बागलुङ । बागलुङ ढोरपाटन ७ का बलबहादुर श्रेष्ठ (नाम परिवर्तन) भारतीय सेनाबाट अवकास भए । उनले अवकास हुँदा आएको रकम मध्ये ३० लाख रुपैयाँ इमेज सहकारीमा बचतमा राखेका थिए ।
त्यही रकमको ब्याजबाट घर चलाईरहेका श्रेष्ठले बचत राखेको सहकारीमा आर्थिक संकट गहिरियो । सहकारीका सञ्चालक तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सोही कारण नगरको जिम्मेवारी नै छोडेर भागे ।
नेपाली भागेपछि सहकारीको रकम डुबेको भन्दै पीडितहरु सडकमा आए । सहकारी समस्याग्रस्त घोषणा भयो । श्रेष्ठलगायतका पीडितहरु पैसा असुल गर्न अदालती प्रक्रियामा गए ।
बागलुङ नगरपालिका सुदेशराज भण्डारीको पनि सोही सहकरीमा ५० लाख रुपैयाँ डुुबेको छ ।
डुबेको सहकारीको पैसा उठाउन उनले पनि कम्ता पापड बेलेनन् । उनी सडक आन्दोलनमा उत्रीए । देवकुमार नेपालीलाई पक्राउ गर्न पहल गरे । देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा पाउनसम्म पहल गरे । भलै देवकुमार पक्राउ पनि परे ।
उनले अदालतमा पुगेर आफ्नो सबै सम्पत्ति बिक्री गरेर सहकरीमा रकम जम्मा गरेकाको पैसा फिर्ता दिने घोषणा गरे । सहकारीमा रहेको बचतबाट एक लाख भन्दा कम बचत हुनेको पैसा फिर्ता हुँदै गयो ।
त्यो भन्दा बढी रकम फसेका पीडितले अदालतमा गएर मिलापत्र गर्नुपर्ने सर्त तेस्र्याइयो । सहकारीमा रकम फसेका पीडितहरुको संघर्ष समितिका नेताहरुले पनि भनेपछि राजभण्डारीले देवकुमारसँग रकम पाएको लिखत समझदारी गरे ।
‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएछ । अब पैसा पाइसकेको भनेर गरेको कागज र बयान अदालतमा छ । पैसा पाउने हक नै खोसियो ।’
उनका अनुसार आफू जस्तै सयौँ बचतकर्ताको हालत अहिले यस्तै भएको छ । बचतकर्ताहरुको हितका लागि भन्दै स्थापित पिडित संघर्ष समितका संयोजक दिलबहादुर कार्की र त्यो समूूहको भर पर्दा रकम नै नपाई रकम पाएको कागजातमा सही गर्न परेको उनी बताउँछन् ।
राजभण्डारीले पहिले सहकारीमार्फत देवकुुमार नेपालीले र अहिले नेपालीका साथी एवम् संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीहरुले आफूहरुलाई ठगेको आरोप लगाए ।
फेरि कसरी ठगीए बचतकर्ता ?
२०८१ असोज ११ गते देवकुुमार नेपाली भारतमा पक्राउ परे । उनी अहिले मुद्दा पुर्पक्षका लागि बागलुुङ जिल्ला कारागारमा छन् । दिल्लीबाट काठमाडौँ ल्याइँदै गर्दा नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने दाबी गरेका थिए ।
आफू जेलमा परेपछि नेपालीले आफ्नो सम्पत्तिबाट पीडितको बचत फिर्ता गर्ने भन्दै अडान दोहोर्याए ।
त्यसका लागि एमालेकै नेता आफ्नो साथी दिलबहादुर कार्कीले नेतृत्व लिए । उनको नेतृत्वको पीडित बचतकर्ताको एक समिति बन्यो । यही समितिले एक लाखभन्दा कम रकम बचत रहेका केही बचतकर्ताको रकम फिर्ता गर्ने, एक लाख भन्दा धेरै डुबेका बचतकर्ता भने कार्कीकै नेतृत्वमा एक एक गर्दै पैसा पाएको तमासुक गर्ने र अदालतमा सोही लिखत पेस गर्ने र सम्पत्ति बिक्री गरेर पैसा लिने योजना बन्यो ।
देवकुुमारले यो कामका लागि आफ्नै विश्वास पात्र साथी दिलबहादुर कार्की रोजे । कार्की पनि आफूले इमान्दारीसाथ काम गरेको दाबी गर्छन् । तर, कार्कीको लहैलहैमा लागेका झण्डै १२ सय ठूला बचतकर्ताहरु अहिले फसिसकेपछि यो सबै दोषको भारी कार्कीको टाउकोमा पुगेको छ ।
सिधाकुरालाई प्राप्त सूचना अनुसार तिनै कार्कीले बचत पीडितहरुको समिति बनाए । सो समितिको अध्यक्ष कार्की आफैँ रहे र नेपालीको चलअचल सम्पत्ति बिक्री गरेर पीडितको बचत फिर्ता गर्ने आश्वासन दिए ।
सो आश्वासनपछि झण्डै १२ सय बढी पीडितहरु रकम फिर्ता पाउने आशमा थिए । उनीहरुले धमाधम जेलमा रहेका नेपालीसँग सहकारीमा फसेको रकम फिर्ता पाएको तमासुक गरे भने अदालतमा मिलापत्रको लिखत बयान गरे । तर, जब सबैको मिलापत्र सकियो सरकारी वकिल कार्यलय बागलुङले नेपालीविरुद्ध सम्पत्ति शुद्धिकरण विरुद्धको पुरक आरोप पत्र जिल्ला अदालतमा दर्ता गरे ।
जब मुुद्दा दर्ता भयो नेपालीको सबै सम्पत्ति रोक्का भयो । जसका कारण सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने भन्दै हस्ताक्षर गरेकाहरु आफ्नै सम्पत्ति फिर्ता पाउने हकबाट समेत बञ्चित बने ।
श्रेष्ठ र राजभण्डारी त यसरी मिलापत्र गर्नेहरुका प्रतिनिधि पात्र मात्रै हुन् । यसरी पैसा नपाई पाएँ भनेर कागज गर्ने झण्डै १२ सय हारहारी पीडित बचतकर्ता रहेको पीडितहरुले बताएका छन् ।
कानुन र अदालत माथि भरोसा नगरी एक जना व्यक्तिको पछाडी लाग्दा अहिले उनीहरुको वैधानिक तरिकाले रकम फिर्ता हुने अवस्था समेत गुमेको छ । कतिपय बचतकर्ताले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र बचतकर्ताको संघर्ष समितिको अध्यक्ष दिलबहादुर कार्कीले मिलोमतोमै यो सबै गरेको अशंका गरेका छन् ।
‘पहिले प्रलोभन देखाएर कागज गरायो । अहिले पीडितहरुको रकम उठ्ने कानुनी हैसियत नै सकिएको छ र हामीलाई बिल्लीबाठ पारिएको छ,’ एक पीडित बचतकर्ताले सिधाकुरासँग भने ।
कति छन् पीडितहरु ?
सिधाकुरालाई प्राप्त विवरणअनुसार बागलुङ र पोखराका गरेर कुुल २ हजार ९८ जना पीडितले देवकुमार नेपालीबाट ठगिएको भन्दै जाहेरी दिएका थिए । जसमा बागलुङका १५ सय ७४ जना र पोखराका ५ सय २४ जना थिए । यिमध्ये पोखरा र बागलुङका गरेर ११ सय १२ जनाले पैसा पाएको तमसुक गरिदिए । बाँकी रहेका एक लाख भन्दा कम बचत रहेकाहरुको रकम फिर्ता पनि गरियो ।
वैधानिक बचत फिर्ताको हक नै खोसियो
नेपालीमाथि झण्डै एक अर्ब ३० करोड भन्दा बढी रकम हिनामिना गरी ठगी अभियोग छ । उनीविरुद्ध बागलुङ जिल्ला अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधिन छ ।
नेपालीविरुद्धको सहकारी ठगी मुद्दामा जाहेरवालाहरुको वचत रकम बराबरको विगो कायम गरी सो रकम दिलाई भराई पाउन माग गरिएको छ ।
यसरी यो मुद्दाको फैसला हुँदा वास्तविक बचतकर्ताहरुले दावी गरे अनुसारको रकम अदालतबाटै दिलाई भराई पाउने अवस्था रहन्छ । तर, पीडितमध्ये ११ सय १२ जना पीडितहरुले आफूले बचतको पैसा पाएको भनेर जिल्ला अदालतमा बयान गरेका छन् ।
नेपालीसँग मिलापत्र गरेपछि उनको सम्पत्ति बिक्री गरेर आफ्नो बचत फिर्ता लिने उनीहरुको योजना थियो । जुन स्वभाविक पनि थियो । पैसा नबुझी बुझिलिएँ भनेर अदालतमा उनीहरुले बयान गरिदिए । तर, वास्तविकतामा उनीहरुले बचत फिर्ता पाएका छैनन् ।
कानुन त समझदारी गर्दै सम्पत्ति फुकुवा गर्दै बचत फिर्ता गर्दै जानु पर्ने थियो । तर, पहिले सबै सहमति गरेर देवकुमार नेपाली माथि परिसकेपछि बचत लिन खोज्दा नियोजित रुपमा अर्को मुद्दा जोडेर बचतकर्तालाई मारमा पारिएको स्पष्ट देखिन्छ ।
अब अदालतबाट सहकारी ठगीमा फैसला हुँदा मिलापत्र नगरेकाले मात्र वचत रकम फिर्ता पाउने कानुनी अवस्था बाँकी छ । लिखित मिलापत्रको बयानअनुसार नेपालीको चलअचल सम्पत्ति बिक्री गरेर बचत फिर्ता लिने । तर, नेपाली विरुद्ध मिलापत्र पछि सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भयो ।
उनको चलअचल सम्पत्ति सबै रोक्का भयो । अब लिखत मिलापत्रको तमसुक उनै नेपालीको साथी कार्कीसँग रह्यो भने सम्पत्ति बिक्री रोकियो । यससँगै बयानमा मिलापत्रको कागज गरेका बचतकर्ताहरुले न कुनै रकम पाउने भए नत भोली पाइन भन्दा न्याय समेत माग्न सक्ने कुनै ठाउँ रह्यो ।
दिलबहादुरको शंकास्पद भूमिका ?
सबै जना सिधासाधा ब्याक्तिहरुलाई झुक्कयाएर देव कुमार नेपालीबाट पैसा पाइसकेको बयान गराउने कुराको नेतृत्व एमाले नेता तथा नेपालीका साथी दिलबहादुर कार्किले गरेका थिए ।
“कार्कीले अदालतबाट पैसा पाईदैन मिलापत्र गरे हाम्रो पैसा फिर्ता आउँछ । यसको जिम्मा म लिन्छु भन्दै मानिसहरुलाई न्यायीक प्रक्रियाविरुद्ध भड्काउन थाले,” एक पीडितले सिधाकुरासँग भने, “कानुनसम्मत तरिकाले सहकारीमा राखेको रकम फिर्ता आउने कुरामा दिल बहादुरको विश्वासमा परेर सम्झौता गरियो । तर, अहिले फसियो । हामी त विचल्लीमा पर्यौँ ।”
कार्की इमेज बचतकर्ता संघर्ष समितिका संयोजक हुन् । कार्कीले कानुन बमोजिम सहकारीमा बचत गरेको रकम बराबरको अन्य व्यक्तिसँग कोरा कपाली तमसुकमा सही छाप गराएर सबैका तमसुक समेत आफैँले खिचेर राखेको बचतकर्ता बताउँछन् ।
सिधाकुराको सम्पर्कमा आएका अर्का एक बचतकर्ताका अनुसार अदालतले रोक्का राखेको जग्गा समेत सेटिङमा मिलाइदिन्छु भनेर उनले विभिन्न जग्गा कारोबारीहरु ल्याएका थिए । बचतकर्तासँग बनाएका ति तमसुकहरु उनले त्यस्ता कारोबारीसँग लेनदेन गरेका छैनन् । “त्यसो नगरीएका कारण बचतकर्ताको रकम थाम्ने नथाम्ने अझै स्पष्ट छैन,” ति बचतकर्ता भन्छन्, “त्यस्ता तमसुक समेत दिलबहादुर कार्कीले आफैँले राखेका छन् ।”
कार्कीको नक्कली कामका कारण अहिले देवकुुमार नेपालीले सहकारी ठगीको विगोबाट फुर्सद पाएका छन् । सहकारी पीडितले बचत फिर्ता पाउने सम्भावना गुमाएका छन् । किनकी देवकुमार विरुद्ध सरकारले सम्पत्ति शुद्धिकरणको समेत मुद्दा लगाएपछि उनको सम्पुर्ण सम्पत्तिमा रहेको रोक्का अब फुकुवा हुनै नसक्ने भएको छ । यसरी देवकुमार र दिलबहादुर मिलेमतोमा बचतकर्ताहरुको फेरि बिचल्ली पारिएको छ ।
मिलापत्रको नाममा ठगीको प्लट !
देवकुमार नेपालीले आफू बचतकर्ता र प्रहरीकै सल्लाहमा भागेको बताउने गर्छन् । संघर्ष समितिका संयोजक दिलबहादुर कार्की सहकारी सञ्चालक नेपालीका नजिकका मित्र हुन् ।
नेपालीको भनाई साँचो हो भने यस्तो सल्लाह दिने तहको मित्रता भएका व्याक्ति उनै दिल बहादुर कार्की हुन भन्ने आरोप कतिपय बचतकर्ताको छ ।
पछि नेपाली पक्राउ परेपछि उनै कार्कीले देवकुमार नेपालीको नाममा रहेको सम्पुर्ण सम्पत्ति बेचविखन गर्ने जिम्मा लिए र करिब साढे ३ अर्ब मूल्य पर्ने जग्गा जमिन किन्न सक्ने आर्थिक हैसियत भएको समुह खोज्न थाले ।
नेपालीको नाममा भएको जग्गा उठाएर सहकारी पिडीतको पैसा तिरीदिने मान्छे दिल बहादुरले नभेटेका होइनन् । उनले पाउने कमिसनमा कुरा नमिल्दा उनले पटक पटक जग्गा ब्यापारी फेर्न थालेको बचतकर्ताहरु बताउँछन् ।
पीडितहरुका अनुसार कार्कीले विभिन्न जग्गा ब्यापारीसँग साढे तीन अर्बको सम्पुर्ण घर जग्गा उठाउँदा वचतकर्तालाई ६० प्रतिशत मात्र रकम फिर्ता गरीदिए हुन्छ भन्ने गरेका थिए ।
त्यसमा पनि देवकुमार पक्राउ पर्दा फेला परेका सुन चाँदी, सहकारीमा भएको नगद, सहकारीबाट ऋण लिएका ब्याक्तिहरुले फिर्ता गर्नु पर्ने रकम समेत गरी करिब ३० करोड रकम उपलब्ध भएको कुरा उनै कार्कीले बताउने गरेका छन् ।
कार्कीको दावीअनुसार सहकारी पीडितको जिल्ला अदालतमा चलिरहेको मुद्दामा कायम भएको विगो १ अर्ब ३० करोडको ६० प्रतिशत अर्थात ७८ करोड मात्र सहकारी पिडीतलाई उपलब्ध गराउँदा हुने देखिन्छ ।
त्यसमध्ये सहकारीबाट गएको असुली हुन सक्ने ऋण र उपलब्ध नगद तथा सुनचाँदीबाट लगभग ३० करोड रकम उपलब्ध भएको अवस्थामा देवकुमारको सम्पत्तिबाट बेहोर्नुपर्ने रकम केवल ४८ करोड मात्र हुन जान्छ ।
देवकुमारको बैंक ऋण करिब ३० करोड जोड्दा ८८ करोड खर्च गर्न सक्ने जग्गा ब्यापारीले साढे ती अर्बको सम्पत्ति पाउने भयो । यसरी दिलबहादुरले जग्गा व्यापारीलाई जग्गा दिलाउन अदालतले रोक्का राखेको जग्गा रोक्का फुकाउन पर्नेहुन्थ्यो ।
उनले सोही रोक्का फुकाउन पिडीतहरुलाई तमसुक थमाए र मिलापत्र गर्न अदालतमा पैसा बुझेको बयान गर्न लगाए । यसरी बचत कर्ताहरुले झुटो बयान दिएर मिलापत्र गरे तर अब सम्पत्ति शुद्धिकरण समेत गम्भिर अपराधको कसुरमा थुनामा रहेका देवकुमारको जग्गा फुक्का हुने कुनै सम्भावना रहेन ।
जग्गा नपाएपछि जग्गा ब्यापारिहरुले तमसुकको पैसा तिर्ने कुरा भएन । त्यसमा तमसुक समेत पिडीतहरुको हातमा नभई दिलबहादुरले खिचेर राखेका छन् । यसरी ११ सय भन्दा बढि बचतकर्ताहरुले कानुनी रुपमा सहकारीमा राखेको र अदालती प्रकृयाबाटै फिर्ता हुन सक्ने रकमको सट्टामा गैरकानुनी तमसुक मात्रै पाए ।
जुन तमासुक पनि कार्कीको कब्जामा छ । “अहिले पैसा नपाएको झुटो तमासुकमा फसियो । त्यही तमसुक समेत हामीसँग छैन” ति बचतकर्ता भन्छन् “अदालतमा पैसा बुझेको झुट्टा बयान समेत गर्न बाध्य पारी हामी जस्ता बचतकर्ताविरुद्ध एक प्रकारको अपराधिक विश्वासघात गरिएको अवस्था छ । झुट्टा तमसुक बनाउने, अर्काको कागजात कब्जा गरी राख्ने र अदालतमा झुट्टा बयान गर्ने गराउने गैरकानुनी काम उनै कार्कीले गरेका हुन् ।”
के भन्छन् अध्यक्ष कार्की ?
बचतकर्ता पीडितहरुको अध्यक्ष कार्कीले सहमतिको कानुुनी प्रक्रिया पुरा भइसकेपछि देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुुद्दा हालिदिएका कारण धोका भएको स्वीकार गरे ।
आफ्नो पहलमा धेरै साना बचतकर्ताले रकम फिर्ता पाएको तर ठूला बचतकर्ताका हकमा सरकारी वकिल कार्यालयबाट गम्भिर बदमासी भएको उनले आरोप लगाए ।
‘हामीलाई प्रसस्त कानुनी जानकारी समेत नदिई सरकारी वकिल कार्यालयले धोका दियो,’ कार्कीले सिधाकुरासँग भने, ‘उनीहरुले मिलापत्र गरे हुुन्छ भने हामीले त्यसै गरेका हौँ । तर, अहिले मिलापत्र भइसकेपछि अर्को मुद्दा लिएर गएर हालिदिएर सबै सम्पत्ति रोक्का गरिदियो ।’
यो धोकाबारे प्रश्न गर्दा सरकारी वकिल कार्यालयले हालको सरकार र गृहमन्त्री ओम प्रकाश अर्याललाई देखाउने गरेको कार्कीको आरोप छ । ‘सरकार र गृहमन्त्रीको ठाडो आदेशमा देवकुमारमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइएको हो,’ जिल्ला सरकारी वकिल कार्यालय बागलुङका प्रमुखको भनाई उधृत गर्दै कार्कीले भने ।
तर, सरकारी वकिल कार्यालय बागलुङले भने आफूहरुले बचकर्ताको हितकै लागि काम गरेको दाबी गरेको छ । जिल्ला न्यायधिवक्ता पूर्णप्रसाद शर्माले देवकुमार नेपालीविरुद्ध असोज २२ वा २३ गते शम्पत्ति शुद्धिकरणको मुुद्दा दायर गरिएको बताए । सहकारी ठगीको अनुसन्धान प्रहरीले र सम्पत्ति शुद्धिकरणको अनुसन्धान सम्पत्ति शुद्धिकरण विभागबाट भएको उनको भनाई छ ।
बचतकर्ता जाहेरीवालाहरु हामी मिलेर आयौँ भनेपछि मिलापत्रको कागजात भएको भन्दै न्यायाधिवक्ता शर्माले यसमा सरकारी वकिल कार्यालयमाथि कुनै शंका नगर्न उनले आग्रह गरे ।
‘दिलबहादुर कार्की लगायतहरु मिलेर आयौँ भनेपछि मिलापत्र गराई दिएको हो,’ शर्मा भन्छन्, ‘दिनेले दिएँ र लिनेले लिएँ भनेपछि यसमा अरु कुरा हाम्रो हुुँदैन । उहाँहरु मिलेर कागज गरेर आएपछि हामीले सनाखत गरेर अदालतमा बुझाईदिएको हो ।’
शर्माले आफूहरुले कुनै पनि निकाय वा व्यक्तिको दबाव वा प्रभावमा मुद्दा दर्ता नगरेको पनि दावी गरे ।