नेभिगेशन
समाज

नयाँ नीतिले जापानबाट फर्किंदैछन् हजारौँ नेपाली

काठमाडौँ । के तपाईँको आफन्त जापानमा हुनुहुन्छ ? अध्ययन, रोजगारी, व्यापार व्यवसायको उद्देश्यले जापानमा हुनुहुन्छ भने जापान सरकारको पछिल्लो नीतिले केही तनाव बढाएको हुन सक्छ । 
किनकि जापानले आफ्नो अध्यागमन नीतिमा गरेको फेरबदलको प्रत्यक्ष असर जापानमा रहेका नेपालीहरूमा पर्दै छ । 

करिब ३ लाख नेपाली रहेको जापानमा अधिकांश विद्यार्थी भिसामा पुगेका छन् भने, दोस्रो नम्बरमा कामदार भिसामा पुगेका छन् । बिजनेस भिसामा करिब ३ हजार नेपाली छन् । अहिले बिजनेस भिसामा रहेका नेपाली र उनीहरूमा आश्रित परिवार तथा नेपाली कामदारहरू त्रसित छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जापान सरकारले विदेशी व्यवसायीहरू माथि कडाइ गर्ने नयाँ नीति अवलम्बन गरेसँगै त्यसको मारमा नेपाली व्यवसायीहरू समेत परेका छन् ।  सरकारले बिजनेस भिसा लिएर व्यवसाय गर्ने विदेशीहरूलाई कडाइ गर्ने नयाँ नीति अवलम्बन गरेपछि त्यहाँ रहेका विदेशी व्यवसायीहरू त्रसित बन्न पुगेका हुन्।

Ncell
Extreme Energy

बिजनेस भिसामा पुग्ने नेपालीको सङ्ख्या थोरै छ । नयाँ निति बिजनेस भिसाका लागि भए पनि अधिकांश नेपालीहरू,  कामदार भिसामा गएर  बिजनेस भिसा भएका वा उनीहरूका नाममा सानो लगानीमा होटेल तथा रेस्टुरेन्ट सञ्चालन गरेका छन् । र ती होटेलमा कामदारका रूपमा जानेहरू पनि नेपाली नै छन् । अब ती होटेल तथा रेस्टुरेन्ट लगायतका बिजनेस सञ्चालनका लागि नयाँ मापदण्ड पुरा गर्न सहज छैन । जसका कारण कुक भिसामा रहेका २० हजार भन्दा बढी नेपालीको जापान भविष्य अन्योलमा छ । 
यस्तै नेपालमा ब्याचलर पास गरेर कामदार भिसामा जापान पुगेका करिब ५० हजार नेपालीहरुलाई पनि नयाँ अध्यागमन नीतिले असर पार्न सक्ने छ । विशेष गरी भाषा, मुख्य कारण बन्ने देखिएको छ । 

नयाँ नीति के हो , जसले फर्काउन सक्छ ७० हजार नेपाली ?
जापान सरकारले जापानमा बिजनेस भिसा लिएका र लिन चाहने विदेशीहरूका लागि अघिल्लो वर्षको अक्टोबर महिना देखि नयाँ नियमहरू लागु गरेको छ । नयाँ नियम अनुसार अब विदेशीहरूले जापानमा व्यवसाय गर्नका लागि कम्पनीको पुँजी कम्तीमा तीन करोड जुटाउन पर्नेछ।

नयाँ कानुन अनुसार विदेशीहरूले बिजनेस भिसा प्राप्तिका लागि या त कम्पनी व्यवस्थापन गरेको ३ बर्से अनुभव बटुलेको हुनुपर्नेछ या त व्यवस्थापन सङ्कायमा डिग्री पास गरेको हुनुपर्नेछ। त्यस्तै जापानी नागरिक वा पिआर लिएका विदेशी मध्ये एक जना फुल टाइमर कामदार अनिवार्य राख्नुपर्नेछ।

त्यस्तै गरी कम्पनीको मालिकले या त N2 वा सो सरहको परीक्षा पास गर्नुपर्नेछ या त सो सरहको परीक्षा पास गरेको विदेशी कामदार अनिवार्य राख्नुपर्नेछ। २० वर्ष भन्दा बढी जापानमा बसेकाहरूको हकमा भने जापानी भाषा परीक्षा पास गर्नै पर्ने अनिवार्यता छैन।
सामाजिक बिमा लगायतका कुरा पनि अनिवार्य तिर्नुपर्ने गरी कडाइ गर्न लागिएको जापानको अध्यागमन विभागले जनाएको छ। जापान सरकारले नयाँ नियम लागु गरेपछि विदेशीहरूले जापानमा कम्पनी खोल्न असम्भव जस्तै भएको छ ।

पुराना कम्पनीहरू किन त्रसित छन् ?
पहिले देखिनै सञ्चालित कम्पनीहरूले यो नियम लागु भएको मितिले ३ वर्ष भित्र अर्थात् २०२८ अक्टोबर १६ सम्ममा नयाँ मापदण्डको परिधिमा प्रवेश गर्नै पर्छ। बिजनेस भिसा लिएर कम्पनी सञ्चालन गरिरहेकाहरूले पनि २०२८ अक्टोबर १६ सम्ममा कम्पनीको पुँजी ३ करोड पुर्‍याउने, १ जना जापानी वा पिआर लिएको कामदार राख्नुपर्ने, सञ्चालकले N2 वा सो सरहको भाषा परीक्षा पास गर्नुपर्ने या त N2 वा सो सरहको भाषा पास गरेको कामदार राख्नुपर्ने अनिवार्य सर्त छ।

नयाँ नियम आएपछि बिजनेस भिसा लिएर रेस्टुरेन्ट जस्ता साना व्यवसाय गरेकाहरू सबै भन्दा धेरै मारमा परेका छन्। 'नयाँ नियम लागु भएपछि धेरैजसो कम्पनी मर्ज वा बन्द हुने अवस्थामा छन्' पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठ भन्छन् 'सबै भन्दा अफ्ठेरो तीन करोडको को नीतिले पार्छ जस्तो लाग्दछ।'

नयाँ नियम लागु भइसकेपछि कतिपयको बिजनेस भिसा रद्द समेत भएको जापानका सञ्चार माध्यमहरूले समाचार प्रकाशन/प्रसारण गर्ने गरेका छन्। धेरैजसो व्यवसायीले कम्पनी सञ्चालन गरे पनि कम्पनी सञ्चालन गर्दा आवश्यक पर्ने आधारभूत प्रशासनिक प्रक्रिया नबुझ्दा समस्या आएको एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको बुझाइ छ।

'कम्पनी खोलेपछि सञ्चालकले प्रशासनिक कामहरू ह्यान्डल गर्नुपर्ने हो' लामिछाने भन्छन् 'तर सञ्चालक अरू काममा व्यस्त हुने, कर्मचारीको बिमा, कर्मचारीको तलबको हिसाब राम्रो सँग गरिएको छैन, यसको असर अडिट रिपोर्टमा पनि देखिने भएकाले भिसा रेजेक्सनको समस्या बढेको छ।'

कम्पनीले तिर्न पर्ने राजस्व समयमा नतिर्दा, आफ्नै घरको ठेगानामा कार्यालय राखेको भनेर पनि भिसा नवीकरण अस्वीकृत भएको जानकारहरू बताउँछन्। श्रम बिमा, रोजगार बिमा, सामाजिक बिमा लगायतको प्रक्रिया नगरेका र सरकारलाई बुझाउनुपर्ने राजस्व समयमा नबुझाएको कारण पनि धेरै नेपालीहरू भिसा रिजेक्सनको सिकार भएका छन्।

नयाँ नियमको भारी बोक्दै पुराना कम्पनी
जापानको नयाँ नियम लागु हुनुभन्दा पहिलेनै सञ्चालनमा आएका कम्पनीहरूले पनि सन् २०२८ अक्टोबर १६ सम्ममा नयाँ नियमको परिधि भित्र प्रवेश गर्न अनिवार्य गरिएको छ।
जापानी भाषाको ज्ञान नहुँदा कानुन कार्यान्वयनमा कठिनाइ भएको भन्दै जापानले कम्पनीका सञ्चालकहरुलाई N2 लेभलको जापानी भाषा परीक्षा पास गरेको हुनुपर्ने कानुनी सर्त छ। तर, N2 लेभलको भाषा परीक्षा पास गर्न जो कोहीलाई त्यति सहज छैन।

'विद्यार्थी भिसामा जापान आएर ४ वर्ष भाषा पढेकालाई पनि N2 लेभलको भाषा पास गर्न सहज हुँदैन' एनआरएनएका अध्यक्ष लामिछानेले भने 'जापानमा रेस्टुरेन्ट व्यवसाय गर्नेहरू अधिकांश कुक भिसामा आएका हुन्, उहाँहरुलाई व्यवहारिक रूपमा N2 पास गर्न कठिन देख्छु।'

सञ्चालकले N2 लेभलको भाषा परीक्षा पास नगरेको खण्डमा सो सरहको भाषा परीक्षा पास भएको वा जापानको 'भोकेसनल' स्कुल स्नातक गरेको कामदार राख्नुपर्ने नयाँ व्यवस्था छ। एकातिर फुल टाइम काम गर्ने जापानी वा पिआर लिएको कामदार अनिवार्य राख्नुपर्नेछ भने अर्कोतिर N2 पास गरेको छुट्टै कामदार राख्नुपर्दा आर्थिक भार बढ्ने देखिन्छ ।

त्यस बाहेक पुराना कम्पनीहरूले समेत हालको पुँजीलाई बढाएर तीन करोड पुर्‍याउनु पर्नेछ। आर्थिक रूपमा यो पनि त्यतिकै कठिन भएकाले धेरैजसो कम्पनीहरू विकल्प खोज्न बाध्य भएका छन्।
जापानले यहाँ व्यवसाय गर्ने विदेशीहरूलाई लक्षित गर्दै कडा सर्त सहितको नयाँ कानुन लागु गरेपछि पहिले देखिनै सञ्चालनमा रहेका कम्पनीहरू समेत प्रभावित भएका हुन्। नयाँ सर्तहरू पुरा गर्न कठिन देखिएपछि कतिपयले कम्पनी बिक्री गर्न थालेका छन् भने कतिपयले 'मर्ज' गर्ने नीति अवलम्बन गर्न थालेका छन्।

कसलाई के प्रभाव ?
कुक भिसा : यो भिसामा आएका प्रायजसो नेपालीहरूले सञ्चालन गरेका रेस्टुरेन्टमा काम गर्दछन्। जापान सरकारको पछिल्लो नीति अनुसार धेरैजसो रेस्टुरेन्ट बन्द हुने अवस्थामा छन्, यसले गर्दा धेरै कुकहरू बेरोजगार हुने सम्भावना छ। 

काम नजाने पनि कागजपत्र मिलाएर आएका कुकहरूले अन्यत्र काम पनि नपाउने र काम गरिरहेको रेस्टुरेन्ट बन्द हुँदा उनीहरू नेपाल फर्किन बाध्य हुनेछन्। 
कतिपयले रेस्टुरेन्ट बाट भिसा निकालेर बाहिर (इलिगल) काम गर्ने समेत गर्दछन्। सबै कम्पनीले कामदार लाई अनिवार्य सामाजिक बिमामा छिराउन पर्ने बाध्यकारी नियम आएकाले एउटा कम्पनी बाट भिसा निकालेर अर्को कम्पनीमा इलिगल काम गर्न पनि सम्भव हुनेछैन, यसले गर्दा पनि धेरै कुकहरू नेपाल फर्किन पर्ने अवस्था छ।

बिजनेस भिसा : रेस्टुरेन्ट सञ्चालन गरेका धेरैजसो साहुजीहरू कुक भिसामा जापान पुगेका हुन्। कुक भिसामा जापान पुगेर कम्पनी खोलेकाहरूले N2 लेभलको भाषा परीक्षा पास गर्न कठिन छ। जापानमा सञ्चालित धेरै जसो रेस्टुरेन्टका साहुजीहरूले कामदार लाई सामाजिक बिमामा छिराएका छैनन्, टाइम कार्ड हाल्ने सिस्टम छैन, स्यालरीसिट बनाउँदैन, यस्तै कारणले भिसा रद्द भएको छ।

यी कारणहरूले कति नेपाली फर्किन्छन् भन्ने यकिन नभए पनि धेरै नेपालीहरू स्वदेश फर्किन लागेका छन् । नयाँ नियम लागु भएपछि भिसा नवीकरण नभएर फर्किने नेपालीको सङ्ख्या जापानमा भएका नेपालीको ५० प्रतिशत हाराहारी हुन सक्ने जापानस्थित विभिन्न नेपाली समाजका जानकारहरू बताउँछन् ।

जापान बाट सञ्चालित नेपाली भाषाको अनलाइन क्योदाई न्युजको सहयोगमा तयार।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...