नेभिगेशन
समाज

जेनजी सहिद उमेश: दिउँसो गोलीले ढले, साँझ भिसा लागेको खबर आयो

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्कनुभयो ।

Ncell
Extreme Energy

बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाउनुभयो । ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।

सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उहाँ त्यही ढल्नु भएको थियो । साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो ।

उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाउनु भएको थियो । सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराउनुभएको थियो । त्यसबापत उमेशले मासिक रु १० हजार तलब प्राप्त गर्नुहुन्थ्यो ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्नुहुन्थ्यो । त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाउनुभएको थियो ।

श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि विसं २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गाैलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो ।

बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गर्नुभयो । लामो उपचार र स्वास्थ्य ठीक भएपछि पछिल्लो समय उहाँ वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारी हुनुहुन्थ्यो । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।

दिदी सुमित्रा भन्नुहुन्छ, “आमाबाले  साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो ।” परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाउनुभएका उमेश सानैदेखि खेलकुदमा फुटबल प्रेमी तथा खानपिनमा मःम र कफीको पारखी हुनुहुन्थ्यो । त्यसका लागि दिदीसँग खर्च मागी रहनुहुन्थ्यो । केही वर्षअघि फुटबल खेल्दा उहाँको हातसमेत भाँचिएको थियो ।
 
छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त  नदुखाउने युवा हुनुहुन्थ्यो । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, “साथीभाइको बीचमा उसले सबैको माया र सद्भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो ।”

भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।

जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने रु ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो ।

गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्नुहुन्छ, “म १०ः०० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।”

कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक रु १० हजार दिँदै आउनुभएको उमेशकी आमाको  भनाइ छ । छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आउनुभएको छ ।

पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुभएको छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उहाँहरू पुरानो घर फर्कनुभएको हो ।

सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम रु १५ लाख भने प्राप्त गरिसक्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ ।

यसबीचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबीच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।

सुशासन सहिद उमेशकी आमा रुँदै भन्नुहुन्छ, “कान्छोकाे निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिन ।” राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उहाँको सरकारलाई सुझाव छ ।

सहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याउनुभएको थियो । उमेशकी आमा भन्नुहुन्छ, “छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण स्थगित भएको छ ।
धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै  किसानहरु सङ्ग भेटवार्ता...