नेभिगेशन
समाज

म्याग्दीको नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आएको भीषण हावाहुरीले जलविद्युत् आयोजना, नेपाली सेनाको सुरक्षा बेसक्याम्प, विद्यालय, स्थानीयका घर र पर्यटकका अस्थायी आवासमा क्षति पुर्‍याएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्सिर ८ गते दिउँसो करिब १२ः१५ बजेदेखि चलेको हावाहुरीले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको भालेबासस्थित सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै उपकरण तथा अन्य सामग्री उडाएको छ। आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार बेसक्याम्पमा करोडौँ रुपैयाँबराबरको क्षति भएको छ।

Marvel
Extreme Energy

आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थलको सुरक्षाका लागि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि बनाइएका अधिकृत तथा जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ। भवनमा जडान गरिएका उपकरण, फर्निचर र अन्य सामग्रीसमेत हावाले उडाएको छ।

हावाहुरीले आयोजनाको निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता तथा छाना पनि उडाएको छ। यसले आयोजनाको निर्माण कार्य प्रभावित हुने देखिएको श्रेष्ठले बताए।

विशेषगरी विस्फोटक पदार्थ प्रयोग गरेर गरिने सुरुङ उत्खननको काम प्रभावित हुने उनको भनाइ छ। सुरक्षा बेसक्याम्पलाई पुनः सञ्चालनयोग्य अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको दैनिक निर्माण कार्यमा समेत असर पर्ने देखिएको छ।

हावाहुरीले भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठाको छाना उडाएको छ। नारच्याङका स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोले बनेको घरको छाना पनि उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

नारच्याङ र आसपासका बस्तीका अन्य घरगोठमा समेत क्षति पुगेको छ। हावाहुरीले सुन्तलाका दाना झारेपछि किसानसमेत प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले जानकारी दिए।

हावाहुरीले अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबासका लागि राखिएका १२ वटा टेन्टसमेत उडाएको छ। मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार टेन्ट उडेपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको थियो।

घटनापछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी र सञ्चारकर्मीसहितको टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेको थियो। वडाध्यक्ष फगामीको रोहवरमा प्रहरीले क्षतिको विवरणसहित मुचुल्कासमेत तयार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रकी मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म हावाको अधिकतम गति प्रतिसेकेन्ड ४.१ मिटर मापन गरिएको थियो।

यसअघि गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा क्षति पुर्‍याएको थियो। रन अफ द रिभर प्रकृतिको उक्त आयोजनामा गत जेठमा भालेबासको अडिट नम्बर १ र असोज पहिलो साता घरापको अडिट नम्बर ४ बाट सुरुङ खन्न सुरु गरिएको थियो। प्राकृतिक विपद्का कारण आयोजनाको निर्माण कार्य पटकपटक प्रभावित हुँदै आएको छ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।
१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

निर्माणमा ढिलाइ हुँदै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने भएको छ।
नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

नेपथ्यको गीतमा दुई घण्टा झुम्यो बेनी, अमृतले दिए सामाजिक एकताको सन्देश

चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिमा बुधबार साँझ म्याग्दीको बेनी बजार संगीतमय बनेको छ।