नेभिगेशन
समाज

ओली–लेखक जोगाउन कांग्रेस–एमालेको उल्टो बाटो

काठमाडौँ । बालेन सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको सुरुवात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउबाट गरेसँगै एमाले र कांग्रेसमा ९ रेक्टर स्केलको भूकम्प गएको छ । ओली र लेखक पक्राउ पर्नुले मात्रै नभई ‘लहरो तान्दा पहरो थर्कने’ देखेपछि केही नेता तिल्मिलाएका छन् ।

नयाँ सरकार गठनको ठीक एक दिनअघि बिहान अनौपचारिक रुपमा र साँझ औपचारिक रुपमा सार्वजनिक कार्की आयोगको प्रतिवेदनलाई बालेन सरकारले पहिलो दिनबाटै कार्यान्वयनमा लग्यो । सुशासन माग्दा गोली लागेर ढलेका निर्दोष नवयुवाहरुलाई न्याय दिन सबैभन्दा पहिला कार्की आयोगको प्रतिवेदन कार्यान्वयन जरुरी थियो र छ । सरकारले अहिले गरेको यत्ति हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओली र लेखकलाई एकाबिहानै प्रहरीले पक्राउ गरेपछि एमाले सडकमा उत्रियो । प्रहरीले अनुसन्धान गरिरहेको छ, जिल्ला अदालतले पक्राउ गरी हिरासतमा राख्नुलाई मनासिव भनेको छ, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा बहस भइरहेको छ । तै पनि एमालेले प्रतिशोध भनेको छ र कार्यकर्तालाई देशव्यापी रुपमा आन्दोलनमा उतारेको छ । संघीय राजधानीदेखि मोफसलसम्म एमालेका कार्यकर्ताले ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेको छ ।

Everest cinsult

अध्यक्ष ओली पक्राउ परेपछि एमाले ‘रानी बिनाको माहुरी’ भएको छ ।

एमालेको तुलनामा कांग्रेस केही समय अलमलमा पर्यो । आफ्नै नेता  कांग्रेसमा किन अलमल देखियो ?

कारण हो– पुस अन्तिमयता कांग्रेस दुईटा छ । एउटा– विशेष महाधिवेशनपछिको कांग्रेस, अर्को– विशेष महाधिवेशनबाट अपदस्थ केही नेताहरुको कांग्रेस ।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्वले शनिबार साँझ ओली–लेखक पक्राउ बारे धारणा सार्वजनिक गर्यो र भन्यो– जेनजी आन्दोलनमा भएको दमन र क्षतिमा  संलग्न सबैलाई कारबाही हुनुपर्छ । तर, सरकार चयनमुखी अर्थात ‘सेलेक्टिभ’ देखियो ।

गगन थापा नेतृत्वको कांग्रेसले यसो भनिरहँदा विशेष महाधिवेशनबाट अपदस्थ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति निकालेर ‘प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरिएको, अवैध रुपमा हिरासतमा राखिएको र संविधान र कानुनविपरीत काम गरिएको’ दाबी गरे ।

ओली–लेखक पक्राउमा एमालेले जे भनेको थियो, खड्काले पनि त्यही भने ।

भाषा उस्तै थियो, व्यक्तिमात्रै फरक थिए ।

ओली नेतृत्वको एमाले र शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको भाषा मिलेको २०८१ असार १७ गतेदेखि हो ।

ओलीसँग मन नमिल्ने कांग्रेसहरुले विशेष महाधिवेशन गरे । नेतृत्व नयाँ चयन गरे । चुनावी नारा पनि फेरे, पछिल्लो प्रकरणमा भाषा पनि फेरे ।

तर, ओलीसँगै मन मिलिरहेका कांग्रेसहरुले अहिलेसम्म न आफूलाई फेर्न सकेका छन्, न भाषा फेर्न सकेका छन् । र, त्यसको नेतृत्व गरिरहेका छन्– पूर्णबहादुर खड्काले । जसोजसो ओली, उसैउसै खड्का...।

एमालेको नेतृत्व नै अहिले अनुसन्धानको दायरामा तानिएको छ । अरुलाई भन्दा बढी पीर एमालेलाई लाग्नु स्वाभाविकै होला । हिजो पनि नेतृत्वले जे गर्यो त्यही ठीक भन्ने पार्टी हो एमाले । ‘महाराज... हिँड्दा पनि कति सुहाएको’ भनेर प्रशंसा भइरहेकै थियो । एमालेले उल्टो बाटो हिँड्न लागेको निकै भइसक्यो, उसलाई अहिलेको सडक आन्दोलन पनि उल्टो नलाग्नु स्वाभाविकै हो ।

तर, कांग्रेसका केही नेताहरु किन उल्टो बाटो हिँडिरहेका छन् ? यसमा उनीहरुको त्रास, रिस, अस्तित्व र भक्तिभाव भल्किन्छ । कसरी ?

जेनजी आन्दोलन २ दिनमा सकियो । तर, यो अभियान हो । सुशासन, विकास, रोजगारी, भ्रष्टाचार नियन्त्रण यो अभियानका मुख्य उद्देश्य हुन् । तर, जुनदिन ओली–देउवा गठबन्धन बन्यो, त्यसपछि कुशासन र भ्रष्टाचार बढ्यो । आफ्नालाई बोक्ने र अर्कालाई ठोक्ने नीति ओली–देउवाको थियो । जेनजी आन्दोलनअघिका १४ महिनामा जे जे भए, हुनुपर्ने केही भएनन्, नहुनुपर्ने सबै भए । ओली–देउवाले नगर्नुपर्ने सबै गरे ।

अरु त गरे गरे, निर्दोष युवाहरुमाथि गोली वर्षाए ।

त्यस्तो बर्बरता मच्चाउँदा उनीहरुमा आत्मग्लानी हुनुपर्ने हो, कतै देखिएन । पश्चाताप हुनुपर्ने हो, उल्टै बहादुरी सम्झिए । सबैभन्दा ठूलो कमजोरी त यहीँ देखियो । ओलीले त स्वीकार गरेनन्, रमेश लेखकले पनि स्वीकार गरेनन् । एउटा लोकतान्त्रिक दलको नेता भएकाले लेखकले कमजोरी स्वीकार्छन् कि भन्ने धेरैको अपेक्षा थियो ।

लेखक किन यति कठोर भए ?

यसको कारण हो– उनी शेरबहादुर देउवा र आरजुका प्रिय थिए । उनीहरु जे चाहन्थे, लेखक त्यही गर्थे, उनीहरुले भन्थे त्यही बोल्थे । लेखकको लहरो देउवासँगै जोडिएको थियो ।

अर्को कारण पनि छ– देउवा दम्पत्ति कमजोर हुँदा उनीहरुको कुकर्म छताछुल्ल हुन सक्थ्यो । उनीहरुमाथि नै राज्यले कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ । राज्यले नगरे जनताले गर्छन् । भदौ २४ मा त्यसको छनक देखियो । त्यो त सुरुवात मात्र थियो । कार्की आयोगले बाटो खोलिदिएको छ । पहिले ‘अनुसन्धानको सुईले ढोका ढक्ढक्याउँदा’ रातारात सत्ता गठबन्धन फेरबदल गर्न तयार भएका देउवा दम्पत्तिको अहिले ‘भागाभाग’ भएको छ ।

देउवासहित केही पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ । यो अनुसन्धानले शेरबहादुर र आरजु दुवैलाई कारबाहीमा तान्न सक्छ ।

ओली पक्राउ परेपछि एमाले रानी हराएको माहुरी भएको छ । अब देउवा दम्पत्ति नै समातिए भने कांग्रेसका केही नेताको हालत पनि उस्तै हुने छ ।

देउवा दम्पत्तिलाई संरक्षणको जिम्मा पूर्णबहादुर खड्कासहितका नेताहरुले लिएका छन् । पहिले नै पार्टी जिम्मा लगाएर हिँडेका देउवालाई खड्काले फिर्ता बोलाए । आराम गरेर बसेकालाई सक्रिय बनाए ।

देउवा र आरजुमाथि अनुसन्धान अगाडि बढिसक्यो । देउवा खेमाकै दीपक खड्का पनि तानिइसके । देउवा दम्पत्तिकै आशिर्वादमा वर्षौंदेखि हालिमुहाली गरिरहेका कांग्रेस नेताहरुको सूची निकै लामो छ । विस्तारै उनीहरु पनि पर्न सक्छन् । पूर्णबहादुर खड्कासहितका नेताहरुलाई अहिले सबैभन्दा ठूलो चिन्ता उनीहरुको छ । उनीहरुलाई जोगाउनु छ, त्यसका लागि सबैथोक बर्बाद गर्न तयार देखिएका छन् ।

कांग्रेसले आफूलाई लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि संघर्ष गरेको पार्टी भन्छ । यसअघि नै कांग्रेसका थुप्रै नेता सुशासनमा कमजोर सावित भइसकेका छन् । केही त प्रमाणित नै भइसकेका छन् । प्रमाणित हुने बाटोमै छन्, शेरबहादुर, आरजु र दीपकहरु । र, उनीहरुको रक्षाकवच बन्न खोज्दैछन्– पूर्णबहादुर खड्काहरु । पूर्णबहादुर खड्काहरुसँगै मिसिएका छन्– शेखर कोइरालाहरु पनि । एमाले उल्टो बाटोमा हिँडिरहँदा पूर्णबहादुर र शेखरहरुले पनि कांग्रेसलाई उल्टो बाटोमै हिँडाउन खोजिरहेका छन् ।

राजनीतिमा एकपछि अर्को विकल्प आउँछ । तर, विकल्पहरुलाई उपेक्षा गर्दै जाने हो भने पूर्णबहादुर र शेखरलाई पनि विकल्पले उपेक्षा गर्न सक्छ, देउवा दम्पत्तिसँगै उनीहरुको राजनीति र विरासत पनि समाप्त हुनसक्छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्ति अनुसार, सरकारी निर्णय र निर्देशिकाको आत्मसात् गर्दै २०८२ चैत्र १५ गतेदेखि नै लागू हुने गरी युनियन भंग गरिएको छ ।