नेभिगेशन
मुख्य समाचार

दाजुभाइले दिदीबहिनीको दीर्घायुका लागि व्रत बस्ने पर्व ‘अटवारी’

घोडाघोडी (कैलाली)। पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् । माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्त्वपूर्ण पर्व हो । कुनै महिलाहरू पनि स्वेच्छाले व्रत बस्ने गर्छन् ।

यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार मनाइने गरिन्छ ।  आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । यो पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । अटवारी पर्वको धार्मिक महत्व महाभारतको कथासँग जोडिएको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरी बताउँछन् ।

CG

थारू समुदायमा पाण्डव पुत्र भीमलाई वीरता र शक्तिको प्रतीकका रूपमा पुज्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पाण्डवहरू अज्ञातबासमा रहँदा भीमले आफ्ना दाजुभाइ र परिवारको रक्षाका लागि आइतबारको दिन पानीसमेत नपिई निराहार व्रत बसेका थिए । त्यही व्रतको प्रभावले उनले अपार शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । सोही किंवदन्तीअनुसार व्रत बस्दै अटवारी पर्व मनाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो । यस पर्वमा सूर्यको पनि विशेष पूजा गरिन्छ ।
 
अटवारी पर्वको तयारीस्वरूप बर्तालुहरूले शनिबार राति खाना खाने चलन छ, यसलाई ‘भन्सरीया भात’ भनिन्छ । नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष चौधरीका अनुसार आइतबार बिहानैदेखि बर्तालु पानीसमेत नपिई निराहार व्रत बस्छन् । व्रत बसेको दिन स्नान गरी पूजापाठ गर्ने चलन छ ।

पूजापछि विभिन्न मौलिक परिकारहरू पकाइन्छ । जसमा अन्दीको चामलको रोटी अनिवार्य हुन्छ । त्यसैगरी फुलौरी, केरा, काँक्रो, अम्बा, दही र गेडागुडीजस्ता खानेकुरा पकाइने गरेको अध्यक्ष चौधरी बताउँछन् । 

यस पर्वको सबैभन्दा विशिष्ट सांस्कृतिक पक्ष ‘अग्रासन’ हो । व्रत खोल्नुअघि तयार पारिएका सबै परिकारबाट एक–एक भाग छुट्याएर आफ्ना विवाहित तथा अविवाहित दिदीबहिनीका लागि राख्ने गरिन्छ । यही छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अध्यक्ष चौधरीले भने, “अग्रासन नछुट्याएसम्म बर्तालुले केही पनि खाँदैनन् । यो दिदीबहिनीप्रतिको अगाध स्नेह र सम्मानको प्रतीक हो ।”

पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै बर्तालुहरूले पुनः स्नान गरी पूजा गर्छन् । सोमवार पूजाआजा गरेपछि व्रत खोलिन्छ । त्यसपछि दाजुभाइले आफ्ना दिदीबहिनीका लागि छुट्याइएको ‘अग्रासन’ र अन्य कोसेली लिएर उनीहरूको घर पुग्छन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिन्छन् र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्छन् । यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका सचिव अमन चौधरीले बताए ।
 
अटवारी पर्वले थारू समुदायमा सामाजिक एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको सचिव चौधरीले बताए । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

पर्वको महत्वलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आज  प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि, प्रदेश सरकारले अटवारी पर्वका अवसरमा साउन २५ गते बिदा दिने निर्णय गरेको थियो । तर तिथि फरक परेकाले थारू समुदायको आग्रहमा बिदाको मिति संशोधन गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...
रास्वपा सभापति लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो 'फेक'

रास्वपा सभापति लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो 'फेक'

अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य छ । लामिछानेको देब्रे खुट्टामा लागेको चोट औषधी सेवनले समेत निको नभई सेलुलाइटिस भएकाले अस्पतालको हाडजोर्नी विभागमा उपचाररत रहेको अस्पतालले जनाएको...