नेभिगेशन
समाज

‘रवि लामिछानेलाई सांसदको शपथ लिन छैन रोकतोक’

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अब उनै केसीले भोलि(विहीबार) प्रतिनिधि सभाका अन्य नवनिर्वाचित सदस्यहरु(सांसदहरु) लाई शपथ ग्रहण गराउने छन् ।

प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । अब केसीले २ सय ७४ जनालाई शपथ गराउने छन् । संसद् सचिवालयले भोलि निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई शपथ गराउने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवनिर्वाचित सांसदहरुको शपथको तयारी भइरहँदा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिन पाउँछन् वा पाउँदैनन् भनेर चर्चा सुरु भएको छ ।

Everest cinsult

निर्वाचन आयोगले राष्ट्रपति, प्रधानमन्त्री र संसद सचिवालयलाई बुझाएको निर्वाचन प्रतिवेदनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको नामावलीमा रवि लामिछानेको नाम पनि समावेश गरेको छ । यसको अर्थ– रवि लामिछाने निर्वाचित सांसद हुन् र अरु सांसदहरु सरह उनले पनि शपथ लिन पाउने छन् ।

लामिछाने उम्मेदवार हुन योग्य थिए । त्यसैले उनले उम्मेदवारी दिए । निर्वाचन आयोगले सदर गर्यो । निर्वाचित भए । निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दियो । प्रतिवेदनमा नाम उल्लेख गर्यो । आयोगको जिम्मेवारी सकियो ।

अब शपथ गराउने जिम्मेवारी संघीय संसद् सचिवालयको हो । संघीय संसद् सचिवालयले पनि निर्वाचन आयोगले उपलब्ध गराएको नामावलीका आधारमा सबै सांसदहरुलाई भोलि शपथ गराउँदै छ र त्यसका लागि सबैलाई निम्ता पनि गरिसकेको छ । यसको अर्थ– शपथ ग्रहण गर्ने नवनिर्वाचित सांसदहरुको सूचीमा रवि लामिछाने पनि छन् ।

सचिवालयका प्रवक्ताले मिडियाहरुसँग भनेका छन्– ‘हामीले निर्वाचन आयोगले उपलब्ध गराएको सूचीका आधारमा नै शपथको व्यवस्था मिलाएका छौं । कसैलाई शपथ नगराउने भन्ने छैन ।’

यसको अर्थ हुन्छ– रवि लामिछानेले स्वाभाविक रुपमा भोलि प्रतिनिधिसभा सदस्य पदको शपथ लिने छन् ।

निर्वाचन आयोगले शपथ रोक्न भनेन, उसले भन्न पनि सक्दैन । र, संघीय संसद् सचिवालयले पनि शपथ गराउने तयारी गरिरहेको छ ।

तर, केहीले भने अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दालाई देखाएर संसद् सचिवालयले शपथ नगराउन सक्ने बताइरहेका छन् ।

रवि लामिछाने यसअघि सांसद रहेकै अवस्थामा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । २०८१ पुस ७ मा रविविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि त्यसको भोलिपल्ट ८ पुसमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बित भएको सूचना निकालेको थियो ।

त्यतिबेला सभामुख थिए– नेकपा एमालेका नेता देवराज घिमिरे । अदालतमा मुद्दा दर्ता भएको औपचारिक जानकारीसमेत संसद् सचिवालयमा नआइपुग्दै घिमिरेले लामिछाने निलम्बित भएको सूचना निकालेका थिए । त्यतिबेला जसरी हतारमा लामिछानेलाई निलम्बित गरिएको थियो, त्यसले पनि प्रश्न उब्जाएको थियो । रास्वपाका सांसदहरुले संसदमै प्रश्न उठाएका थिए ।

तर, अहिले परिस्थिति फेरिएको छ । परिस्थिति पनि २ तरिकाले फेरिएको छ ।

पहिलो– त्यतिबेला रास्वपा संसदमा चौथो दल थियो । निर्णायक थिए– कांग्रेस र एमाले । कांग्रेस र एमालेले जसरी संसद् चलाउन चाहन्थे, त्यसैगरी सभामुखले संसद चलाइदिन्थे । अन्य पार्टीका सांसदले या त बोल्नै पाउँदैनथे, पाए पनि छोटो समयमै माइक काटिन्थ्यो ।

तर, अहिले त्यस्तो अवस्था छैन । प्रतिनिधिसभाको अंकगणितमा कांग्रेस र एमाले निकै साँघुरिएका छन् । रास्वपा एक्लैले झण्डै दुईतिहाइ अर्थात १८२ सिट जितेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सदस्य त रास्वपा एक्लैका छन् । यसको अर्थ एक्लै कानुन नै संशोधन गर्न सक्ने हैसियतमा छ ।

दोस्रो– रवि लामिछानेविरुद्ध लगाइएका आरोपमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर बढी भयो भनेर महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेर मुद्दा संशोधनको प्रक्रिया चलिरहेको छ । मुद्दा संशोधनका लागि कास्की जिल्ला अदालतमा निवेदन दर्ता भइसकेको छ भने सर्वोच्च अदालतमा यसै विषयमा बहस चलिरहेको छ । प्राप्त प्रमाणका आधारमा मुद्दा संशोधन गर्न सक्ने अधिकार महान्यायाधिवक्तामा रहन्छ ।

रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएको यो तेस्रो पटक हो । उनले यसअघि नै दुई पटक प्रतिनिधिसभा सदस्य पदको शपथ लिइसकेका छन् र २ पटक नै उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको शपथ लिएका छन् । अहिले उनले तेस्रो पटक प्रतिनिधिसभा सदस्य पदको शपथ लिन लागेका हुन् ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि सांसद पदको शपथ लिन र संसदीय प्रक्रियामा सहभागी हुन पाउने नजिर यसअघि नै स्थापित भइसकेको छ । त्यसको उदाहरण हुन्– नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङ ।

गुरुङ अघिल्लो संसदमा निर्वाचित हुँदा विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । सुरुमा उनी संसदीय प्रक्रियामा सहभागी हुन पाएनन् । विशेषपछि उनको मुद्दा सर्वोच्च पुगेको थियो । सर्वोच्चमा मुद्दा विचाराधीन थियो ।

त्यही अवस्थामा गुरुङले सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै सांसद सदस्यका रुपमा काम गर्न पाउँ भनी सर्वोच्चमै निवेदन दिए । सर्वोच्चले गुरुङको पक्षमा आदेश दियो, उनले पद बहाली गरे ।

अहिले रविको हकमा पनि यस्तै अवस्था छ । अहिले त झनै रविलाई लगाइएको आरोप नै संशोधन गर्न अर्थात हटाउन महान्यायाधिवक्ताले निर्णय गरेको अवस्था छ । र, त्यसैबारेमा सर्वोच्चमा बहस चलिरहेको छ ।

कानुन र संसदीय मामिलाका जानकारहरुका अनुसार, अहिले रविलाई शपथ नगराउन मिल्दैन, रविले शपथ लिन पाउँछन् । संसद् सचिवालयले शपथ गराउँछ ।

फौजदारी कानुनका जानकारहरुका अनुसार, यदि रविको शपथ रोक्ने हो भने सर्वोच्च अदालतमा ‘रविको शपथ रोकियोस्’ भनेर रिट दायर गरिनुपर्छ र त्यसअनुसार सर्वोच्चले आदेश दिनुपर्छ । रिट दायर नगरिएको र सर्वोच्चले रोक्नू भनेर आदेश नदिएको अवस्थामा रवि लामिछानेको शपथ कसैले रोक्न सक्दैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते दिउँसो ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सांसद पदको शपथ लिएर रास्वपाका नेताहरु (केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु) केन्द्रीय...
रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको थियो ।
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने  निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको...
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

“संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “२०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई...