काठमाडौँ । जेनजी आन्दोलनका बेला माइतीघरदेखि नयाँ बानेश्वरसम्म पानी बाँडिरहेको एउटा युवा । छोटो कपाल, चिम्सो आँखा, सेतो टिसर्टमाथि रातो हाफ ज्याकेट । ज्याकेटमा लेखिएको थियो– हामी नेपाल । त्यही युवक, जम्मा ६ महिनाको अवधिमा सडकदेखि सदन हुँदै सिंहदरबारसम्म पुगेको छ र सबैलाई चकित पार्नेगरी काम गरिरहेको छ । हो, सबैलाई आश्चर्यमा पार्दै आशा जगाउने व्यक्ति हुन् सुधन गुरुङ अर्थात रास्वपा सरकारका गृहमन्त्री ।
फागुन २१ को चुनावमा रास्वपाले झण्डै दुईतिहाइ मत ल्याएपछि धेरैको चासो थियो– अब गृहमन्त्री को बन्छ ? रास्वपाले चुनावअघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेकाले पनि आम चासो गृहमन्त्रीमा थियो । जब रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह अनि उपसभापतिहरु डीपी अर्याल र स्वर्णिम वाग्ले मन्त्री छान्ने तरखरमा लागे, गृहमन्त्रीमा धेरै जनाको नाम चर्चामा आयो । चर्चामा आएका नाममध्ये एक थियो– सुधन गुरुङ ।
रास्वपा नेतृत्वले उनै सुधन गुरुङलाई चैत १३ गते बिहान गृहमन्त्री बनाउने निर्णय गर्यो । दिउँसो सुधनले शपथ लिए । जब सुधन गृहमन्त्री नियुक्त भए– अन्य दलका मात्रै होइन, रास्वपाकै केही सांसदहरु पनि अचम्ममा परे ।
जब सुधनले गृहमन्त्रालयको जिम्मेवारी सम्हाले, पहिले अचम्म मान्नेहरुले आशा व्यक्त गर्न थाले । र, भन्न थाले– देशलाई चाहिएको गृहमन्त्री त यस्तो पो हो त ।
गृहमन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट बिहानै सुधन गुरुङले आफ्नो फेसबुकमा लेखे– एच्इःक्ष्क्भ् क्ष्क् ब् एच्इःक्ष्क्भ् स् कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। उनको यो स्टेटस फेसबुकमा आउँदै गर्दा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको थियो ।
अघिल्लो दिन गृहमन्त्री नियुक्त, भोलिपल्टै बिहानै जेनजी आन्दोलनमा दमन गर्ने सरकारको नेतृत्व र गृहमन्त्री पक्राउ । सरकार यति छिट्टै एक्सनमा जाला भनेर स्वयम् ओली र लेखकले पनि सोचेका थिएनन् । अरुले सोच्न पनि नभ्याउँदै सुधनले काम गरिसके ।
जेनजी आन्दोलनमा भएको दमन तथा क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको सुरुवात ओली र लेखकलाई पक्राउबाटै सुरु गरिएको थियो । बालेन सरकार बनेकै दिन मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो, सुधन गुरुङले कार्यान्वयन थालिहाले ।
निर्णय गर्ने, कार्यान्वयन नगर्ने । नेपालको रोग नै बनिसकेको थियो । यो रोगको निदान पनि बालेन र सुधनले गरिदिएका छन् । ओली र लेखकलाई पक्राउ गरेपछि त सुधन केही दिन साइलेन्ट बस्लान् भन्ने थियो होला । तर, उनी बसेनन् । निरन्तर एक्सनमा लागिरहे ।
मन्त्रालय जानु, ब्रिफिङ लिनु, अनुगमन गर्नु नियमित काम हुन् । पहिलेका मन्त्रीहरुले पनि गर्थे । तर, ती काम बाहेक सुधन जनअपेक्षा पूरा गर्न लागिरहेका छन् ।
जेनजी आन्दोलनका बेला ऊर्जामन्त्री थिए– कांग्रेस नेता दीपक खड्का । देउवा दम्पत्तिका प्रिय । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्नेदेखि स्काउटको जग्गा हडप्ने उनै दीपक खड्का । चैत १५ गते आइतबार प्रहरीले उनै दीपक खड्कालाई पनि पक्राउ गर्यो । दीपक खड्का भ्रष्टाचारमा आलोचित थिए । त्यो आलोचनालाई बल पुर्याउँथ्यो– भदौ २४ गते उनको बंगलाबाट उडेका नेपाली नोट र डलरले । अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनका लागि सीआईबीले दीपक खड्कालाई पनि पक्राउ गरिहाल्यो ।
चैत १७ गते बिहान, गृहमन्त्री सुधनले फेसबुकमा फेरि लेखे– गुड मर्निङ । उनको स्टेटस देख्नासाथ लागेको थियो– सरकारले आज कुनै विशेष अपरेसन गर्दैछ । केहीबेरमै प्रहरीले काठमाडौंका पूर्वसीडीओ छवि रिजाललाई पक्राउ गरिहाल्यो ।
जेनजी आन्दोलनका बेला प्रधामन्त्री थिए– ओली, गृहमन्त्री थिए– लेखक अनि काठमाडौंका सीडीओ थिए– रिजाल । कार्की आयोगले उनीहरुमाथि हेलचेक्रयाइँ गरी काम कारबाही गरेकाले जेनजी आन्दोलनकारीको ज्यान गएको उल्लेख गरेको छ । त्यही कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सुरुमा ओली र लेखक पक्राउ परे, पछि रिजाल समातिए । कार्की आयोगले दोषी किटान गरेकाहरुको सूची लामो छ । सरकारको गति हेर्दा लाग्छ, यो एक्सन यत्तिमै रोकिने छैन।
बितेका ३५ वर्ष पालैपालो सत्ता चलाएका दल र तिनका नेताहरुले राज्यको दोहन गरे । राज्य शक्तिको सकेसम्म दुरुपयोग गरे । संविधान र कानुनलाई आफ्नो अनुकूल व्याख्या गरिरहे । आफ्नालाई बोक्ने र अर्कालाई ठोक्ने नीति लिइरहे । प्रहरी, प्रशासनदेखि अदालतसम्म प्रभाव र हैकम जमाए । विरोधीलाई राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाए, जेलमा कोचे ।
अति गरे खति हुन्छ । जेनजी आन्दोलन त्यही अतिको प्रतिफल थियो । नवयुवाहरुले उनीहरुलाई सत्ताबाट फाले । जनताले आम चुनावबाट रास्वपालाई सत्तामा पुर्याए । रास्वपा सरकारले सुरुबाटै आम जनताको आशा पूरा गर्ने र नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने गरी काम थालेको छ, संकेत देखिएको छ ।
जब गृहमन्त्री सुधन गुरुङ एक्सनमा उत्रिए– कतिपयले त थ्रिलर सिनेमाको सिनको रुपमा व्याख्या गर्न थालेका छन् । कतिबेला के हुन्छ, मेसो पाउनै नसकिने अवस्था आउन थाल्यो भनेर पनि टिप्पणी गरेका छन् । पछिल्ला चार दिनमा सरकारले जे गरिरहेको छ, एमालेका केही कार्यकर्ताले बाहेक अधिकांश नागरिकले समर्थन जनाएका छन् । स्याब्बास सरकार भनेका छन् ।
सुधन गुरुङ कसरी बने गृहमन्त्री ?
बालेन नेतृत्वको सरकारमा सुधन गुरुङ कसरी गृहमन्त्री बनेर कतिपयले अझै पनि चासो व्यक्त गरिरहेका छन् । गृहमन्त्रीमा सुधन गुरुङको नियुक्ति न अप्रत्याशीत हो, न अकस्मात । रास्वपा नेतृत्वले भावनामा डुबेर सुधनलाई गृहमन्त्री बनाएको होइन । उनको स्पिरिट देखेरै गृहमन्त्री बनाएको हो । एक्सन ओरियन्टेड प्रधानमन्त्री बालेनसँग स्पिरिट मिल्ने देखेरै सुधनलाई गृहमन्त्री बनाएको हो ।
नेपालको संविधानअनुसार मन्त्री बन्न सांसद हुनुपर्छ । उनी गोरखा १ बाट सांसद चुनिए । सांसद चुनिएपछि मन्त्रीका लागि योग्यता बन्यो । चुनाव लगत्तै सुधनले भनेका थिए– गोरखाली जनताले आफूलाई गृहमन्त्री बनेको देख्न चाहेका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैली र भावना मिल्दा सरकारको परफर्मेन्स देखिन्छ । सरकारलाई परिणाममुखी बनाउन सकिन्छ । यसैमा रवि र बालेनको कुरा मिल्यो, सुधन गृहमन्त्री बने । रवि र बालेनले जुन सोचले सुधनलाई गृहमन्त्री बनाएका थिए– प्रारम्भिक चरणमै सुधनले सकारात्मक संकेत दिइसकेका छन् । गृह मन्त्रालय नसुधारेसम्म, प्रशासन संयन्त्र चुस्त नबनाएसम्म जनताले राहत पाउँदैनन् भन्थे सुधनले । रास्वपा नेतृत्वले उनै सुधनलाई समग्र गृहप्रशासन सुधारको जिम्मा दिएको छ ।
समाज सेवादेखि राजनीतिसम्म
३८ वर्षका सुधन गुरुङले जेनजी आन्दोलनअघिसम्म राजनीतिमा खासै चासो दिँदैनथे । जेनजी आन्दोलनकै क्रममा उनले दिएका अभिव्यक्तिलाई हेर्ने हो भने पनि उनमा राजनीतिक चेत खासै देखिँदैनथ्यो । उनका अभिव्यक्तिलाई लिएर मिम र ट्रोल पनि बनिरहे ।
२०७२ सालको भूकम्पले सुधनलाई समाजसेवामा समर्पित गरिदियो । पहिले ठमेलमा क्लब सञ्चालन गरेर बसेका सुधन भूकम्पपछि राहत र उद्दारमा सक्रिय भए । साथीहरुलाई जम्मा गरे । हामी नेपाल नामको सामाजिक संस्था पनि बनाए । विभिन्न संस्थाहरुबाट डोनेसन ल्याउँथे, समाजसेवामा खटिन्थे । बारबरा फाउन्डेसनबाट हामी नेपालले पाएको सहयोगलाई लिएर त कतिपयले जेनजी आन्दोलन नै बारबरा फाउन्डेसनले गराएको हो भन्नसम्म भ्याए । त्यो पनि उनले सुनिरहे ।
तर, जेनजी आन्दोलन सुधनका लागि टर्निङ प्वाइन्ट बन्यो । सुधनको जिन्दगी नै स्विच गरिदियो । जेनजी आन्दोलन व्यवस्थापनका लागि पनि उनी निकै सक्रिय भए । जेनजी आन्दोलन व्यवस्थापन गर्नैपर्ने थियो, त्यसमा सक्रिय भए । उनको भूमिकालाई लिएर– सुधन गुरुङले जेनजी आन्दोलन नै हाइज्याक गर्यो भनेर आलोचना समेत गरे । तर, सुधन आलोचनाको पछि लागेनन् । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई सहयोग गरिरहे । सुशीला कार्कीले त उनलाई जेठो छोरोकै नाम दिइन् । सुशीला सरकारको गतिप्रति पनि उनी सन्तुष्ट थिएनन् । निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबाट पनि सुधन खुसी थिएनन् । आक्रामक रुपमा प्रस्तुत हुन कार्की र अर्याललाई दबाब दिइरहन्थे ।
सरकारप्रति उनको गुनासो त थियो नै, आउँदै गरेको चुनावमा परिवर्तन चाहनेहरुको अवस्था कमजोर हुन्छ कि भन्ने चिन्ता उनमा थियो । त्यसैले रवि र बालेनलाई एकठाउँमा ल्याउने पहलमा उनी पनि सामेल भए । यतिसम्म कि, रवि र बालेनबीच ललितपुरको एक घरमा वार्ता भइरहँदा सहमतिका लागि दबाब दिन उनले घरको गेट नै बन्द गरिदिएका थिए । रवि र बालेनबीच सहमति भयो । सुधनले कुलमान घिसिङलाई पनि रवि र बालेनसँग मिलाउन पहल थाले । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिन सुधन आफैंले कुलमानलाई रवि र बालेनसम्म पुर्याए । सहमति पनि भयो । पछि कुलमान आफैं बाहिरिए ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभन्दा दुई दिनअघि मात्रै सुधन औपचारिक रुपमा रास्वपा प्रवेश गरेर राजनीतिमा समाहित भए । रास्वपाबाटै गोरखामा टिकट लिए अनि चुनाव लड्न गए ।
बाहिर कठोर, भित्र दयालु
गोरखा चुमनुब्रीका सुधन काठमाडौंमै जन्मिए, चितवनमा हुर्किए, चितवनमै पढे, फेरि काठमाडौंमा आए । काठमाडौंबाट समाजसेवाको यात्रा थाले । पहिले क्लबमा डिजे थिए । भूकम्पले समाजसेवामा तान्यो । उनमा दयाभाव जगायो ।
यत्तिमात्रै होइन, उनले अन्तर्वार्ताहरुमा भनेका छन्– म निकै दयालु छु । १० कक्षा पढिरहेका बेला हलो जोतिरहेका एक किसानले गोरुलाई पिटेको देखेपछि उनी कक्षबाट बाहिरिएर गोरुलाई पिट्ने किसानलाई नै झपारेका थिए ।
जेनजी आन्दोलनले त उनको मनमा दयाभाव र आक्रोश सँगै जन्मायो । घाइतेको उपचारमा सक्रिय भए । घुमाएर बोल्दैनन्, जे देख्यो त्यही भन्छन्, उनको बोली सुन्नेहरुले कति कठोर रहेछ भनेर पनि टिप्पणी गर्छन् । तर, उनी कति दयालु छन् र समस्यालाई कति सजिलै बुझ्छन् भन्ने कुरा चैत १६ गते प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पनि देखियो । प्रहरीका दुःख सुनाउँदा आईजीपी दानबहादुर कार्की भक्कानिए । त्यसले गृहमन्त्री सुधनको मन छोयो, तत्काल बसेको ठाउँबाट उठे, समर्थनमा ताली बजाए । समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिहाले ।
जनताको प्रतिनिधिले जनभावना बुझ्नुपर्छ । यसमा दुईमत नै रहेन । उनीहरुले समस्याको पहिचान गर्न सक्नुपर्छ र समाधान पनि निकाल्नुपर्छ । सरकार जनताको अभिभावक हो । अभिभावकमा विवेक पनि हुनुपर्छ । अन्यायमा परेकालाई न्याय दिनुपर्छ, अन्याय गर्नेले सजाय पाउनुपर्छ । जनताले सुशासन चाहेका छन्, जनताले भ्रष्टाचारको अन्त्य चाहेका छन्, जनताले देश लुट्नेहरुमाथि कारबाही चाहेका छन् । यी चाहना गृहमन्त्रीबाट पूरा हुन सक्छ । बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले त्यसको संकेत दिएका छन् ।