकी श्रीमती सँगै बस्छन् । छोराछोरीसँगै छन् । 

राष्ट्रिय अनुसन्धानका इन्फर्मर प्रवीनको मास्टर प्लानमा काभ्रे जिल्ला अदालतले थप कागजपत्र नै झिकाएनन् ।अन्तत उनले जे खोजेका थिए सोही अनुसार फैसला आयो ।

प्रहरीको अनुसन्धानमा प्रवीन लामाले देवबहादुर मिजारलाई ठगी गरेको देखियो थियो तर काभ्रे जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईले भने प्रवीन लामाको ठगीलाई सदर गरिदिए । अर्थात प्रवीनले ठगी गरेर श्रीमती मुना बम्जनको नाममा लुकाएका जमिनलाई अदालतले भागबन्डा मात्रै गरेन, ठगी स्वीकार गरेर फिर्ता गरेको लिखतलाई समेत बदर गरिदियो । अदालतले मुना घरको मुख्य मान्छे नभएको र जग्गा बिक्री गर्दा परिवारका सदस्यको सहमति बेगर बिक्री गर्ने काम गैर कानुनी भएको फैसला गर्याे । 

न्यायाधीश भट्टराईले कित्ता न १२९३ को जग्गा ४ भागको ३ भाग बिक्रीको लिखत बदर भई बादीहरूकाे नाममा दर्ता हुने फैसला गरे । अर्थात मुना बम्जनको भागको बिक्री मात्रै सदर हुने तर प्रवीन लामा र उनका दुई छोराछोरीको भागमा पर्ने जग्गा बिक्री नभई उनीहरूकै नाममा हुनुपर्ने ठहर गरे । 


जबकी प्रवीन लामाले श्रीमतीको नाममा जग्गा खरिद गर्दा आफ्नो कमाई समेत लगानी गरेको भनी दाबी गरेपनि खरिद गर्दा पैसा दिएको भने कुनै प्रमाण पेश गरेका थिएनन् । न त उनले बैक स्टेटमेन्ट पेश गरेका थिए, न जित गोविन्दलाई दिएको पैसाको कागज पत्र पेश गरेका थिए । किनकी वडाले १२ लाख ८० हजार मूल्य कायम गरेको जग्गा मालपोतमा १६ लाख ६४ हजारमा किनबेच गरेका थिए भने जित गोविन्दलाई जम्मा ६ लाख मात्रै दिएका थिए । 

त्यस्तै अदालतले प्रवीन लामाकी श्रीमतीलाई जग्गा बिक्री गर्ने जित गोविन्दको बारेमा सोधखोज समेत गरेनन् । जबकी जिल्ला प्रहरी कार्यालयमा जित गोविन्दले आफैले प्रवीन लामाबाट ६ लाख रुपैयाँ बुझेको, उक्त जग्गा वास्तविक जग्गा धनी देवबहादुर मिजारलाई साँची राखेर डोर पुगेका मालपोतका कर्मचारी मार्फत पास गरेको कागज गरेका थिए । 

न्यायाधीश भट्टराईको फैसलाले देवबहादुर मिजारलाई ५ हजारको रक्सी खुवाएर ६० लाख मूल्यको जग्गा हत्याएका प्रवीन लामाको जालसाजीलाई सदर गरिदिएकाे छ।

त्यस्तै प्रवीन लामालाई ८ लाख रुपैयाँ दिनका लागि रविन्द्र जङ्गमका नाममा पुर्याएको जमिनको लिखत समेत बदर गरि ४ भागको ३ भाग प्रवीन लामा र उनका दुई छोराछोरीको नाममा समेत हुने फैसला गरिदिए । 

जसका कारण अहिले देवबहादुर मिजारको नाममा २ रोपनी जमिनको १ भाग मात्रै फिर्ता आएको छ । 

यस्तै प्रवीन लामाले नै दायर गरेको अंश चलन मुद्दाको फैसलाका अनुसार पनि मिजार परिवारबाट खोसिएको जग्गा मुना बम्जन लामाले लिएको सहकारीको ऋण तिर्न बाटो खुलेको छ । 

बम्जनले राजिनामा नै गरि फिर्ता गरेको जमिनको लिखत बदर भएपछि सबै सम्पत्तिलाई ४ भाग लगाई सहकारी ऋण तिर्न भनिएको छ । 

अदालतले मुना बम्जनको कित्ता नं ३०७५ र ३०७२ लाई भागबन्डा गरिदिएपनि मिजार परिवारबाट आएको जमिनको बन्डा भने गरिदिएको छैन । तर सबै सम्पत्ति बन्डा गरी सहकारी ऋण तिर्न भनेको छ । जसका कारण देवबहादुर मिजारलाई झुक्याएर प्रवीन लामाले हत्याएको कित्ता नं १२७२ र १२९३ को जमिन समेत सहकारीको ऋण तिर्न प्रयोग हुने देखिन्छ । 

उसो त सहकारीले मुना बम्जनलाई ऋण दिदा भने ३०७५ र ३०७२ नं कित्ताको जग्गा धितो राखेको मालपोतको विवरणमा देखिन्छ । 

राष्ट्रिय अनुसन्धानका कर्मचारी प्रवीन लामाको बेइमानीलाई जिल्ला अदालत काभ्रेका न्यायाधीश मोहनराज भट्टराईको फैसलाले सदर गरिदिएको छ । अदालतको फैसलाका कारण जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूले फिर्ता गराइदिएको मिजारको घर जग्गा समेत फेरी ठग प्रवीन लामाकै भएको छ । सम्पत्तिको नाममा २ कित्ता जमिन भएका मिजार परिवारको उठिबास लागेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापाविरुद्ध सर्वोच्चमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता, मंगलबार पेसी

गगन थापाविरुद्ध सर्वोच्चमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता, मंगलबार पेसी

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलनामा कावाहीको माग राख्दै शुक्रबार सर्वोच्चमा निवेदन पेस गरेका थिए । तर उक्त दिन निवेदन दर्ता हुन...
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

“राष्ट्रपति, प्रदेश प्रमुख र पालिका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ, अरू सबै पूर्ण समानुपातिकमा निर्वाचन प्रणालीमा जानुपर्छ, प्राप्त मतका आधारमा राजनीतिक पार्टीले व्यक्ति पठाउँछन्, प्रतिनिधिसभामा १५ जना सांसद भए...
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
राज्य व्यवस्था समितिले पास गर्यो निजामति विधेयकको प्रारम्भिक बुँदाहरु

राज्य व्यवस्था समितिले पास गर्यो निजामति विधेयकको प्रारम्भिक बुँदाहरु

विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शव्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ । त्यस्तै विधेयकको...