नेभिगेशन
समाज

प्रधानन्यायाधीशमा शर्मा सिफारिसको आधारः वरियता भन्दा कार्यक्षमता

सर्वोच्चमा क्रम भंग

काठमाडौँ । नेतृत्वविहीन भएको करिव डेढ महिनापछि सर्वोच्च अदालतले अब नेतृत्व पाउँदै छ र सर्वोच्च न्यायालयको नेतृत्वमा पुग्दैछन्– न्यायाधीश डाक्टर मनोजकुमार शर्मा । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा डाक्टर शर्मा सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीश बन्ने छन् । सर्वोच्चको न्यायाधीश बनेको पाँच वर्षमा ७ हजारभन्दा बढी मुद्दा फैसला गरेका शर्माले अब हजारौं मुद्दा फैसलाको मात्रै होइन, मुलुकको समग्र न्याय सम्पादनको नेतृत्व गर्नेछन् ।  

वैशाख २४ गते, अपरान्ह पाँच बजे संवैधानिक परिषदको बैठक बस्दै गर्दा धेरैको चासो परिषदले के निर्णय गर्ला भन्ने थियो । प्रधानमन्त्री एवम् संवैधानिक परिषद्का अध्यक्ष बालेन शाहले अघिल्लो दिन, बैठकका लागि सूचना जारी गर्दा नै कार्यसूची अर्थात एजेण्डा सार्वजनिक गरिसकेका थिए । र, त्यो एजेण्डा थियो– प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही अनुसार संवैधानिक परिषदको बैठक बस्यो । बैठकमा न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसका बारेमा छलफल भयो । फागुन २६ मै न्यायपरिषदले ६ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका थिए– सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल, डाक्टर मनोजकुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ । 

Ncell
Extreme Energy

संवैधानिक परिषदले यिनै ६ जनामध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्ने थियो । शर्माको नाम चार नम्बरमा थियो । चार नम्बरमा परेका शर्मालाई नै परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्यो । 

नेपालको न्यायिक इतिहासमै पहिलोपटक वरिष्ठतम् न्यायाधीशको साटो चौथो रोलक्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो पटक हो । संवैधानिक परिषदको यो निर्णयलाई लिएर धेरैले टिप्पणी गरेका छन्– न्यायालयमा क्रम भंग भयो । वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने अभ्यास र परम्पराको पनि अन्त्य भयो । यसले स्थापित गरेको छ– सिफारिसमा परेका जो कोही न्यायाधीश पनि प्रधानन्यायाधीश बन्न सक्छन्, संवैधानिक परिषदले सिफारिस गर्न सक्छ । अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी प्रधानन्यायाधीश बन्ने छन् र उनले ६ वर्ष न्यायालयको नेतृत्व गर्नेछन् । संविधानअनुसार प्रधानन्यायाधीशको पदावधि ६ वर्ष हुने छ । 

सरकारले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेशको कार्यान्वयन संवैधानिक परिषदको यही बैठक र निर्णयबाट कार्यान्वयनमा आएको छ । संवैधानिक परिषद ६ सदस्यीय छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख र प्रतिनिधिसभामा विपक्षी दलका नेता सदस्य रहन्छन् । तर, २४ वैशाखको बैठकमा भने प्रधानन्यायाधीशको सट्टा कानुनमन्त्री सहभागी थिइन् । प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्री सदस्य रहने संवैधानिक प्रावधान छ । संवैधानिक परिषदको बैठकले प्रायः सहमतिमै निर्णय गर्ने परम्परा थियो । तर, शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बैठकमा भने सहमति हुन सकेन । बैठकको सुरुमै परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेनले कार्यक्षमताका आधारमा डाक्टर मनोज शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्छु भन्ने प्रस्ताव राखे । यो प्रस्तावमा राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहाल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सहमति जनाएनन् । अन्य चार सदस्यले सहमति जनाएपछि परिषदले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्यो । 

को हुन् डाक्टर मनोजकुमार शर्मा 

सन् १९७० मा वीरगन्जमा जन्मिएका शर्माको पृष्ठभूमि अधिवक्ता हो, अर्थात उनी न्याय सेवामा प्रवेश गर्नुअघि कानुन व्यवसायी थिए । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका शर्माले भारतको पुणे विश्वविद्यालयबाट कानुनमै स्नातकोत्तर गरे । त्यसपछि सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि अर्थात पीएचडी गरे । 

सन १९९५ मा अधिवक्ताका भएका उनी दशकभन्दा बढी समय वकालत पेशामा थिए ।  न्यायिक क्षेत्रमा उनको औपचारिक प्रवेश भने पुनरावेदन अदालतबाट भयो । उनी सन् २०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत थिए ।  नयाँ संविधान जारी भएपछि अतिरिक्त न्यायाधीशको व्यवस्था हटाइएपछि उनीसहित २८ जना न्यायाधीश पदमुक्त भएका थिए । डाक्टर शर्मा ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भए ।

सर्वोच्च अदालतमा ७ वर्ष न्याय सम्पादन गरिसकेका शर्मा यसबीचमा कुनै पनि विवादमा परेनन् । यसको अर्थ उनले गरेका फैसलाको सार्वजनिक आलोचना भएको सुनिएको छैन । 

न्याय परिषदको सिफारिसमा परेका अन्य पाँच न्यायाधीशलाई पछि पार्दै शर्मा प्रधानन्यायाधीशमा सिफारिस हुनुको सबैभन्दा महत्वपूर्ण कारण उनको कार्यक्षमता नै हो । शर्माले पछिल्ला ५ वर्षमा ७ हजार ३ सय ८८ मुद्दा फर्छौट गरेका छन् । जबकि सपना मल्लले ४ हजार ६ सय ७१, कुमार रेग्मीले ६ हजार २ सय २६, हरि फुयाँलले ६ हजार ५ सय २६, नहकुल सुवेदीले ४ हजार ९ सय ६९ र तिलप्रसाद श्रेष्ठले ५ हजार ९ सय ९२ मुद्दा फर्छ्यौट गरेका छन् । अन्य न्यायाधीशको तुलनामा उनले बढी मुद्दा फर्छ्यौट गरे, त्यही नै प्रधानन्यायाधीश बन्न उनलाई सहयोगी बन्यो । 

सुरुमै भनिसकेँ, सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि ६ जना दाबेदार थिए । न्यायपरिषद्ले गएको फागुन २६ मा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डाक्टर मनोजकुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गर्यो । 

संविधानअनुसार प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिना अगावै न्याय परिषदले ६ जनाको नाम सिफारिस गर्नुपर्छ । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले १८ चैतमा अवकाश पाएका थिए ।
संविधानको धारा १२९ मा प्रधानन्यायाधीशको योग्यता तोकिएको छ । जहाँ सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने भनिएको छ । संविधानअनुसार वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने संवैधानिक बाध्यता छैन । 

न्यायपरिषद्बाट सिफारिस भएका ६ जना नै प्रधानन्यायाधीश बन्न योग्य मानिन्छन् र तीमध्ये जसलाई बनाए पनि संविधानले रोक्दैन । वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा मात्रै हो, अभ्यास मात्रै हो । प्रधानन्यायाधीशको पदावधि ६ वर्ष हुन्छ र उमेरहद ६५ वर्ष रहेको छ । यी दुई मध्ये जुन पहिला पुग्छ, त्यसैका आधारमा प्रधानन्यायाधीशले अवकास पाउँछन् । 

संवैधानिक परिषद्ले सिफारिस गर्दैमा प्रधानन्यायाधीश भइहाल्ने भने होइन । अब परिषदले सिफारिस गर्ने हो । सिफारिस गरिएको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्छ । संविधानको धारा २९२ ले संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गरेको छ । सुनुवाइ समितिले उजुरी माग्छ, ती उजुरीमाथि छानबिन गर्छ अनि सिफारिसमा परेका उम्मेदवारको सुनुवाइ गर्छ । सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्छन् । सुनुवाइ समितिले अनुमोदन नगरेमा भने संवैधानिक परिषदले फेरि अर्को नाम सिफारिस गर्नुपर्ने हुन्छ । यसअघि संवैधानिक परिषदले सिफारिस गरे पनि सुनुवाइ समितिले अनुमोदन नगर्दा दीपकराज जोशी प्रधानन्यायाधीश हुन पाएका थिएनन् । 

तर, यसपालि संवैधानिक परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन नगर्ने सम्भावना कम छ । किनभने सरकार रास्वपाको छ, रास्वपाकै प्रधानमन्त्री अर्थात सुनुवाइ समितिका अध्यक्ष छन् अनि सुनुवाइ समितिमा सत्तापक्षकै बहुमत छ । १५ सदस्यीय सुनुवाइ समितिमा सभापतिसहित रास्वपाका आठ सदस्य छन् । 

राज्यका अंग जस्तै न्यायालयमा पनि निकै सुधारको खाँचो छ । न्यायमा समेत चरम राजनीतिकरण भयो भन्ने गुनासो सर्वत्र छ । न्याय पाउनका लागि सामान्य नागरिकले जीवनभर अदालत धाउनुपर्ने अवस्था छ । कतिपय अवस्थामा त कार्यपालिकाको छायाँ न्यायपालिकामा पर्यो भन्ने गुनासो आइरहन्छ । अब बन्ने प्रधानन्यायाधीशले न्याय क्षेत्रमा मौलाएका विकृति हटाउँदै जनतालाई समयमै न्याय दिन सक्नुपर्छ, सिंगो न्याय प्रणालीलाई चुस्त बनाउन सक्नुपर्छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका थिए । वैयत्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।