निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपुर्व साथ दिएका छन् । रास्वपा दुई तिहाइको नजिक पुगेको छ ।
अधिकांस जिल्लामा रास्वपाले क्लिनस्पि गरेको छ । ३ वर्ष अघि उदाएको रास्वपालाई दुई तिहाई सुम्पिएका जनताले नेपाली कांग्रेस, नेकपा एमालेलाई पत्तासाफ गराएका छन् ।
जनताले मतको विद्रोह किन गरे ? आउनुहोस् चर्चा गरौँ ।
००००
अहंकारीको अन्त्य दर्दनाक हुन्छ । संख्याको आडमा अहंकार भिडाइरहेको सत्ता गएको भदौ २४ मै ढल्यो । त्यो त सुरुवात मात्र थियो । सत्ता र संख्याको आडमा वर्षौंदेखि देश लुटिरहेकाहरुलाई फागुन २१ ले यसरी ढालिदियो कि, लाग्छ– उनीहरुले पानीसम्म भन्न पाएनन् ।
फागुन २१ मा भोट हालेर घर फर्केका तपाइँ हामी सबैलाई लागेको थियो– नतिजा कस्तो आउला ? सबैलाई कौतुहलता थियो । धेरैलाई आशा थियो– पक्कै पनि परिवर्तन चाहनेले जित्ने छन्, दम्भ देखाउनेहरु पराजित हुने छन् । झिनो आशंका पनि थियो– कतै पुरानै अहंकारीले टाउको ठड्याउने त होइनन् ?
जब मत परिणाम सार्वजनिक हुन थाल्यो– आशाहरु परिणाममा देखिन थाले, आशंकाहरु हट्न थाले । अब प्रष्ट भन्न सक्छौं– दम्भले घुँडा टोक्यो, अहंकारको अवसान भयो, मनपरीतन्त्रको अन्त्य भयो ।
मतपरिणाम नियालिरहनु भएका तपाईंहरुलाई अहिले पक्कै लागेको होला– राजनीतिक समीकरण फेरियो, संख्या खेल सकियो । देशले अब बाटो समात्छ, पक्कै नयाँ नेपालको मार्गमा मुलुक अगाडि बढ्छ ।
एक पटक कल्पना गरौं त– तपाईं हामीले नयाँ नेपालको चाहना राखेको कति भयो ? तीन पुस्ताले आन्दोलनमै जीवन बितायो । १९९७ सालदेखि २०८२ सालसम्म आन्दोलनमै बित्यो । हजारौंको रगतको खोलो बग्यो । तर, त्यो रगतलाई सीमित दल र नेताहरुले सत्ता सन्चालनको लाइसेन्स ठाने । अहिलेको चुनावले त्यो लाइसेन्सलाई सिधै बदर गरिदिएको छ ।
दम्भ र अहंकारका प्रतिमूर्ति हुन्– एमाले अध्यक्ष केपी ओली । मतदानको दुई दिन अघिसम्म पनि उनले दम्भ देखाइरहेका थिए । भनिरहेका थिए– यो चुनाव देश जलाउने र देश बनाउनेहरु बीचको प्रतिस्पर्धा हो । उनी अझै पनि आफूलाई देश बनाउने नेता ठानिरहेका थिए । तर, आफ्ना कारणले ७७ जना नवयुवाहरुको कत्लेआम भएको र त्यसैको आक्रोशमा देशभर आगो लागेको लुकाइरहेका थिए । ओलीले आफ्नै बिर्ता ठानिरहेको झापा–५ कै जनताले उनको दम्भमा आगो लगाइदिएका छन्, उनको अहंकारलाई खरानी बनाइदिएका छन् ।
भदौ २३ को नरसंहार र भदौ २४ को विध्वंसका नाइके ओली हुन् । ओलीले अरुमाथि दोष थोपर्न खोजे पनि सबैभन्दा बलिया जनता हुन् र जनताले ओलीलाई दोषी देखिरहेका छन् । यो चुनावमार्फत जनताले आफ्नो तर्फबाट सजाय दिइसकेका छन् ।
ओलीका सत्ता साझेदार अथवा सबैभन्दा बलिया सारथि हुन्– कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतर्फ सोझिएपछि उनै देउवाले रातारात ओलीसँग ७ बुँदे सहमति गरेर सरकार नै ढालिदिए । जोमाथि अनुसन्धान हुनुपर्ने हो, ओलीले उनैलाई परराष्ट्रमन्त्री बनाइदिए । मुलुकमा शासन त ओलीको भन्दा पनि– आरजु राणा देउवा अर्थात 'गणतन्त्रकी पम्फादेवी'को चल्न थाल्यो। भदौ २२ सम्मका ती शेरबहादुर, ती आरजु । अनि आजका तिनै शेरबहादुर अनि तिनै आरजु । हेरौं त उनीहरुको हविगत ।
जेनजी आन्दोलनमा जनताले बुढानीलकण्ठ दरबार जलाए, उनीहरुले घरमा थुपारेको पैसा पनि जलाइदिए । धक्का मुक्का पनि भेटे । त्यसपछि पार्टीबाट अपदस्थ गरिए । देशमा चुनावको यति ठूलो महोत्सव चलिरहँदा देउवा दम्पत्ति देशमा छैनन्, उपचारको नाममा सिंगापुरमा छन् । उनीहरुको उपचार हुनुपर्छ, त्यसमा दुई मत छैन । तर, भोट हाल्नुभन्दा दुई दिनअघि सिंगापुर उड्नुपर्ने कस्तो बाध्यता आइलाग्यो उनीहरुलाई ?
नेपालको राजनीतिमा शेरबहादुर देउवा यस्ता पात्र हुन्– जो ३५ वर्षदेखि सत्तामा थिए । ५ पटक त प्रधानमन्त्री नै भए । उनमा लोभको भकारी अझै भरिएको थिएन । फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए । देउवाको शक्तिको आडमा कुशासनको साम्राज्य फैलाउने पात्र हुन्– आरजु । पछिल्ला वर्षहरुमा सार्वजनिक भएका भ्रष्टाचारका काण्डहरुमा आरजुको नाम आइरह्यो । सानेपादेखि सिंहदरबारसम्म एकछत्र छाएको आरजुको त्यो प्रभावलाई पनि जेनजी आन्दोलनले सिध्याइदियो ।
परिवर्तनको सुनामीले ओली र देउवाको दम्भ अनि अहंकारलाई मात्रै बढारेन, देउवालाई कांग्रेसबाटै बढार्ने नयाँ कांग्रेसका सभापति गगन थापालाई पनि बढार्दै छ । गगनले नेतृत्व गरेको कांग्रेसले यो चुनावमा भोग्नु परेको जस्तो सर्मनाक हार त कांग्रेसले अहिलेसम्म बेहोर्नु परेको थिएन । गगनले पार्टी कब्जा गरे, भृकुटीमण्डपबाट आफैंलाई सभापति घोषणा गरे, के अब उनी आफैं पार्टीमा जोगिन सक्छन् ? हिजो उनले देउवामाथि जसरी औंला उठाउँथे, के अब उनीमाथि कांग्रेसका अरु नेता र कार्यकर्ताले प्रश्न उठाउँदैनन् ?
केपी ओली, शेरबहादुर देउवा, आरजु राणा र गगनकुमार थापा त प्रतिनिधिपात्र मात्र हुन् । सुनामीको छालले बगाएका पात्र त कति छन् कति ।
अब प्रश्न उठ्छ– फागुन २१ को चुनावमा कसरी जनमतको सुनामी आयो ? रास्वपालाई किन जनताले मत खन्याए ? अनि रास्वपाको यो अभूतपूर्व जित कसरी सम्भव भयो ? यी प्रश्नहरुको पनि एक एक जवाफ खोजौं ।
इतिहास र संख्याको दम्भ देखाएर वर्षौंदेखि हालिमुहाली गरिरहेका शक्तिहरुलाई रास्वपाले अघिल्लो चुनावमै सुनामीको संकेत गरिसकेको थियो । खतराको घण्टी बजाइसकेको थियो । रवि लामिछाने नेतृत्वको रास्वपा २१ सिट लिएर संसदमा प्रवेश गर्दा नै पुराना र शक्तिशाली भनिएका दल अनि तिनका नेताहरुको मथिंगल हल्लिसकेको थियो । उनीहरुले आफूहरुलाई असुरक्षित महसुस गरिसकेका थिए ।
हो, त्यही भएर त उनीहरुले रवि र रास्वपालाई सरकारमा देख्न सकेनन्, अनेक प्रपञ्च रचेर रास्वपालाई सत्तामा बस्न नसक्ने परिस्थिति सिर्जना गरे ।
उनीहरुले रविलाई संसदमा पनि देख्न सकेनन् । कपोलकल्पित आरोपहरु लगाइयो । लाजलाग्दो त कुरा यो छ कि– आफूलाई संसदीय प्रणालीको हिमायती ठान्ने कांग्रेसले महिनौंसम्म सदन चल्न दिएन । केबल एक व्यक्ति- रविको नाममा संसदलाई बन्धक बनाइदियो । उनै गगन थापाले संसदको टेबल ठोकी ठोकी रविविरुद्ध प्रमाण छ भनिरहे । ती प्रमाण खै ? खोई कसले भेट्यो ?
सरकार फेरे । संसदीय समितिको रिपोर्टको नाममा मुद्दा हाले । मुद्दा पनि यसरी हाले कि, अब रविले कहिल्यै टाउको नउठाओस् भनेर आरोपमाथि आरोप लगाए । सहकारी ठगी, संगठित अपराध अनि सम्पत्ति शुद्धीकरणको मुद्दा । आधा दर्जन जिल्लामा मुद्दा । उद्देश्य थियो– कसैगरी उम्किन नपाओस् । अड्डासार गरिरहे । जेल फेरिरहे । कानुनको गलत व्याख्या र गलत अभ्यास गरेर थुनिरहे । तर, अदालतले रविलाई छाडिदियो । भन्छन् नि– पाप धुरीबाट कुर्लन्छ । अहिले कांग्रेस र एमालेलाई त्यस्तै भएको छ ।
भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ, जनताले सहज रुपमा सेवा पाउनुपर्छ, डेलिभरीमा सुधार गर्नुपर्छ भनेर नै रविले रास्वपा खोलेका थिए । यिनै उद्देश्यमा सहमत भएकाहरु रास्वपामा जोडिएका थिए । तर, सत्तामा जरा गाडेकाहरुलाई त्यो पचेन ।
रविलाई त जेलमै सडाउन खोजेका थिए । रवि जेलमै थिए । तर, भदौ २३ मा नवयुवाहरुले आन्दोलनको सुनामी ल्याइदिए । जेनजीले के मागेका थिए र ? समग्रमा उनीहरुको जम्मा एउटा माग थियो– सुशासन । सुशासन कायम भए आफूहरुको भविष्य सुरक्षित हुन्छ भन्ने थियो । तर, ओली र देउवाहरुले सुशासन माग्ने युवाहरुलाई बैरी ठाने । शत्रुलाई झै गोली वर्षाए ।
भदौ २३ मा आफ्ना छोरा छोरीमाथि गोली वर्षाउनेहरुलाई जनताले अहिले ब्यालेटबाट जवाफ दिएका हुन् । परिवर्तनको चाहनालाई जनताले मतपत्रमा अभिव्यक्त गरेका हुन् । सुशासनका लागि रास्वपालाई साथ दिएका हुन् । जनताको आवाज बोल्ने रवि, जनताको समस्या बोक्ने रवि । सुशासनको छवि बनाएका बालेन । युवाहरुमा आशा जगाएका बालेन । हो, रवि र बालेनको यही छबि र व्यक्तित्वमा जनताले आशा देखेका हुन् । उनीहरुमाथि जनताले भरोसा गरेका हुन् ।
जनताले जवाफ अर्को पनि दिएका छन् त्यो हो– संख्या । हिजो कांग्रेस र एमालेले अंकगणितको दम्भ देखाए । अंकगणितका नाममा भ्रष्टाचार र कुशासनको साम्राज्य जमाए । जनतालाई लाग्यो– सुशासन र विकासका लागि संख्या पनि चाहिने रहेछ । त्यही भएर अहिले जनताले रास्वपालाई बहुमत मात्रै होइन, दुई तिहाइकै भर दिएका छन् । कांग्रेस र एमालेको दुई तिहाइको दम्भ तोडिदिएका छन् । यसको अर्थ हो– सरकार चलाउन र कानुन बनाउन बहुमत, संविधान नै संशोधन गर्नुपर्यो भने दुई तिहाइ । रास्वपालाई जनताले सजिलो बनाइदिँदै छन् । अब रास्वपाले संख्याको अभाव भोग्नु पर्ने छैन, कानुनको जालझेल पनि झेल्नुपर्ने छैन ।