काठमाडौँ । बालेन सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको सुरुवात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउबाट गरेसँगै एमाले र कांग्रेसमा ९ रेक्टर स्केलको भूकम्प गएको छ । ओली र लेखक पक्राउ पर्नुले मात्रै नभई ‘लहरो तान्दा पहरो थर्कने’ देखेपछि केही नेता तिल्मिलाएका छन् ।
नयाँ सरकार गठनको ठीक एक दिनअघि बिहान अनौपचारिक रुपमा र साँझ औपचारिक रुपमा सार्वजनिक कार्की आयोगको प्रतिवेदनलाई बालेन सरकारले पहिलो दिनबाटै कार्यान्वयनमा लग्यो । सुशासन माग्दा गोली लागेर ढलेका निर्दोष नवयुवाहरुलाई न्याय दिन सबैभन्दा पहिला कार्की आयोगको प्रतिवेदन कार्यान्वयन जरुरी थियो र छ । सरकारले अहिले गरेको यत्ति हो ।
ओली र लेखकलाई एकाबिहानै प्रहरीले पक्राउ गरेपछि एमाले सडकमा उत्रियो । प्रहरीले अनुसन्धान गरिरहेको छ, जिल्ला अदालतले पक्राउ गरी हिरासतमा राख्नुलाई मनासिव भनेको छ, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा बहस भइरहेको छ । तै पनि एमालेले प्रतिशोध भनेको छ र कार्यकर्तालाई देशव्यापी रुपमा आन्दोलनमा उतारेको छ । संघीय राजधानीदेखि मोफसलसम्म एमालेका कार्यकर्ताले ओली पक्राउको विरोधमा प्रदर्शन गरिरहेको छ ।
अध्यक्ष ओली पक्राउ परेपछि एमाले ‘रानी बिनाको माहुरी’ भएको छ ।
एमालेको तुलनामा कांग्रेस केही समय अलमलमा पर्यो । आफ्नै नेता कांग्रेसमा किन अलमल देखियो ?
कारण हो– पुस अन्तिमयता कांग्रेस दुईटा छ । एउटा– विशेष महाधिवेशनपछिको कांग्रेस, अर्को– विशेष महाधिवेशनबाट अपदस्थ केही नेताहरुको कांग्रेस ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्वले शनिबार साँझ ओली–लेखक पक्राउ बारे धारणा सार्वजनिक गर्यो र भन्यो– जेनजी आन्दोलनमा भएको दमन र क्षतिमा संलग्न सबैलाई कारबाही हुनुपर्छ । तर, सरकार चयनमुखी अर्थात ‘सेलेक्टिभ’ देखियो ।
गगन थापा नेतृत्वको कांग्रेसले यसो भनिरहँदा विशेष महाधिवेशनबाट अपदस्थ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति निकालेर ‘प्रतिशोध साँध्ने उद्देश्यले पक्राउ गरिएको, अवैध रुपमा हिरासतमा राखिएको र संविधान र कानुनविपरीत काम गरिएको’ दाबी गरे ।
ओली–लेखक पक्राउमा एमालेले जे भनेको थियो, खड्काले पनि त्यही भने ।
भाषा उस्तै थियो, व्यक्तिमात्रै फरक थिए ।
ओली नेतृत्वको एमाले र शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको भाषा मिलेको २०८१ असार १७ गतेदेखि हो ।
ओलीसँग मन नमिल्ने कांग्रेसहरुले विशेष महाधिवेशन गरे । नेतृत्व नयाँ चयन गरे । चुनावी नारा पनि फेरे, पछिल्लो प्रकरणमा भाषा पनि फेरे ।
तर, ओलीसँगै मन मिलिरहेका कांग्रेसहरुले अहिलेसम्म न आफूलाई फेर्न सकेका छन्, न भाषा फेर्न सकेका छन् । र, त्यसको नेतृत्व गरिरहेका छन्– पूर्णबहादुर खड्काले । जसोजसो ओली, उसैउसै खड्का...।
एमालेको नेतृत्व नै अहिले अनुसन्धानको दायरामा तानिएको छ । अरुलाई भन्दा बढी पीर एमालेलाई लाग्नु स्वाभाविकै होला । हिजो पनि नेतृत्वले जे गर्यो त्यही ठीक भन्ने पार्टी हो एमाले । ‘महाराज... हिँड्दा पनि कति सुहाएको’ भनेर प्रशंसा भइरहेकै थियो । एमालेले उल्टो बाटो हिँड्न लागेको निकै भइसक्यो, उसलाई अहिलेको सडक आन्दोलन पनि उल्टो नलाग्नु स्वाभाविकै हो ।
तर, कांग्रेसका केही नेताहरु किन उल्टो बाटो हिँडिरहेका छन् ? यसमा उनीहरुको त्रास, रिस, अस्तित्व र भक्तिभाव भल्किन्छ । कसरी ?
जेनजी आन्दोलन २ दिनमा सकियो । तर, यो अभियान हो । सुशासन, विकास, रोजगारी, भ्रष्टाचार नियन्त्रण यो अभियानका मुख्य उद्देश्य हुन् । तर, जुनदिन ओली–देउवा गठबन्धन बन्यो, त्यसपछि कुशासन र भ्रष्टाचार बढ्यो । आफ्नालाई बोक्ने र अर्कालाई ठोक्ने नीति ओली–देउवाको थियो । जेनजी आन्दोलनअघिका १४ महिनामा जे जे भए, हुनुपर्ने केही भएनन्, नहुनुपर्ने सबै भए । ओली–देउवाले नगर्नुपर्ने सबै गरे ।
अरु त गरे गरे, निर्दोष युवाहरुमाथि गोली वर्षाए ।
त्यस्तो बर्बरता मच्चाउँदा उनीहरुमा आत्मग्लानी हुनुपर्ने हो, कतै देखिएन । पश्चाताप हुनुपर्ने हो, उल्टै बहादुरी सम्झिए । सबैभन्दा ठूलो कमजोरी त यहीँ देखियो । ओलीले त स्वीकार गरेनन्, रमेश लेखकले पनि स्वीकार गरेनन् । एउटा लोकतान्त्रिक दलको नेता भएकाले लेखकले कमजोरी स्वीकार्छन् कि भन्ने धेरैको अपेक्षा थियो ।
लेखक किन यति कठोर भए ?
यसको कारण हो– उनी शेरबहादुर देउवा र आरजुका प्रिय थिए । उनीहरु जे चाहन्थे, लेखक त्यही गर्थे, उनीहरुले भन्थे त्यही बोल्थे । लेखकको लहरो देउवासँगै जोडिएको थियो ।
अर्को कारण पनि छ– देउवा दम्पत्ति कमजोर हुँदा उनीहरुको कुकर्म छताछुल्ल हुन सक्थ्यो । उनीहरुमाथि नै राज्यले कारबाही गर्नुपर्ने अवस्था आउन सक्छ । राज्यले नगरे जनताले गर्छन् । भदौ २४ मा त्यसको छनक देखियो । त्यो त सुरुवात मात्र थियो । कार्की आयोगले बाटो खोलिदिएको छ । पहिले ‘अनुसन्धानको सुईले ढोका ढक्ढक्याउँदा’ रातारात सत्ता गठबन्धन फेरबदल गर्न तयार भएका देउवा दम्पत्तिको अहिले ‘भागाभाग’ भएको छ ।
देउवासहित केही पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ । यो अनुसन्धानले शेरबहादुर र आरजु दुवैलाई कारबाहीमा तान्न सक्छ ।
ओली पक्राउ परेपछि एमाले रानी हराएको माहुरी भएको छ । अब देउवा दम्पत्ति नै समातिए भने कांग्रेसका केही नेताको हालत पनि उस्तै हुने छ ।
देउवा दम्पत्तिलाई संरक्षणको जिम्मा पूर्णबहादुर खड्कासहितका नेताहरुले लिएका छन् । पहिले नै पार्टी जिम्मा लगाएर हिँडेका देउवालाई खड्काले फिर्ता बोलाए । आराम गरेर बसेकालाई सक्रिय बनाए ।
देउवा र आरजुमाथि अनुसन्धान अगाडि बढिसक्यो । देउवा खेमाकै दीपक खड्का पनि तानिइसके । देउवा दम्पत्तिकै आशिर्वादमा वर्षौंदेखि हालिमुहाली गरिरहेका कांग्रेस नेताहरुको सूची निकै लामो छ । विस्तारै उनीहरु पनि पर्न सक्छन् । पूर्णबहादुर खड्कासहितका नेताहरुलाई अहिले सबैभन्दा ठूलो चिन्ता उनीहरुको छ । उनीहरुलाई जोगाउनु छ, त्यसका लागि सबैथोक बर्बाद गर्न तयार देखिएका छन् ।
कांग्रेसले आफूलाई लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि संघर्ष गरेको पार्टी भन्छ । यसअघि नै कांग्रेसका थुप्रै नेता सुशासनमा कमजोर सावित भइसकेका छन् । केही त प्रमाणित नै भइसकेका छन् । प्रमाणित हुने बाटोमै छन्, शेरबहादुर, आरजु र दीपकहरु । र, उनीहरुको रक्षाकवच बन्न खोज्दैछन्– पूर्णबहादुर खड्काहरु । पूर्णबहादुर खड्काहरुसँगै मिसिएका छन्– शेखर कोइरालाहरु पनि । एमाले उल्टो बाटोमा हिँडिरहँदा पूर्णबहादुर र शेखरहरुले पनि कांग्रेसलाई उल्टो बाटोमै हिँडाउन खोजिरहेका छन् ।
राजनीतिमा एकपछि अर्को विकल्प आउँछ । तर, विकल्पहरुलाई उपेक्षा गर्दै जाने हो भने पूर्णबहादुर र शेखरलाई पनि विकल्पले उपेक्षा गर्न सक्छ, देउवा दम्पत्तिसँगै उनीहरुको राजनीति र विरासत पनि समाप्त हुनसक्छ ।