नेभिगेशन
सबै कुरा

यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेर कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहरीले गरेको ज्यादतीबारे मानव अधिकारकर्मीसँग गुनासो गरेका छन् । लामिछानेलाई मध्यराति चितवनबाट प्रहरीले बलजफ्ती कास्की पुर्याएको घटनाबारे लामिछाने श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोग उजुरी दिएकी थिइन् । उजुरीपश्चात आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रतिनिधिले हिरासतमा पुगेर अनुगमन र लामिछानेसँग बयान लिएका थिए । यस्तो छ लामिछानेले मानव अधिकारकर्मीसँग दिएको बयानको सम्पादित अंश :

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


CG

"बयानका लागि मलाई मंसिर १३ गते कास्कीबाट काठमाडौँ लगियो । लगेको भोलिपल्टबाटै मेरो बयान सुरु भयो । काठमाडौँमा अलिक बढी चिसो अनि ठाउँ फेरिएकाले मलाई निन्द्रा लागेन । 

दिनभरि बयान र राति पनि निन्द्रा परेको थिएन । शरीर पनि थाकेको थियो । टाउको पनि दुखिराखेको थियो । 

काठमाडौँको बयान सक्काएर मंसिर १८ गते मलाई चितवन लगियो । चितवनमा मेरो स्वास्थ्य परिक्षण होला र रक्तचाप जाँचिन्छ होला सोचेको थिएँ तर, त्यहाँ केही पनि भएन । सरकारी वकिल कार्यालयमा लगेपछि मेरो बयान सुरु भयो । मैले सुरुवातमा नै मेरो टाउको दुखेको कुरा सुनाएको थिएँ । मलाई निन्द्रा नलागेको धेरै दिन भएकाले पनि होला भनेर उल्लेख पनि गरेको थिएँ । 

पहिलो दिन कार्यालय समय सक्कियो भन्दै थोरै मात्र प्रश्न गरेर ५ बजेनै मलाई हिरासतमा पठाइयो । 

दोस्रो दिन बिहान करिब ९ बजेबाट मेरो बयान सुरु भयो । बयान सकिँदा राति त्यस्तै ९ बजेको थियो । मेरो एकदमै टाउको दुखेको थियो । कुन बेला सकिन्छ र रेस्ट गरौँ जस्तो भएको थियो । 

जिल्ला प्रहरी कार्यालय ल्याइएपछि केही बेर सचिवालयका साथीहरूसँग भेट गर्न दिइयो । करिब ११ बजेसम्म भेटघाट भएपछि अब आराम पनि गर्नुपर्ने भएकाले कुराकानी टुङ्ग्याउन भनियो । दिनभरको थकानका कारण साथीहरू फर्किएपछि प्रहरीलाई पनि अब जाऊँ आराम गर्न भनेँ ।

तर, त्यसको केहिबेरपछि मलाई जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले माथिबाट आजै “पोखरा पठाउने कुरा आयो हजुर” भन्ने सन्देश सुनाए । केही बेर अघिसम्म भने भोलिपल्ट बिहान ११ बजे चितवनदेखि पोखराको एक मात्र उडान भएकाले त्यसमै जाने कुरा भएको थियो । म निकै थाकेको थिएँ, शरिर थकित भएकाले उतिबेलै जान नसकिने भन्दै मैले इन्कार गरेँ । प्रहरीले भने ‘‘चेन अफ कमान्ड मान्नुपर्ने बाध्यता रहेको’’ भन्दै हिँड्ने तयारी गर्न आग्रह गरे ।

हाम्रो संवाद चलिरहेकै बिचमा धेरै पटक एसपी गौतम मिश्रको मोबाइलमा प्रहरी प्रमुख वसन्त कुँवरले फोन गरिरहेका थिए । फोनमा कुँवरले पटकपटक तत्काल पोखरा पठाउन दबाब दिएको फोन राखेपछि मिश्रको कुराकानीबाट प्रस्ट हुन्थ्यो । 

फोन सकिए लगत्तै उनले फेरि मलाई चेन अफ कमान्ड मान्नुपर्ने बताउँथे तर म गलत आदेश नमान्न पनि मिल्ने भन्दै एसपी मिश्रलाई भन्थेँ । ‘नमान्नुस् न, किन मान्नुहुन्छ ? नेतृत्वको हरेक गलत आदेश मान्नैपर्छ भने के छ ? म सक्दिनँ, यो गैरन्यायिक हुन्छ भन्नुस्’’ समेत भनेँ । एसपी मिश्रले यसअघिनै अहिले पठाउन मानवीय हिसाबले पनि उपयुक्त नहुने भनेर कुँवरसँग भनिसकेका थिए ।

यसै बिचमा मैले करिब एक घण्टासम्म ‘‘मलाई आराम गर्न देऊ, अहिले जाँदिन भनिरहेँ ।’’ उनीहरूले आग्रह गरिरहे । ‘‘तपाईंहरूको सल्लाह सकुन्जेल त मलाई आराम गर्न दिनुस्’’ भनिरहेँ । संवाद चलिरहेकै बेला फेरि गौतमलाई कुँवरको फोन आउँछ र उनी अझ बढी दवावस्वरुप प्रस्तुत हुन्छन् । राति शान्त वातावरण भएकाले टेलिफोनको मधुरो आवाज मेरो कानसम्म पुग्यो । 

अक्षरशः शब्द याद नभए पनि उनले बिचमा अपशब्द प्रयोग गर्दै भनेका थिए, “एउटा मान्छे पनि उठाएर पठाउन सक्दैनस् भने तँलाई पठाएको के काम भयो ? त्यति काम गर्न अर्को मान्छे पठाऊँ कि आफै गर्छस् ? यतिका लागि म यहाँबाट गाडी पठाउँ भने । अझै, त्यो काठमाडौँबाट कास्की गाडीमा जान सक्ने, चितवन बाट कास्की चाहिँ जान नसक्ने” भनी ठुलो ठुलो स्वरले भन्न थाले ।

यो टेलिफोन संवादपछि म रहेकै कोठामा रहेका एसपी मिश्र र डिएसपी दबाब भयो हजुर भन्दै तल झरे । केही बेरमा तल्लो दर्जाका केही प्रहरी साथीहरू आए र मेरो हात समात्न खोज्दै जाऊँ जाऊँ भन्न थाले । तर, ती मध्ये एक प्रहरीले मापसे गरेका रहेछन् । मैले यो प्रहरीले मापसे गरेका छन् भनेँ । त्यसपछि ति प्रहरी अगाडि अगाडि गए, मैले समाउन खोजेँ तर उनी अलिक अगाडि गए । 

त्यसपछि हातै समाएर उठाउन थालेपछि जुनियर प्रहरीहरुको बाध्यता र दबाब बुझे र तल एसपी भएकै ठाउँमा पुगेँ । 

एसपी मिश्रलाई मैले भनेँ, ‘‘ठिक छ लैजाने भए पनि मेरो परिवारलाई एक पटक कल लगाइदिनुस्, मेरो कानुन ब्यावसायीलाई पनि मैले एक पटक खबर गर्न पाउँ, त्यो पनि भएन भने मेरो पार्टीको एक जनालाई त खबर गर्न दिनुस्’’ भनी अनुरोध गरेँ । तर, मेरा अनुरोध सबै खेर गए । मेरो कुरा सुनेको नसुनेझैँ गरे । 

उनीहरुले मलाई पोखरा लैजाने हुन् की अरू कतै लैजाँदै छन्, म अनविज्ञ थिएँ । फेरी मैले यस्तो जबरजस्ती भयो, लगातार बयान भयो, असहज महसुस भएको छ, मेरो ब्लड प्रेसर जाँच गरिदिनु भनेँ । त्यो पनि उहाँहरुले इन्कार गर्नुभयो, उहाँहरुको जोड मध्यरातमा जतिसक्दो छिटो चितवन प्रहरी कार्यालयबाट निकाल्ने भन्ने थियो । मैरा कुनै पनि आग्रह उहाँहरुले मान्नुभएन, केवल गाडीमा बसौँ मात्रै भनिरहनुभयो । 

चेन अफ कमाण्डबाटै दबाबमा परेको प्रहरी टोलीमाथि मेरो अडानले काम गरेन । मलाई धकेल्दै गाडीमा राखियो, मेरो झोला प्रहरीलेनै बाहिर ल्याएर गाडीमा फाले, करिब पौने १२ बजे मलाई त्यहाँबाट जबरजस्ती हिँडाइयो । गाडी तिव्र गतिमा कुदाइएको थियो । चालक बाहेक मेरो छेउछाउमा भएका सबै प्रहरी निदाए । त्यसपछि मैले सवारी चालकलाई सोधेँ, मलाई कता लगिँदै छ ? उनले ‘‘कास्की हो सर’’ भन्दै जवाफ दिए ।

चितवन प्रहरीले पछिल्लो १ घण्टाभित्र मलाई गरेको अमानवीय हर्कत देखेर म पहिलो पटक आत्तिएको थिएँ । मलाई मेरो रक्तचाप बढेको महसुस भइरहेको थियो, यस्तो चिसोमा पनि मलाई चिड्चिड् पसिना आइरहेको थियो, मलाई कहाँ पुर्याउँछन् र के गर्छन् भन्ने एकदमै शंका लागिरह्यो । कति दिनको थकाइ अब डरमा परिणत भयो । एक जना म, जसलाई कसैसँग सम्पर्क गर्न दिइएको थिएन, ठाउँ सारीको कुनै कागजता दिइएको थिएन, कता लगिँदै छ अनविज्ञ थिएँ । थकित शरिर, टाउको फुट्ला जस्तो गरि दुखिरहेको थियो । मेरो श्वासप्रश्वास पनि बढिरहेको थियो । 

३ बजेको हाराहारीमा कास्की जिल्ला प्रहरी कार्यालय पर्याएपछि भने मैले राहतको सास फेरेँ । अब उज्यालो हुन्छ भन्ने लाग्यो । स्वास्थ्य जाँच हुन्छ भन्ने लाग्यो । एउटा अपराधीलाई पनि गर्न नहुने व्यवहार प्रहरीले मलाई गर्याे ।

मलाई र मेरो परिवारलाई दिइएको मानसिक तनावको कुनै हिसाब किताबनै छैन । मैले के त्यस्तो पाप गरेको रहेछु, खोइ ! त्यो बीचमा मलाई केही भइहालेको भए मेरी श्रीमती निकिता जसलाई म कहाँ छु समेत जानकारी थिएन, उनी माथि के बित्ने थियो होला ? कास्की पुगेपछि मेरो रक्तचाप जाँच गरिएको थियो ।  १८०/९० आएको रेकर्ड अहिले पनि प्रहरी कार्यालयमा सुरक्षित छ होला ।

एकै घण्टाको बिचमा भएका यी घटनाक्रम, प्रहरी नेतृत्वको अस्वभाविक दबाब र मलाई त्यो अवस्थामा हिँडाइएको कुरा मेरी श्रीमतीलाई थाहा नदिइनुले यात्रा अवधिभर यति त्रसित बनायो कि त्यो फेरि कल्पनायोग्य छैन । "

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

कास्की अदालतले प्रहरीलाई भन्यो, 'हिरासतमा रहेका रविको मानव अधिकारको रक्षा गर्नु, गराउनु'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...