नेभिगेशन
समाज

सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

द्वेषको आगो ठूलो हुनुपर्दैन । सानो झिल्कोले पनि सदियौंदेखिको सद्भावलाई खाक बनाइदिन सक्छ । विश्वासलाई खरानी बनाइदिन सक्छ । युगौंदेखि कायम रहँदै आएको सामाजिक मूल्य–मान्यता र परम्परालाई सेतुहरू चुँडिन सक्छन् ।

र, पिँधैदेखि खलबलिन सक्छ समाजको तन्तु ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरी देवानगञ्ज घटनाको कारण ठूलो थिएन । स्थानीय युवा साउने अनुष्ठानका लागि निस्किएका थिए । डिजे बजाउँदै उनीहरू बोलबम यात्रामा थिए । डिजेको आवाज ठूलो भएको भन्दै अर्को समूहले प्रतिवाद गर्‍यो । विवादका बीच प्रहरीको गोली लागेर देवानगञ्ज– ४ का ३० वर्षीय ओमप्रकाश मेहताको गत आइतबार नै मृत्यु भयो । देवागञ्जमै २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भयो । विहीबार नै सर्लाहीमा गणेश यादवको ज्यान गयो ।

Ncell
Extreme Energy

देवानगञ्जबाट फैलिएको प्रर्दशनको आगाले तीन जना युवाको ज्यान गइसकेको छ । आगो अन्यत्र पनि फैलने उपक्रममा छ । बिहीबार सिरहा, धनुषा, पर्सा लगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ ।

सिरहा प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर गोलबजार क्षेत्रका गणेश यादवको मृत्यु भयो । गोली चलेपछि गोलबजार मात्रै होइन, प्रदर्शन लहानतिर पनि सरेको छ । प्रदर्शन नफैलियोस् भनेर प्रशासनले कफ्र्यु आदेश जारी त गरेको छ । तर स्थानीयहरू कफ्र्यु उल्लङ्घन गर्दै प्रदर्शन, नाराबाजी र तोडफोड गरिरहेका छन् ।

आगो छिट्टै साम्य हुने छाँट देखिँदैन ।

हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म, आस्था, परम्परा, भाषा र मूल्य–मान्यताहरूका बाबजुद सदियौंदेखि हामीले शान्तिपूर्ण सहअस्तित्व कायम राख्दै आएका छौं। नेपाली समाजको उदारता, सहिष्णुता र आपसी प्रेम विश्वमै दुर्लभ छ।

हामी सबैको आस्था, विश्वास, परम्परा, मूल्य, मान्यता हाम्रा अक्षत् निधि हुन् । समाजका गाडधन पनि हुन् । हाम्रा पिता–पुर्खाले यसलाई सदियौंदेखि जतनले राखेका छन् । हार्दिकताले जोगाएका छन् । यसको जगेर्ना गर्नु र क्षय हुन नदिनु हामी सबैको कर्तव्य हो ।

भनिन्छ– साम्प्रदायिकता आगो हो, जसले पहिले आफ्नै घर जलाउँछ । समाजलाई पनि क्षतविक्षत तुल्याउँछ ।

यसलाई प्रेम, समझदारी र संवादको पानीले निभाउनु हामी सबैको साझा जिम्मेवारी हो । सामाजिक सञ्जालमा अफवाह फैलाउने, घृणा भर्ने र विभेदको बीउ रोप्ने कामबाट पूर्ण रूपमा अलग रहौं । समाजमा सचेत युवाहरूले विशेष नेतृत्व लिऔं—घृणाको होइन, प्रेम र सद्भावका आयामहरू बाँडौँ । धार्मिक अगुवा, स्थानीय संघसंस्था, युवा क्लब, बुद्धिजीवी र आम नागरिकले संवादको सेतु निर्माण गरौं। विगतका चुनौतीपूर्ण क्षणमा पनि समाजका विवेकशील अगुवाहरूले पहलकदमी लिएका थिए । यतिबेला पनि उस्तै अग्रसरता आवश्यक छ । हाम्रो संस्कृति प्रेमको नृत्य हो।

फरक भाषा, धर्म र परम्पराहरू हामीलाई अलग होइन, एकअर्कासँग जोड्ने पुल हुन् । हामी फरक छौं, तर अलग छैनौं हाम्रो छातीमा सद्भाव र सहिष्णुताको रगत बगेको छ भन्ने सन्देश दिनु आजको आवश्यकता हो ।
प्रत्येक राजनीतिक दलका अलगअलग इतिहास छन्, मूल्य र चेतनाको जग पनि पृथक छ । त्यो नै उनीहरूको विशिष्ट सौन्दर्य हो ।

तथापि उनीहरूबीच एउटा समानता छ । चेतनाको फरक आयामबीच उनीहरूले साझा भूगोलको प्रतिनिधित्व गर्छन् । र, नागरिकको प्रतिनिधित्व गर्छन् ।

अतः यतिबेला उनीहरूको भूमिका अपेक्षित छ । उनीहरूले संवादको सूत्र पहिल्याएर समाजलाई जोड्न सक्छन् । आगाको मुस्लो निभाउन सक्छन् । सद्भावको ध्वजा, लुङ्दर फहराउन सक्छन् ।
त्यसकारण उनीहरूले यथाशक्य चाँडो पहलकदमी लिनुपर्ने छ ।

संकटका बेला व्यक्तिको मात्रै होइन सरकारको पनि भूमिकाको मूल्यांकन हुन्छ । नागरिकहरू आक्रोशित र आन्दोलित भएका बेला सैन्य बल होइन सरकारले बुद्धिको प्रदर्शन गर्नुपर्छ । विवेकको प्रदर्शन गर्नुपर्छ । धार्मिक एवम् सामाजिक अगुवाहरूसँग संवाद गर्दै नागरिकको मनभित्र पस्न सक्नुपर्छ ।

बलात् गरिएको कुनै पनि निर्णयले सही निष्कर्षमा पुर्‍याउँदैन । त्यसैले राजनीतिक दललाई विश्वासमा लिएर साझा उद्देश्यमा हिँडाउँदा सरकार असफल भएको उदाहरण कमै भेटिन्छ ।

अन्त्यमा, आखिर जसजसले सल्काए पनि आगो कहाँ आफ्नो हुन्छ र ! मानिसले नै विवेक गुमाएपछि आगो आफै कहाँ सम्मालिन्छ र ! खरानी बनाउनु आगोको धर्म हो, खरानी हुनु सल्काउनेहरूको नियति ! देशका विभिन्न भूखण्डमा सल्काउन खोजिएको आगोलाई बेलैमा निभाउन सकिएन भने पश्चताप निकट भविष्यमै छ ।

त्यसैले, आगो निभाऔँ । आफैँलाई सम्हालौं ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...