नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीको दुखान्तः खुसी खोज्न गएका देवराज आधा नचल्ने शरीर लिएर फर्किए

सर्लाही । लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारीमा गए। खुसी दिन त टाढाको कुरा  रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए । उनी विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरका एकमात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ साल ७ माघमा उनी वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया गएका थिए। विसं २०७८ पुस २९ को राति कामबाट फर्किएपछि उनीसाथीसँगै बजार यएका थिए । 

बजारबाट फर्कने क्रममा आफूले चलाएको गाडी दुर्घटनामा परेपछि उनको जीवनले नसोचेको मोड लियो । नेपालमा हुँदा पनि सवारीचालकको काम गरेका उनले विभिन्न निर्माण कम्पनीका टिपर, स्कुल बस चलाए। त्यसबाट घरपरिवारको गुजारा चलाउन समस्या भएपछि परिवारको सल्लाहमा उनी साउदी पुगेका थिए । 

“विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ”, उनले भने, “तर दुर्घटनापछि कम्पनीले पनि लापरवाही गरेका कारण मेरो यो अवस्था भयो ।” राति १ बजे दुर्घटनामा परेका उनलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो ।  छ घण्टापछि मात्र होस आयो । बिहान अस्पतालको बेडमा थिएँ, उनले भने, “शरीर अररो परेको थियो । हातले पानीको गिलाससमेत नसमाएपछि एक जना नेपाली नर्सले पानी खुवाइदिनुभयो ।”

उनको गर्दनमा शल्यक्रिया गरेर स्टिल राखिएको छ । उनलाई सुरुमा दुर्घटनामा परेर शरीरमा समस्या भयो, पछि ठिक हुन्छ भन्ने लागेको थियो । तर पछि चिकित्सकले गर्दनको हड्डी भाँचिएको र एउटा नसामा चोट लागेकाले शरीर पहिलाजस्तो नहुन सक्छ भनेपछि छाँगाबाट खसेजस्तै भएको उनले बताए । “दुई वर्षकी छोरी छाडेर परिवारको खुसी कमाउन गएको थिएँ” अब बाँकी जीवन अरुको सहारामा गुजार्नुपर्ने भएर आएँ”, उनले भने ।

सुरुमा त अब बाँकी जीवन के हुने ? भन्ने चिन्ताले धेरै सतायो । धेरै रात भोक न निद्रा भएर बिताए । विदेशमा हुँदा सारा एक्लोझै भयो । घर आएपछि श्रीमती र छोरीको अनुहारले निकै समय लखेटिरह्यो । अहिले आफूलाई सम्हाल्ने प्रयास गरिरहेको उनले बताए । विगतका दिन सम्झँदा उनका गला घरिघरि अवरुद्ध हुन खोज्दै थिए । अझै पनि शरीरको अवस्थाअनुसारको कर्म गरेर बाँकी जीवन पनि परिवारको सहारा बन्ने उनको ठूलो धोको छ ।

सुरुमा कम्पनीले उपचारमा केही चासो देखाएजसो गरे पनि पछि वास्ता गर्न छाडेको उनको भनाइ छ । “नौ महिनासम्म कम्पनीले बेवारिस अवस्थामा अस्पतालमा छाड्यो, शरीर चल्दैन थियो । अरुले ओल्टाइपल्टाइ गर्नुपर्ने अवस्था थियो । नर्सहरू दिनमा एक वा दुईपटकमात्र आउने गर्थे । औषधि दिएर जान्थे । खाना ल्याएर राखिदिन्थे । हातसमेत नचलेर खान सक्दिनँ थिए । कोही आउने आशमा बस्नुपर्यो”, उनले भने ।

कम्पनीले वास्ता गर्न छाडेपछि, औषधि नगर्ने भए मलाई घर पठाइदेउ भनेर कम्पनीमा भने, तर कम्पनीले वास्ता गरेन । हारगुहार गरेपछि युकेमा रहेका भान्जाको प्रयासमा दूतावासका कर्मचारीले कम्पनीलाई ताकेता गरे । त्यसपछि कम्पनीले अस्पतालबाट निकालेर १५ दिनपछि नेपाल पठाइदियो । सुरुमा आफूले साउदीस्थित नेपाली दूतावासमा धेरैपटक अनुनयविनय गर्दा पनि वास्ता नगरेको उनको दुखेसो छ ।

उनलाई समयमै अस्पतालबाट उद्धार गरेको भए शरीर केही भाग चल्थ्यो कि भन्ने चिन्ताले अहिले पनि सताइरहन्छ । बिरानो देशमा अस्पतालमा काटेको नौ महिना एक युगजस्तो लागेको उनको अनुभव छ । नेपाल आएपछि परिवारले उनलाई सिधैँ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ पुर्यायो । त्यहाँ तीन महिना बसेर उपचार गर्दा पनि कुनै सुधार नभएपछि घर आएको उनको भनाइ छ । अस्पतालमा गर्ने गरेका केही कसरत उनी घरमा पनि नियमित गरिरहेका छन् । 

आफू आधा शरीर नचल्ने भएर अरुको सहारामा उठ्नबस्न पर्ने अवस्थामा पुगेपछि एउटा छोरीको पढाई र परिवारको गुजारामा पनि समस्या भएको उनले दुखेसो पोखे। “सम्पत्तिका नाममा पुख्र्यौली छ कट्ठा खेत र साढे आठ धुर घडेरी पाएको थिएँ”, उनले भने, “बिमाबाट आएको पैसाबाट बाँस बस्ने समस्या भएपछि एकतले काठको घर बनाएँ । खेतको उत्पादनले मुस्किलले आधा वर्ष खान पुग्छ । छोरीको पठनपाठन, केही उपचार खर्च कसरी जोहो गर्नु ?”

श्रीमती एक्लैले गरेको कामबाट परिवारलाई हातमुख जोर्न सधैँ समस्या भएको भन्दै उनले आफूले सकेको काम गरेर परिवारलाई सघाउने चाहना रहेको बताए । “शारीरिक रूपमा अशक्त व्यक्तिहरूले क्षमताअनुसार काम गरेर परिवारलाई सहयोग गरेको देखेसुनेको छु”, उनले भने, “मलाई पनि केही गर्ने चाहना छ । आफूसँग लगानी छैन । कसैले कतैबाट सहयोग गरिदिए समाजको उदाहरणीय पात्र बन्ने थिएँ ।” 

पौडेलले वैदेशिक रोजगार विभागबाट पाउने छात्रवृत्ति पनि नपाएको गुनासो गरे। वैदेशिक रोजगारमा अङ्गभङ्ग भएका वा ज्यान गुमाएकाका बालबालिकाले उच्च शिक्षासम्म पठनपाठनका लागि छात्रवृत्ति पाउने व्यवस्था भए पनि आफूले नपाएको उनले बताए । “छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि कागजात लिएर गएको थिएँ”, उनले भने, “तपाईँको बिमावापतको रकम पूरा भएको छैन, पाउनुहुन्न भनेपछि फर्किएँ । त्यत्ति पाएको भए पनि छोरीको पठनपाठनका लागि थपथाप हुने थियो ।”

पौडेलको आठ वर्षकी छोरी गाउँ नजिकैको एक विद्यालयमा बाल कक्षामा अध्ययन गर्छन् भने श्रीमतीले आफू र छोरीको स्याहारपछि बाँकी समय पशुवस्तु र खेतीपाती गरेर दुई छाकको जोहो गरिरहेको उनले बताए। कक्षा ९ सम्म अध्ययन गरेकी सविना पौडेलले श्रीमान् शारीरिक रूपमा अशक्त भए पनि आफूले अवसर पाए छोरी र श्रीमान्का लागि सहारा बनेर गुजार गर्ने वातावरण बन्ने बताइन् ।  

स्थानीय तहसँग आवश्यक सहयोगका लागि पटकपटक ताकेता गरेको उनले बताइन् । मैले कार्यालय सहयोगीको कामका लागि फारम पनि भरे । खै के भयो काम भएन । कुनै व्यावसायिक तालिम र लगानी पाए काम गर्ने थिएँ । यसरी विभिन्न दुर्घटनामा परेर समस्यामा परेकालाई सहज जीवन गुजाराका लागि स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने उनको माग छ । 

उक्त वडाका अध्यक्ष दुर्गाबहादुर आलेले वडामा त्यस्तो कुनै बजेट नहुने बताए । यस्ता विपन्न नागरिकका लागि नगरपालिकाले नै आयआर्जनका कार्यक्रममा समेट्ने गरेको छ । “वडामा त्यस्तो योजना तथा बजेट हुँदैन”, उनले भने, “यस्तो अवस्थामा नगरले नै व्यवस्थापन गर्ने गरेको छ । मैले पनि उहाँहरूको समस्याका लागि पहल गरिरहेको छु । हेरौँ केही गर्न सकिन्छ कि रु” प्रधानमन्त्री रोजगारी तथा अन्य सहयोगको लागि पनि सोचिरहेको उनले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बतायन् । उनले भनिन्, “गाउँमा...
जलविद्युत् आयोजनाकाे मनपरीले  सुक्यो मोदीखोला

जलविद्युत् आयोजनाकाे मनपरीले सुक्यो मोदीखोला

पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको...
पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

पौरखी हातहरु : बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ...
ग्यास अभाव देखिएपछि नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड

ग्यास अभाव देखिएपछि नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड

नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल...

भर्खरै