नेभिगेशन
समाज

मतको विद्रोह: अहंकारको अवसान,प्रतिशाेधको हिसाब

निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपुर्व साथ दिएका छन् । रास्वपा दुई तिहाइको नजिक पुगेको छ ।

अधिकांस जिल्लामा रास्वपाले क्लिनस्पि गरेको छ । ३ वर्ष अघि उदाएको रास्वपालाई दुई तिहाई सुम्पिएका जनताले नेपाली कांग्रेस, नेकपा एमालेलाई पत्तासाफ गराएका छन् ।
जनताले मतको विद्रोह किन गरे ? आउनुहोस् चर्चा गरौँ । 
००००
अहंकारीको अन्त्य दर्दनाक हुन्छ । संख्याको आडमा अहंकार भिडाइरहेको सत्ता गएको भदौ २४ मै ढल्यो । त्यो त सुरुवात मात्र थियो । सत्ता र संख्याको आडमा वर्षौंदेखि देश लुटिरहेकाहरुलाई फागुन २१ ले यसरी ढालिदियो कि, लाग्छ– उनीहरुले पानीसम्म भन्न पाएनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन २१ मा भोट हालेर घर फर्केका तपाइँ हामी सबैलाई लागेको थियो– नतिजा कस्तो आउला ? सबैलाई कौतुहलता थियो । धेरैलाई आशा थियो– पक्कै पनि परिवर्तन चाहनेले जित्ने छन्, दम्भ देखाउनेहरु पराजित हुने छन् । झिनो आशंका पनि थियो– कतै पुरानै अहंकारीले टाउको ठड्याउने त होइनन् ? 

Ncell
Extreme Energy

जब मत परिणाम सार्वजनिक हुन थाल्यो– आशाहरु परिणाममा देखिन थाले, आशंकाहरु हट्न थाले । अब प्रष्ट भन्न सक्छौं– दम्भले घुँडा टोक्यो, अहंकारको अवसान भयो, मनपरीतन्त्रको अन्त्य भयो ।  
मतपरिणाम नियालिरहनु भएका तपाईंहरुलाई अहिले पक्कै लागेको होला– राजनीतिक समीकरण फेरियो, संख्या खेल सकियो । देशले अब बाटो समात्छ, पक्कै नयाँ नेपालको मार्गमा मुलुक अगाडि बढ्छ । 
एक पटक कल्पना गरौं त– तपाईं हामीले नयाँ नेपालको चाहना राखेको कति भयो ? तीन पुस्ताले आन्दोलनमै जीवन बितायो । १९९७ सालदेखि २०८२ सालसम्म आन्दोलनमै बित्यो । हजारौंको रगतको खोलो बग्यो । तर, त्यो रगतलाई सीमित दल र नेताहरुले सत्ता सन्चालनको लाइसेन्स ठाने । अहिलेको चुनावले त्यो लाइसेन्सलाई सिधै बदर गरिदिएको छ ।

दम्भ र अहंकारका प्रतिमूर्ति हुन्– एमाले अध्यक्ष केपी ओली । मतदानको दुई दिन अघिसम्म पनि उनले दम्भ देखाइरहेका थिए । भनिरहेका थिए–  यो चुनाव देश जलाउने र देश बनाउनेहरु बीचको प्रतिस्पर्धा हो । उनी अझै पनि आफूलाई देश बनाउने नेता ठानिरहेका थिए । तर, आफ्ना कारणले ७७ जना नवयुवाहरुको कत्लेआम भएको र त्यसैको आक्रोशमा देशभर आगो लागेको लुकाइरहेका थिए । ओलीले आफ्नै बिर्ता ठानिरहेको झापा–५ कै जनताले उनको दम्भमा आगो लगाइदिएका छन्, उनको अहंकारलाई खरानी बनाइदिएका छन् । 

भदौ २३ को नरसंहार र भदौ २४ को विध्वंसका नाइके ओली हुन् । ओलीले अरुमाथि दोष थोपर्न खोजे पनि सबैभन्दा बलिया जनता हुन् र जनताले ओलीलाई दोषी देखिरहेका छन् । यो चुनावमार्फत जनताले आफ्नो तर्फबाट सजाय दिइसकेका छन् । 

ओलीका सत्ता साझेदार अथवा सबैभन्दा बलिया सारथि हुन्– कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई बुढानीलकण्ठतर्फ सोझिएपछि उनै देउवाले रातारात ओलीसँग ७ बुँदे सहमति गरेर सरकार नै ढालिदिए । जोमाथि अनुसन्धान हुनुपर्ने हो, ओलीले उनैलाई परराष्ट्रमन्त्री बनाइदिए । मुलुकमा शासन त ओलीको भन्दा पनि– आरजु राणा देउवा अर्थात 'गणतन्त्रकी पम्फादेवी'को चल्न थाल्यो। भदौ २२ सम्मका ती शेरबहादुर, ती आरजु । अनि आजका तिनै शेरबहादुर अनि तिनै आरजु । हेरौं त उनीहरुको हविगत ।

जेनजी आन्दोलनमा जनताले बुढानीलकण्ठ दरबार जलाए, उनीहरुले घरमा थुपारेको पैसा पनि जलाइदिए । धक्का मुक्का पनि भेटे । त्यसपछि पार्टीबाट अपदस्थ गरिए । देशमा चुनावको यति ठूलो महोत्सव चलिरहँदा देउवा दम्पत्ति देशमा छैनन्, उपचारको नाममा सिंगापुरमा छन् । उनीहरुको उपचार हुनुपर्छ, त्यसमा दुई मत छैन । तर, भोट हाल्नुभन्दा दुई दिनअघि सिंगापुर उड्नुपर्ने कस्तो बाध्यता आइलाग्यो उनीहरुलाई ? 

नेपालको राजनीतिमा शेरबहादुर देउवा यस्ता पात्र हुन्– जो ३५ वर्षदेखि सत्तामा थिए । ५ पटक त प्रधानमन्त्री नै भए । उनमा लोभको भकारी अझै भरिएको थिएन । फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए । देउवाको शक्तिको आडमा कुशासनको साम्राज्य फैलाउने पात्र हुन्– आरजु । पछिल्ला वर्षहरुमा सार्वजनिक भएका भ्रष्टाचारका काण्डहरुमा आरजुको नाम आइरह्यो । सानेपादेखि सिंहदरबारसम्म एकछत्र छाएको आरजुको त्यो प्रभावलाई पनि जेनजी आन्दोलनले सिध्याइदियो । 

परिवर्तनको सुनामीले ओली र देउवाको दम्भ अनि अहंकारलाई मात्रै बढारेन, देउवालाई कांग्रेसबाटै बढार्ने नयाँ कांग्रेसका सभापति गगन थापालाई पनि बढार्दै छ । गगनले नेतृत्व गरेको कांग्रेसले यो चुनावमा भोग्नु परेको जस्तो सर्मनाक हार त कांग्रेसले अहिलेसम्म बेहोर्नु परेको थिएन । गगनले पार्टी कब्जा गरे, भृकुटीमण्डपबाट आफैंलाई सभापति घोषणा गरे, के अब उनी आफैं पार्टीमा जोगिन सक्छन् ? हिजो उनले देउवामाथि जसरी औंला उठाउँथे, के अब उनीमाथि कांग्रेसका अरु नेता र कार्यकर्ताले प्रश्न उठाउँदैनन् ? 

केपी ओली, शेरबहादुर देउवा, आरजु राणा र गगनकुमार थापा त प्रतिनिधिपात्र मात्र हुन् । सुनामीको छालले बगाएका पात्र त कति छन् कति । 
अब प्रश्न उठ्छ– फागुन २१ को चुनावमा कसरी जनमतको सुनामी आयो ? रास्वपालाई किन जनताले मत खन्याए ? अनि रास्वपाको यो अभूतपूर्व जित कसरी सम्भव भयो ? यी प्रश्नहरुको पनि एक एक जवाफ खोजौं ।

इतिहास र संख्याको दम्भ देखाएर वर्षौंदेखि हालिमुहाली गरिरहेका शक्तिहरुलाई रास्वपाले अघिल्लो चुनावमै सुनामीको संकेत गरिसकेको थियो । खतराको घण्टी बजाइसकेको थियो । रवि लामिछाने नेतृत्वको रास्वपा २१ सिट लिएर संसदमा प्रवेश गर्दा नै पुराना र शक्तिशाली भनिएका दल अनि तिनका नेताहरुको मथिंगल हल्लिसकेको थियो । उनीहरुले आफूहरुलाई असुरक्षित महसुस गरिसकेका थिए । 

हो, त्यही भएर त उनीहरुले रवि र रास्वपालाई सरकारमा देख्न सकेनन्, अनेक प्रपञ्च रचेर रास्वपालाई सत्तामा बस्न नसक्ने परिस्थिति सिर्जना गरे । 
उनीहरुले रविलाई संसदमा पनि देख्न सकेनन् । कपोलकल्पित आरोपहरु लगाइयो । लाजलाग्दो त कुरा यो छ कि– आफूलाई संसदीय प्रणालीको हिमायती ठान्ने कांग्रेसले महिनौंसम्म सदन चल्न दिएन । केबल एक व्यक्ति- रविको नाममा संसदलाई बन्धक बनाइदियो । उनै गगन थापाले संसदको टेबल ठोकी ठोकी रविविरुद्ध प्रमाण छ भनिरहे । ती प्रमाण खै ? खोई कसले भेट्यो ? 

सरकार फेरे । संसदीय समितिको रिपोर्टको नाममा मुद्दा हाले । मुद्दा पनि यसरी हाले कि, अब रविले कहिल्यै टाउको नउठाओस् भनेर आरोपमाथि आरोप लगाए । सहकारी ठगी, संगठित अपराध अनि सम्पत्ति शुद्धीकरणको मुद्दा । आधा दर्जन जिल्लामा मुद्दा । उद्देश्य थियो– कसैगरी उम्किन नपाओस् । अड्डासार गरिरहे । जेल फेरिरहे । कानुनको गलत व्याख्या र गलत अभ्यास गरेर थुनिरहे । तर, अदालतले रविलाई छाडिदियो । भन्छन् नि– पाप धुरीबाट कुर्लन्छ । अहिले कांग्रेस र एमालेलाई त्यस्तै भएको छ । 

भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ, जनताले सहज रुपमा सेवा पाउनुपर्छ, डेलिभरीमा सुधार गर्नुपर्छ भनेर नै रविले रास्वपा खोलेका थिए । यिनै उद्देश्यमा सहमत भएकाहरु रास्वपामा जोडिएका थिए । तर, सत्तामा जरा गाडेकाहरुलाई त्यो पचेन । 

रविलाई त जेलमै सडाउन खोजेका थिए । रवि जेलमै थिए । तर, भदौ २३ मा नवयुवाहरुले आन्दोलनको सुनामी ल्याइदिए । जेनजीले के मागेका थिए र ? समग्रमा उनीहरुको जम्मा एउटा माग थियो– सुशासन । सुशासन कायम भए आफूहरुको भविष्य सुरक्षित हुन्छ भन्ने थियो । तर, ओली र देउवाहरुले सुशासन माग्ने युवाहरुलाई बैरी ठाने । शत्रुलाई झै गोली वर्षाए । 

भदौ २३ मा आफ्ना छोरा छोरीमाथि गोली वर्षाउनेहरुलाई जनताले अहिले ब्यालेटबाट जवाफ दिएका हुन् । परिवर्तनको चाहनालाई जनताले मतपत्रमा अभिव्यक्त गरेका हुन् । सुशासनका लागि रास्वपालाई साथ दिएका हुन् । जनताको आवाज बोल्ने रवि, जनताको समस्या बोक्ने रवि । सुशासनको छवि बनाएका बालेन । युवाहरुमा आशा जगाएका बालेन । हो, रवि र बालेनको यही छबि र व्यक्तित्वमा जनताले आशा देखेका हुन् । उनीहरुमाथि जनताले भरोसा गरेका हुन् । 

जनताले जवाफ अर्को पनि दिएका छन् त्यो हो– संख्या । हिजो कांग्रेस र एमालेले अंकगणितको दम्भ देखाए । अंकगणितका नाममा भ्रष्टाचार र कुशासनको साम्राज्य जमाए । जनतालाई लाग्यो– सुशासन र विकासका लागि संख्या पनि चाहिने रहेछ । त्यही भएर अहिले जनताले रास्वपालाई बहुमत मात्रै होइन, दुई तिहाइकै भर दिएका छन् । कांग्रेस र एमालेको दुई तिहाइको दम्भ तोडिदिएका छन् । यसको अर्थ हो– सरकार चलाउन र कानुन बनाउन बहुमत, संविधान नै संशोधन गर्नुपर्यो भने दुई तिहाइ । रास्वपालाई जनताले सजिलो बनाइदिँदै छन् । अब रास्वपाले संख्याको अभाव भोग्नु पर्ने छैन, कानुनको जालझेल पनि झेल्नुपर्ने छैन ।   
   
       
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।