नेभिगेशन
समाज

सर्वोच्चमा शर्माः बदलिएको जनादेशले बदल्यो अदालतको रोलक्रम

काठमाडौँ । न्यायाधीश डाक्टर मनोजकुमार शर्मा । न्याय परिषदले सिफारिस गर्दा ४ नम्बरमा थिए । संवैधानिक परिषदले उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्यो । परिषदको सिफारिसपछि संसदीय सुनुवाइ समितिले उजुरी माग्यो, छानबिन गर्यो, शर्मासँग योजना माग्यो, सुनुवाइ गर्यो । अनि सर्वसम्मतिले उनको नाम अनुमोदन गर्यो । त्यसपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश नियुक्त गरे । डाक्टर मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीश बने । 

न्याय परिषदले सिफारिस गर्नु, सिफारिसमा परेकामध्ये एकजनालाई संवैधानिक परिषदले निर्णय गर्नु, संसदीय सुनुवाइ हुनु अनि राष्ट्रपतिले नियुक्त यी नियमित प्रक्रिया हुन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, यही नियमित प्रक्रियाभित्रै रहेर नेपालको न्यायालयमा पहिलो पटक क्रम भंग भएको छ । वर्षौंसम्म सर्वोच्चको नेतृत्वका लागि तयार पारिएको रोलक्रम पनि टुटेको छ । यसअघिकै रोलक्रमअनुसार संवैधानिक परिषद र संसदीय सुनुवाइ समिति अगाडि बढेको भए सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्ने थिइन् । त्यसपछि कुमार रेग्मी अनि हरि फुयाँल । तर, परिस्थिति यस्तो आयो– प्रधानन्यायाधीश बन्ने अवसर पाए मनोज शर्माले । 

Ncell
Extreme Energy

३३औं प्रधानन्यायाधीशका लागि परिषदले सिफारिस गर्दै गर्दा मुख्य आधार बनाएको थियो– उनको कार्य क्षमता । सर्वोच्चको न्यायाधीश बनेको पाँच वर्षमा ७ हजारभन्दा बढी मुद्दा फैसला गरेका शर्माको काँधमा अब सर्वोच्चको मात्रै होइन, सबै तहका अदालतबाट हुने समग्र न्याय सम्पादनको जिम्मेवारी थपिएको छ ।

गएको वैशाख २४ गते परिषदले उनको नाममा निर्णय गरेपछि देशैभर तरंग फैलियो । पुराना दलहरु रोलक्रम अनुसार नै सपनालाई प्रधानन्यायाधीश बनाउन चाहन्थे, त्यस्तो निर्णय भएन । पुराना दलहरु रुष्ट भए । रोलक्रममा रहेकी वरिष्ठतम् न्यायाधीश मल्ल पनि रुष्ट भइन् । यति मात्रै होइन, अन्तरिम सरकारको नेतृत्व गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि रुष्ट भइन् । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन त आन्दोलनमै उत्रियो । ती असन्तुष्टि, आक्रोश अनि रोष संसदीय सुनुवाइ समितिसम्म पुग्यो । तर, कुनै पनि आन्दोलन, आक्रोश र असन्तुष्टिले त्यसलाई रोकेन । ३३औं प्रधानन्यायाधीश शर्मा को हुन् ? कसको आक्रोश के थियो, कसको असन्तुष्टि के थियो, अनि कसको चित्त दुखाइ केमा थियो, केहीबेरमा चर्चा गर्छु । त्योभन्दा पहिला आज दिनभर के के भयो ? त्यो बुझौं । 

संवैधानिक परिषदले निर्णय गरेपछि संसदीय सुनुवाइ समितिले दश दिनको समय दिएर शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरीको समय हिजो सकियो । आज बिहान ९ बजे सुनुवाइ समितिको बैठक बस्यो । त्यही बैठकमा उनीविरुद्ध परेका उजुरी खोलियो । शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए । ती सबै उजुरीमाथि छलफल भयो । छलफलपछि सुनुवाइका लागि शर्मालाई बोलाइयो । त्यहीँ उनले कार्ययोजना पेश गरे, आफूमाथि परेका उजुरी र आरोपको जवाफ दिए । 

लिखित रुपमा नै कार्ययोजना पेश गरेका शर्माले न्याय सम्पादनलाई पारदर्शी बनाउने बताए । उनले इजलासमा हुने मुद्दाको सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने र न्याय सम्पादनमा एआईको प्रयोगबारे अध्ययन गर्ने घोषणा गरे । 

न्यायालयमा सुधारको खाँचो छ । कहाँ के कमजोरी छ भन्ने शर्मालाई जानकारी नहुने कुरै भएन । त्यसमा पनि थप अध्ययन गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए । 

उनले आफ्नो कार्ययोजना पेश गरेपछि सुरु भयो– सवालजवाफ । सांसदहरुले पालैपालो प्रश्न सोधे । उनले जवाफ दिए । उनीविरुद्ध जे जे उजुरी परेका थिए, सांसदहरुले प्रायः तिनै प्रश्न सोधेका थिए । 
यतिसम्म कि, सांसदहरुले प्रधानन्यायाधीश सिफारिसविरूद्ध परेको रिट दरपीठ गरिएको र त्यस विरूद्धको निवेदन समेत होल्डमा राखिएकोबारे प्रश्न पनि सोधे । सर्वोच्चमा गुटबन्दी भएको हो ? भनेर पनि सोधे । 
त्यसको सहज जवाफ दिए– ‘रिट दर्ता गर्ने नगर्ने जिम्मेवारी प्रशासनको हो । गुटबन्दी भयो भन्ने हल्ला निराधार हो ।’

कतिपयले प्रश्न शर्मालाई सिफारिस गर्दा नै उठाएका थिए । अघिल्लो वरियताका तीन जनालाई छाडेर कसरी चौथो वरियताको न्यायाधीश कसर योग्य भनेर पनि सांसदले प्रश्न सोधे । त्यसमा उनले सटिक जवाफ दिए– यो बढुवा होइन, नियुक्तिको विषय हो, बढुवामा वरिष्ठताको मापदण्ड बलियो हुन्छ, यो नियुक्ति हो, यसमा परिषदले प्रक्रिया पुरा गरेको छ ।’

उनीमाथि एनसेलको करसम्बन्धी फैसला र नेपोबेबीबारे पनि प्रश्न सोधिएको थियो । एनसेलको करसम्बन्धी मुद्दामा कानुन बमोजिम नै फैसला गरेको र पूर्वप्रधानन्यायाधीशको नातेदार भएकै कारणले आफूलाई नियुक्त गर्न नहुने भन्ने कहीँ कतै नरहेको जवाफ दिए । 

सुनुवाइ सकिएपछि शर्मा बैठकबाट बाहिरिए, त्यसपछि बसेको सुनुवाइ समितिले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गर्यो । लगत्तै संसद सचिवालयले राष्ट्रपतिको कार्यालयलाई पत्र लेखेर शर्माको नाम सुनुवाइ समितिबाट अनुमोदन भएको जानकारी गरायो । त्यसपछि राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरे । नियुक्तिपछि शर्माले शपथ लिए, सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरे । 

जतिबेला सिंहदरबारमा शर्माको सुनुवाइ भइरहेको थियो, त्यति नै बेला नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनविरुद्ध दिउँसै लालटिन बालेर रामशाह पथमा विरोध प्रदर्शन गरिरहेको थियो । विरोधको निहुँ थियो– सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता गरिदिएन । त्यसमा बारले शर्माको पनि भूमिका देख्यो । शर्माकै आदेशमा रिट निवेदन दर्ता नभएको आरोप बारको छ । बारले जुन आरोप लगाएको छ, त्यही कुरा हिजो मात्रै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आफ्नो लिखित आदेशमा उल्लेख गरेकी थिइन् । 

पहिले विपक्षी दलहरुले शर्माको नाममा असहमति जनाए । सडकदेखि सदनसम्ममै आवाज उठाए । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले त वर्तमान सरकारविरुद्ध आगो ओकलिन् । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल रुष्ट नहुने त कुरै भएन । सपनाको चाहना थियो– संवैधानिक परिषद अध्यादेशविरुद्धको रिट दर्ता गराउने र त्यसमा सरकारको विरुद्धमा आदेश जारी गराउने । उनको यो योजना पनि पुरा भएन । सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले हिजो नै उनको आदेश अबज्ञा गरे । 

शर्मालाई प्रधानन्यायाधीश हुन नदिने कुनै पनि चालबाजी पुरा भएन । यसको अर्थ हो– न्यायपालिकामा अब कसैले पनि व्यक्तिगत चाहना र स्वार्थ लागु गर्न सक्दैन । संविधान, कानुन र विधिले जे भन्छ त्यही हुन्छ । विगतमा न्यायाधीश नियुक्तिको प्रक्रिया नै गलत थियो । दल र तिनका नेताको चाहनामा अनि भागबण्डामा न्यायाधीश नियुक्त हुन्थे । त्यसको असर न्यायसम्पादनमा पनि पथ्र्यो । 

अब यो प्रक्रियालाई सुधार गर्ने जिम्मे डाक्टर मनोजकुमार शर्माको काँधमा आएको छ । शर्माले अब ६ वर्ष समग्र न्यायपालिकाको नेतृत्व सम्हाल्ने छन् । यो अवधिमा उनले न्याय क्षेत्रमा आमुल परिवर्तन ल्याउनुपर्ने छ । यो उनका लागि चुनौती पनि हो, अवसर पनि हो । 
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा अहिले क्रमभंग भयो । वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने विगतको अभ्यास र परम्परा अन्त्य भयो । 

अझै पनि कतिपयले भन्ने गरेका छन्– वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई प्रधानन्यायाधीश बनाइयो । बुझ्नुपर्ने कुरा के हो भने प्रधानन्यायाधीश बन्न जुन मापदण्ड तोकिएको छ, त्यो मनोजकुमार शर्माले पुरा गरेका छन् । त्यही मापदण्डअनुसार उनी सिफारिस भए, अन्ततः प्रधानन्यायाधीश नै बने । सन् १९७० मा वीरगन्जमा जन्मिएका शर्माको पृष्ठभूमि अधिवक्ता हो । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका शर्माले भारतको पुणे विश्वविद्यालयबाट कानुनमै स्नातकोत्तर गरे । त्यसपछि सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि अर्थात पीएचडी गरे । 

सन १९९५ मा अधिवक्ता भएका उनी दशकभन्दा बढी समय वकालत पेशामा थिए ।  न्यायिक क्षेत्रमा उनको औपचारिक प्रवेश भने पुनरावेदन अदालतबाट भयो । उनी सन् २०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत थिए ।  डाक्टर शर्मा ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भए । सर्वोच्च अदालतमा ७ वर्ष न्याय सम्पादन गरिसकेका शर्मा यसबीचमा कुनै पनि विवादमा परेनन् । यसको अर्थ उनले गरेका फैसलाको सार्वजनिक आलोचना भएको सुनिएको छैन । 

बितेको साढे ३ दशकमा मुलुकलाई पुराना दलहरुले अति राजनीतिकरणको दलदलमा फसाए । न्याय क्षेत्र पनि त्यसको चपेटामा पर्यो । कुशासन मौलायो, भ्रष्टाचार मौलायो, दण्डहीनता बढ्यो । जनता आजित भए । त्यसैको परिणाम हो जेनजी विद्रोह । जेनजी विद्रोहले पुरानो सत्ता ढाल्यो । चुनावमा  जनताले रास्वपालाई झण्डै दुईतिहाइ बहुमत दिए ।  

चैत १३ गतेदेखि मुलुकको सत्ता सम्हालेको रास्वपाले राज्यका सबै अंगमा सुधारको प्रयास गरिरहेको छ ।  सुधारको खाँचो न्यायालयमा पनि छ । नागरिकले सहज रुपमा न्याय पाउनुपर्छ । कोही पनि अन्यायमा पर्नु हुँदैन । रास्वपाले यो तथ्य राम्ररी बुझेको छ । रास्वपाको स्पष्ट बुझाइ छ– सरकारले जनतालाई सेवा दिनुपर्छ, सरकारले जस्तै राज्यका अन्य अंगले पनि आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । संसदमा परिवर्तनको संकेत देखिएको छ । अब न्यायालयमा पनि परिवर्तन देखिनुपर्छ, सुधार देखिनुपर्छ । यसमा नयाँ  प्रधानन्यायाधीशलाई सफलता मिलोस्, हाम्रो पनि शुभकामना ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण

मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो ।
३३औं प्रधानन्यायाधीश मनोजकुमार शर्माले लिए शपथ

३३औं प्रधानन्यायाधीश मनोजकुमार शर्माले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. शर्मा सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीश बनेका छन् ।
धितोपत्र बोर्ड अध्यक्ष: को को परे सर्टलिस्टमा ?

धितोपत्र बोर्ड अध्यक्ष: को को परे सर्टलिस्टमा ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा(३) बमोजिम गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस...