काठमाडौँ। नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन गरेपछि पूर्वाधार विकास मन्त्री सुनील लम्सालले 'देश अब सुरुङ युगमा' प्रवेश गरेको बताए । लम्साल ती भाग्यमानी मन्त्री हुन्- जसले नेपालकै अत्याधुनिक सुरुङ मार्गको उद्घाटन गर्ने अवसर पाए ।
देश सुरुङ युगमा प्रवेश गरेको बताउने लम्साल पहिलो मन्त्री वा नेता भने होइनन् ।
Watch On
नेपालका लागि जापानका राजदूत र जाइका प्रमुखलाई राखेर सुरुङमार्गमा गाडी चलाउँदै पूर्वाधार विकासमन्त्री सुनील लम्साल
२०७६ मा यही सुरुङ मार्गको शिलान्यास गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि 'देश सुरुङ युग'मा प्रवेश गरेको बताएका थिए भने २०८१ वैशाखमा यही सुरुङ ब्रेक थ्रु गर्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यही भनेका थिए ।
जब नागढुंगा-सिस्नखोला सुरुङ मार्ग निर्माण थालियो, यो राष्ट्रिय बहस र महत्वको आयोजना बन्यो । कारण हो- नेपालमा यस्तो आयोजना पहिलो पटक सुरु भएको थियो । सुरु हुँदै गर्दा त त्यति बढी उत्साह र चर्चा थियो भने सम्पन्न हुँदा नहुने कुरै भएन ।
दूरीका हिसाबले यो सुरुङ मार्ग जम्मा २ किलोमिटर ६ सय ८८ मिटर लामो छ ।
यो सुरुङ मार्गको महत्व दूरीले भन्दा पनि नागढुंगादेखि सिस्नेखोलासम्मको सडकमा यात्रु र सवारी साधनले खेप्नुपर्ने सास्ती अन्त्यको अपेक्षाले बढाएको हो । यो सुरुङमार्गले नागढुंगा क्षेत्रमा हुने घण्टौं लामो जामबाट छुटकारा दिने छ भने करिव आठ किलोमिटर सडकलाई साढे २ किलोमिटरमै सीमित गरिदिने छ ।
जलविद्युत् आयोजनाहरुमा सुरुङ निर्माण नियमित प्रक्रिया हो । अधिकांश विद्युत् आयोजनामा सुरुङ बनाइएको हुन्छ । नदीको पानीलाई ड्यामबाट पावरहाउसम्म पुर्याउन सुरुङ बनाइन्छ । तर, पछिल्लो समय सडक अर्थात राजमार्ग र अन्य विकास आयोजनाहरुमा पनि सुरुङ बनाउन थालिएको छ । त्यसैको एउटा उदाहरण हो- आज उद्घाटन गरिएको नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग ।
जापान सरकारको २२ अर्ब सहुलियत ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी २८ अर्ब लागतमा निर्धारित मितिभन्दा करिव ३ वर्ष ढिला यो सुरुङ मार्गले उद्घाटनको अवसर पायो । यो सुरुङमार्गमा प्रवेशका लागि काठमाडौंको बलम्बुमा फ्लाइओभर बनाइएको छ भने धादिङको सिस्ने खोलामा ५ सय ६५ मिटर पहुँच सडक निर्माण गरिएको छ ।
ख्याल राख्नुपर्ने कुरा यो छ कि- पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले यो सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।
यो त भयो आज उद्घाटन भएको नागढुंगा- सिस्नेखोला सुरुङ मार्गको कुरा । यो बाहेक अन्य ठाउँमा पनि सुरुङ मार्ग बनिरहेका छन् । तिनैमध्येको एक हो- सिद्धबाबा सुरुङ मार्ग ।
नागढुंगापछि दोस्रो बढी चर्चा बटुलेको सिद्धबाबा सुरुङ मार्गको २०८१ माघ ११ गते ब्रेक थ्रु भयो । सिद्धार्थ राजमार्गमा पर्ने यो सुरुङ मार्ग १ हजार १ सय २६ मिटर लामो छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरु हुने भएकाले यसको नाम सिद्धबाबा सुरुङमार्ग राखिएको हो । २०८४ मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी रहेको यो सुरुङ मार्गले सिद्धार्थ रागमार्गको दोभान–सिद्धबाबा क्षेत्रको यात्रालाई सहज बनाइदिने छ । खासगरी पहाडी क्षेत्रबाट बुटवल प्रवेश गर्ने र बुटवलबाट पहाडी क्षेत्र प्रवेश यात्रु र सवारी साधनलाई यसले सहयोग पुर्याउने छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा बारम्बार हुने दुर्घटना अनि निरन्तरको पहिरोका कारण भोग्नु परिरहेको क्षति र अवरोधबाट पनि यो सुरुङमार्गले मुक्ति दिने अपेक्षा छ । अनि सिद्धार्थ राजमार्गको यात्रालाई करिव तीन किलोमिटर छोटो बनाइदिने छ ।
फास्ट ट्र्याकमा ७ सुरुङ
हाल निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग अर्थात फास्ट ट्र्याकमा पनि धमाधम सुरुङ बनाइँदै छ ।
फास्टट्रयाकमा त एउटा होइन, दुईटा पनि होइन, ७ वटा सुरुङमार्ग बनाइँदै छ र तीमध्ये धेद्रे र लेनडाँडाका सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेको छ । करिव ७० किलोमिटर दूरीको फास्टट्र्याकमा करिव ११ किलोमिटर त सुरुङमार्ग नै हुनेछ । यतिमात्रै होइन, ८९ स्थानमा अत्याधुनिक आकाशे पुल बनाइँदैछ । केही पुल बनिसकेका छन्, केही निर्माणाधीन छन् । यद्यपि, फास्ट ट्र्याक निर्माणको प्रगति भने सन्तोषजनक छैन ।
राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत काठमाडौं–तराई-मधेश द्रुतमार्गको निर्माण नेपाली सेनाले गरिरहेको छ । २०७४ सालमै डीपीआर स्वीकृत गरी अगाडि बढाइएको यो आयोजनाको ठेक्का सम्झौता हुनै चार वर्ष लाग्यो । करिव २ खर्ब लाग्ने अनुमान गरिएको ७० किलोमिटर दूरीको फास्ट ट्रयाक निर्माण कहिले सकिन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन।
नेपालमा हाल निर्माणाधीन र निर्माण सम्पन्न भइसकेकामध्ये सबैभन्दा लामो सुरुङ हो– मेलम्ची खानेपानी आयोजनाको । सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म करिव २६ किलोमिटर सुरुङ बनाइएको छ र यही सुरुङबाट मेलम्चीको पानी काठमाडौं ल्याइएको छ ।
निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा पर्ने सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ । सिन्धुलीको कानढुंग्रीस्थित सुनकोशी नदी किनारबाट सुरु हुने यो सुरुङ १३ दशमलव ३ किलोमिटर लामो छ ।
यो सुरुङबाट सुनकोशीको पानी मरिणखोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन गर्ने र त्यही पानीबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा सिँचाइ सुविधा पुर्याउने योजना छ।
भेरी बबई डाइभर्सन आयोजनामा १२ दशमलव २ किलोमिटर लामो सुरुङ बनाइएको छ । यो सुरुङ २०७६ वैशाखमा ब्रेक थ्रु गरिएको हो ।
आधा दर्जन सुरुङ मार्ग निर्माणको तयारी
गत जेठ १५ गते संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी वर्षलाई ‘सडक र सुरुङ मार्ग निर्माणमा फड्को मार्ने वर्ष’का रूपमा लिएको बताएका थिए । सोही अनुसार नयाँ सुरुङ मार्गहरुको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन पनि गरेका छन् ।
सरकारले निकै प्राथमिकतामा राखेको नयाँ आयोजना हो- टोखा–छहरे सुरुङमार्ग । यसको सम्भाव्यता अध्ययन गर्ने घोषणा बजेटमै गरिएको छ।
त्यस्तै जाजरकोटको मुलसामदेखि जुम्लाको टोपला सुरुङमार्ग, खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर र चिसापानी–बबई सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने बजेटमै उल्लेख छ ।
यस्तो छ इतिहास
नेपालमा सुरुङमार्ग बनाइएको अहिले मात्र होइन, दक्षिण एसियामै पहिलोपटक सुरुङ मार्ग निर्माण नेपालबाटै सुरु भएको हो ।
वि.सं. १९७४ मा मकवानपुरको चुरियामाईमा बनाइएको ६०० मिटर लामो सुरुङ नेपालको मात्रै होइन, दक्षिण एसियाकै पहिलो मानिन्छ । तर, राजमार्गमा सुरुङ बनाउन भने एक सय वर्ष कुर्नुपर्यो ।
सुरुङ मार्ग बनाउने कुरा गर्न जति सजिलो छ, निर्माण र सन्चालन भने निकै महँगो छ । सामान्यतया एक किलोमिटर सुरुङ बनाउन कम्तीमा ४ अर्ब रुपैयाँसम्म लाग्ने अनुमान छ ।
पहाडी भूबनोट भएकोले नेपाललाई सुरुङमार्ग अपरिहार्य छ । सुरुङमार्गले सडकको दूरीलाई छोट्याइदिन्छ । यात्रालाई सिधा र सुरक्षित बनाउँछ । समयको बचत गराउँछ ।
सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।
सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...सोमबार, साउन ११, २०८३
बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा छलफल हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी...सोमबार, साउन ११, २०८३
यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उहाँले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए । नयाँ आर्थिक...सोमबार, साउन ११, २०८३
न्यायिक सेवाप्रवाहलाई थप छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था सुरु गरिएको सर्वोच्चले जनाएको छ । यो व्यवस्थाको...सोमबार, साउन ११, २०८३