म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबाली छाडेर व्यावसायिक सुन्तलाखेती थालेका किसानको आम्दानी मात्र होइन, जीवनशैलीसमेत फेरिएको छ।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले २०६९ सालमा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन्। अहिले उनको बगैँचाका २५० बोटले वार्षिक सात लाख रुपैयाँ आम्दानी दिन थालेका छन्।
खाद्यबालीको तुलनामा सुन्तलाखेतीमा कम मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ। ‘सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा सात लाख आम्दानी दिन थालेको छ,’ उनले भनिन्, ‘छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।’
सुर्केमेलाकै द्रोपती थापाको आम्दानी पनि सुन्तलाखेतीबाट बढ्दै गएको छ। गत वर्ष एक लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेकी उनले यस वर्ष तीन लाख रुपैयाँ बराबरको बिक्री हुने अनुमान गरेकी छन्।
यस वर्ष फल दिने बोट थपिनुका साथै उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने उनको अपेक्षा छ। सुन्तलाखेतीले घरव्यवहार चलाउन सहज भएको उनले बताइन्।
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन् ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेका थिए। त्यतिबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।
‘धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,’ उनले विगत सम्झँदै भने, ‘अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।’
२० रोपनी खेतबारीमा ४५० बोट सुन्तला लगाएका केसीले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्रसमेत सञ्चालन गरेका छन्।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ। सुन्तलाखेतीबाट भएको आम्दानीले कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् भने छोराछोरीलाई राम्रा विद्यालय तथा कलेजमा पढाएका छन्।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादित रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्।
म्याग्दीका अन्य क्षेत्रको तुलनामा सुर्केमालामा सुन्तला छिटो पाक्ने भएकाले यहाँ मंसिरको दोस्रो साताभित्रै टिपाइ सकिने गरेको छ। सडक यातायातको सुविधा र बजारको समस्या नहुँदा किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित छन्।
सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गर्दै आएका छन्। बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइमा समेत सहज भएको छ।
सुर्केमेलासँगै बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको उनले बताए। उत्पादित सुन्तला बजारसम्म पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नतिको काम अघि बढाइएको छ।
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। तीन वर्षमा पाँच करोड रुपैयाँ खर्च हुने गरी स्रोत सुनिश्चित भएको र ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए।
त्यस्तै, सुर्केमेला र सिँगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सङ्घीय सरकारमा प्रस्ताव पेस गरिएको उनले जानकारी दिए।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाँझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।
तर, युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण बढेसँगै कृषि मजदुरको अभाव भने सुन्तलाखेती गर्ने किसानका लागि चुनौती बन्दै गएको छ। आम्दानीको राम्रो सम्भावना देखिए पनि बगैँचाको रेखदेख, फल टिपाइ र व्यवस्थापनका लागि आवश्यक जनशक्ति जुटाउनु किसानको अर्को समस्या बनेको छ।