काठमाडौँ । प्रतिनिधिसभाले आइतबार नयाँ सभामुख पाएको छ– डीपी अर्याल र उनले कम्तीमा ५ वर्षमा सदनको नेतृत्व गर्नेछन् । झण्डै दुई तिहाई बहुमत प्राप्त दलका एक नेता सभामुख बनेका छन् । यो बहुमतले एकातिर सरकार स्थिर रहने छ, अर्कातिर सदनले सहजै नयाँ कानुनहरु निर्माण गर्न सक्छ ।
सदनमा रहेका रास्वपाका सांसदहरुमध्ये अर्याल एक अनुभवी नेता हुन् । अघिल्लो सदनमा उनको प्रभावकारी उपस्थिति थियो । केही समय सरकारमा पनि रहे । सरकारले कसरी काम गर्छ अनि त्यो सदनमा कसरी पुग्छ भन्नेमा पनि उनी जानकार छन् । सत्ता पक्ष बनेर पनि हेरे, प्रतिपक्ष बनेर पनि अनुभव गरे । सत्ता पक्षलाई प्रतिपक्षले कसरी दबाबमा राख्छन् अनि प्रतिपक्षमाथि सत्ता पक्षबाट कस्तो व्यवहार हुन्छ भन्ने तथ्य अर्यालले राम्ररी बुझेका छन् ।
Watch On
संसदको अंकगणित फेरिएको छ । विगतमा जस्तो गठबन्धन गर्नुपर्ने अवस्था छैन । संख्यात्मक रुपमा सरकार सहज अवस्थामा छ, संख्याकै हिसाबले सत्ता सञ्चालन गरिरहेको रास्वपा पनि सहज अवस्थामा छ । भागबण्डाको दबाबमा पर्नुपर्ने अवस्था छैन । तर, यो संसदमाथि दायित्व यति धेरै छ कि, विगत १० वर्षदेखि थाँती रहेका काम यही कार्यकालमा, त्यसमा पनि जतिसक्दो छिटो पुरा गर्नुपर्ने छ ।
संसदलाई सम्बोधन गर्दै अर्यालले भनेका छन्– दलगत र संख्याका आधारमा सदनमा कुनै भेदभाव हुने छैन । उनले पहिलो दिन नै सकारात्मक सन्देश दिएका छन् । संख्याकै हिसाबले उनलाई काम गर्न सजिलो पनि छ । तर, पनि उनीमाथि केही दायित्व छन्, उनीसँग केही अपेक्षा छन्, केही आशा छन् ।
१. सदनको असली नेतृत्व
एउटा स्थापित मान्यता छ– सरकार सत्ता पक्षको र सदन प्रतिपक्षको । सत्तापक्ष सधैं बहुमतमा हुन्छ, प्रतिपक्ष अल्पमतमा । प्रतिपक्षको आवाज बन्द हुन नदिनु सभामुखको दायित्व हो । अहिले सत्तापक्ष सुविधाजनक बहुमतमा रहेकाले सरकारले कहिलेकाहीँ प्रतिपक्षको आवाज नसुन्ने मनसाय राख्न सक्छ । यस्तो अवस्थामा सरकारलाई सदनप्रति जिम्मेवार बनाउने र प्रतिपक्षको आवाज सुन्ने वातावरण बनाउने जिम्मेवारी सभामुखकै हो ।
२. कानुन निर्माणमा नेतृत्वदायी भूमिका
सभामुखको जिम्मेवारी सभाको बैठक सञ्चालन गर्ने मात्र होइन, सदनलाई व्यस्त बनाउने पनि हो । सदनलाई बिजनेस दिने पहिलो दायित्व सरकारको हो । तर, सरकारले समयमै सदनलाई बिजनेस दिन सकेन भने सरकारको ध्यानाकर्षण गराउने र सदन आफैंले पनि बिजनेस खोजेर सांसदहरुलाई व्यस्त राख्ने जिम्मेवारी पनि सभामुखको हो । नयाँ संविधानअनुसार अझै पनि सबै कानुन बनिसकेका छैनन् । अझै १ सयभन्दा बढी कानुन सदनले बनाउनुपर्ने छ । अघिल्लो सदनमै पेश भएर अन्तिम अन्तिम चरणमा पुगेका कतिपय विधेयक निष्कृय अवस्थामा छन् । कतिपय कानुनलाई समयानकूल परिमार्जन गर्नुपर्ने छ । यसमा सभामुखको नेतृत्वदायी भूमिका अपेक्षित छ ।
३. समन्वयकारी भूमिका
सभामुखले सदनमा प्रतिनिधित्व गर्ने दलहरुका बीचमा समन्वय गर्न नसक्दा सदन कसरी अवरुद्ध हुन्छ भन्ने तथ्य यसअघिका दुई सभामुखको भूमिकाबाट प्रष्ट भइसकेको छ । अग्निप्रसाद सापकोटा र देवराज घिमिरे सभामुख हुँदा महिनौंसम्म सदन अबरुद्ध भयो । सभामुखमाथि निश्चित दलको कार्यकर्ता भएको आरोप पनि लाग्यो । प्रधानमन्त्री वा सम्बन्धित पार्टीका अध्यक्षले जे भन्यो, त्यसैगरी सदन सन्चालन गरेको गुनासो आइरह्यो । अब यस्ता गुनासो आउन नदिनु, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्नु पनि नवनिर्वाचित सभामुखको दायित्व हुन आउँछ । सदन चलाउन अर्याललाई कुनै समस्या छैन । उदाहरणीय सभामुख हुन भने अर्याललाई अवसर प्राप्त भएको छ ।
४. शक्ति सन्तुलनको जिम्मेवारी
राज्यका तीन अंग छन्– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । कुनै पनि अंग स्वेच्छाचारी नहून् भनेर नै शक्ति सन्तुलनका दृष्टिले यी तीन अंगको परिकल्पना गरिएको हो । तर, कहिलेकाहीँ द्वन्द्व सिर्जना हुनसक्छ । सरकार आफ्नो कार्यकारी अधिकारका नाममा स्वेच्छाचारी बन्न सक्छ, न्यायपालिकाले कानुनको अड्को मात्रै थापिरहन सक्छ, व्यवस्थापिकाले सरकार र न्यायपालिकालाई असहज हुने गरी कानुन बनाइदिन सक्छ । यस्तो अवस्थामा राज्यका अन्य अंगहरुसँग समन्वय गरी कानुनी शासन बहालीका लागि सदनले सहजीकरण गरिदिन सक्छ र यसको नेतृत्व सभामुखले लिनुपर्ने हुन्छ । त्यसैले शक्ति सन्तुलनमा पनि सभामुखको महत्वपूर्ण भूमिका रहन्छ, रहिरहन्छ ।
५. जनताको चाहना सम्बोधन
आम जनतामा अपेक्षा छ– मुलुकले अब राजनीतिक स्थायित्व पाउँछ । संसदले आवश्यक कानुन बनाइदिने छ, सरकारले त्यसको कार्यान्वयन गर्नेछ । संविधानले तोकेका मौलिक हक कार्यान्वयनका लागि सदनले चासो देखाउने छ । यसअघि सदन सधैं सरकार बनाउने र गिराउने खेलमा लागिरह्यो । त्यसैले पनि जनतामा संसदप्रति हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । त्यसैले त जेनजी आन्दोलनको पहिलो प्रहार नै संसद भवनमाथि भयो । यो बुझाइलाई गलत सावित गर्दै सदन वास्तविक अर्थमा जनताको मुद्दा सम्बोधन गर्ने थलो हो, जनताको आवाज बोलिने र सुनिने थलो हो भन्ने मान्यता पुनस्र्थापित गर्ने अवसर पनि नवनिर्वाचित सभामुखलाई छ ।
अघिल्लो संसदको अनुभव अर्यालका लागि उपयोगी बन्ने छ भने अहिलेको संसद संरचना सहयोगी बन्ने छ । समन्वयकारी कार्यशैली, मिलनसार स्वभाव र सरल व्यक्तित्व उनका सम्पत्ति हुन् । यी सम्पत्तिको सदुपयोग गर्न सकेमा सदनमात्रै सफल हुने छैन, जनअपेक्षा पनि पुरा हुनेछन् ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश,...बुधबार, असोज ७, २०८३
फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...बुधबार, असोज ७, २०८३
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...बुधबार, असोज ७, २०८३