नेभिगेशन
मुख्य समाचार

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

गलकोट । जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।

नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ ।

CG

चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् । ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन्भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन् ।

बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए । उनले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताए ।

“निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीयस्थल घुम्न आएका पाहुना खानबस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्”, भट्टचनले भने, “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छभने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।”

यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छभने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताए। एक हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् ।

ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताए । उनले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिए । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ ।

“लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौँलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्”, छन्त्यालले भने, “अन्य सहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको सहरका रूपमा विकसित भइरहेको छ ।” राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।