नेभिगेशन
समाज
नेताहरुको चुनावी दौड:

चाउरिएको एमाले, झस्किएको कांग्रेस र उत्साहित रास्वपा

रवि र बालेन रास्वपाका इलेक्सन मसिन हुन् । कांग्रेसले सभापति गगन र उपसभापति विश्वलाई इलेक्सन मसिन बनाएको छ। एमालेमा त जे हुन् ओली नै हुन्।

काठमाडौँ । यसअघिका चुनावमा प्रायजसो दलहरुले देशैभर सभा गर्थे, आफ्ना समर्थक र मतदाता भेला पारेर भोट माग्थे, गाउँदेखि सहरसम्म चुनावी माहोल निर्माण गर्थे। के यसपालिको चुनावमा यस्तै देखिँदैछ ?
फागुन २१ को चुनावका लागि दलहरुले चुनाव प्रचार गर्न अब केही दिनमात्रै बाँकी छ। मौन अवधि सुरु भएपछि दलहरुले न सभा गर्न पाउँछन्, न घर घरदैलो। अहिले कतिपय दलहरुले ठूला सभा गरिरहेका छन्, कतिपय दलका नेता र उम्मेदवारहरु सभा भन्दा पनि घरदैलो गरेर मतदाता भेटघाटमै व्यस्त छन्। 

पहिले ठूलठूला आमसभा गरेर शक्ति प्रदर्शन गर्ने कांग्रेस, एमाले, माओवादी(हालको नेकपा), राप्रपा लगायत दल र तिनका नेता घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभा र घरदैलोलाई सँगसँगै अगाडि बढाएको छ। अरु दलहरुले घरदैलोलाई मात्रै प्राथमिकतामा राख्दा रास्वपाले किन सभा पनि गरिरहेको छ? चर्चा र प्रतिस्पर्धामा रहेका भनिएका दलहरुको चुनावी रणनीति के छ? अनि शीर्ष नेताहरु केमा व्यस्त छन् ? कुन दलका ‘इलेक्सन मसिन’ को को हुन्? अब पालैपालो चर्चा गरौं। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरुमा कुरा गरौं एमालेको। एमाले त्यही पार्टी हो, जुन गएको भदौ २४ गतेसम्म सत्तामा थियो र सरकारको नेतृत्व गरेको थियो, प्रधानमन्त्री थिए– एमाले अध्यक्ष केपी ओली। जेनजी आन्दोलनको राप र तापले ओली सरकारलाई अपदस्थ गर्यो। उनै ओलीले अहिले पनि भनिरहेका छन्– एमालेले बहुमत ल्याउँछ, ठूलो दल बन्छ, चुनावपछि पनि सरकारको नेतृत्व एमालेले नै गर्छ, मैले नै गर्छु। 

Extreme Energy
citizen life

ओलीले यसो भनिरहँदा उनले के गरिरहेका छन् त? त्यो पनि बुझौं। बालकोटको घर जलेपछि गुण्डु बसाइँ सरेका ओली विगत केही दिनदेखि झापामा छन् । झापा–५ मा उम्मेदवार बनेका ओली यति दबाबमा छन् कि विगतका कुनै पनि चुनावमा घरदैलो नगरेका उनी अहिले आफ्ना मतदाताको घरघरमा पुगिरहेका छन्, हात जोडेर मत मागिरहेका छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापा–५ मै उम्मेदवारी दिएपछि ओली दबाबमा परेका हुन्। विगतका चुनावमा चुनावी कमाण्डर बनेर देश दौडाहा गर्ने ओली यसपालि झापामै खुम्चिएका छन्। ओली झापामा व्यस्त छन्, एमालेका अरु नेताहरु पनि आ आफ्नो क्षेत्रमा व्यस्त छन्।

सम्भवतः ओलीमा चुनावी भय देखिएको यो पहिलो पटक होला। संविधानसभाको पहिलो चुनावमा हारेका ओलीले त्यसयता निरन्तर जितिरहेका छन्। अहिले पनि जित्छु त भनिरहेका छन्, तर ढुक्क छैनन्। त्यसैले त निर्वाचन क्षेत्र छाडेकै छैनन्। देशव्यापी चुनावी माहोलका बीच उनले झापा नछाड्नुको अर्को पनि कारण छ। त्यो हो– अरु कुनै पनि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरु अनि उम्मेदवार कसैले पनि उनलाई बोलाएका छैनन्।

नेपालीमा एउटा उखान छ– किन चाउरिस् मरिच आफ्नै रागले । ओली र उनले नेतृत्व गरेको एमाले आफै दबाबमा छ। जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको सबैभन्दा ठूलो धब्बा ओली र एमालेलाई नै लागेको छ। भदौ २३ र २४ मा जे नहुनु थियो, त्यही भयो। त्यो किन भयो? त्यसको कारण स्वयम् ओली र ओली नेतृत्वको सरकार थियो।

वर्षौंदेखि व्याप्त ओली प्रवृत्तिले आजित भएका युवाहरुको कदम थियो– जेनजी आन्दोलन। जेनजी आन्दोलनपछि एमालेले महाधिवेशन पनि गर्यो, तर, त्यो महाधिवेशनले न ओलीलाई सुधार्यो, न एमालेलाई। यसकारण पनि ओली अनि एमालेका उम्मेदवारहरु सबै दबाबमा छन्, जहाँ जान्छन्, प्रश्नको घेरामा परिहाल्छन्। 

विगतमा सडकमा सबैभन्दा बढी कार्यकर्ता सडकमा उतार्ने पार्टी एमाले नै हो। इतिहासले यही भन्छ। तर, यसपालि त्यस्तो देखिएको छैन। एमाले सुस्ताएको छ, चाउरिएको छ। 

झापा ५ मा घरदैलो गर्दै केपी शर्मा ओली । तस्बिरः केपी ओलीको सचिवालय
झापा ५ मा घरदैलो गर्दै केपी शर्मा ओली । तस्बिरः केपी ओलीको सचिवालय 

एमालेपछि कुरा गरौं कांग्रेसको।
उम्मेदवारी दर्तापछि मंसिर ६ गते जनकपुरमा आमसभा गरेर चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने घोषणा गर्यो। तर, आमसभा गरेन। घोषणा गरेका सभा पनि स्थगित गर्यो। ‘अबकि बार १०० पार’को नारा लगाइरहेको कांग्रेस आमसभा गर्न किन हच्कियो?  यसका केही कारण छन्।

पहिलो– सभापति गगनकुमार थापा अहिले सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। मधेशमा कांग्रेसको विरासत फर्काउने घोषणासहित सर्लाही झरेका गगन आफैं दबाबमा छन्। पहिले कांग्रेसबाटै निर्वाचित, गएको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित अनि अहिले रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले थापालाई दबाबमा राखेका छन्। सर्लाही–४ गगनका लागि नयाँ हो। त्यहाँका केही नेता त परिचित थिए होलान्, तर मतदाता बिल्कुल नयाँ। त्यहाँका सबै मतदातासँग चिनजान गर्नै उनलाई भ्याइनभ्याई छ। 

काठमाडौं–सर्लाही गर्दा गर्दै ठिक्क छ, गगनलाई। आफू अन्य निर्वाचन क्षेत्र जान नभ्याउने ठानेर नै उनले निर्देशन जारी गरेका छन्– कसैले पनि आफ्नो निर्वाचन क्षेत्र नछाड्नू। पार्टीले नै सबै प्रदेश, जिल्ला र नेताहरुलाई लिखित रुपमा निर्देशन जारी गरेको छ– जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ। यसलाई कांग्रेसले चुनावी नीति नै बनाएको छ। 

कांग्रेस आफैंमा ‘मास बेस्ड’ पार्टी हो। विगतका चुनावमा कांग्रेसले देशका ५–७ वटा सहरमा चुनावी सभा गरेर, नेतृत्वलाई सहभागी गराएर अनि वरपरका जिल्लाबाट कार्यकर्ता र समर्थकलाई नेताको भाषण सुनाएर चुनावी माहोल बनाउँथ्यो। अहिले कांग्रेसले त्यसो गरेको छैन। निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्मा केही जिल्लामा पुगे पनि अन्य नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्, केही नेता त मौन छन्।

कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छान्यो। नयाँ नेतृत्वले प्रत्यक्षतर्फका उम्मेदवार छान्यो। समानुपातिकतर्फ शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले उम्मेदवार छाने, प्रत्यक्षतर्फ गगन–विश्वले छाने। उम्मेदवार छनोटमै विवाद देखियो, केही जिल्लामा त विद्रोह नै भयो। उम्मेदवार छनोटमा देखिएको असन्तुष्टि व्यवस्थापनमै सकस छ, अहिलेसम्म। कतिपयले त भन्छन्– यसको असर फागुन २१ मा देखिन सक्छ।

के यत्ति मात्रै हो त? होइन। एमाले र ओलीप्रति आम मानिसको जे बुझाइ छ– त्यही बुझाइ कांग्रेसप्रति पनि छ। किनभने भदौ २४ सम्म कांग्रेस पनि ओलीकै सत्ता साझेदार थियो, भदौ २३ मा नवयुवाहरुमाथि गोलीको वर्षा हुँदा गृहमन्त्री थिए– कांग्रेस नेता रमेश लेखक। कांग्रेस नेतृत्वले लेखकलाई यसपालि टिकट त दिएन, लेखकसँग कुनै ‘एक्सन’ लिएन। कांग्रेस सबै दोष एमालेमाथि थोपरेर आफू चोखिने दाउमा छ। तर, जनताले कांग्रेसलाई सोधिरहेका छन्– के कांग्रेसले भदौ २३ र २४ को जिम्मेवारी लिनुपर्दैन? देशमा व्याप्त विकृति, भ्रष्टाचार, कुशासन र विसंगतिको जिम्मेवारी लिनुपर्दैन? 

झापा ५ मा घरदैलो गर्दै केपी शर्मा ओली । तस्बिरः केपी ओलीको सचिवालय
सर्लाही ४ मा स्थानीय मतदातालाई सम्बोधन गर्दै गगन थापा । तस्बिरः गगन थापाको फेसबुक

‘लड्डु जुधाएर चिनी झारेर खाने’ यो उखान नसुन्ने त कमै हौंला। नेपालको राजनीतिमा यो उखान लागू हुन्छ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डमा। तत्कालीन माओवादी शान्ति प्रक्रियासँगै जब संसदीय राजनीतिमा आयो, सत्ता र संसदीय राजनीतिका निकै माहिर खेलाडी बनेर निस्किए– प्रचण्ड। २०७९ को चुनावपछि त उनले सत्ताका लागि कतिसम्म गरे भने गठबन्धन कतिबेला बन्छ, कतिबेला भत्किन्छ, कसैले अनुमान नै लगाउन नसक्ने अवस्था आयो। संसदमा जम्मा ३२ सिटसहित तेस्रो स्थानमा । तर, प्रचण्ड संसदीय राजनीतिमा पहिलो नम्बरमा रहिरहे– कांग्रेस र एमालेलाई भिडाएर। ३२ सिटलाई त उनले ‘म्याजिक’ नम्बर नै भनिदिए। 

जेनजी आन्दोलनपछि प्रचण्डले माओवादीको केन्द्रीय समिति विघटन गरे, आफैंलाई संयोजक तोके। पछि साना कम्युनिस्ट घटकहरु भेला गरेर नेकपा बनाए, फेरि आफैं संयोजक बने। चुनावमा तालमेल गर्न सकिन्छ कि भनेर जोखाना हेरे, अरुले नपत्याएपछि एक्लै चुनावमा होमिए। चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने प्रचण्ड यसपालि सुरक्षित ठाउँ खोज्दै रुकुम पूर्व पुगेका छन्। रुकुमपूर्व पुग्दा पनि चिप्लिने हो कि भन्ने डर छ। अहिले उनी त्यहाँका डाँडापाखा चहारिरहेका छन्, घरघर पुगेर हात जोडेर भोट मागरिरहेका छन्। उनी त्यहीँ व्यस्त छन्, नेकपाका अरु नेताहरु पनि आ आफ्नो क्षेत्रमै व्यस्त छन्, नेकपाले ठूला आमसभाको त योजना पनि बनाएको छैन।

634478874_1244935480947709_9205589040037148293_n-1772110301.jpg
रुकुमपूर्व मा मतदातासँग प्रचण्ड

विघटित संसदका तीन ठूला दलपछि अब कुरा गरौं चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को।

अहिले देशैभर कुनै पार्टीले चुनावी माहोल बनाइरहेको छ भने त्यो पार्टी हो– रास्वपा। 
रास्वपाका दुई शीर्ष नेता– सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवै जना उम्मेदवार छन्। तर, यी दुवै नेता आफ्नो निर्वाचन क्षेत्रमा कम र देश दौडाहामा बढी व्यस्त छन्। हरेक जिल्ला र निर्वाचन क्षेत्रबाट यी नेताहरुको माग भइरहेको छ, जहाँ पुग्छन् त्यहाँ स्थानीय मतदाताको भीड लाग्छ।

भैरहवामा रास्वपा उम्मेदवार सुलभ खरेलसँग सभापति रवि लामिछाने । तस्बिरः रवि लामिछानेको सचिवालय
भैरहवामा रास्वपा उम्मेदवार सुलभ खरेलसँग सभापति रवि लामिछाने । तस्बिरः रवि लामिछानेको सचिवालय

माघ ५ गते जनकपुरमा आमसभा गरेर चुनावी अभियान थालेको रास्वपाले यसबीचमा धनगढी, सुर्खेत र इटहरीमा ‘परिवर्तन उद्घोष सभा’ गरिसकेको छ। चार वटै सभालाई रवि र बालेन दुवैले सम्बोधन गरे। केही दिनअघि हेटौंडामा आयोजित सभामा रवि पुगे। रवि र बालेन जहाँ पुग्छन्– हजारौंको भीड लाग्छ। स्पष्टै देखिन्छ– चुनावी माहोल रास्वपाले निर्माण गरिरहेको छ। 

तराई मधेश होस् वा पहाडी क्षेत्र, सुदूरपूर्व होस् वा सुदूरपश्चिम, मध्यपहाडी क्षेत्र होस् वा कर्णाली, रवि र बालेन पुगिरहेकै छन्, कतै सँगै, कतै एक्ला–एक्लै। एकाबिहानै होस् वा साँझ, मतदाता र समर्थकहरुले पर्खिरहेकै हुन्छन्। भोट कतिले दिन्छन्– फागुन २१ मै थाहा होला। कतिले प्रश्न पनि सोधेका छन्, प्रश्न सोध्नेले जवाफ पनि पाएका छन्। साँच्चै भन्ने हो भने– आम मानिसमा चुनाव आयो भन्ने सन्देश रवि–बालेन ‘मुभ’ले दिइरहेको छ।

अब कुरा गरौं इलेक्सन मसिनको।
दलहरुले चुनावका बेला आफ्ना केही नेताहरुलाई इलेक्सन मसिनका रुपमा खटाउँछन्, परिचालन गर्छन्। जुन–जुन नेताहरुलाई अघि सार्दा जनताले पत्याउँछन्, जसको प्रभाव बढी छ, तिनै नेताहरुलाई दलहरुले खटाउँछन्। यो संसारभर चलेको अभ्यास हो। 

रवि र बालेन रास्वपाका इलेक्सन मसिन हुन् । रवि र बालेनप्रति जनताको आशा र भरोसा देखिएको छ। रविको लोकप्रियताले रास्वपा स्थापित भयो, अहिले त्यसमा बालेनको लोकप्रियता थपिएको छ। रवि र बालेन जहाँ पुग्छन्– उनीहरुले त्यहीँको मुद्दा रास्वपाको एजेण्डा हो भन्छन्।

झापा ५ मा स्थानिय वृद्धसँग कुरा गर्दै रास्वपा वरिष्ठ नेता बालेन शाह । 

कांग्रेसले सभापति गगन र उपसभापति विश्वलाई इलेक्सन मसिन बनाएको छ। गगनले पार्टी हाँक्छन्, विश्वले चुनावी अभियान हाँक्दैछन्। गगन आफ्नो निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र देखिएका छैनन्, सामाजिक सञ्जालमा स्टेटस र भिडियो मात्र पोस्ट गरिरहेका छन्। आफैं उम्मेदवार नरहेका विश्व विभिन्न जिल्लामा त पुगिरहेका छन्, तर, उनी सहभागी  कार्यक्रम होटल र पार्टी प्यालेसका हलमा सीमित छन् । 

एमालेमा त जे हुन् ओली नै हुन्। ओली जे चाहन्छन्, त्यही निर्णय गर्छन्। मन परेकालाई टिकट दिए, नपरेकालाई दिएनन्। गुण्डुबाट होस् वा झापा, उनले एक्लै चुनाव हाँकीरहेका छन्। नेकपाको त के कुरा गर्नु र? जति बोले पनि उनै प्रचण्ड हुन्, जो आफैं दबाबमा छन्। 
लोकतन्त्रमा मुलुकको शासन सत्ता सम्हाल्ने दलहरुले नै हो। दलहरुमा सत्तामा जाने अधिकार जति छ, त्यत्ति नै दायित्व पनि छ। जनता जगाउनेदेखि सर्भिस डेलिभरीसम्मको दायित्व दलहरुकै हो। प्राविधिक रुपमा निर्वाचन आयोग र सरकारले चुनाव गराउँछन्। यहाँ भन्नै पर्छ– निर्वाचन सफल पार्ने दायित्व राजनीतिक दलहरुकै हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
नदी किनाराका अवैध बस्ती खाली गराउने कार्य जारी, सुकुम्वासी परिवारलाई १५ दिनभित्र नागार्जुनको अपार्टमेन्टमा राखिने

नदी किनाराका अवैध बस्ती खाली गराउने कार्य जारी, सुकुम्वासी परिवारलाई १५ दिनभित्र नागार्जुनको अपार्टमेन्टमा राखिने

यसक्रममा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ स्थित...
युएईविरुद्ध नेपालको जित

युएईविरुद्ध नेपालको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...
अपडेटः सुकुम्बासी बस्तीबाट हटाइएका ६८ परिवारको तथ्यांक संकलन

अपडेटः सुकुम्बासी बस्तीबाट हटाइएका ६८ परिवारको तथ्यांक संकलन

उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ। थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ।

भर्खरै