द्वेषको आगो ठूलो हुनुपर्दैन । सानो झिल्कोले पनि सदियौंदेखिको सद्भावलाई खाक बनाइदिन सक्छ । विश्वासलाई खरानी बनाइदिन सक्छ । युगौंदेखि कायम रहँदै आएको सामाजिक मूल्य–मान्यता र परम्परालाई सेतुहरू चुँडिन सक्छन् ।
र, पिँधैदेखि खलबलिन सक्छ समाजको तन्तु ।
सुनसरी देवानगञ्ज घटनाको कारण ठूलो थिएन । स्थानीय युवा साउने अनुष्ठानका लागि निस्किएका थिए । डिजे बजाउँदै उनीहरू बोलबम यात्रामा थिए । डिजेको आवाज ठूलो भएको भन्दै अर्को समूहले प्रतिवाद गर्यो । विवादका बीच प्रहरीको गोली लागेर देवानगञ्ज– ४ का ३० वर्षीय ओमप्रकाश मेहताको गत आइतबार नै मृत्यु भयो । देवागञ्जमै २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भयो । विहीबार नै सर्लाहीमा गणेश यादवको ज्यान गयो ।
देवानगञ्जबाट फैलिएको प्रर्दशनको आगाले तीन जना युवाको ज्यान गइसकेको छ । आगो अन्यत्र पनि फैलने उपक्रममा छ । बिहीबार सिरहा, धनुषा, पर्सा लगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ ।
सिरहा प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर गोलबजार क्षेत्रका गणेश यादवको मृत्यु भयो । गोली चलेपछि गोलबजार मात्रै होइन, प्रदर्शन लहानतिर पनि सरेको छ । प्रदर्शन नफैलियोस् भनेर प्रशासनले कफ्र्यु आदेश जारी त गरेको छ । तर स्थानीयहरू कफ्र्यु उल्लङ्घन गर्दै प्रदर्शन, नाराबाजी र तोडफोड गरिरहेका छन् ।
आगो छिट्टै साम्य हुने छाँट देखिँदैन ।
हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म, आस्था, परम्परा, भाषा र मूल्य–मान्यताहरूका बाबजुद सदियौंदेखि हामीले शान्तिपूर्ण सहअस्तित्व कायम राख्दै आएका छौं। नेपाली समाजको उदारता, सहिष्णुता र आपसी प्रेम विश्वमै दुर्लभ छ।
हामी सबैको आस्था, विश्वास, परम्परा, मूल्य, मान्यता हाम्रा अक्षत् निधि हुन् । समाजका गाडधन पनि हुन् । हाम्रा पिता–पुर्खाले यसलाई सदियौंदेखि जतनले राखेका छन् । हार्दिकताले जोगाएका छन् । यसको जगेर्ना गर्नु र क्षय हुन नदिनु हामी सबैको कर्तव्य हो ।
भनिन्छ– साम्प्रदायिकता आगो हो, जसले पहिले आफ्नै घर जलाउँछ । समाजलाई पनि क्षतविक्षत तुल्याउँछ ।
यसलाई प्रेम, समझदारी र संवादको पानीले निभाउनु हामी सबैको साझा जिम्मेवारी हो । सामाजिक सञ्जालमा अफवाह फैलाउने, घृणा भर्ने र विभेदको बीउ रोप्ने कामबाट पूर्ण रूपमा अलग रहौं । समाजमा सचेत युवाहरूले विशेष नेतृत्व लिऔं—घृणाको होइन, प्रेम र सद्भावका आयामहरू बाँडौँ । धार्मिक अगुवा, स्थानीय संघसंस्था, युवा क्लब, बुद्धिजीवी र आम नागरिकले संवादको सेतु निर्माण गरौं। विगतका चुनौतीपूर्ण क्षणमा पनि समाजका विवेकशील अगुवाहरूले पहलकदमी लिएका थिए । यतिबेला पनि उस्तै अग्रसरता आवश्यक छ । हाम्रो संस्कृति प्रेमको नृत्य हो।
फरक भाषा, धर्म र परम्पराहरू हामीलाई अलग होइन, एकअर्कासँग जोड्ने पुल हुन् । हामी फरक छौं, तर अलग छैनौं हाम्रो छातीमा सद्भाव र सहिष्णुताको रगत बगेको छ भन्ने सन्देश दिनु आजको आवश्यकता हो ।
प्रत्येक राजनीतिक दलका अलगअलग इतिहास छन्, मूल्य र चेतनाको जग पनि पृथक छ । त्यो नै उनीहरूको विशिष्ट सौन्दर्य हो ।
तथापि उनीहरूबीच एउटा समानता छ । चेतनाको फरक आयामबीच उनीहरूले साझा भूगोलको प्रतिनिधित्व गर्छन् । र, नागरिकको प्रतिनिधित्व गर्छन् ।
अतः यतिबेला उनीहरूको भूमिका अपेक्षित छ । उनीहरूले संवादको सूत्र पहिल्याएर समाजलाई जोड्न सक्छन् । आगाको मुस्लो निभाउन सक्छन् । सद्भावको ध्वजा, लुङ्दर फहराउन सक्छन् ।
त्यसकारण उनीहरूले यथाशक्य चाँडो पहलकदमी लिनुपर्ने छ ।
संकटका बेला व्यक्तिको मात्रै होइन सरकारको पनि भूमिकाको मूल्यांकन हुन्छ । नागरिकहरू आक्रोशित र आन्दोलित भएका बेला सैन्य बल होइन सरकारले बुद्धिको प्रदर्शन गर्नुपर्छ । विवेकको प्रदर्शन गर्नुपर्छ । धार्मिक एवम् सामाजिक अगुवाहरूसँग संवाद गर्दै नागरिकको मनभित्र पस्न सक्नुपर्छ ।
बलात् गरिएको कुनै पनि निर्णयले सही निष्कर्षमा पुर्याउँदैन । त्यसैले राजनीतिक दललाई विश्वासमा लिएर साझा उद्देश्यमा हिँडाउँदा सरकार असफल भएको उदाहरण कमै भेटिन्छ ।
अन्त्यमा, आखिर जसजसले सल्काए पनि आगो कहाँ आफ्नो हुन्छ र ! मानिसले नै विवेक गुमाएपछि आगो आफै कहाँ सम्मालिन्छ र ! खरानी बनाउनु आगोको धर्म हो, खरानी हुनु सल्काउनेहरूको नियति ! देशका विभिन्न भूखण्डमा सल्काउन खोजिएको आगोलाई बेलैमा निभाउन सकिएन भने पश्चताप निकट भविष्यमै छ ।
त्यसैले, आगो निभाऔँ । आफैँलाई सम्हालौं ।