काठमाडाैँ । अब काम गर्ने समय हो। निडरतापूर्वक कानुन बनाऔं, स्वास्थ्यलाई शान्ति र न्यायको आधारका रूपमा सुरक्षित गरौं। इतिहासले हामीलाई के बहस गर्यौं भनेर होइन, हामीले के उपलब्धि हासिल गर्यौं भनेर सम्झन्छ। आउँदा दिनहरूमा हामी उपलब्धि सुनिश्चित गर्ने प्रतिवद्धता गरौं।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अहिलेको अवस्थामा रोग र भाइरसबाट एउटा राष्ट्रले आफू सुरक्षित महसुत गर्ने अवस्था नरहेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठन र अन्तर संसदीय संघको सहकार्यमा जेनेभामा आयोजित संसदीय संवाद कार्यक्रममा बोल्दै उनले रोगले सिमा र बर्ग नचिन्ने बताएकी हुन् । ‘भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन।’ उनले भनिन् , ‘जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।’
त्यस्तै उनले इतिहासले हामीलाई के बहस गर्यौं भनेर होइन, हामीले के उपलब्धि हासिल गर्यौं भनेर सम्झन्छ भन्दै आउँदा दिनहरूमा उपलब्धि सुनिश्चित गर्ने प्रतिवद्धता गर्न विश्वलाई आह्वान गरिन् ।
उनले विश्वभरका सांसदहरूलाई दृढताका साथ कानून बनाउन, निर्भयतापूर्वक आवश्यक लगानी गर्न, स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न आह्वान गरेकी छिन् ।
यस्ताे छ विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर-संसदीय संघ (IPU) को सहकार्यमा आयोजित संसदीय संवादमा साेविता गाैतमले दिएकाे अभिव्यक्तिकाे सम्पादित अंश:
"आदरणीय सहकर्मीहरू, अन्तर-संसदीय संघ (IPU) र विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिष्ठित प्रतिनिधिहरू, सम्माननीय सांसदहरू, तथा उपस्थित महानुभावहरू,
म नेपालबाट प्रतिनिधित्व गर्ने सांसद सोबिता गौतम हुँ र IPU स्वास्थ्य समितिको सदस्य पनि हुँ।
IPU र WHO द्वारा आयोजना गरिएको यस ऐतिहासिक संवादमा सम्बोधन गर्न पाउँदा मलाई अत्यन्त गर्व र सम्मान लागेको छ।
विश्व स्वास्थ्य सभाको यो महत्वपूर्ण अवसरमा यस्तो जीवन्त मञ्च सिर्जना गरेकोमा म दुवै संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु । आशा छ, यो वार्षिक रूपमा दोहोरिने प्रमुख कार्यक्रम बन्नेछ।
विश्व स्वास्थ्यसम्बन्धी मुख्य छलफलहरूमा लामो समयसम्म सांसदहरूलाई प्राथमिकतामा राखिएको थिएन। यो अवस्था अब परिवर्तन हुनुपर्छ। यस सन्दर्भमा, म IPU द्वारा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई पूर्ण समितिमा रूपान्तरण गरी १४९औं महासभामा स्थापना गरेको र १५०औं महासभादेखि मैले त्यस समितिमा सदस्यको रूपमा सेवा गर्न पाएकोमा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
महामारीले हामीलाई फेरि सम्झाएको छ – स्वास्थ्य कुनै खर्च होइन, यो हाम्रो समाजका लागि सबैभन्दा महत्वपूर्ण लगानी हो। त्यस बेलामा WHO ले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको थियो।
नेपालमा, यसले हाम्रो खोप अभियानमा सहयोग गर्यो, निगरानी प्रणाली सुदृढ बनायो, र अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूलाई समयमै मार्गदर्शन प्रदान गर्यो। यसले देखाउँछ कि सबै राष्ट्रहरूलाई सेवा दिन सक्ने बलियो र पर्याप्त बजेट भएको WHO को आवश्यकता कति अनिवार्य छ।
नेपाल एक निम्न-आय भएको देश हो। विगत दुई दशकमा, हाम्रो राष्ट्रिय बजेटको करिब २०–२५ प्रतिशत र स्वास्थ्य क्षेत्रमा त झन् ५० प्रतिशतसम्म बाह्य विकास साझेदारको सहयोगमा आधारित रहेको छ।
विदेशी सहयोगले विशेषगरी आमाको स्वास्थ्य, बाल स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ। तर, अझै पनि स्वास्थ्य क्षेत्रले कुल बजेटको ५ प्रतिशतभन्दा कम हिस्सा मात्र पाउँछ, जुन आधारभूत आवश्यकताहरू पूरा गर्न पनि अपुग छ।
यही अवस्था धेरै देशहरूमा दोहोरिइरहेको हुन सक्छ। यो बजेट कम्तीमा १० प्रतिशत पुर्याउनु अत्यावश्यक छ, जसलाई WHO ले पनि सिफारिस गरेको छ। यसको लागि हामी सांसदहरूले गम्भीर पहल गर्नु पर्ने आवश्यकता छ।
केही देश वा निकायहरूबाट WHO सँगको संलग्नता घटाउने वा विदेशी सहयोग कटौती गर्ने संकेतहरू आएका छन्, जसले विश्व स्वास्थ्य प्रणालीको स्थायित्वलाई गम्भीर संकटमा पार्न सक्छ र करोडौं मानिसहरूको जीवन जोखिममा पर्न सक्छ।
भाइरस मानिसभन्दा छिटो सर्छ। यसले सीमा चिन्दैन, वर्ग चिन्दैन। धनी होस् वा गरिब।
त्यसैले सामूहिक प्रयास आवश्यक छ, अनिवार्य छ। म दोहोर्याउँछु – सामूहिक प्रयास हुनु पर्छ।
स्वास्थ्य अधिकार हो, सुविधा होइन भनेर अब मान्यता दिनुपर्छ। जुन हामी सांसदहरुकाे जिम्मेवारी हाे । यसका लागि निम्न ठोस र रणनीतिक कार्य आवश्यक छन् ।
- WHO तर्फ हाम्रो देशको आर्थिक योगदान पूर्ण र समयमा पुर्याउने सन्दर्भमा संसदभित्र वकालत गर्नु,
- WHO को लगानी चरण (Investment Round) मा राजनीतिक समर्थन जुटाउनु,
- लचिलो र पूर्वानुमान गर्न सकिने किसिमको वित्तीय सहयोग सुनिश्चित गर्नु,
बहुपक्षीय स्वास्थ्य प्रणालीको पक्षमा दृढ रहनु, र सरकारहरूलाई सम्झाउनु कि कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म सबै राष्ट्र सुरक्षित हुँदैनन्
आजको यो संवाद केवल विचार आदानप्रदान होइन, यो हाम्रो स्वास्थ्य प्रणालीहरूको दीर्घकालीन समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अवसर हो। यदि लगानी निरन्तर भएन भने, सार्वभौमिक स्वास्थ्य पहुँच (Universal Health Coverage), रोग प्रकोप नियन्त्रण, र दीर्घकालीन रोगहरूको बोझ नियन्त्रण गर्ने लक्ष्यहरू अपूरा नै रहनेछन्।
हाम्रो मुख्य प्राथमिकता सार्वभौमिक स्वास्थ्य सेवा हुनुपर्छ । विशेष गरी ती समूहहरूका लागि जो सबैभन्दा बढी जोखिममा छन्, जस्तै महिला, बालबालिका र किशोरहरू।
स्वास्थ्य प्रणालीहरूले संकटको पर्खाइ गर्न मिल्दैन, न त कसैलाई आम्दानी, बसोबास वा लिङ्गका आधारमा बहिष्कार गर्न मिल्छ।
प्रगति भए तापनि, नेपालमा सार्वजनिक स्वास्थ्य खर्च अझै पनि विश्व मापदण्डभन्दा तल छ।
र, परिवारहरू अझै पनि आफ्नो गोजीबाट ठूलो खर्च गर्न बाध्य छन्। जबसम्म राष्ट्रिय लगानी र विश्वव्यापी ऐक्यबद्धता सशक्त हुँदैन, तबसम्म कमजोर वर्ग असुरक्षित नै रहनेछ।
हामी हाम्रो संसदमा एकजुट र आपतकालीन सन्देश लिएर फर्कनुपर्छ । स्वास्थ्य राष्ट्रिय बजेट र वैदेशिक नीति दुबैमा रणनीतिक प्राथमिकता हुनुपर्छ। सबल र न्यायपूर्ण स्वास्थ्य प्रणालीमा लगानी गर्नु केवल आफ्ना नागरिकहरूको लागि होइन, विश्व सुरक्षाको, आर्थिक स्थायित्वको, र मानव गरिमाको लागि पनि अत्यावश्यक हो।
अहिले हामी एउटा ऐतिहासिक मोडमा छौं । ७८औं विश्व स्वास्थ्य सभाले WHO को महामारी सम्झौता (Pandemic Agreement) पारित गरिसकेको छ। यो सम्झौता आगामी महामारीहरूको लागि सुरक्षित र न्यायपूर्ण विश्वको दिशामा एक निर्णायक पाइला हो। तीन वर्षभन्दा बढी समयको वार्तापछि बनाइएको यो सम्झौताले हाम्रो स्वास्थ्य उपकरणहरूको समान पहुँच सुनिश्चित गर्नु, र प्रणालीहरू मजबुत पार्नुमा हाम्राे साझा प्रतिबद्धता देखाउँछ ।
तर, यो अन्त्य होइन, अब त झन् सबैभन्दा महत्वपूर्ण चरण सुरु हुँदैछ। यही ठाउँ हो, जहाँ सांसदहरूको भूमिका निर्णायक बन्न जान्छ । हामीले यस्ता सम्झौताहरूलाई गहिरिएर जाँच गर्न, अनुमोदन गर्न, र कार्यान्वयनमा निगरानी गर्नुपर्छ। हाम्रो सक्रिय सहभागिता बिना, यी प्रतिबद्धताहरू केवल कागजमा सीमित हुन सक्छन्। अब सांसदहरू अघि बढ्नुपर्छ।
हामी स्पष्ट रूपमा पुनः प्रतिबद्ध हुनुपर्छ कि हामी विश्व स्वास्थ्यका दर्शक मात्र होइनौं। हामी उत्तरदायित्वका संरक्षक, समानताको पक्षधर, र दीर्घकालीन प्रगतिका चालक हौं। हाम्रो विरासत स्पष्ट बनोस्।
जसरी मैले अन्त्यमा भने – हाम्रो विरासत स्पष्ट बनोस्। तर त्यो के हो?
हाम्रो कार्य नै हाम्रो विरासत होस्। म प्रत्येक सांसद र नेतृत्वकर्तालाई आग्रह गर्न चाहन्छु, अब काम गर्ने समय हो। निडरतापूर्वक कानुन बनाऔं, निसंकोच बजेट छुट्याऔं, र स्वास्थ्यलाई शान्ति र न्यायको आधारका रूपमा सुरक्षित गरौं। इतिहासले हामीलाई के बहस गर्यौं भनेर होइन, हामीले के उपलब्धि हासिल गर्यौं भनेर सम्झन्छ। आउँदा दिनहरूमा हामी उपलब्धि सुनिश्चित गर्ने प्रतिवद्धता गरौं।