नेभिगेशन
सबै कुरा

Exclusive: मिनबहादुर-धनराजकाे ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको दान लिए

काठमाडाैँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङमाथि झण्डै एक करोड रुपैयाँको शङ्कास्पद कारोबारमा प्रहरी अनुसन्धान सुरु भएपछि प्रधानमन्त्रीले एक अर्ब रुपैयाँ बढी मूल्यको पार्टी कार्यालय दान लिएको खुलासा भएको छ ।

मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन दसैंको अष्टमीको दिन काठमाडौँको किर्तिपुर नगरपालिका २ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । झण्डै एक अर्ब बढी मूल्यको सो जग्गा दान लिन कुनै मोलाहिजा नगरिएको एमालेले दाबी गरिरहेको छ । तर, सहकारी ठगीमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको ऋण तिर्न मिनबहादुरले काटेको ९२ लाख रुपैयाँको चेकमाथि प्रहरीले अनुसन्धान थाल्नु र सो अनुसन्धान रोकिएपछि मिनबहादुर एमालेलाई यति ठूलो दान दिने अवस्थामा पुग्नु शंकास्पद देखिएको छ।

Dish Home
Global Ime Bank



धनराज–मिनबहादुर शंकास्पद कारोबारमाथिको अनुसन्धान लगभग निस्तेज भइसकेको र सोही समयमा मिनबहादुरले एमालेलाई पार्टी कार्यालय दानको निर्णय गरेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ । जसले कतै मिनबहादुर पुनः पक्राउ पर्ने डरले परिबन्दमा परेर सत्ता फकाउन लागे वा एमालेले उनीसँग बार्गेनिङ पो गर्यो की भन्ने आशङ्का पनि जन्माएको छ ।


प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनका पत्नी ज्योति गुरुङ जोडिएको ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ । बागमती प्रदेश सहकारी बोर्डले ब्यूरोमा पठाएको जाहेरीमा धनराजको नाम ठगीको सूचीबाट हटाइएको छ । तर, सहकारीको खातापातामा गरिएको अनुसन्धान क्रममा धनराजका तर्फबाट सहकारीमा दुई महिनाकाे अवधिमा पटक पटक गरेर शङ्कास्पद तरिकाले ९२ लाख रुपैयाँ ऋण फिर्ता गरिएको फेला परेको एक अनुसन्धान अधिकृतले बताए । 


ति अधिकारीकाअनुसार फरार ज्योति गुरुङको नामको ऋण उनका सम्बन्ध बिच्छेद भएका श्रीमान् धनराजको तर्फबाट तिरिएको छ र सो रकमको चेक भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नामको छ । ‘गुरुङको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्कको चेकबाट छोटो समयमै सो परिमाणको रकम सहकारीमा डिपोजिट भएको छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन्,‘पहिलो त यो रकम डिभोर्स भइसकेका कारण धनराजकोतर्फबाट तिर्नु पर्ने रकम नै होइन, दाेस्राे, यो तिरे पनि धनराजले तिर्नुपर्ने हो तर मिनबहादुरले धनराजकोतर्फबाट किन तिरे ? शङ्कास्पद छ ।’

सिधाकुरालाई प्राप्त विवरणअनुसार मिनबहादुर गुरुङले २०८१ वैशाख १७ र २०८१ जेठ ६ गते मा ती चेकहरु सहकारीको नाममा काटेका छन् । सहकारीको ऋण फिर्ता डिपोजिट स्लीपमा धनराज गुरुङको नाम उल्लेख छ भने चेक मिनबहादुरको नामको छ । सिधाकुरालाई प्रहरी स्रोतबाट प्राप्त कागजातअनुसार २०८१ जेठ ६ गते सहकारीमा तिरिएको ८ लाख ९८ हजार ७२० रुपैयाँ र वैशाख १७ गते डिपोजिटमा चेक नम्बर खुल्दैन । तर, बैंक खाता विवरण अनुसार ति रकम मिनबहादुरकै नामको चेकबाट डिपोजिट भएको अनुसन्धानमा खुलेको छ । यस्तै, ८१ जेठ १७ को सहकारीको स्लीप नम्बर २११६४ मा धनराजकोतर्फबाट १४ लाख रुपैयाँ रकम मितेरी सहकारीमा डिपोजिट भएको देखिन्छ । उक्त रकम मिनबहादुर गुरुङको नामको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको चेक नम्बर ३०२८७१२०६४ बाट डिपोजिट भएको देखिन्छ ।


बैशाख १७ कै अर्को रसिद नम्बर २११६२ मा सहकारीमा मिनबहादुरको अर्को चेक डिपोजिट भएको छ । जसको रकम पनि १४ लाख नै छ भने सोही बैंकको चेक नम्बर ३०२८७१२०६२ प्रयोग भएको देखिन्छ । वैशाख १७ मै सहकारीको भौचर नम्बर २११६३ मा पुनः सहकारीमा १४ लाख डिपोजिट गरिएको छ । जसमा मिनबहादुरमा नामको चेक नम्बर ३०२८७१२०६३ छ । यस्तै, सहकारीको रसिद नम्बर २११६१ मा सोही मितिमा पुनः १४ लाख सहकारीमा जम्मा भएको छ । सो रकम पनि धनराजकै नामबाट मिनबहादुरको चेकबाट गएको देखिन्छ । यसमा प्रयोग भएको चेक नम्बर ३०२८७१२०६१ रहेको छ ।

यस्तै, वैशाख १७ को अर्को स्लीप २११६० मा सोही बैंकको मिनबहादुरको नामको ३०२८७१२०६० नम्बरको चेकबाट १४ लाख रुपैयाँ सहकारीमा तिरिएको छ । कुल मिलाएर धनराजको नामको ऋणमा मिनबहादुर गुरुङबाट दुई दिनमा ९१ लाख २५ हजार ६३४ रुपैयाँ सहकारीमा तिरिएको देखिन्छ ।

धनराज भन्छन् घर बेचेर तिरेको हो ?

सहकारी ठगीमा आफ्नो नाम जोडिएपछि कांग्रेसका उपसभापति धनराजले २५ भदौ २०८० मा संसदमा सहकारी ठगीमा आफ्नो संलग्नताबारे स्पष्टोक्ति दिएका थिए । संसद्मा ५ मिनेट बोलेका गुरुङले आफूमाथि छानबिन गर्न माग गरेका थिए । तर, उनले डिर्भोस भइसकेकी श्रीमतिका तर्फबाट लिएको ऋण धनराजले नै तिरेको त्यसको केही दिनमै बाहिरिएको थियो ।

सिधाकुरालाई सो रकम मिनबहादुरले तिरेको थाहा लागेपछि हामीले धनराजलाई यसबारे सोध्न पटकपटक सम्पर्क प्रयास गर्यौँ । तर, उनी सम्पर्कमा आएनन् । उनको नामबाट सहकारीमा तिरेको रकमबारे उनले अनलाइनखबरसँग ३० भदौँमा पत्रकार नारायण अधिकारीलाई प्रतिक्रिया दिएको फेला पर्यो । अनलाइनखबरकाअनुसार धनराजको सो रकम घर बिक्रि गरेका मानिसले तिरेका हुन् । सो समाचारमा रकम तिर्ने मान्छेबारे खुलाइएको छैन् ।

तर, भाटभटेनीका मालिक मिनबहादुर गुरुङले आफूले धनराजलाई ९२ लाख रुपैयाँ दिएको स्वीकार गरेका छन् र सो रकम सहकारीकाे ऋण तिर्न ऋण बापतनै दिएको दाबी गरेका छन् ।

धनराज मन्त्री, मिनबहादुर हिरासतमा

२०८० वैशाख २० मा धनराज गुरुङ प्रचण्ड नेतृत्वको सरकारमा कानुन मन्त्री नियुक्त भएका थिए । उनी मन्त्री भएको २ महिना पछि ललिता निवास जग्गा हिनामिना आरोपमा २२ असार २०८० मा मिनबहादुर गुरुङलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धान क्रममा मिनबहादुर गुरुङ २०८० भदौ २४ सम्म प्रहरी हिरासतमा रहे र छुटे । त्यसपछि २१ फागुनसम्म धनराज कानुन मन्त्री थिए।


कानुन मन्त्रीबाट बाहिरिएको २६ दिनपछि धनराजलाई मिनबहादुरले चेकमार्फत पैसा दिन थालेको देखिन्छ । जुन आफैमा शंकास्पद छ । धनराज र मिनबहादुर दुवैले यसमा फरक फरक कुरा गरेका छन् ।

सहकारीमा धनराजबाट आएको रकम मिनबहादुरकै होः कुम्भराज गुरुङ

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले नै धनराजको ऋण तिरिदिएको स्वीकार गर्छन् । उनले मिनबहादुरले धनराजको ऋण तिरेको प्रमाण आफूले सुरक्षित राखेको भन्दै यो कुरा सिधाकुराले कसरी थाहा पायो भन्दै प्रति प्रश्न गरे । 


‘मैले यो कुरा कहीँ खुलाएको छैन आजसम्म । तर, मेरो सहकारीमा मिनबहादुरको नामबाट केही पैसा जम्मा भएको छ । त्यो तपाईंहरुलाई कसरी थाहा भयो ?’ उनले प्रश्न गरे, ‘त्यो समयमा मिनबहादुर गुरुङ सायद जेलमा थिए, धनराज गुरुङ कानुनमन्त्री थियो । कतै धनराजले उनीहरुलाई जेलबाट छुटाइदियो । छुटाइदिएबापत यति पैसा दिनुपर्छ भन्ने डिल भएको हुन सक्छ ।’ कुम्भराजले धनराज मन्त्री भएका कारण सिधै पैसा दिन नमिल्ने भएकाले सहकारीमार्फत घुस दिएको पनि हुन सक्ने बताउँछन् । ‘उ देखा नपर्ने, उसले प्रत्यक्ष पैसा नलिने । घुमाउरो पाराले घुस लिएर बठ्याईँ गरेको हो त्यसले (धनराज) ले । के थाहा भोली मिनबहादुर पनि सोहोरिने हो कि ? मैले पैसा तिरेको हैन भन्ने हो कि ? तर त्यसले (मिनबहादुरले) पैसा दिएको त मैले फाइल मै राखेको छु नि ।’

मिनबहादुर भन्छन् ‘विवादमा नपारिदिनुस्’

व्यवसायी मिनबहादुर गुरुङले पनि आफूले धनराजलाई रकम दिएको स्वीकार गरेका छन् । उनले धनराज र आफ्नो चिनजान वर्षौ पुरानो भएकाले ऋण दिएको बताए । ‘धनराज हामी गुरुङ-गुरुङ भएको नाताले धेरै पुरानो चिनजान हो, ऋण सापटी लगेकै हो, त्यसलाई किन मेरो नाममा जोड्नुपर्यो र ?’ मिनबहादुरले सिधाकुरालाई भने ‘ऋण लगेको न हो । ऋणै हो ऋण हो, बकाइदा कागज नै गरेर दायाँ बायाँ ल्याप्चे नै गरेर दिएको ।’ सहकारीमा जम्मा भए नभएको भन्ने जिज्ञासामा उनले ९२ लाख दिएको बताए ।


‘सहकारीमा दाखिल भएको बाहेक अरु होइन । अरु छैन, अरु छैन । दाई सहयोग गर्नुपर्यो भन्यो अनि कारोबारको पैसा भनेर दिएको हो,’ मिनबहादुरले भने, ‘सहकारी र धनराजको कारोबार के हो मलाई थाहा भएन, मैले धनराजलाई ऋण दिएको हुँ । धनराज र मेरो त नाता पनि पर्छ । मैले घुस खुवाएको होइन, मैले किन घुस खुवाउनुपर्छ र ? यस्तो विषय सार्वजनिक गरेर मलाई विवादमा नतानिदिनुस् ।’

हामीले विभिन्न अन्तर्वार्तामा धनराजले आफूले घर बेचेर सहकारीको रकम तिरेको बताउँदै आएको बतायौँ । त्यसपछि मिनबहादुरले आफूले धनराजलाई ऋण दिएको दोहोर्याउँदै भने, ‘धनराजले घर बेचेर पैसा तिरेको भनेको कुरा चाँही मलाई थाहा छैन । अब यो कुरामा नजाउँ, उहाँहरुको के होला कसो होला यसमा नजाऔँ है, हजुर मेरो रिक्वेसट् छ तपाईलाई ।’

के भन्छ एमाले ?

प्रहरी अनुसन्धान चलिरहेको बेला पार्टीको  कार्यालय बनाउन मिनबहादुरबाट दान लिएको विषयमा एमाले भने अन्यौलमा देखिन्छ । मिनबहादुरबाट पार्टी कार्यालय दानमा कुनै मोलाहिजा नभएको एमालेले विज्ञप्तिमार्फत दाबी गरिसकेको छ ।

तर, मिनबहादुर धनराज कारोबारको अनुसन्धानकै चरणमा दान लिइएको बारे भने जानकार नभएको एमाले उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेले बताए । ‘धनराज मिनबहादुर कारोबार र यसको अनुसन्धानबारे तपाईंहरुले भन्नु भएको कुरा कानुनी प्रश्न हो ?’ उपाध्यक्ष पाण्डेले भने, ‘पार्टी कार्यालय दानबारे केही नबोलौँ ।’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ।’
राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन्...
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड  बढीको क्षति 

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ ।