काठमाडौँ। सन् २००९ को चिसो हिउँदअघिसम्म मानिसहरूले ‘ध्रुवे’ हात्तीको बारेमा धेरै कुरा थाहा पाएका थिएनन्। सन् २००९ पछि चितवन र आसपासका क्षेत्रमा ध्रुवे आतङ्क र विध्वंशको पर्याय बन्यो।
वन्यजन्तु र मानव समाजका बीचमा द्वन्द्वका घटना बारम्बार हुने गरेका छन्। मध्यपहाडमा बाँदरको आतङ्क छ। बँदेल, दुम्सी, भालु र मृगले बालीनाली सखाप पारेका छन्। यी जीवजन्तुले बस्ती नै उठीबास लगाएका छन् भने गाउँलाई खण्डहर तुल्याएका छन्। तराईमा नीलगाईको यस्तै आतङ्क छ। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा अर्को ठूलो समस्या बाघ, गैंडा, चितुवा र अन्य नरभक्षी जीवजन्तुको आतङ्कबाट मानव समाज आक्रान्त र ताडित छ।
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र वरपर ध्रुवे हात्तीले मानव समाजलाई कज्याएर राखेको छ। ध्रुवेको नरभक्षी स्वभावका कारण अहिलेसम्म २५ जनाले ज्यान गुमाइसकेका छन्। भीमकाय खुट्टाले कुल्चिएर ध्रुवेले उनीहरूको जीवन समाप्त पारेको छ।
पूर्वी तराईका झापा, मोरङ, सुनसरीदेखि सप्तरीसम्मको भूभाग हात्तीको पुस्तैनी बाटो हो, जसलाई ‘इलिफेन्ट करिडोर’ पनि भनिन्छ। भारतको आसाम, मेघालयदेखि कोशी टप्पुसम्म हात्तीको बथान यही करिडोर हुँदै विचरण गर्छन्। यो प्रक्रिया आदिकालदेखि चलिरहेको छ।
हात्ती हिँड्ने परम्परागत बाटोहरू अहिले अस्तित्वमा छैनन्। कतै सघन बस्ती त कतै सडक निर्माणले हात्तीका पुर्खाले हिँड्न प्रयोग गर्दै आएको बाटो मासिएको छ। पुस्तैनी बाटोमा अवरोध भेटेपछि हात्तीले प्रतिवाद गर्नु स्वाभाविकै हो। यति मात्र होइन, हात्तीहरू बासस्थान, विचरण गर्ने मार्ग र खाद्यान्नको गम्भीर सङ्कट झेलिरहेका छन्। यो बुझिदिने कसले? आफ्नो बासस्थान गुम्दै जाँदा कसलाई पीडा नहोला र! हात्ती उच्च बौद्धिक प्राणीमा पर्छ। यसले मानवीय स्वभाव र निर्देशनअनुसार आफूलाई ढाल्न सक्छ। यसको मस्तिष्कको आकार र जटिलता मानिस, ह्वेल र डल्फिनसँग तुलना गर्न सकिन्छ।
हात्तीको स्मरणशक्ति निकै तेज हुन्छ। यिनीहरू पानीका स्रोत, माइलौँ टाढाका बाटो र आफूलाई सहयोग वा हानि पुर्याउने मानिस वा अन्य जीवहरूलाई वर्षौंसम्म बिर्सँदैनन्। कतिपय सन्दर्भमा यस्तो अनुभव समूहमा सञ्चार भएर हस्तान्तरण पनि हुन्छ। हात्तीहरू अत्यन्तै सामाजिक हुन्छन्। यिनीहरू पारिवारिक झुण्डमा बस्छन् र एक–अर्काको हेरचाह गर्छन्। कुनै साथी वा बच्चाको मृत्यु हुँदा उनीहरूले शोक मनाउने र आँसु झार्ने गर्छन्। यिनीहरू आफ्नो बुद्धि लगाएर अवरोधहरू पार गर्न सक्छन्। उदाहरणका लागि, खान नपाइने ठाउँमा काठको प्रयोग गरेर विद्युतीय तार बन्द गर्ने वा पानी पिउन माटोको प्रयोग गर्ने जस्ता कार्य गर्छन्। हात्तीहरू विभिन्न आवाज, ढुकढुकी र शरीरको भाषाको माध्यमबाट माइलौँ टाढासम्म एक–अर्कासँग कुराकानी गर्न सक्छन्।
ऐनामा आफ्नो प्रतिबिम्ब चिन्ने थोरै जीवमध्ये हात्ती पनि एक हो, जसले उनीहरूमा ‘आत्मचेतना’ रहेको पुष्टि गर्छ। आफ्ना साथी वा बच्चा बिरामी हुँदा वा चोटपटक लाग्दा हात्तीहरू उनीहरूको छेउमा बसेर स्याहारसुसार र सहयोग गर्छन्। यो त भयो हात्तीको बुद्धिमताका कुरा, तर आज हामी हात्तीको चेतनामाथि सिर्जना भएको सङ्कटभन्दा पनि हात्तीले सिर्जना गरेको मानवीय सङ्कटबारे चर्चा गर्दै छौँ।
चितवनको ध्रुवे हात्तीले सन् २००९ देखि मानव बस्तीमा पसेर विध्वंश मच्चाउन थालेको हो। सन् २००९ देखि २०२६ सम्म आइपुग्दा यसले २५ जनाको ज्यान लिइसकेको छ। निकुञ्जको भङ्ज्याहा भाले हात्तीका रूपमा परिचित ध्रुवे निकुञ्जको मात्र नभई मध्यवर्ती क्षेत्रको टाउको दुखाइ बनेको छ। सन् २०१२ पछि केही समय बेपत्ता भएको ध्रुवे अहिले पुनः मानव बस्तीमै फर्किएर हत्याको शृङ्खला मच्चाइरहेको छ।
गत असार २० गते चितवन जगतपुर, बेलहट्ठाकी आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे ध्रुवेको निशानामा परे। यसअघि सोही परिवारका दुई जनाको ज्यान ध्रुवेले नै लिइसकेको थियो। जङ्गली हात्ती गाउँ पस्ने भयले बोटे परिवारले आगोको धुनी जगाएर चनाखो नबनेका होइनन्, तर नरभक्षी ध्रुवेले गरिब झुपडी मात्रै भत्काएन, आमाछोराको ज्यान पनि लियो।
यसरी बस्ती पसेर ज्यान लिने, धनमाल नष्ट गर्ने र घर भत्काउने शृङ्खला नरोकेपछि बुधबार उक्त नरभक्षी ध्रुवेको दाह्रा काटिएको छ। निकुञ्ज प्रशासनका अनुसार ध्रुवेको दुवैतर्फको करिब ६ इन्च दाह्रा काटिएको छ। निकुञ्जको सुखिभार पोस्टबाट २०० मिटरजति पूर्व डार्ट प्रयोग गरी ध्रुवेलाई लठ्याइएको थियो। साथै, उसको घाँटीमा रेडियो कलरसमेत जडान गरिएको छ। अब उक्त रेडियो कलरले ध्रुवेको लोकेशन ट्र्याक गर्न र उसलाई मानव बस्तीमा आउनबाट रोक्न सघाउ पुग्नेछ।
रेडियो कलरमा रहेको जीपीएस स्याटलाइटसँग सिधै जोडिने भएकाले मौसम सफा रहँदा न्यूनतम १०–१० मिनेटको अन्तरालमा यसले हात्तीको लोकेसन अपडेट पठाउने निकुञ्ज प्रशासनले जनाएको छ। ध्रुवेको घाँटीमा रेडियो कलर जडान गरिएको यो तेस्रो पटक हो। यसअघि दुई पटक लगाइएका रेडियो कलर चलाख ध्रुवेले नष्ट गरिदिएको थियो।
सन् २००९ देखि २०१२ सम्म मात्रै १६ जनाको ज्यान लिएको र ५० भन्दा बढी घर ध्वस्त पारेको ध्रुवेले एक जना नेपाली सेनाका जवानको समेत ज्यान लिएपछि यसलाई ‘ध्रुवे’ नाम दिइएको थियो। १६ जनाको मृत्युपछि ध्रुवेलाई मार्ने निर्णयसमेत गरिएको थियो। त्यस क्रममा ९३ जना नेपाली सेना र निकुञ्जका अधिकारी परिचालित भई ध्रुवेलाई दुई पटक गोली लागेको थियो। गोली लागेपछि लामो समय बेपत्ता भएको ध्रुवे अहिले पुनः देखा परेपछि नियन्त्रणको उपाय थालिएको हो।
ध्रुवेलाई मार्ने वा दाह्रा काट्ने जस्ता गतिविधि प्राणी अधिकारविपरीत भएको भन्दै पशु अधिकारकर्मीहरूले विरोध जनाउँदै आएका छन्। यसपटक ध्रुवेलाई मार्ने निर्णय गरिएको छैन, केवल दाह्रा ट्रन्कुलाइज (छोट्याउने) गरिएको छ। दाह्रा नभएपछि हात्तीले आफूलाई निरिह महसुस गर्ने र विध्वंश कम गर्ने विश्वास लिइएको छ। यो कति सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ।
मानिस र हात्तीका बीचको द्वन्द्वलाई यति मात्र उपायले समाधान गर्न सकिन्छ कि सकिँदैन, मूल प्रश्न यही हो। हात्तीको बासस्थान क्षयीकरण भएसँगै खानेकुराको अभावमा उनीहरू कृषि बाली (मकै, उखु, धान) तर्फ आकर्षित भएका छन्। हात्ती मदिराजन्य पदार्थको गन्धप्रति पनि आकर्षित हुन्छ। त्यसैले हात्ती रातारात बस्ती पसेर विध्वंस मच्चाउँछन्। यति मात्र होइन, हात्ती र मान्छेका बीचमा पानीका स्रोतमा समेत द्वन्द्व छ।
सामान्यतया पोथी (ढोइ) को तुलनामा भाले हात्ती बढी आक्रामक हुन्छन्, विशेषगरी ‘मस्त’ (Mat) चढेको बेला। हात्तीको बथानमा मातृसत्ता हुन्छ र हजुरआमाले नेतृत्व गर्छिन्। उनीहरूको स्मृति निकै तीव्र हुन्छ, तर कहिलेकाहीँ नेतृत्व गर्ने ढोइ मरेमा समूह अस्थिर हुन्छ र यस्तो अवस्थामा हात्तीहरू बढी हिंस्रक बन्न सक्छन्। नेपालमा करिब २३० को हाराहारीमा जंगली हात्ती भएको अनुमान छ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गए १० लाखसम्म राहत दिने नीति छ, तर राहत मात्र समाधान होइन। मानिस र हात्तीबीचको द्वन्द्व रोक्न इलेक्ट्रिक वा सोलार फेन्सिङ, खुर्सानी र कागतीको घोलको प्रयोग, घरनजिकै माहुरीका घार राख्ने, बस्ती वरपर खाडल र ढुङ्गे पर्खाल बनाउने तथा जङ्गल क्षेत्रका फुसका घर विस्थापन गर्नेजस्ता उपायहरू अपनाउनु आवश्यक छ। साथै, हात्तीको परम्परागत बाटोलाई खुला राख्ने र पानीका मुहानहरू जोगाउने काममा जोड दिनुपर्छ।