नेभिगेशन
समाज

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्रीको जवाफः ‘कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार हुन्छ’ (पूर्णपाठसहित)

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । 

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताए । 

Ncell
Extreme Energy

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उनले उल्लेख गरे । 

यस्तो छ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको जवाफको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

हिजो र आज यस सम्मानित सदनमा व्यक्त भएका विचार, सुझाव र जिज्ञासाप्रति सरकारका तर्फबाट म हार्दिक सम्मान व्यक्त गर्दछु। हामी बहुलवादी लोकतन्त्रमा विश्वास गर्छौं, फरक मतको सम्मान गर्छौ। 'वादे-वादे जायते तत्वबोध' -- निरन्तर छलफलबाटै जन्मछ नयाँ ज्ञान वा बुझाई। 

१. राष्ट्र निर्माणको साझा उद्देश्यमै हामी सबै बाँधिएका छौं। साधन र साध्य छुट्याउन सकौं। साध्य वा गन्तव्यमा धेरै विवाद नहोला -- सुशासित, समुन्नत नेपाल होस्। अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस्। राज्यले सामाजिक न्यायको पक्ष्मा गर्न सक्ने लगानीको सामर्थ्य बढोस्। अन्तर्राष्ट्रिय प्रतिष्ठा र आत्म-सम्मान कायम होस्। 

अब त्यहाँ पुग्ने बाटो -- साधन -- अलिकति फरक ढंगले लगौं भन्ने हो रास्वपाको। विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक भएको भए त राजनीतिमा पुस्तान्तरण र आर्थिक-सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग हुनेनै थिएन। पछिल्ला तीन दशकमा नेपाल, नेपाली नागरिक र समग्र अर्थतन्त्रले कुशासनको कति ठूलो मूल्य चुकाएको छ। सुस्त निर्णय प्रक्रिया, मिलेमतो, नीतिगत अन्योल, बिचौलियातन्त्र र संस्थागत दोहनका कारण मुलुकले गुमाएको आर्थिक अवसर, रोजगारी र सम्भावित आर्थिक वृद्धि (missed GDP) को मूल्य अकल्पनीय छ। त्यसैले नै हामीले “सुशासनको लाभांश” भन्ने अवधारणा अघि सारेका हौँ। 

पुरानै शब्दजाल, आफुले बोल्दै-लेख्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत माननीयज्यूहरुलाई मेरो विनम्र आग्रह:    

Elections have consequences. Historic elections have profound consequences. 

गत भाद्र २३-२४ को विष्फोट अनि फागुन २१ को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। परम्पराको नाममा हामी पुरानै ढर्रामा कैद हुन भने चाहन्नौं।    

संविधानप्रति हाम्रो प्रतिवद्धता छ। संविधानमा मन नपरेका प्रावधानहरु फेर्न परेपनि संविधानमै लेखिएका धारा २७४ र २७५ टेकेरै गर्ने हो। समता-उन्मुख समाज निर्माणप्रति हामी कटिवद्ध छौं। अवसरको समानता र मध्यमवर्गको सुरक्षित विस्तारप्रति हामी समर्पित छौं।   

२. हाम्रो आर्थिक सोच लोकतान्त्रिक मूल्यमा आधारित, प्रतिस्पर्धात्मक, उत्पादनमुखी र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र हो। राज्यलाई हामी सबै कुरा आफैं गर्ने संरचनाका रूपमा होइन, नागरिक, निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रूपमा हेर्छौँ। सरकारको प्रभावकारी नियमन र सहजीकरणमा निजी क्षेत्रले उडान भर्ने अवधारणाअनुरूप हाम्रो लक्ष्य उपभोगमुखी, आयात–निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन, उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु हो।

३.    कतिपय माननीय सदस्यहरूले मुख्य प्राथमिकता के हो सोध्नुभएको छ। हाम्रो शिर्ष प्राथमिकता सुशासन नै हो। किनकि हाम्रो स्पष्ट विश्वास छ—सुशासनबिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थाहरुको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार “सिस्टम सुधारमार्फत आर्थिक सुधार” को बाटोमा अघि बढेको हो। ई–गभर्नेन्स, डिजिटल डेलिभरी, one-time data submission, performance contract जस्ता प्रबन्धहरू केवल प्रविधिका कुरा होइनन्; यी राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार हुन्। हामीले “खर्च गर्ने राज्य” होइन, “delivery दिने राज्य” निर्माण गर्दैछौँ। 

४. केही माननीय सदस्यहरूले निजी क्षेत्र तर्सिने, आत्मविश्वास घट्ने चिन्ता व्यक्त गर्नुभयो। म स्पष्ट भन्न चाहन्छु—इमानदार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन। फेरी स्मरण गराउछु—आसेपासेको मिलेमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पुर्‍याउनु नै हाम्रो मूल उद्देश्य हो। हाम्रो सोच, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण consistency छ, र आगामी बजेट पनि यही दिशामा आउनेछ। 

प्रतिपक्षका माननीय साथीहरूलाई पनि यो परिवर्तनको यात्रामा अवरोध होइन, रचनात्मक सहयात्री बन्न आग्रह गर्दछु। हामीले overreach गर्दा सचेत गराउनुस्, तर कृपया बदमासहरुको साथ अब छोडिदिनुस्। 
५.     कतिपय माननीय सदस्यहरूले “मध्यम वर्ग विस्तार” को अवधारणामाथि पनि टिप्पणी गर्नुभएको छ। यहाँ स्पष्ट हुन आवश्यक छ—मध्यम वर्ग विस्तार भन्नाले केही सीमित वर्गलाई सुविधा दिनु होइन। यसको मूल ध्येय गरिब, श्रमिक, किसान, भूमिहीन, सुकुम्बासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउनु हो। जब नागरिकको आय, सीप, उत्पादकता र अवसरमा पहुँच बढ्छ, तब मात्रै वास्तविक सामाजिक गतिशीलता (upward mobility) सम्भव हुन्छ। त्यसैले यो अवधारणा सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्नु हो।

६.     धेरै माननीय सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा “सबै पुरानै दोहोरियो” भन्ने टिप्पणी गर्नुभएको थियो। अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि “यसमा पुरानो केही छैन” भन्ने आपत्ति प्रकट भइरहेको छ। म सम्मानपूर्वक पुनः दोहोराउन चाहन्छु—राज्य कुनै अस्थायी राजनीतिक संरचना होइन, यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो। सरकार परिवर्तन हुँदैमा संविधानका मूल मर्म, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य, LDC Graduation का दायित्व वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा बदलिँदैनन्। कृषि, शिक्षा, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौँदेखि राज्यको प्राथमिकताका केन्द्रमा रहेका छन् र रहनेछन्। 

तर मुख्य प्रश्न विषयको नाम होइन, दृष्टिकोण, कार्यान्वयनको शैली र अपेक्षित परिणाम हो। हामीले ती क्षेत्रलाई कुन सोचबाट हेर्छौँ? कसरी कार्यान्वयन गर्छौँ? र नागरिकले कस्तो परिणाम प्राप्त गर्छन्? भन्ने कुरा नै वास्तविक भिन्नता हो। त्यसैले माननीय सदस्यहरूले अलि फरक आलोकबाट, विषयान्तर नगरी, दस्तावेजको गहिराइमा गएर विश्लेषण गरिदिनु भयो भने सरकारलाई पनि थप सहयोग पुग्ने थियो। 

७.    धेरै माननीय सदस्यहरूली 'नीति तथा कार्यक्रम', बजेटको 'सिद्धान्त र प्राथमिकता', बजेटमा हुने विनियोजनलाई छुट्याएर नबोलेको पाएँ। परराष्ट्र मामिला देखि आफ्नो वडाको विकास निर्माण।

मूलत: ६६०० अर्वको अर्थतन्त्र छ, गत साल १९६४ अर्वको बजेट आयो, तर हामीले ५-७ करोडको आयोजनामा भुलेको पाउँछु। 

“लेख्नु ठूलो कुरा होइन, implementation ठूलो कुरा हो।” म त्यो कुरा पूर्ण रूपमा स्वीकार गर्छु। तर एउटा सरल यथार्थ के हो भने—कुनै पनि बजेट, नीति तथा कार्यक्रम वा विकासको मार्गचित्र पहिले स्पष्ट रूपमा लेखिन्छ, त्यसपछि मात्र कार्यान्वयनमा जान्छ। राम्रो कार्यान्वयनको पहिलो शर्त स्पष्ट सोच, स्पष्ट लेखाइ र उत्तरदायित्व हो। कार्यान्वयनलाई केन्द्रमा राखेरै यो दस्तावेज तयार गरेका हौँ।

वास्तवमा, यही कारणले यसपटकको सिद्धान्त र प्राथमिकतामा implementation architecture लाई विशेष जोड दिइएको छ। नागरिकले अब भाषण होइन, परिणाम खोजेका छन् भन्ने कुरा हामीलाई पूर्ण रूपमा थाहा छ। त्यसैले कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाममापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको छ। पहिलो पटक mission-mode execution को चर्चा छ। 
यो केवल शब्दको परिवर्तन होइन; governance philosophy र execution model कै स्पष्ट प्रस्थानबिन्दु हो।

८. नयाँ र पुरानो: New College (सन् १३७९)  

९. हामीले प्रस्तुत गरेका पाँच मार्गदर्शक सिद्धान्त—सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्ध—यिनै आधारमा प्राथमिकताहरु  निर्माण गरेका छौँ। हाम्रो विश्वास छ, यी प्राथमिकताले आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय, उत्पादकता, प्रतिस्पर्धात्मकता र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने आधार निर्माण गर्नेछन्। 

१०. सम्माननीय सभामुख महोदय, हामीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताले केवल सरकारको दृष्टिकोण मात्र प्रतिनिधित्व गर्दैन; यसले संविधानका निर्देशक सिद्धान्त, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य, विभिन्न राजनीतिक दलका घोषणापत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकाङ्क्षालाई समेट्ने प्रयास गरेको छ। जनतासँग गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने इमानदार प्रयत्नका रूपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदनसमक्ष आग्रह गर्दछु।

अन्त्यमा, यहाँबाट उठेका महत्वपूर्ण धारणाहरूलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्नेछ। माननीय सदस्यहरूबाट अझ गहिरो अध्ययन, दूरदृष्टि र राष्ट्रहित केन्द्रित रचनात्मक सुझावको अपेक्षा राख्दै राष्ट्र निर्माणसम्बन्धी बहसलाई परिपक्व र परिणाममुखी बनाउन सबैलाई आह्वान गर्दछु।

धन्यवाद। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।